सपना अनि काठमाडौं
घाम जून आँखा भरि बोकेर
नागढुङ्गाबाट धुवाँ र धुलोको
बाक्लो बादल छिचोल्दै {{read_more}}
म राजधानीको कालो आकाशमा
फैलने कोशिस गर्छु
रङ्गिन सपनाहरू टाँस्छु
बादलका भित्ता भरि
मेरा अबोध स्निग्ध परेवी
सपनाका सुन्दर स्केचहरू
जून झैँ बादलमा हराउछन्
धुलो टक्टक्याउदै थाक्छन्
एक पोका ताराहरू
पोलिष्टर कमिजको गोजि भरि राखेर
भानुभक्तको कान्तिपुरिमा
उत्साहित पाइला टेक्छु
एक बित्ता उज्यालो
आँखाको परेलीमा अडाएर उठ्छु
मेरा ती रङ्गिन ताराहरू
मैले थाहा नपाइ खै कता खस्छन्
त्यो एक बीत्ता उज्यालो
साँझको रातो घाम संगै डढ्छन् खाग हुन्छन्
मेरा सपनाका घाम जून
मेरो आँखालाई छक्याउदै
छितिजतिर ओर्लन्छन्
अनि बिस्तारै टाढिन्छन् मबाट
म उता एक्लै हिडदा नि
पटक्क डर हुन्नथ्यो
आज एता बाटो भरि मान्छे हुँदा नि
डरले डेरा जमाउछ बेस्कन
फकाउदै फकाउदै मलाई नङ्ग्याउछन
यहाका झिलिमिली बत्तिहरू
मेरा एक मुठ्ठी जूनकीरी रहरहरू
धरहराबाट हाम फालेको थुप्रै भयो
गरेको थिएँ मैले हारगुहार
नसकेर
मनका परालहरू दुईचार त्यान्द्रा बटुलेर
मन नमान्दा नमान्दै त्यहिनेर
आफ्नै हातले दाहसंसकार गरेको थिएँ
बिचरा रगताम्य मेरा जूनकीरीहरू
मलाई थाहा छ
अब म बिजुलि बत्तीको उज्यालोमा
यहाँ जुनकीरी खोज्न सक्तिन
अब म घरहरूको थुप्रोहरूमा
घाम जून उमार्न सक्तिन
स्वार्थ का काला आकाशमा
ताराहरू छर्न सक्तिन ।
सबै घाम जून अनि एक अन्जुली
ताराहरू एतै हराएर
अनि सपनाहरू एतै बुझाएर
फर्किदैछु उतैतिर
जहाँ मलाई मन पराउने
मेरा कलिला घाम जून अनि ताराहरू
मेरै बाटो हेरिरहन्छन् हर साँझ बिहान !!
भोजपुर, हाल काठमाडौं