सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रिय मुक्तक सम्मान- २०७९ काफ्ले र चौलागाईंलाई

लमजुङबाट वितरण हुने यस वर्षको अन्तरङ्ग- मुक्तक राष्ट्रिय सम्मान- २०७९ मुक्तककारद्वय हरिकृष्ण काफ्ले र मीना चौलागाईंलाई प्रदान गरिने भएको छ ।

Nepal Telecom ad

लमजुङबाट वितरण हुने यस वर्षको अन्तरङ्ग- मुक्तक राष्ट्रिय सम्मान- २०७९ मुक्तककारद्वय हरिकृष्ण काफ्ले र मीना चौलागाईंलाई प्रदान गरिने भएको छ ।

लमजुङमा २-२ वर्षमा सञ्चालन हुँदै आएको खुल्ला मुक्तक प्रतियोगिताका अवसरमा वितरण गरिने मुक्तकको उक्त राष्ट्रिय सम्मान रौतहटमा कर्मथलो बनाएर मुक्तकको उत्थानमा योगदान गर्दै आउनु भएका हरिकृष्ण काफ्ले र काभ्रेलाई कर्मथलो बनाएर रहनुभएकी मुक्तककार मीना चौलागाईंलाई यस वर्षको सम्मान समर्पण गरिने निणर्य भदौ १७ गते भएको हो ।

अन्तरङ्गको ३० औँ वार्षिकोत्सव तथा पाँचौँ खुल्ला मुक्तक प्रतियोगिताको पुरस्कार वितरण समारोह- २०७९ का अवसरमा यही भदौ २५ गतेका दिन उक्त सम्मान समर्पण गरिने भएको अन्तरङ्गका सम्पादक एवम् पाँचौँ खुल्ला मुक्तक प्रतियोगिताका संयोजक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार उक्त सम्मान राशिमा सम्मान पत्र, दोसल्ला, माला, टीका र बाटो खर्च स्वरूप जनही पाँच हजार रुपैयाँ रहेको छ ।

२०२२ सालको साउन १ गते जन्मिनु भएका मुक्तककार हरिकृष्ण काफ्ले चन्द्रपुर- ४ को टेलिकम टोल, रौतहट निवासी हुनुहुन्छ । कुन्जरप्रसाद र लक्ष्मीदेवी काफ्लेका सुपुत्र उहाँले २०४० सालदेखि लेखन यात्राको थालनी गर्नु भएको हो । उहाँको मुक्तक माला- मुक्तक सङ्ग्रह २०४८, बरबादीका अवशेषहरू-मुक्तक सङ्ग्रह २०६२, इन्द्रेणीको दाग-मुक्तक सङ्ग्रह २०७२, बज्जिका गीता-भगवद् गीताको स्थानीय भाषामा भावानुवाद २०७२ का साथमा प्रकाशोन्मुख कृति भोकको महाभारत (मुक्तक सङ्ग्रह) रहेका छन् । चार सन्तानका पिता उहाँकी मनोरमा काफ्ले सहधर्मिणी हुनुहुन्छ ।
उहाँले यसअघि झरना हेटौंडा सेतु मुक्तक सम्मान-मकवानपुर, तुलसी साहित्य सम्मान- रौतहट, शिव-सावित्री साहित्य सम्मान- रौतहट, अविरल साहित्य सम्मान- रौतहट, योगमाया-विद्यापति साहित्य सम्मान-मकवानपुर, अनुराग साहित्य सम्मान- रुपन्देही, शहीद ओम कार्की स्मृति साहित्य सम्मान- सर्लाही, मुक्तक रत्न साहित्य सम्मान- थाहा नगर पालुङ, मकवानपुर, हातेमालो प्रतिभा सम्मान- रौतहट लगायतका दर्जनौँ सम्मानबाट सम्मानित हुनु भएको छ ।

यसैगरी अर्को सम्मानित व्यक्तित्व मीना चौलागाईंको जन्मथलो रामेछाप र कर्मथलो काभ्रे हो । वि सं २०३५ साल भदौ १६ गते रामेछापको लखनपुर रिष्ठे गा.वि.स वडा नं ५ (हाल दोरम्बा गा.पा. वडा नं ६) निवासी भगवतीप्रसाद गौतम र दिव्यश्वरी गौतमकी कान्छी छोरीको रुपमा उहाँको जन्म भएको हो । उहाँका दुई दाजु र चार दिदी हुनुहुन्छ ।
स्नातकोत्तर उतीणर् गर्नु भएकी उहाँसँग अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थामा करिब चार वर्ष समुदाय स्वास्थ्य सहायकको रूपमा काभ्रेको विभिन्न दुर्गम गाउँहरूमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी अहेवको रूपमा काभ्रेको दुर्गम क्षेत्रका विभिन्न स्वास्थ संस्थाहरूमा पनि केही वर्ष काम गर्नुभएको छ । काठमाडौँको लामो बसाइमा भने करिब दस वर्ष स्कुल कलेजहरूमा प्राध्यापन गरेको अनुभव छ ।

२०७५ सालको वडादशैंदेखि अस्पतालको बेडमा दिनचर्या बिताउन थाल्नु भएकी उहाँको अझै पनि अस्पतालको साइनो टुट्न सकेको छैन । मुटुको विरामीका कारणले गर्दा पुनर्जीवन पाएर दिन चर्या बिताउँदै आउनु भएकी उहाँ पछिल्ला करिब ६-७ वर्षदेखि भने निरन्तर सिर्जनामा लाग्नु भएको छ । नेपाली साहित्यको फाँटमा आफूलाई मुक्तककारको रुपमा चिनाउने सोख राख्नु हुने उहाँ हरेक दिन जसो एउटा मुक्तक लेख्ने बानी परिसकेको बताउनु हुन्छ । उहाँले १ हजार ५ सय भन्दा बढी मुक्तकहरू लेखिसकेको बताउनु हुन्छ । उहाँको एक मुक्तक सङ्ग्रह ‘मुक्तक मिनार’ बजारमा आइसकेको छ । जसमा उहाँका ३०६ वटा मुक्तकहरू समेटिएका छन् ।

उहाँको गजल एउटा सङ्ग्रह तयार छ । गीतहरू पनि लेख्नु हुन्छ । कविताहरू पनि छन् । केही लघुकथाहरू पनि लेख्न थाल्नुभएको छ । उहाँको कलम हाइकुमा पनि चल्छ । कोपिलाहरू त्यत्तिकै लेख्ने गर्नु भएको छ ।

०००

समाचार स्रोत : अन्तरङ्ग अनलाइन, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad