डा. बमबहादुर जितालीम बिकेको कथा
यस्तो छ है मेरो म बिकेको कथा साल, सिसौ जस्तै छ मेरो पनि व्यथा ।

डा. ऋषभ गौतम :
सयौँको भीड र औजार छन साथमा
कसैको करौँती, खुकुरी छन हातमा ।
‘गर्ल्याम गर्ल्याम’ ध्वनिले मनै थरर भो
साल, सिसौ, खयर कुनै नबच्ने जो ।
त्यहीँ बीच अडिग थियो बूढो एउटा रुख
घोत्लिएर उसलाई हेर्दा हँसिलो थियो मुख ।
वरिपरि अरु सबै काटिएको भेट्दा
‘किन?’ भन्ने प्रश्न उब्ज्यो विचित्रता देख्दा ।
बूढो रुखलाई प्रश्न सोधेँ, “तिमी किन बच्यौ ?”
यत्रा वर्ष बाँचिकन इतिहास रच्यौ ।
प्रतिउत्तर उसले दियो, “काम नलाग्ने भएर”
नत्र रेटिइ मर्न पर्थ्यो पीडा ठूलो सहेर ।
उत्तरमा उसले थप्यो बेकामी छु म त
न त काठ राम्रो मेरो न त कुनै फल ।
बजारको मोलतोलमा मेरो वाहवाह छैन
त्यसैले त निर्भीक छु, कुनै पर्वाह छैन ।
बूढो रुखको कुरोले भएँ म झसङ्ग
क्याम्पसको डिग्री सोहोर्दै पर्थेँ म दङ्ग ।
बजारको मोलतोलमा आफ्नो भाउ बढाउन
पछि परिनँ चाप्लुसीको बिन्ती चढाउन ।
थुपारिँदा सर्टिफिकेट छाती मेरो फुल्थ्यो
“बजारमा बिकूँ” भन्ने यही ठूलो भूल थ्यो।
बिक्ने जति सबैलाई सिध्याउने रैछन्
व्यापारीलाई काम नलाग्ने जति सबै सही छन् ।
लोसे आयोगहरू लाग्छन माझीदाइ जस्तो
टुप्पोमा प्रश्न राखी फाल्छन जाल सस्तो ।
त्यही प्रश्न क्वाप्प खान दिएँ उत्तर भारी
नाम निस्क्यो, जालमा परेँ, म कर्मचारी ।
यस्तो छ है मेरो म बिकेको कथा
साल, सिसौ जस्तै छ मेरो पनि व्यथा ।
बन्न सकिनँ ठूलो बूढो रुख जस्तो म
रुख देखाउँदै छोरोलाई भन्छु, “नबिक्नु है तँ” ।
०००
जिल्ला अस्पताल, रोल्पा
Subscribe
Login
0 Comments
Oldest




































