माणिकरत्न शाक्यमुस्कान तीन
आउँदै गर्दा खानेकुराले भरिएका रिकापीहरू सब रित्तो देखेर एकजनाले हाँस्दै भने- उटुङ्गो गर्न त ज्वाईंसाबसँग नसकिने भो बा !

१. ज्वाइँसाब
मेरो बिहे भएको केही दिन पछि पहिलोपटक ससुराली गएँ । ससुरालीका खलकहरू मेरै छेउछाउमा बसेर कुराकानी गर्न थाले । बीच बीचमा चिनापर्ची पनि । त्यहीबेला नेवारी परम्परा अनुसारको खाजा ख्याउन ल्याए । लाज र अप्ठयारो दुबै थियोे । भोकले रन्थनिए पनि ज्वाईं हुनुको पारा देखाउँदै थिएँ । त्यहीबेला बत्ती झ्याप्पै निभ्यो । सबैजना बत्तीको जो हो गर्नतिर लागे । त्यहीँ मौका छोपेर मेरो पालो एकै गाँसमा सबै खानेकुराहरू बुत्याइदिएँ । बत्ती बल्यो । ससुराली खलकहरू फेरि मेरै छेउमा आउँदै गर्दा खानेकुराले भरिएका रिकापीहरू सब रित्तो देखेर एकजनाले हाँस्दै भने- उटुङ्गो गर्न त ज्वाईंसाबसँग नसकिने भो बा ! उहाँको कुरा सुनेपछि सबैजना हाँस्न थाले ।
२. मेसेन्जरको जवाफ
२०७९/०७/०६ गतेका दिन मैले सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेको मेसेन्जरमा लेख्दै भने- दाजु ! दाँत कीराले खाएर दुखेको पो रैछ, आज झिकेर फ्याँकियो, आजबाट थोते भइयो । मेसेन्जरको कुरा दाजुले पढे लगत्तै लेख्नुभयो- बुढेसकालमा दाँतको के काम त !
२०७९/०७/२८ गतेका दिन सिस्नुपानीको कामको सिलसिलामा अध्यक्ष दाजुलाई फोन गरेको त आँखाले धोका दिएर अस्पतालतिर जानुपर्ने भयो, भोलि जाउँला है भन्नुभयो । त्यहीबेला मैले ठट्टा गर्दै भने- बुढेसकालमा आँखाको के काम त ! झिकेर फ्याँकिदिए भै गो नि ! दाजुले हँ भन्नुभयो, मैले अँ भने ।
३. उहाँ ट्वाँ
म बैकको खजाञ्ची । मकहाँ सुन राख्न आउँदा आउँदै इन्द्रबहादुरसँग राम्रै दोस्ती बढ्यो । एकदिन इन्द्रबहादुरले आफ्नो मनको कुरा मलाई सुनाउँदै भने- के गर्नु सर ! तपाईको ज्यान देखेर साहै ईष्र्या लाग्छ हो ! यस्तो मिलेको ज्यानलाई मेरी मोटी छोरी दिन पाए क्या खास्सा हुन्थ्यो ! म त तपाईंलाई ज्वाईं बनाउन चाहन्छु के छ विचार !
मैले इन्द्रबहादुरको कुरा सुनेपछि भेद खोल्दै भने- साह्रे ढिलो भो नि ! मेरो यो ज्यानलाई त अर्कैले आँखा लगाएर तपाईकी छोरीको जस्तो ज्यान बनाएर बसेकी छे । एक महिनापछि ऊ त आमा बन्ने वाली छ । अब चाहिँ उहाँ त ट्वा !
०००
सरस्वतीनगर, चावहिल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































