साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ॐ फेसबुकायः नमः

Nepal Telecom ad

फेसबुकातारम् संसार सारम्, सः चौबिस घण्टा सः सप्तः बारम् ।।
सदा चलन्तं बिग्रया र धन्दे, भबं जवानी सरम नमानि ।।
त्वमेवः लाइक् चः कमेन्ट् त्वमेवः ।
त्वमेवः च्याटं म्यासेजं त्वमेवः ।।
त्वमेवः गर्ल्फ्रेन्ड् ब्वाइफ्रेन्ड् त्वमेवः ।
त्वमेवः सर्वं फेसबुक देवः ।।

हे फेसबुकेश्वर ! हे मार्क प्रभु ! हे स्वेतकण्ठ ! हे एक सय करोड अनुयायीका मालिक !
हजुरलाई यो बालक साधुरामको तर्फबाट मिलियन मिलियन गुड्मोर्निङ छ । हजुरको वर्णन त दुई जिब्रा भएका नेपालका नेताले पनि गर्न सक्दैनन्, म जस्तो मोबाइलबाट युनिकोडमा कनिकुथी लेख्नेले कसरी सकुँला र ? जसरी ब्रह्माले कमलको फूलमा बसेर पृथ्वीको श्रृष्टि गर्नुभो त्यसैगरी मार्क प्रभुले अग्लो पिर्कामा बसेर कुखुराको फुल खाँदै फेसबुकको श्रुष्टि गर्नुभो । दक्षप्रजापतिका पनि तेत्तिस कोटि छोरी र तेत्तिस कोटि देवता गरी जम्मा छ्रसठी कोटि अनुयायी थिए भने फेसबुकपति मार्केश्वरमा एकसय कोटि नघिदै छ ।
अरु कर्मको फल अर्को जनममा मात्र पाइन्छ भने फेसबुक प्रभुको आशिर्वाद, जति लाइक र कमेन्ट चढाउँन सक्यो त्यति नै आफ्नो अर्को स्ट्याटसमा बरदान पाइन्छ । जस्ले लाइक् पुष्प र कमेन्ट अक्षता चढाउँदैन उसले लाइक र कमेन्ट पाउनु भनेको मरुभूमिमा कमलको फूल फुल्नु जस्तै हो । जसले फेसबुकेश्वरको आराधना गर्दै सभ्य लेख र प्रतिक्रिया लेख्छ उसको वालमा छिट्टै नै नवसुन्दरी युवतीको फ्रेन्ड रिक्वेस्ट आउने छ । अनि जसले अप शब्द र अभद्र व्यवहार देखाउँछ उसका भएका गर्लफ्रेन्डहरूले पनि अन्फ्रेन्ड गर्नेछन् ।
ह्याकर नामका दानवहरूले धेरै फेसबुक देवतामाथि आक्रमण पनि गर्ने गरेका छन्, तर देवताको अगाडि दानवको केही सिप चलेन । फोटो चोरेर नक्कली रुप धारण गर्ने दैत्यहरूको बिगबिगी पनि फाट्टफुट्ट चल्दैछ । यो अदना साधुरामेश्वरको पनि फोटो चोरेर यौटा दैत्यले कोमल साधुको नामबाट राज्य गर्न खोजेको थियो तर त्यो दैत्य, देवताहरूको सरापका कारण भष्म भयो । सत्य डग्दैन र झुटो टिक्दैन भन्ने कुरा आदि अनादि कालदेखि प्रमाणित हुँदै आएको छ ।
हे फेसबुकेश्वर ! तिम्रो मन्दिरमा चढाइएका लाइक र कमेन्टलाई वरिपरिका बाँदरहरू बेलाबेला लुछाचुँडी गर्न खोज्छन् । पेज नामका ठुला ठुला ढेडुले झन् जबर्जस्ती प्रसाद लुट्ने गरेका छन् भनेर पनि पुजारीले दुखेसो व्यक्त गर्दछन् । हे मार्क प्रभु ! यो ट्याग नामको राक्षसले पनि देवताहरूलाइ साह्रै दुख दिंदै आएको छ । फोटोट्याग भन्ने भूत त धामी झाँक्रीले निको हुँदो रहेछ तर स्टाटस ट्याग भन्ने कालो खटिरो पाकेर पिप ननिचोरुन्जेल केही गरे बिसेक हुँदैन, त्यसैले यो ट्यागे रोग पोलियो झैं उन्मूलन गरिदिनुहोस् । जसलाइ चाहिन्छ पाकिस्तान र सिरियाको गाउँबस्तीमा पठाइ दिनुहोस्, जहाँ पोलियोको शौकिनले आनन्द प्राप्त गर्न सक्छन् ।
हे फेसबुकेश्वर ! श्वेतकण्ठेश्वर ! मार्केश्वर ! हजुरका भक्तको भजनलाई जसले कपि गरी पेस्ट गर्छ उसको छिट्टै फेसबुक ह्याक होस्, गर्लफ्रेन्डले ब्लक गरुन्, लाइक र कमेन्टको खडेरी परोस् । जसले राम्रा राम्रा कुरा शेयर गर्छ उसका नयाँनयाँ सुन्दर, सुन्दरीका रिक्वेस्ट आउन् । लाइक र कमेन्टको वर्षा होस् । हे बुकका पनि बुक फेसबुक, अहिलेलाई बिदा पाउँ, साँझ बिहान हजुरको भजन कीर्तनमा यो मन लागिरहोस् हवस्तः यहाँलाई मेरा तर्फबाट कोटि कोटि प्रणामा छ ।

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x