सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नवगठित प्रज्ञा प्रतिष्ठानका सय दिन : आगामी योजनाबारे जानकारी

पत्रकार सम्मेलनमा कुलपति भूपाल राईले यो परिषदले पूर्वपरिषद र अघिल्लो कार्यकालका कुनै प्राज्ञप्रति कुनै पूर्वाग्रह राखेर एक शब्द पनि नबोलेको नलेखेको बताउनु भयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १२ । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ प्राज्ञपरिषद गठन भएको सय दिन पुगेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रज्ञा प्रतिष्ठानको नयाँ प्राज्ञ परिषदले यी सय दिनमा के के कार्यहरू गर्‍यो भनेर जानकारी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा कुलपति भूपाल राईले यो परिषदले पूर्वपरिषद र अघिल्लो कार्यकालका कुनै प्राज्ञप्रति कुनै पूर्वाग्रह राखेर एक शब्द पनि नबोलेको नलेखेको बताउनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठान यो देशको वाङमयको विकास निम्ति सर्वोच्च निकाय हो र यो सबैको साझा हो, प्रज्ञा गठनको आधिकारिक ऐन अनुसार नै यो संगठित र परिचालित छ । तर केही मित्रहरू अलि एकपाखे विचार र आग्रह बोकेर हिँडिरहेको देख्दा आश्चर्य लागेको छ भन्नु भयो ।

कुलपति राईले पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको  दिनुभयाे । उहाँले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्द रहेको र धेरै उजुरी आएकोले पनि बृहत् नेपाली शब्दकोशमा कुनै पनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताउनुभयो।

कुलपति राईले प्रतिष्ठानले सबै भाषा र जातजातिलाई समेटर लैजानुपर्ने चुनौती रहेको बताउनुभयो। उहाँले साहित्यिक पत्रपत्रिकालाई दिँदै आएको अनुदान कटौती नहुने र निरन्तर प्रदान गरिने स्पष्ट पार्दै नेपाली भाषा साहित्य पत्रकारिता र मातृ भाषाको साहित्यिक पत्रकारिताको क्षेत्रमा  विशेष योगदान पुर्‍याउने दुई जनालाई पुरस्कृत गर्ने गरी ‘प्रज्ञा साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार दिने घोषणा पनि कुलपति राईले गर्नुभयो ।

उपकुलपति विमल कृष्ण श्रेष्ठले ‘लालुपाते’ को प्रसङ्गमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मेरो फाइलभित्र बन्द रहेको लालुपातेले कति छिटो हाँगा हाल्दै सार्वजनिक भएर रङ्गीविरङ्गी बन्न पुग्यो यो अर्को आश्चर्य हो भन्नु भयो ।

सदस्यसचिव डा. धनप्रसाद सुवेदीले विज्ञप्ति वाचन गरिसकेपछि पत्रकारहरूले उठाएका सान्दर्भिक प्रश्न र जिज्ञासाहरूको जवाफ कुलपति, उपकुलपति एवम सदस्य सचिव सुवेदीले दिनु भएको थियो ।

पत्रकार सम्मेलनमा विभागीय जिम्मेवारी लिनुभएका परिषद सदस्यहरू डा. मधसुदन गिरी, डा. काैशिला रिसाल,  हंशावती कुर्मी, डा. कृष्णराज अधिकारी, बाबा बस्नेत, राजन मुकारूङ, अगिव बनेपाली, उपत्याकामा उपलब्ध प्राज्ञसभा सदस्यहरू डा. विप्लव ढकाल, डा. कृष्णराज सवर्हारी, चेतनाथ  धमला लगायत विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूकाे उपिस्थिति थियाे ।

प्रस्तुत छ प्रज्ञा प्रतिष्ठानको नवनियुक्त प्राज्ञ परिषदको सय दिन पुगेका अवसरमा कुलपति भूपाल राईद्वारा हस्ताक्षरित विज्ञप्तिका प्रमुख अंश-

नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले कार्यभार सम्हालेको (मिति २०७९ फागुन ४ गतेदेखि) १०० दिन पुगेको छ । कुनै पनि नयाँ काम थालेको १०० दिनसम्म सम्बन्धित कामका बारेमा थाहा पाउने अवधिका रूपमा लिने आम प्रचलन छ । यही प्रचलनलाई आत्मसात् गर्दै यस अवसरमा प्रतिष्ठानबाट सम्पादन गरिएका मुख्य मुख्य काम तथा आगामी नीति र कार्यक्रमहरू सार्वजनिक गर्नका लागि यो सम्मेलनको आयोजना गरिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वको मार्गदर्शक सिद्धान्त, नीति तथा १०० दिनमा भएका मुख्य काम तथा आगामी कार्यक्रमहरू बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

(१) नेपाल प्रज्ञा-प्रतिष्ठानको ६५ वर्षको लामो इतिहासको निरन्तर कडीका रूपमा जोडिन आएकाले हामीलाई एकातिर यसको इतिहास, परम्परा, मूल्य, मान्यताहरूलाई आत्मसात् गर्नुपर्ने अवस्था छ भने अर्कातिर नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान स्वरूपको गठन वि.स. २०५२ बाट सुरु भएको ऐतिहासिक जनयुद्ध र त्यसको जगमा भएको वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सन्दर्भमा भएको हुँदा हामीसँग नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, त्याग र बलिदानको विरासत पनि जोडिएको छ । त्यसैले नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वलाई प्रज्ञा-प्रतिष्ठानको अविच्छिन्न उत्तराधिकारको निरन्तरतामा रहँदा रहँदै पनि यसको काँधमा परम्पराका राम्रा कुराको अनुसरण गर्दै आजको युगसापेक्ष संस्कृतिको निर्माण र रूपान्तरणको दायित्व आइपरेको छ । खास गरेर जनसङ्घर्षको इतिहास,सबै प्रकारका विभेद, उत्पीडन, असमानता, शोषण, अन्यायको अन्त्य र नेपालको वर्तमान संविधानले निर्दिष्ट गरेकोे समावेशी, समानुपातिक, सङ्घीय गणतन्त्रात्मक व्यवस्था र संविधानमा परिकल्पना गरिएको समाजवाद उन्मुखताका मूल्य, मान्यता, सौन्दर्यअनुरूपको जिम्मेवारीप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्व सचेत र प्रतिबद्ध रहेको छ ।

(२) १०० दिनको अवधिमा सम्पादन भएका मुख्य कामहरू यस प्रकार छन् :
० २०७९ फागुन ४ गते पदभार ग्रहण, परिषद् तथा सभाका उपलब्ध सदस्यहरूको शपथ ग्रहण ।
० २०७९ फागुन ८ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम ।
० २०७९ फागुन ११ गतेको बैठकबाट आजीवन सदस्यको दोहोरो सुविधा हटाउने निणर्य । २०८० वैशाख ४ गतेको प्राज्ञ सभाबाट अनुमोदनसमेत भइसकेको सो निणर्यमाथि वैशाख ५ गते सम्मानित सर्वोच्च अदालतबाट तत्काल कार्यान्वयन नगर्ने भनी अन्तरिम आदेश जारी । मुद्दा विचाराधीन ।

० विभागीय समिति तथा पत्रिकाहरूको सम्पादक मण्डल गठन गरी काम अगि बढिरहेको ।
० इतिहास शिरोमणि बाबुराम आचार्य, साहित्यकार भीमनिधि तिवारी, युग कवि सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न ।
० भाषा, साहित्य, संस्कृति, दर्शन, सामाजिक शास्त्रसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना । विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा गोष्ठी, अन्तरक्रिया, अनुसन्धान तथा प्रकाशनका कार्यक्रमको थालनी ।
० इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, मकवानपुर, चितवन, बाँके, कैलाली, कास्की, स्याङ्जा, सुर्खेत, दैलेख, कालिकोट, सिँजा, जुम्ला, मुगुको रारालगायत देशका विभिन्न क्षेत्रमा भएका भाषा, साहित्य, संस्कृति सम्बन्धी कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति, परिषद सदस्य तथा प्राज्ञ परिषद् सदस्यहरूबाट आतिथ्य ग्रहण, विभागीय गोष्ठी, विचार तथा कार्यपत्र प्रस्तुति ।
० देश विदेशका विभिन्न लेखक, साहित्यकार, अनुसन्धाता, संस्कृतिविद्हरूसँग भेटघाट, छलफल, अन्तरक्रिया कार्यक्रम ।
० मिति २०८०।०१।०४ गते नेपाल प्रज्ञा-प्रतिष्ठानको ३९ औँ प्राज्ञ सभा (यस कार्यकालको पहिलो) सम्पन्न । उक्त सभाबाट महत्त्वपूणर् निणर्यहरूका साथै आगामी नीति तथा कार्यक्रमहरूपारित ।
० नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रगतिशील लेखक संघ तथा स्थानीय संस्थाहरूसँगको सहकार्यमा २०८० वैशाख १४ गतेदेखि सप्ताहव्यापी साहित्यिक यात्राका क्रममा सुर्खेत, दैलेख, दुल्लु, कालिकोट, सिँजा, जुम्ला खलङ्गा, रारासम्मको सिर्जना यात्राका साथै कविता गोष्ठी, दर्शन, भाषा तथा सामाजिक शास्त्रका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न । करिब ९० जना लेखकहरूको सहयात्रासँगै सयौँको सङ्ख्यामा स्थानीय स्रष्टा, जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र सर्वसाधारणसँगको भेटघाट, छलफल, सिर्जनात्मक प्रस्तुति ।
० मिति २०८० वैशाख १८ गते मुगु जिल्लाको रारा तालमा प्राज्ञ परिषद्का ८ जना प्राज्ञहरूको उपस्थितिमा परिषद्को बैठक बसी ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने नाराका साथ ५ बुँदे ‘रारा घोषणा पत्र’ जारी :
(अ) नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मैदेखि स्वीकार गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानलाई सबैको साझा थलो बनाइनेछ ।
(आ) सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने छ
(इ) प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छवि हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ/गराइने छ ।
(ई) ज्ञानका बहुविध क्षेत्रहरूमा बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई जोड दिइनेछ ।
(उ) आजको युगमा प्रश्न जुनसुकै क्षेत्र तह तप्कामा आवश्यक छ । प्रश्न आफैसँग पनि गरिनेछ । प्रश्नसँग सँगै काम गरिनेछ ।

(४) आगामी योजना तथा कार्यक्रम :
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रमुख योजना तथा कार्यक्रमहरू निम्नअनुसार रहेका छन् :
(क) हरेक वर्ष असार ९ गत आयोजना हुँदै आएको प्रतिष्ठानको नियमित कार्यक्रम ‘राष्ट्रिय कविता महोत्सव’लाई यसपटक (आगामी असार ९ गते) देखि ढाँचागत परिमार्जनसहित सम्पन्न गर्नेगरी कार्यक्रम तय गरेका छौँ । राष्ट्रिय कविता महोत्सवलाई नामअनुसार नै ‘राष्ट्रिय’ र ‘महोत्सव’बनाउनका लागि सबैले अपनत्व महसुस गर्न सक्नेगरी बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने योजना रहेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानले कविता प्रतियोगिता होइन, आम कवि वा स्रष्टाहरूका लागि सिर्जनात्मक वातावरण निर्माण गर्नु हो भन्ने ठहरसहित सहभागितामूलक कविता महोत्सवको आयोजना गरिएको हो । साहित्यका अन्य विधा (सम्भव भएसम्म सबै विधा) मा पनि यस्तै महोत्सवहरू सञ्चालन हाम्रो नीति रहेको छ ।

(ख) नेपाल प्रज्ञा-प्रतिष्ठानले यसअगि साहित्यिक पत्रिकालाई केही आर्थिक अनुदान प्रदान गर्दै आएकोमा यस पटकदेखि मूलधारका साहित्यिक पत्रकार र मातृभाषाका साहित्यिक पत्रकार गरी वार्षिक दुई जनालाई ‘साहित्यिक पत्रकार राष्ट्रिय पुरस्कार’ प्रदान गरिने छ ।

(ग) नेपाली जनताको सङ्घर्ष, बलिदान र वीरताको गाथा एवं सौन्दर्यात्मक मूल्यको खोजी र स्थापनामा जोड दिने प्रतिष्ठानको नीति रहेको छ । ‘सबैको प्रज्ञा प्रतिष्ठान’ नीतिअनुसार सम्भव भएसम्म प्रज्ञा-प्रतिष्ठानका सबै विभाग र पत्रिकाका प्रकाशनहरूलाई बहुभाषी बनाउने प्रयास गरिने छ ।

(घ) नेपाल प्रज्ञा-प्रतिष्ठानमा रहेका ११ ओटा विभागमध्ये यसअगि प्रचलनमा रहेको ‘लोकवार्ता तथा बालसाहित्य’ विभाग विषय क्षेत्रअनुसार अमिल्दो भएको र बालसाहित्यलाई अर्को विषय क्षेत्रमा नमिसाई स्वतन्त्र रूपमा विकास गर्नुपर्ने आवश्यकता बोध गरी बालसाहित्यको मात्रै छुट्टै विभागकायम गरी बालसाहित्यको विकासमा विशेष जोड दिइने छ ।

(ङ) नेपालमा मौखिक इतिहास जस्तो महत्त्वपूणर् पक्षलाई प्राज्ञिक रूपमा नसमेटिएको अवस्थालाई ध्यान दिई नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले यसलाई प्राथमिकता दिएको छ । त्यसैले संस्कृति, लोकवार्ता र मौखिक इतिहास जस्ता एक अर्कासँग सम्बन्धित विषयलाई समेटेर ‘संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास’ विभागको गठन गरिएको छ । जनताका सुख, दःख, भोगाइ र संस्कृतिको इतिहास मौखिक परम्परामा रहेको हुन्छ र ती सबैको लिखित इतिहास हुँदैन । त्यसैले मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनलाई हामीले प्राथमिकतामा राखेका छौँ ।

(च) प्रज्ञा नेपाली बृहत् शब्दकोशका बारेमा रहेका विवाद र त्यससम्बन्धी परेका उजुरीहरू समेतलाई मध्यनजर गर्दै शब्दकोश परिमार्जन र विस्तार गरिने छ । यसका लागि सरोकारवाला संस्थाहरूका साथै विषय विज्ञ, भाषाविज्ञहरूको सल्लाह लिई शब्दकोशलाई सकेसम्म कम विवादित बनाउने प्रयत्न गरिने छ ।

(छ) नेपालका मौलिक तथा रैथाने दर्शनको अध्ययन एवम् अनुसन्धानमा जोड दिइने छ ।

(ज) नेपाली भाषाबाट विभिन्न मातृभाषा तथा विदेशी भाषामा, मातृभाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषाहरूमा विभिन्न कृतिहरूको अनुवाद तथा प्रकाशनमा जोड दिइने छ ।

(झ) सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिक जस्ता महत्त्वपूणर् पक्ष (सात ओटै प्रदेशको) को अध्ययन अनुसन्धान गरी ‘नेपाल दिग्दर्शन’ (विभिन्न भागमा) ग्रन्थको प्रकाशन गरिने छ ।

(ञ) नेपालमा बोलिने सबै भाषाको साहित्यको समग्र इतिहासको खोजी गर्नु नेपाल प्रज्ञा-प्रतिष्ठानको दायित्व हो भन्ने कुरालाई मनन गरेर हामीले साहित्येतिहासलाई जोड दिँदै ‘समालोचना तथा साहित्येतिहास’ विभागको गठन गरेको छौँ (यसअगि प्रचलनमा रहेको ‘समालोचना र निबन्ध’ विभाग विधागत प्रकृतिअनुसार त्यति उपयुक्त नभएकाले त्यसलाई संशोधन गरी निबन्धलाई गद्य विभागमा समावेश गरिएको छ) । यस विभागमार्फत नेपाली साहित्यको प्रादेशिक तथा समग्र इतिहासको अनुसन्धान एवम् प्रकाशनमा जोड दिइने छ ।

(ट) प्रज्ञा-प्रतिष्ठानबाट गरिने अनुसन्धान तथा प्रकाशनको महत्ता र गहनताका बारेमा हुने गरेका टीका टिप्पणीप्रति हामी सचेत छौँ र यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यसैले प्रतिष्ठानबाट गरिने अनुसन्धान र प्रकाशन कार्यलाई सङ्ख्यात्मकतामा नभएर गुणात्मकतामा जोड दिइने हाम्रो नीति रहको छ ।

(ठ) नेपाल प्रज्ञा-प्रतिष्ठानले यसअगि प्रकाशित गर्दै आएका विभिन्न पत्रिकाहरूका अतिरिक्त थारू, तामाङ, मगर, राई (किराती) लगायतका भाषामा पत्रिका प्रकाशन गर्ने, सामाजिक शास्त्र विभागको संयोजनमा ‘अन्वेषण’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्ने ।

(ड) भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनका क्षेत्रमा क्रियाशील स्रष्टा, लेखकहरू तथा नेपाल प्रज्ञा-प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारीसरह स्वास्थ्योपचारमा सुविधा उपलब्ध गराउने व्यवस्थाका लागि पहल गरिने छ ।

(ढ) नेपाल प्रज्ञा-प्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने, नेपाल प्रज्ञा-प्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, समालोचना दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमलाई अझ प्रभावकारी बनाइने छ ।

(ण) प्रदेश तथा पालिकास्तरका स्तरमा समेत प्रतिष्ठानहरू बनेको अहिलेको अवस्थामा नेपाल प्रज्ञा प्रतिष्ठानले त्यस्ता प्रतिष्ठान एवम् तथा अन्य साहित्यिक संस्थाहरूसँगको सहकार्यमा आफ्ना कार्यक्रम अगाडि बढाउनु उचित हुने हुनाले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धान, प्रकाशनका साथै गोष्ठी, अन्तरक्रिया लगायतका कार्यक्रममा सहकार्य गरी अगि बढिने छ । आदि ।

अन्त्यमा
नेपाल प्रज्ञा-प्रतिष्ठान यसका नीति, नियम, कार्यप्रणाली, स्रोत, साधानका परिधि, सीमा, समस्याहरूको बिचबाट आफ्ना काममा निरन्तर रूपमा अगाडि बढ्ने छ । हामीलाई थाहा छ, यथास्थितिवादी तथा पुरातनवादी चिन्तन, प्रवृत्ति र पूर्वाग्रहबाट पे्ररित भएकाहरू हाम्रा विरुद्ध निराधार र भ्रामक प्रचार गरिरहेका छन् । स्मरण रहोस् सत्यलाई तोडमोड गरी दुष्प्रचार गर्ने प्रवृत्ति सञ्चारका नाममा विकृति मात्रै नभएर अपराध पनि हो । यसले आम सञ्चार क्षेत्रको गरिमा, महत्त्व र विश्वसनियतामाथि आँच पुर्‍याउँछ । त्यसैले यस्तो प्रवृत्तिका विरुद्ध आम सञ्चार जगत् र प्राज्ञिक जगत सचेत हुन आवश्यक छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धान गर्ने देशको सर्वोच्च संस्था हो । यसको गरिमासँग देशका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको गरिमा अर्थात् देशकै गरिमा जोडिएको हुन्छ । त्यसैले भाषा, साहित्य, संस्कृति, दर्शन, सामाजिक शास्त्रको क्षेत्रमा काम गर्ने प्राज्ञिक जगत्लगायत पत्रकार, बुद्धिजीवी र न्यायप्रेमी जनसमुदायबाट हामीलाई रचनात्मक सल्लाह, सुझाव र सहयोग प्राप्त भइरहेका छन् र यसबाट हामी उत्साहित भएका छौँ । त्यस्ता रचनात्मक सुझाव, सल्लाह र सहयोग सदैव प्राप्त हुने छ भन्ने विश्वास लिएका छौँ ।

भूपाल राई
कुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad