परशुराम पराजुलीलौ चिन को हुन् ?
सफा छ मान्छे सुकिलो छ धोती,
दौरा र जुत्ता सुरुवाल टोपी,
सबै सफा छन् मनमात्र कालो,
त्यो हुन्छ नेता नभए बिरालो ।
सहेर बस्ने सब दुःख जत्ति,
चुपै हुने जत्ति परे विपत्ति,
यी मानिसै हुन् सब भाग्य भक्त,
नेपालबासी चिनिने सशक्त ।
चिटिक्क पारेर लुगा लगाई,
घडी, छडी बाँधिरहन्छ टाई,
ट्युशन पढाएर कमाइ गर्छ,
बोर्डिङ्गका शिक्षक चिन्नु पर्छ ।
कालो छ झोला मनभित्र सेतो,
उक्साइहाले अघि बढ्न छिटो,
ढुङ्गा र मूढा गरिहाल्नु पर्ने,
कलेजका छात्र त चिन्नु पर्ने ।
ठूलो छ झोला भरिया समान,
मान्छे छ सानो पढ्ने त काम,
त्यो बढ्न सक्दैन कि यो छ चिन्ता,
ती छात्र–छात्रा हुन बोर्डिङैका ।
पल्टाउँदै फाइल हाइ गर्छन्,
आजै हुने काम छ भोलि भन्छन्,
पैसा नभै काम छुँदै छुँदैनन्,
यी कर्मचारी अब ता हुँदैनन् ।
जुरोपानी ४, ठकठके झापा
Subscribe
Login
0 Comments
Oldest









































