तिलक लुइटेलबाँदरका हजुरबाको कथा
“ए के सोचेर बसेका जाऊ घर । तिम्रा मात्रै हजुरबा थिए र ? हाम्रा पनि त हजुरबा थिए नि ।”
एकैछिन बिसाउने नि भन्दै लुगाको पोको बिसाएर रुखको छायामा बसेका त उनी भुसुक्कै निदाएछन् । ब्युँझेर हेर्छन् त लुगाको पोको रित्तै । रुखमाथि माथि बाँदर पो लुगा लगाएर ठाँटिएका ।
बाँदरसँग लुगा दे भनेर हात पसारे बाँदरहरू पनि उसरी नै हात पसार्छन् । बाँदरलाई उनी झम्टिन खोज्छन् बाँदर पनि उसरी नै नक्कल गर्छन् । आजित भएपछि बल्ल झिनो उपाय सोचे । उनले आफ्ना लुगा फुकालेर हुर्याए । बाँदरले पनि लुगा फुकालेर उसरी नै हुर्याउन थाले । आखिरमा उनको जुक्ति काम लाग्यो । उनी झन्डै नाङ्गो भइसक्ता बाँदरबाट लुगा सबै फुत्काउन सफल भए र बाटो लागे ।
छोरा नाति गर्दै लुगाको कुम्ले व्यापारमै एक दुई पुस्ता बित्यो । नाति चाहिँका पालामा फेरि उसै ठाउँमा उसरी नै बाँदरले कुम्लो फुकाएर लुगा लगाउन भ्याएछन् । अब त लुगा दे भनेर माग्दा बाँदर गलल्ल हाँसे तर दिएनन् । उनले अनेकौँ हाउभाउ गरे पनि बाँदरले टेरेनन् बरु मरी मरी हाँसिराखे । जमानत जफत हुने गरी चुनाव हारेको नेता सुर्ताएझैँ उनी दिग्दारिएर बसेका थिए । बाँदर जति नयाँ र भरोसिलो उम्मेदवारलाई जिताएका जनता जस्तै उत्साहित र आशावादी थिए ।
घमन्डी नेतालाई आशा गरेका ठाउँका जनताबाट भोट नआउँदा अचम्म परेर बाँदरले किन पो लुगा दिएनन् भनी उनी सोच्तै थिए । एउटा बुढो बाँदर नजिकै आयो र भन्यो-
“ए के सोचेर बसेका जाऊ घर । तिम्रा मात्रै हजुरबा थिए र ? हाम्रा पनि त हजुरबा थिए नि ।”
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































