सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समयको मेचमाथि भूपी शेरचन

यदि उनले पिएकै अवस्थामा अन्तर्वार्तामा दुईटा ‘क’ले आफू बिग्रिएको भनेर आत्मसमीक्षा गरेका हुन् भने निश्चय नै त्यसलाई पूणर्तः उनको सचेत स्वीकारोक्ति मान्न सकिँदैन ।

Nepal Telecom ad

प्रत्येक वर्ष भूपी जन्मिन्छन् साहित्यिक परिवारहरूमा । नेपाली साहित्यमा उनलाई गुरु मानेर अघि बढ्न खोज्ने स्रष्टाहरू वर्तमानमा धेरै छन् । दुर्बोध्य कविताको परम्परा हुर्किन लागेका बेलामा पनि सरल र सुबोध्य कविता लेखेर भूपी शेरचन हिजो जीवन्त थिए, आज जीवन्त छन् र भोलि पनि जीवन्त नै रहने छन् भन्ने कुरामा कुनै शङ्का छैन ।

वि.सं. १९९२ मा मुस्ताङको थाकटुकुचेमा सम्पन्न परिवारमा जन्मिएका भूपी शेरचन पाँच वर्षको उमेरमै आमाबाट टुहुरिनु पर्‍यो । आफ्नै माहिला दाजु सुब्बा कृष्णमान शेरचनले आमा र बुबा दुवैको माया दिएर उनलाई हुर्काए । उनी आर्थिक दृष्टिले कहिल्यै टुहुरिनु परेन । सम्पन्नताभित्र पनि उनले आफूलाई विपन्नजस्तो देखे । जसको फलस्वरूप उनले आफ्नो नामका पछाडि ‘सर्वहारा’ जोड्न पुगे । उनी कम्युनिस्ट विचारधाराबाट प्रभावित रहेका कारण पनि उनले त्यस्तो उपनाम राखेका हुन् ।

भूपीले प्रारम्भमा झ्याउरे लयका कविताहरू लेखे र अन्त्यतिर पनि उनले केही कविता लेखेका थिए, तर उनी ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ नामक बयालीस वटा कविताहरू सँगालिएको एउटै कृतिबाट बढ्ता चर्चित छन् । भूपी शेरचन भन्ने नाम सुन्नेबित्तिकै ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को नाम आइहाल्छ र एक किसिमले यी दुवै नाम पर्यायजस्तै हुन पुगेका छन् । २०२६ को साझा पुरस्कार प्राप्त गरेकाले पनि यस कृतिको मह¤व र चर्चा धेरै हुने गरेको छ ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’का रचयिता भूपी शेरचनलाई प्रत्येक वर्ष सम्झने क्रममा २०६७ देखि चितवनमा अक्षर समूहले ‘समयको मेचमाथि भूपी शेरचन’ भनेर विशेष स्मरण गर्दै आएको छ । हिजोका भूपीलाई आज कसरी उभ्याउन सकिन्छ ? भनेर प्रत्येक वर्ष मूल्याङ्कन गर्न अभिप्रेरित गर्दै स्रष्टाप्रति सम्मानभाव प्रकट गर्ने परम्परा निश्चय नै नवपुस्ताका लागि निकै प्रेरणादायी बन्दै आएको छ ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहको पहिलो कविता ‘मेरो चोक’ हो । हामी दिनानुदिन साँघुरो गल्लीको चोकमा रुपान्तरण भइरहेका छौँ । रोग, भोक र शोक बढ्दै छ तर हर्षमाथि सधैँ रोक लागिराखेको छ । मान्छेमात्र होइन देवता पनि यहाँ उदास र निराश छन्, किनकि मान्छेलाई रातमा उपियाँ र दिनमा रूपियाँले टोक्छ भने देवतालाई कसैले पुज्दैन र ढोग्दैन पनि । वास्तवमा आज देवता पुजिए वा ढोगिएजस्ता देखिए पनि टोक्ने मान्छेद्वारा नै पुजिन वा ढोगिन सम्भव होला, तर टोकिने मान्छे देवताबाट पनि सदैव तिरस्कृत छन् ।

‘मैनबत्तीको शिखा’ कवितामा समस्त नारी वर्गको वेदना अभिव्यक्त भएको छ । नारीका आँखामा आज पनि वेदनाका पानी रित्तिन छाडेका छैनन् । वेदनाभित्र पनि प्रत्येक आमाहरू आफ्ना नवजात शिशुलाई देखेर आज पनि मुस्कुराइरहेका छन् । मैनबत्तीझैँ आज पनि विधवाहरू एकातिर धप्प धप्प अनुहार बाल्दै सुहागरातको सम्झना र अर्कातिर तप्प तप्प आँसुहरू चुहाउँदै स्वर्गीय पतिको सम्झना गरिरहन विवश छन् ।

‘सधैँ सधैँ मेरो सपनामा’ कविताले सपनामा युवती आमाहरूले अब आफ्ना दूधको र मातृत्वको कुनै मूल्य नरहेको, आफ्ना हराएका छोराहरू माग्न विवश भएको र स्कुलको फिस र पिताको चुम्बन मागेको हुँदा विपनाको इतिहासले घृणा गरिरहेको दृष्टिकोण प्रस्तुत गरेको छ । वास्तवमा आज नेपाल आमाको यस्तै करूण क्रन्दन बढ्दै गएको छ, तर त्यसको सुनुवाइ हुन सकेको छैन ।

हामीकहाँ ‘वसन्त’ त आउँछ, तर त्यो विदेशी पाहुनाझैँ भएर आउँछ, हाम्रा लत्रेका हातले परिवर्तनको प्रतीक रातो फूल समात्नै सकेका छैनन्, हाम्रा प्रत्येक घरको मुखमा विदेशी ताल्चा झुन्डिएको छ, हाम्रा कुनै घरले मौलिक ओठ भित्र्याउन सकेको छैन, हामीभित्रको मानिस मरिसकेको छ । त्यसैले, हाम्रा आँगनमा आजसम्म वास्तविक वसन्त भित्रिनै सकेको छैन ।

‘हामी’ कविता यस सङ्ग्रहको सबैभन्दा लामो कविता हो । हामी जति माथि उठे, दगुरे र गर्जे पनि हाम्रो अस्तित्व पानीका थोपाभन्दा बढ्ता छैन । माथि पुग्दा बित्तिकै आफूले टेकेको धर्ती नै बिर्सने हाम्रो बानी आज पनि यथावत् छ । हाम्रो उचाइ केवल भ्रम हो । हामीले आफ्नो पूर्वस्मृति र विगतको उचाइमात्र होइन, सामान्य मानिसको उचाइ पनि बिर्सिसक्यौँ । हामीलाई आफ्नै पुड्काइ देखेर डर लाग्न थालेको छ । हामी क्रमशः लिलिपुटका लघुमानवमा परिणत हुँदैछौँ दिनानुदिन । हामीलाई मिलाइदिन, छुट्टाइदिन र अगाडि बढाइदिन अरु नै चाहिन्छ आज पनि । त्यसैले, हाम्रो अस्तित्व स्ट्राइगरद्वारा सञ्चालित क्यारेमबोर्डका गोटीको भन्दा बढ्ता छैन । हामी वीर भएर पनि बुद्धू छौँ, बुद्धू नभईकन हामी वीर बन्नै सकेनौँ, हामी द्रोणाचार्यबाट ठगिएका चेला हौँ तर उनैको मूर्ति थापेर गुरुदक्षिणाका रुपमा बूढी औँला चढाउने एकलव्य बन्दै गएका छौँ । हामी कसैको मूर्ति स्थापना नगरीकन आज पनि वीर बन्न सकेका छैनौँ । हाम्रो शरीरलाई उभ्याउने, हिँडाउने, दौडाउने र पुरस्कार जिताउने पाइताला हाम्रै हो तर टीका, माला र तक्मा थाप्ने निधार, घाँटी र छाती भने अर्कै छ । किनकि, हामी कसैको इसारामा टेक्न, हिँड्न र दगुर्न विवश पाइतालाजस्तै भएका छौँ । आज पनि हाम्रो अस्तित्व पाइतालाभन्दा माथि उठ्नै सकेको छैन । त्यसैले, अब हामीले शून्य र रिक्ततालाई पुजेरै भए पनि आफ्नो अस्तित्वको देवतालाई जगाउनु नितान्त आवश्यक छ ।

‘मेरो देश’ कवितामा नेपालको प्रकृतिलाई मानवीकरण गरिएको छ । हिउँ र जुनले धरती हाँसेको, सन्तानहरू बिदेसिँदा धूपी र सल्लाहरू रोएको, बटुवाले प्राकृतिक पंखा प्राप्त गरेको, बाह्रै महिना वसन्त आइरहेको आदि महिमाले हामी नेपाली जहाँ पुगे पनि मनले नेपाल नै टेकेको हुन्छ भन्ने देशभक्ति भावना आज पनि जीवन्त नै बनिरहेको छ ।

हामीले आज पनि नयाँ तलब स्केलले आफ्नो परिवारको आयु नापिरहेका छौँ, पत्नीले थालमा सधैँ व्यङ्ग्य पस्किरहेको अनुभव गरिरहेका छौँ, चिसो निद्राबाट हामी अझै ब्युँझिन सकेका छैनौँ र हामीले दिउँसै ननिदाउने प्रण गर्न आज पनि सकेका छैनौँ (मध्याह्न दिन र चिसो निद्रा) ।

भोकानाङ्गाहरू बसेका ठाउँमा एक-दुई दिन बास बस्ने हो भने हामीलाई आज पनि आफ्नो देशको इतिहास गलत लाग्न थाल्छ । अमरसिंह, तेन्जिङ, बुद्ध, अरनिको आदिको इतिहासमा हामीलाई विश्वास लाग्न छाड्नु अस्वाभाविक होइन (गलत लाग्छ मलाई मेरो देशको इतिहास) ।

जब नेपाल खुम्चिएर काठमाडौँ, काठमाडौँ खुम्चिएर नयाँ सडक, नयाँ सडक पनि दुब्लाएर अखबार, चिया र पानको पसलमा रुपान्तरण हुन्छ, तब हामी चियाको किट्लीबाट सूर्योदय भएको पाउँछौँ र रक्सीको रित्तो गिलासमा सूर्यास्त भएको देख्न थाल्छौँ । हामी बसेको पृथ्वी पनि घुमिरहेकै हुन्छ, तर घुम्ने मेचमाथि बसेका अन्धाहरूले गर्दा हामीले आजसम्म वास्तविक परिवर्तनको अनुभूति नै गर्न सकेका छैनौँ (घुम्ने मेचमाथि अन्धो मान्छे) ।

दुई-चार सपूतहरू मरेर नगए मुलुक बन्दैन भन्ने चेतनबाट ब्युँझिएर हामीहरूले धेरै क्रान्तिहरू त गर्‍यौँ, तर तिनलाई व्यवस्थित गर्न भने सकेनौँ । बीउ छरेर नजाने हो भने बोट उम्रिन्न भन्ने शाश्वत् कुरालाई हामीले पढ्न त पढ्यौँ, तर बीउ रोप्न छाडेर फलमात्र खाने बानीले हामी दिनानुदिन परनिर्भरताको यात्रामा डोरिन विवश छौँ । हामीले उन्नति नगर्ने हो भने शहीद रोलान् भन्ने भावनाको कदर गर्न सकेनौँ, जसका कारण आम नेपालीले दिनानुदिन कष्ट भोगिरहनु परेको छ (शहीदहरूको सम्झनामा) ।

‘हो चि मिन्हलाई चिठी’ पठाएर नेपाली साहित्यलाई विश्व परिवेशसँग तुलना गर्न चाहेको अनुमान गर्न सक्छौँ । हामीले आफ्नै माछापुच्छ्रे हिमालको छायामा उभिएर चिठी पढ्यौँ, उनकै मृत सिपाहीबाट बाँच्ने दर्शन पनि सिक्यौँ, जीवनको अर्थ पनि बुझ्यौँ, उनकै ठूलो आत्माबाट हाम्रो सानो आत्माभित्र ठूलो ज्योति सल्लेको अनुभूति गर्‍यौँ, रुखहरूजस्तै डढेलाले मान्छेहरू मरे पनि मानवता नमर्ने पाठ सिक्यौँ तर हामीबाट वर्तमानमा त्यही मानवता हराउँदै गएको छ ।

हामीले आजकल भन्ने गर्छौं ‘यो हल्लै हल्लाको देश हो’ । यसो हुनुमा बहिराहरू निणर्ायक तहमा पुगे, आत्मा क्रयविक्रय गर्नेसक्नेहरू नेता भए, छोरा नजन्मेर लाहुरेहरू जन्मे तर कसैले हामीलाई स्वदेशनिन्दक वा घृणाचिन्तक भन्छ कि भनेर हामी देशको प्रतिरक्षा गर्न अग्रसर भएनौँ । त्यसैले, हामीले देशलाई हल्लैहल्लाको देश भनेर देशमा कर्म होइन हल्ला थुप्र्याएर देशलाई बदनाम गराउन विवश भयौँ ।

हामीले धेरै लेख्छौँ, तर त्यसलाई गहिरिएर हेर्दैनौँ । पहिलो लेखाइलाई नै चित्त बुझाउँछौँ तर विचार गरेर त्यसलाई केरमेट गरी पुनः लेख्ने प्रयत्न गर्दैनौँ । पुनर्लेखन र पुनर्निरीक्षण गर्ने फुर्सद हामीलाई नहुने होइन तर हामीले त्यसलाई बेवास्ता गर्छौं । अरुले मेहनतका साथ लेखेको स्तरीय रचनालाई कठैबरा र बिचरा भनेर उपेक्षा गर्न पछि पर्दैनौँ तर त्यस्तै किसिमले आफ्ना रचनाको आत्मसमीक्षक बन्ने प्रयत्न गर्दैनौँ । भूपी शेरचनमा भने आत्मसमीक्षा गर्ने परिपाटी थियो, उनी आफ्ना कविताको परिष्कार गर्न रूचाउँथे, आफैँ पहिलो पाठक बनेर पढ्दा राम्रो लागेन भने त्यसलाई हतारिएर कविता भन्न र प्रकाशन गर्न रूचाउँदैनथे । उनको ‘भूपी शेरचन’ नामक कविताबाट हामीले आत्मसमीक्षक बन्ने पाठ सिक्न सकेमा मात्र उनीप्रति सच्चा श्रद्धाभाव प्रकट गरिएको ठहरिने छ ।

भूपी शेरचनले कुनै एक अन्तर्वार्तामा आफूलाई दुईटा ‘क’ले बिगारेको बताएका छन् । निश्चय नै उनी कम्युनिस्ट विचारधारा नअँगालेको भए पनि कवि त बन्न सक्थे होलान्, तर कवि नबनेको भए उनको नाम यति धेरै प्रसिद्ध र जीवन्त भने हुने थिएन । उनी चुरोट र रक्सीका अम्मली थिए । पिउँदा रिसाएका आफ्ना जीवित साथीहरूप्रति पिउन झन् गाह्रो भएकाले पिएर हेर्न र मरेर शहीद भएकाहरूप्रति जिउन गाह्रो भएकाले जिएर हेर्न अनुरोध गर्दै एउटा मुक्तक (मेरा साथीहरू) नै लेखेका थिए । ‘गरिमा’ मासिक पत्रिकाको पहिलो अंक (२०३९, मंसिर) मा अशेष मल्ललाई अन्तर्वार्ता दिँदा भूपी शेरचनले पिएका थिए भन्ने भनाइ पनि सार्वजनिक भएको पाइन्छ । यदि उनले पिएकै अवस्थामा अन्तर्वार्तामा दुईटा ‘क’ले आफू बिग्रिएको भनेर आत्मसमीक्षा गरेका हुन् भने निश्चय नै त्यसलाई पूणर्तः उनको सचेत स्वीकारोक्ति मान्न सकिँदैन । प्रमत्ताः किन्न जल्पन्ति अर्थात् पिएर बेहोस अवस्थामा पुगेकाहरूले के कुरा भन्दैनन् र ? भन्ने कुरालाई विचार गर्दा पिउनु गलत नै हो, तापनि भूपी शेरचन असचेत रुपमा बढ्ता पिउँदैनथे र सचेततापूर्वकको पियाइले कतिपय लेखकलाई आडम्बर मिल्काएर यथार्थ अभिव्यक्ति दिन सघाउँछ पनि । त्यस दृष्टिले भूपी शेरचनका लागि दुवै ‘क’ अभिशाप नभई वरदान हुन् भन्न सकिन्छ ।
०००
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)
‘चितवन पोष्ट’ १८ पुस, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भ्यागुताको संसार

भ्यागुताको संसार

डा. मतिप्रसाद ढकाल
बाटुले घर र पिँडाली बा

बाटुले घर र पिँडाली...

माधव पोखरेल गोज्याङ्ग्रे
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
कोपनहेगनमा “खै खै”

कोपनहेगनमा “खै खै”

डा. अभि सुवेदी