सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रज्ञामा बीपी कोइरालाको साहित्यबारे विमर्श

Nepal Telecom ad

काठमाडौँ, भदौ १४ गते । प्रजातान्त्रिक समाजवादका प्रणेता तथा प्रसिद्ध साहित्यकार बीपी कोइरालाको साहित्यिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ ।

जननायक कोइरालाको १०२औँ जन्मजयन्तीको सन्दर्भ पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग एवम् बीपी कोइराला स्मृति ट्रष्टद्वारा संयुक्त रूपमा आयोजित ‘बीपी कोइरालाका साहित्यबारे युवा स्रष्टा राजनीतिकर्मीहरूको बुझाइ’ विषयक गोष्ठीमा बोल्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘बीपी महान् चिन्तक, सफल साहित्यकार तर असफल राजनीतिज्ञ’ भएको बताउनु भयो । नेपालले भन्नुभयो, ‘बीपी जसरी साहित्यमा खुल्नुभएको छ, त्यति राजनीतिमा खुलेको पाइँदैन । जसले गर्दा नेपाली राजनीति धेरै पछाडि धकेलिएको छ । आजको पुस्ताले बीपीलाई पुनः जीवित गराउनु जरुरी देखिन्छ ।’

अर्का राजनीतिज्ञ तथा साहित्यकार बलदेव शर्मा मजगैँयाले युवा राजनीतिकर्मीहरूमा पनि बीपीका साहित्य अध्ययन गर्ने बानी रहेको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै भन्नुभयो, ‘नेताहरूले आफ्नो विचार लाद्नुअघि धेरै पटक बीपीलाई सोच्नु पर्छ ।’ शर्माले बीपीका साहित्यहरू मार्गदर्शक र उत्पे्ररक रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बीपी कोइराला विशेष क्षमता र प्रतिभा भएका राजनेता र साहित्यिक चिन्तक भएको चर्चा गर्नुहुँदै राजनीतिको जगमा उहाँको साहित्यि आएको छ, भन्नुभयो । उपकुलपति डा. विष्णुविभु घिमिरेले बीपीलाई सिद्धान्तको बोक्रा छोडाएर मात्रै बुझ्न नसकिने विचार व्यक्त गर्दै भन्नुभयो, ‘फराकिलो विचारबाट मात्रै बीपीलाई प्रष्ट ठम्याउन सकिन्छ ।’

प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे केलाउनु नै यो कार्यक्रमको उद्देश्य हो ।’ उहाँले थप्नुभयो, ‘राजनीति एउटा शक्ति भएजस्तै साहित्य पनि अर्को विशिष्ट शक्ति हो । दुवै शक्तिको संमिश्रणबाट मात्रै प्रभावशाली शक्ति संभव छ, जसले समाजलाई परिवर्तन गर्ने ताकत राख्छ ।’

कार्यक्रममा बीपीपुत्र एवम् ट्रष्टका कार्यवाहक अध्यक्ष श्रीहर्ष कोइराला, सदस्य पुरुषोत्तम बस्नेतले पनि बीपीका साहित्यिक पाटोमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा युवा राजनीतिकर्मी तथा स्रष्टाहरू गुरुराज घिमिरे, लेखनाथ न्यौपाने, गरिमा शाह, धर्मेन्द्रविक्रम नेम्बाङ र धर्मेन्द्र झाले बीपीको साहित्यिक व्यक्तित्वका बारेमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । उहाँहरूले बीपी राजनीतिमा जसरी साहित्यमा पनि अत्यन्त प्रभावशाली प्रतिभा भएको उल्लेख गर्नुभएको थियो । कवि सन्ध्या पहाडीले सहजीकरण गर्नुभएको कार्यक्रममा मजगैँयाद्वारा लिखित उपन्यास ‘बोन्स्री’ को युवा राजनीतिकर्मीहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । विमोचित कृतिमाथि डा. नारायण चालिसेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad