हृषीकेश बरालभाषा विदेशी हुल्यौँ
हाम्रा मौलिक खाद्यवस्तु नरुची खायौँ पिजा बर्गर फेन्टा कोक र चाउचाउ निलियो रोगी बनायौँ हर । ह्वाङ्गै अङ्ग हुने किनिन्छ कपडा ढाक्तैन हाम्रो तन चोलो वा फरिया घलेक पटुकी लाइन्न भन्छन् किन ॥

हृषीकेश बराल :
बिर्स्याैँ पुज्न सजीव देव घरमा निर्जीवलाई पुजी
थाल्यौँ गर्न घृणा पिता र जननी घाँडो भएझैं बुझी ।
हेर्दैनौँ जिउँदा छँदातक तिनी मर्दा दियौँ पायस
मान्छौँ संस्कृति बाहिरी मुलुकको आफ्ना भुल्यौँ सायद ॥१
आफ्नै काम गरेर आय नगरी दौड्यौँ पराई घर
बाँझो खेत बनाउँदै श्रमिकको ज्याला लिँदैछौँ पर ।
अर्काका सहयोगले जति बने उद्योग धन्दाहरू
सारा बन्द गर्यौँ धपाउन युवा फाल्यौँ सबै आबरू ॥२
भाषा भेष रिवाज धर्म भुलियो पाश्चात्य भित्र्याइयो
बत्ती निभ्दछ जन्म उत्सव हुँदा नौलो प्रथा ल्याइयो ।
ड्याडी हुन्छ पिता ममी छ जननी बाबा र आमा भुल्यौँ
काका भन्न सकिन्न अङ्कल भन्यौँ भाषा विदेशी हुल्यौँ ॥३
केही लेखकका अशुद्ध पद छन् उस्तै छ उच्चारण
देखिन्छन् कविता प्रबुद्ध कविका बन्दै गए चारण ।
केही मात्र बुझिन्छ भाषण गरे मन्त्री तथा साँसद
अङ्ग्रेजी पद बोल्दछन् नबुझिने कस्तो बस्यो आदत ॥४
हाम्रो खर्च घट्यो पुँजीगत भनी गर्छन् कुनै भाषण
आम्दानी अभिवृद्धि गर्न भनियो चाहिन्छ विप्रेषण ।
हाम्रो राष्ट्रिय आय बढ्छ कसरी सोच्ने मर्यो जाँगर
पक्रेको सुन जोखियो सय किलो भन्सारकै बाहिर ॥५
चिन्ता मात्र गरी सकिन्न नगरी यो देश चम्काउन
बोल्नेले जति सक्तछौँ भनिरहौँ संकष्ट मिल्काउन ।
पुर्खाको बलिदानका रगतले नेपाल हाम्रो बन्यो
वैरी टिक्न सकेन माथ निहुरी हारेँ उसैले भन्यो ॥६
हाम्रा मौलिक खाद्यवस्तु नरुची खायौँ पिजा बर्गर
फेन्टा कोक र चाउचाउ निलियो रोगी बनायौँ हर ।
ह्वाङ्गै अङ्ग हुने किनिन्छ कपडा ढाक्तैन हाम्रो तन
चोलो वा फरिया घलेक पटुकी लाइन्न भन्छन् किन ॥७
०००
पोखरा -२६ कास्की ।
Subscribe
Login
0 Comments
Oldest







































