साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४३८ औँ विशेष शृङ्खला

राम विनयको अध्यक्षता र सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा विशेष अतिथिका रूपमा प्रा.डा.रमेशप्रसाद भट्टराई र सन्ध्याका सल्लाहकार विधान आचार्य उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत ४ । विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३८ औँ विशेष शृङ्खला चैत्र ४ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा प्रविधिमैत्री परिचर्चाका साथ विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा विशेष अतिथिका रूपमा प्रा.डा.रमेशप्रसाद भट्टराई र सन्ध्याका सल्लाहकार विधान आचार्य उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.डा.खेमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू गायत्रीकुमार चापागाईँ र डम्बर पहाडी ‘एलाक’, प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका बैरागी जेठा, महेशराज खरेल, खेमराज निरौला, बङ्गलादेशको ढाका विश्वविद्यालयका डा.भिजानुर रहमान कल्लोल र डा.बनाइजा रहमान, बङ्गालादेशी साहित्यकार सुजन बरुवा र सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा पावरप्वाइन्टबाट विशद चर्चा गर्नुहुँदै विशेष अतिथि विधान आचार्यले प्रविधि भनेको युवालाई मात्र होइन सबै पुस्तालाई आवश्यक छ र त्यसमा पनि प्रौढपुस्तालाई झनै आवश्यक रहेको छ । प्रविधिमा पछाडि परियो भने साहित्यसिर्जना प्रभावित हुन्छ । बसाइँसराइका कारण सहरीकरण बढेको छ र प्रविधिको विकास पनि भएको छ । अहिलेको साहित्यमा युवाको आकर्षण बढाउनु नितान्त आवश्यक छ किनभने युवा प्रविधिमा विशेष जानकार हुन्छन् । साहित्य र भौतिक विकास अन्तरसम्बन्धित हुन्छन् । अहिलेको नयाँपुस्ता भौतिकरूपमा झनै विकसित छ । अनुभव र कल्पनाशीलता साहित्यका स्रोत हुन् । साहित्यसिर्जना गर्ने हरेकले प्रविधिमैत्री हुनु आवश्यक छ ।

विगतको इतिहास हेर्ने हो भने पनि स्थापित स्रष्टालाई आफ्नो कृति प्रकाशन गर्न कम्तीमा बिस-बाइस वर्षको उमेर पार गर्नुपरेको देखिन्छ भने अहिलेको युवापुस्ता कलिलै उमेरमा कृति प्रकाशन गर्न सफल भएको पाइन्छ । हाम्रो परम्परागत लेखन श्रुतिपुम्परामा केन्द्रित थियो, लेखनमा वयस्क र प्रौढहरूको नेतृत्व रहेको थियो अहिले पनि त्यसको अंश भेटिन्छ, साहित्यसिर्जना र प्रकाशनमा सम्भ्रान्त वर्गको वा धनी वर्गको नै वर्चस्व रहेको देखिन्छ अर्थात् साहित्यसिर्जनामा सबैको पहुँच पुगेको अहिले पनि पाइँदैन । पश्चिमा मुलुकको साहित्यसिर्जना वा प्रविधिप्रयोगको तुलनामा त हामी एक सय पचास वर्ष पछाडि नै छौँ ।

त्यहीँ भारतीय साहित्यमा उपनिवेशको प्रभाव परेको छ र उनीहरूको प्रभाव हाम्रो साहित्यमा पनि परेको देखिन्छ । २०३६ देखि २०४७ सम्म राजनीतिक चेतनाका कविता लेखिएका छन् भने २०४७ देखि २०६३ सम्म राजनीतिक चेतनाका साथै सामाजिक रूपान्तरणका साहित्य सिर्जना भएका देखिन्छन् । २०६३ पछि युवाहरू बढी सक्रिय भएका देखिन्छन् तर उनीहरूको सक्रियता लोकदोहोरी तथा पपगीततर्फ मोडिएको देखिन्छ । सञ्चारको तीब्र विकास भइरहेको वर्तमानमा हरेक स्रष्टाले प्रविधिमैत्री हुनै पर्दछ र गुगलको किप (प्भभउ०)भन्ने फोल्डरमा आफ्ना रचना विभिन्न विधागत फोल्डर बनाएर सुरक्षित राख्नसकिन्छ, त्यसमा जानकार हुनै पर्दछ । प्रविधिबाट सबै कुरा सिक्न सकिन्छ, सिक्न सम्भव छ । प्रविधिको प्रयोगले नयाँ वा पुराना स्रष्टाको रुचि बढाउँछ, समाजलाई हेर्ने दृष्टिकोण बदलिन्छ, ज्ञानको दायरा बढ्छ तर प्रविधिको प्रयोगले मौलिकता चाहिँ हराउँछ कि भन्ने चिन्ता पनि पैदा गराइदिएको छ भन्नेसमेतका विविध दृष्टान्तसमेत देखाएर विस्तृतरूपमा जानकारी गराउनुभयो ।

गोष्ठीमा डम्बर पहाडी, ओमप्रसाद कोइराला, कुमार नेपाल, रामचन्द्र दाहाल, विन्दु अधिकारी ढकाल, गायत्रीकुमार चापागाईँ, मुकुन्द न्यौपाने, महेशराज खरेल, डा.गोविन्दप्रसाद आचार्य, विधान आचार्य, खेमराज निरौला, डा.खेमनाथ दाहाल, रूपक अलङ्कार, बैरागी जेठा, डा.फणीन्द्रराज निरौला, प्रशान्त खरेल, प्रकाश सिलवाल, डा.बनाइजा रहमान, डा.मिजानुर रहमान कल्लोल र सुजन बरुवाले नेपाली, अङ्ग्रेजी र बङ्ला भाषाका आआफ्ना कविता, गीत, मुक्तक, एलाक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणीसमेत गर्नुहुँदै विशेष अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराईले साहित्य सन्ध्या ऊर्जाशील संस्था हो र यसले आज ४३८ औँ शृङ्खला सम्पन्न गरिरहेको छ । ‘जबसम्म कविता सामाजिकताबाट डोहोरिँदैन तबसम्म कविता हुँदैन’ भन्ने विद्वानको भनाइ हाम्रो सिर्जनाका तहमा पनि लागू हुन्छ । अहिले हामी पुँजीवादी प्रभावले लादेको सङ्कट व्यहोरिरहेका छौँ । आज वाचित कवितामा उत्पीडित वर्गको सामाजिकता, आमाको महत्ता र मूल्य स्थापना गर्ने परिवारको सामाजिकता, श्रमको मूल्यवत्ताको खोजी, बजारको दासत्वको उदात्तीकरण, राजनीतिले पारेको नकारात्मक प्रभाव, सुँगुरको विम्बको व्यङ्ग्यका माध्यमबाट नेपाली राजनीतिमा देखिएको विकृतिका प्रति आक्रोश, निरन्तर श्रमको पक्षमा लाग्नुपर्ने वकालत गरिएको छ ।

त्यसैगरी कवितामा पर्यावरणीय चेतनाका सन्दर्भबाट क्रान्तिचेत, प्रकृति र जीवनको सम्बन्ध उजागर गरिएको छ । कवितामा व्यक्तिदृष्टिबाट विश्वदृष्टिसम्मको उदात्तताको प्रकटीकरण भएको छ । लोकलयमा श्रमको सामूहिकताको गायन गरिएको छ । पहिचानका नाममा स्वत्व हराएको वा निषेध गर्नखोजिएको प्रति आक्रोशयुक्त व्यङ्ग्य गरिएको छ । सत्तापक्षको स्वार्थ र उन्माद देखिएको विकृत राजनीतिका प्रति कठोर प्रहार गरिएको छ । अतीतमा हामीले भोगेको हिंसाको विरोध गरिएको छ ।

मुलुकको वर्तमानको युवापलायनको पीडा कवितामा उजागर गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ननसक्दासम्म हाम्रा समाज वृद्धाश्रममा परिणत हुने क्रम नरोकिने चिन्ता जाहेर गरिएको छ । विदेशी स्रष्टाहरूले बङ्गलादेशको राष्ट्रियता र महिलाप्रति सम्मान भाव व्यक्त गरिएका कविता सुनाउनुभएको छ र आजको यो समारोह बहुभाषी रचनावाचनको विशेष समारोह बनेको छ ।

अबको हाम्रो बहस चाहिँ कविताको गर्भ, विषय र धार खुट्याउने अनि कविताको गति के हुने ? भन्ने विषयमा केन्द्रित गर्नु बढी सान्दर्भिक हुने छ । अहिलेको पुँजीवादले लादेको उपभोक्तावादका विरुद्धमा र अबको साहित्यसिर्जनाका बारेमा बहस गरिनु आवश्यक छ । पुँजीवादको विकाससँग हाम्रा सिर्जना जोड्ने र समाजवादसम्मको गन्तव्यको पक्षमा सिर्जनालाई केन्द्रित गर्नु आवश्यक छ । गुण र मूल्यका दृष्टिले भने आजका कविता उत्कृष्ट रहेका छन्, आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले गोष्ठीबाट स्रष्टाले सिर्जना गर्दा निकै धेरै सावधानी अपनाउनु आवश्यक हुन्छ भन्ने चेतना, सन्देश प्राप्त भएको छ । तीनजना बङ््गलादेशी साहित्यत्कारसमेत रहनुभएका विशेषज्ञ व्यक्तित्वको उपस्थिति र उहाँहरूका रचना सुन्ने अवसर अत्यन्त सुखद रहेको बताउनु भयो । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्को महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x