दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश – १५)
बाटो पक्रूँ कलाको नव रवि म बनूँ विश्व आँखा उघारोस् । चिन्ता दिक्दार जम्मै नरमन रिपु हुन् शून्य पारी बढारोस् ॥ अग्लो सम्मान पस्की मनुज गुण लिऊँ वृद्ध हाँसून् बिचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

दीनानाथ पोख्रेल :
अग्ला छन् कर्म ज्यादै तर म छु बबुरो लाग्छ भित्री कुनामा ।
मेसो पक्री खटेमा दिनदिन तिनले प्राप्ति दिन्छन् दुनामा ॥
छोडौँ मागेर हिँड्ने भवभर दगुरी बाहु आफ्ना पसारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७१॥
लेखूँ सन्मार्ग खुल्ने नरहित पथका काव्यमाला सजाऔँ ।
अल्छी गर्दै नपढ्ने चलन छ ननिको दूर डाँडो कटाऔँ ॥
पढ्दै सद्ज्ञान पक्रे सुख उदय भई सौख्य मिल्छन् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७२॥
गर्ने चोरीचकारी खल रिपु सम हुन् जेलमा कोच्नुपर्छ ।
पाई सन्मार्ग सङ्लो गिरि सम शिर होस् देश यो बोक्नुपर्छ ॥
पोखूँ प्यारो क्रियाले सब बुध जन हुन् वृद्ध चिन्दै पुजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७३॥
बाटो पक्रूँ कलाको नव रवि म बनूँ विश्व आँखा उघारोस् ।
चिन्ता दिक्दार जम्मै नरमन रिपु हुन् शून्य पारी बढारोस् ॥
अग्लो सम्मान पस्की मनुज गुण लिऊँ वृद्ध हाँसून् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७४॥
फुल्नेछन् फूल लाखौँ मलजल तिनको गर्न जान्नेछ माली ।
सुक्नेछन् फूल जम्मै हित कृत नहुँदा बाग बन्नेछ खाली ॥
दिन्छन् सञ्ज्ञान सङ्लो हरपल म लिऊँ वृद्धवृद्धा बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥७५॥
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest







































