माधव पोखरेल गोज्याङ्ग्रेश्री आलुको सरकारको तरकारी सम्मेलन
आलुसँग मिल्ने तरकारीहरू एकातिर भए भने नमिल्नेहरू अर्कोतिर गुटबन्दीमा लागे । भनौँ तरकारी तरकारी बिच गुटबन्दी भयो ।

नेपाल अहिले आलु प्रधान देशका रूपमा विश्वमै चिनिएको छ । तरकारीहरू मध्येको सर्वश्रेष्ठ मानिने आलु, आलु राज्यकै प्रधानमन्त्रीका रूपमा रहेको छ । भनौँ आलु राज्यमा तरकारीहरूको प्रतिनिधित्व गरेर प्रधानमन्त्रीको कुर्सीमा बुर्कुसी मार्न पुगेको छ । आलु कहिल्यै कसैसँग पनि ठालु भएको देखिदैन । पिंडालु, माछा मासु बाहेकका प्रायः सबै तरकारीसँग मिलेर बसेको देखिन्छ । आलुको सबैभन्दा ठूलो गुण नै यही भए जस्तो लाग्छ मलाई । भनौँ यो आलु तरकारीकै सम्माननीय पदमा पुगेको देखिन्छ ।
आलुलाई हामीले जसरी प्रयोग गरे पनि हुन्छ । अन्य तरकारीमा मिसाए पनि नरिसाउने आलुको राजनीति गर्ने तरिका नै बडो मिठास पूणर् लाग्छ मलाई । किनभने सहज रूपमा सबैसँग छिट्टै घुलमिल हुन सक्ने, अत्यन्त मिलनसार, सबैलाई आफ्नो नियन्त्रणमा लिन सक्ने क्षमताका कारण पनि तरकारीहरूले आलुलाई सम्माननीय प्रधानमन्त्री जस्तो गरिमामय पदमा पदासिन गराएका होलान् ।
थरिथरिका तरकारीहरूले एक पटक तरकारी सम्मेलन गर्ने निधो गरे । सबै प्रकारका तरकारी मिलेर सम्मेलनको तयारी गरे । आलुसँग मिल्ने नमिल्ने सबै खाले तरकारीहरू सम्मेलनमा सहभागी भए । तर तामा भने सम्मेलनमा उपस्थित हुन सकेन । किनभने तामा आप्mनो अनुकूल नभएका कारण सम्मेलनमा सहभागी भएन । आलुले तरकारीहरूको भिडमा तामालाई नियाली नियाली हेर्यो तर कतै नदेखेपछि फर्सीसँग सोध्यो- ‘हैन ए फर्सि सर तामा ज्यूलाई देखिन नि मैेले त ?’ फर्सीले घुमाउरो पाराले जवाफ दियो ‘सूर्यको राज्यमा चन्द्रमा देखिन्न र चन्द्रमाको राज्यमा सूर्य देखिन्न । तर चन्द्रमाको राज्यमा तारा देखिन्छ, सूर्यको राज्यमा फेरि तारा देख्न सकिन्न । यस्तै भएर होला तामाको उपस्थिति यहाँ नदेखिएको ।’
आलुले कुरा बुझ्यो र भन्यो- ‘ए त्यसो भए तामाको निस्कने समय मिलेन ।’ एकाध तरकारी बाहेक अधिकांश तरकारीहरू सम्मेलनमा भेला भैसकेका थिए । सबै तरकारीको सल्लाह अनुसार सम्मेलनको उद्घाटन तरकारी मध्येको राजा मानिएको वा भनौँ प्रमुख अतिथि आलुले गर्ने कुरा तय भयो । कार्यक्रमको अध्यक्षता कुहिएको फर्सीले गर्ने र कार्यक्रम संचालन चिप्ले भिण्डी (राम तोरिया) ले गर्ने भए । अतिथिहरूमा कोक्याउने पिंडालु, गन्धे मुला, थरिथरिका साग, उत्ताउली काउली, लजालु बन्दा, बैगुनी भान्टा, सबैलाई रुवाउने प्याज, खोर्सानी, जाली घिरौला, छेपारे बोडी लगायतकालाई बनाउने तयारी गरे । अरु तरकारीहरू दर्शक श्रोताका रूपमा दर्शक दीर्घामा बसेर रमिता हेर्ने भए ।
पूर्व निर्धारित योजना अनुसार चिप्ले भिण्डीले आफ्नै चिप्लो कुराबाट कार्यक्रम शुरु गर्यो । थरिथरिका तरकारीहरूका माझमा चिप्ले भिण्डीले धेरै तरकारीलाई चिप्ल्यायो ।
कसैलाई माथि उचाल्यो, कसैलाई तल झार्यो । कसैलाई पछार्यो, कसैलाई रुवायो, कसैलाई हँसायो । आफ्नो चिप्लो कुरा सकेपछि भिण्डीले आसन ग्रहणको कार्यक्रम शुरु गर्यो । यो कार्यक्रमलाई सुगन्धित बनाएर सफल पार्नका लागि अध्यक्षको आवश्यकता पर्ने भएकोले आजको यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुन मसँग कहिल्यै नमिल्ने, तर साग र कलिलो गान्टा खान हुने, छिप्पिएर कुहिएपछि सधैँ दुर्गन्धित भैरहने र रोगीहरूको हेलामा सधैँ परिरहने दुर्गन्धनीय फर्सी ज्यूलाई मार्मिक अनुरोध गर्दछु ।
भिण्डीले आफ्नो नाम बोलाएपछि कुहिएर ह्वास्स गन्हाएको फर्सी अत्यन्त खुशी हुँदै मलमलको सोफामा ढलिमली भएर बस्यो । त्यसपछि भिण्डीले प्रमुख अतिथिका रूपमा तरकारी मध्येका सर्वश्रेष्ठ सबैसँग मिल्ने, अमिलोसँग नगल्ने, जे जस्तो परिकार बनाउँदा पनि सहनशील र स्वादिष्ट हुने । तर मधुमेहीले भने मन नपराउने, कसैलाई होच्याएर आलु खाइस् भनेर जिस्क्याउने, कसैलाई नहुने काम हुँदा तालुमा आलु फल्यो भनेर ढ्याङ्ग्रो पिट्ने । कुहिएपछि भने वरपरसमेत गन्हाएर छेउ पर्नै नसकिने, अङ्कको जिरोझैँ तरकारीको हिरो शुन्याकारको सबै तरकारीले माननीयभन्दा पनि माथिको सम्माननीय भनेर सम्बोधन गरिरहेका श्री शुन्याकारका आलु ज्यूलाई कु-शासनमा थेचारी ग्रहणका लागि क्रान्तिकारी अभिवादन गर्दछु ।
यसरी नै चिप्ले भिण्डीले बिचबिचमा आफ्नो र अर्काको चिप्लो कुरा गर्दै विशेष अतिथिका रूपमा सबैलाई कोक्याउने पिंडालुलाई काठको पिरामा टुक्रुक्क थेचारिएर बस्न आग्रह गर्यो, आसन ग्रहण गरिदिनु हुन अनुरोध छ भनेन । अतिथिहरूलाई पनि खैरो खन्दै आसन ग्रहण गरायो । अनि आसन ग्रहणको अन्त्यमा चिप्ले भिण्डीले आफूलाई पनि बोरामा पलेटी कसेर बसिदिन अनुरोध गर्यो ।
शासन बिनाको आसन ग्रहणको कार्यक्रम सकिएपछि तरकारी शहीदहरूप्रति एक मिनट मौन धारण गरे । सबैलाई रुवाउने प्याज र अकबरे खोर्सानीले बिरबले स्वागत मन्तव्य संयुक्त रूपमा दिए । त्यसपछि कुहिएको गन्हाउने फर्सीले बोरामा राखिएको कुहिएको आलु कार्यक्रम स्थलमा पोखे । पोखिएको आलु चलाएर प्रमुख अतिथि सम्माननीय कुहिएकै आलु ज्यूले सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा सहभागी तरकारीहरूले ताली मार्नुको साटो फर्सि र आलु गन्हायो भनेर गाली गरे । गालीलाई स्वागतका रूपमा लिन चिप्ले भिण्डीले चिप्लो दलेर सबैलाई अनुरोध गर्यो ।
खाननीय तरकारी ज्यूहरू भने उद्घाटनका समयमा कोही टुसा पलाउनमा व्यस्त, कोही आफ्नो मूल्य बढाउनमा व्यस्त, कोही सुन्दर, सुन्दरी भएर उमेरदारी हुन मस्त, कोही आफ्नो कुरूपता लुकाउन व्यस्त, कोही आफ्नो शरीरमा नभएको कृत्रिम स्वाद भर्न मस्त । कोही स्नानादीमा मस्त, कोही आत्महत्या गर्न लागेका ।
यो सम्मेलनमा धेरै तरकारीहरू रिसाए । किनभने सम्मेलन तरकारी बजार जस्तो थियो । एउटा तरकारी उठेर कड्कियो ‘नेपालको संसद भवनमा जस्तो मनपरी भयो, सम्मेलनमा शान्त धैर्य र भद्र भएर बस्नु होला तरकारी महोदय ज्यूहरू ।’
‘संसद भवनमा जस्तै कुर्सी भाँच्ने, ब्रिफकेश खोस्ने, कुर्सीमा निदाउने, अनावश्यक होहल्ला गर्ने, असान्दर्भिक कुरा गर्ने अरुले बोलेको नसुन्ने हो भने यो सम्मेलनको औचित्य नै छैन तरकारी महाशयहरू’ भन्दै कोक्यानीय पिंडालुको कोक्याइलो आवाज सम्मेलनमा गुञ्जियो ।
सम्मेलनको दृश्य हेरिरहेको बैगुनी भान्टालाई पनि साह्रै रिस उठेको रहेछ सम्मेलनको बेथिति देखेर कड्कियो ‘ए साथी हो ! म पनि तपाईँहरू जस्तै आत्महत्या गर्न प्रयास गरिरहने मध्येको एक हुँ । म चुपचाप भलाद्मी भएर बस्दा तपाईँहरू किन यहाँ तरकारी बजारको जस्तो रमिता देखाइरहनु भएको छ । हामी तरकारीहरूले आफ्नो संस्कार विर्सनु हुँदैन ।’
तरकारीहरू मध्ये सरकारी तरकारीको रूपमा रहेको आलु मुला, मुला आलु, चिप्ले भिण्डी, भान्टा, लगायतका तरकारीको भने शान मान नै फरक थियो । आफ्नो औकात सम्झेर निहुरिएर बसेका झिना मसिना केही तरकारीहरू भने अल्पमतमा परेर झोक्राएका थिए । सम्मेलन उद्घाटन पश्चात अतिथिहरूले बोल्ने पालो आउन लाग्दा सम्मेलन नै बिथोलियो । आलुसँग मिल्ने तरकारीहरू एकातिर भए भने नमिल्नेहरू अर्कोतिर गुटबन्दीमा लागे । भनौँ तरकारी तरकारी बिच गुटबन्दी भयो ।
कतिपय तरकारीले एकताको प्रस्ताव राखे । कोही आलुसँग एकता गर्नु पर्छ भन्ने भए कोही पिंडालुसँग त कोही मुला र फर्सीसँग एकताको कुरा गर्न तम्सिए । तर उपलब्धि भने शुन्य भयो । एकताको हल्लामात्र चल्यो । भनौँ तरकारीहरू एकले अर्कालाई ए ! कता भनिरहे । तर एकता नभए पनि धेरै तरकारीहरू आलुसँग मिसिएर गल्न बाध्य भएका थिए भने कोही गठबन्धनलाई बलियो पार्ने पक्षमा थिए ।
यो तरकारी सम्मेलन खासमा तरकारीको बर्गीकरणका लागि भएको थियो । तर आफू आलुसँग होचिने, किचिने, पाकिने भएपछि अस्तित्व नै समाप्त हुने भएकोले आफू एक्लो बस्न धेरै तरकारीहरूले रुचाएका कारण पनि तरकारी सम्मेलन तरकारी बजार झैँ भएर बिथोलिन पुगेको समाचार नेपालको भ्यागुते रेडियोले कटुवाल बनेर फुकिरहेको थियो । भनौँ श्री आलुको सरकारका तरकारीहरू आफैँ मुला भएर आलु, फर्सी र पिंडालु झैँ गन्धे बनेर नै बस्न रुचाउने भएकोले सम्मेलन बिथोल्न लागिपरेको कुरा पनि भ्यागुते रेडियोले स्पष्ट पारेको थियो ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































