साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा रामलालकाे ७७ औँ जन्मजयन्ती, स्रष्टा सम्मान तथा कृति लोकार्पण

बुद्धि घिमिरे स्मृति प्रतिष्ठान- इनपा र सूर्योदय सामाजिक प्रतिष्ठान- सूनपाको संयुक्त आयोजनामा भारतीय मूलका नेपाली साहित्यकार रामलाल अधिकारीको ७७ औँ जन्मजयन्तीको अवसर पारेर विविध साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

सूर्योदय, इलाम / २०८० असोज २५ अर्थात् २५ तारिक २०२३ का दिन सूर्योदय नगरपालिका -२ , मा अवस्थित बौद्धधाम माध्यमिक विद्यालयको सभा हलमा एउटा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो । बुद्धि घिमिरे स्मृति प्रतिष्ठान- इनपा र सूर्योदय सामाजिक प्रतिष्ठान- सूनपाको संयुक्त आयोजनामा भारतीय मूलका नेपाली साहित्यकार रामलाल अधिकारीको ७७ औँ जन्मजयन्तीको अवसर पारेर विविध साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको हो ।

नेपालभित्रका विशेष गरी इलाम, झापा र स्थानीय स्रष्टाहरूबाट र आमन्त्रित स्रष्टाहरू ( दार्जिलिङ र सिलिगुडी ) बाट आ-आफ्ना रचनासहितको भूमिका निर्वाह भएको थियो । कवि इन्द्रनारायण सुवेदीको अध्यक्षता, राजनीतिज्ञ महेश बस्नेतको प्रमुख आतिथ्य र सूनपा नगरप्रमुख रणबहादुर राईको विशेष आतिथ्य लगायत लोकनाथ चापागाईँ, प्राज्ञद्वय कोमल निरौला तथा रविमान लम्जेल, सूसाप्रका अध्यक्ष धनकुमार तामाङ, वर्तमान कार्यसमिति सदस्य कवि कुलप्रसाद ढकाल, वर्तमान सल्लाहकारहरू डिल्लीप्रसाद सुवेदी, देवीप्रसाद गौतम, विएन बराल, पूर्व संस्थापक सह-सचिव नदी भट्टराई, बौद्धधाम माविका प्रअ किरण मोक्तान, सञ्चारकर्मी चन्द्र भण्डारी, लेखक तथा पत्रकार केदार शर्मा, आजका लोकार्पित कृतिका स्रष्टा शिव अधिकारी (इलामे जेठो), कवि विमल वैद्य, उपप्रमुख दुर्गादेवी भट्टराई,सम्मानित स्रष्टाद्वय देवदास राई तथा कुवेर राई, लोकगायक देवीप्रसाद गौतम, गायकद्वय तुलसी क्षेत्री र राजेश चाम्लिङ, खगिन्द्रा खुशी, लक्ष्मी अच्युत ढुङ्गाना, टीका भट्टराई नेपाल, टिङ्कु भट्टराई, कविता राई गाउँले , डा.देवीक्षेत्री दुलाल , जयनारायण भट्टराई, बरिष्ठ सङ्गीतकार तथा गायक जीवन अधिकारी, अचला अधिकारी, गायिका जूनु गौतम, मोक्ष खतिवडा, पत्रकारद्वय भीम चापागाईँ र मनोज अधिकारी, तुलाराम पुरी, नेत्र क्षेत्री, प्रतिभा पौडेल, टीका घिमिरे, विपिन घिमिरे, विनु घिमिरे, उत्तम पौडेल, माधव पौडेल, रोशन योञ्जन, भूवनराज ढुङ्गाना, गायत्रा ओली , डिक बम्जन र विवश बलिभद्र कोइरालालगायतका अतिथिहरू रहेका थिए ।

कार्यक्रम समयमै शुरु भए पनि प्रमुख अतिथि र विशेष अतिथिको उपस्थिति कुर्नुपर्यो । सम्पूर्ण अतिथिहरूलाई खदा , माला र व्याजद्वारा सम्मान गरेपश्चात दिवङ्गत साहित्यिक स्रष्टाहरूको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो भने गायक तुलसी क्षेत्रीद्वारा राष्ट्रगान तथा नगरगान प्रस्तुत गरिएको थियो । स्रष्टाद्वय बुद्धिप्रसाद घिमिरे तथा रामलाल अधिकारीको तस्विरमा माल्यार्पण गर्दै दीप प्रज्ज्वलनसहित कार्यक्रमको विधिवत उद्घाटन भएको थियो ।

कार्यक्रममा रचना वाचन, गायन, मन्तव्य र स्रष्टा सम्मान पनि भएको थियो । साहित्यिक स्रष्टा तथा बौद्धधाम माविका प्रथम प्रअ देवदास राई तथा सुगम सङ्गीतका उच्च साधक इलामे सान मूलतः गायक कुवेर राईलाई पनि सम्मान गरिएको थियो । यसै क्रममा मूलतः मुक्तककार शिव अधिकारी ( इलामे जेठो ) को आठौँ कृति ‘अधुरो सपना’ नामक मुक्तक सङ्ग्रहको पनि मञ्चासिन अतिथिबाट लोकार्पण भएको थियो ।

त्यसपछि लोकार्पित कृति – ‘अधुरो सपना ‘ को कथ्य समीक्षा कवि जीवनहरि शर्मा (पोखरेल) ले गर्नुभएको थियो जसमा लोकार्पित कृतिभित्र कृतिकार शिव अधिकारीको रचना कर्मको निरन्तरता र मुक्तकको व्यत्पत्ति तथा मुक्तकको स्थान निर्धारण गरेका थिए । त्यसैगरी आजको मुख्य आकर्षण साहित्यकार रामलाल अधिकारीको कृतित्व र व्यक्तित्वको बारे कवि इन्द्रनारायण सुवेदीले बोलेका थिए । स्रष्टा अधिकारीलाई उनका करिब २७ वटा कृतिहरूको केन्द्रीयतामा मूलतः कवि एवम् निबन्धकार, कुशल प्राध्यापक, सम्पादक, पत्रकार, शिक्षाविद्, झर्रो भाषा शैलीको प्रयोगकर्ता र बहुमुखी प्रतिभाको रूपमा चिनाउने प्रयास गरेका थिए । कार्यक्रमको बिचमा आणन्त्रित अतिथि तथा स्थानीय स्रष्टाहरू क्रमशः जूनु गौतम, कोमल निरौला, देवीप्रसाद गौतम, तुलसी क्षेत्री र राजेश चाम्लिङ आदिले आ-आफ्ना गायन प्रस्तुत गरेका थिए ।

रचना वाचनतर्फ टीका घिमिरे, नदी भट्टराई, खगिन्द्रा खुशी , मोक्ष खतिवडा, दुर्गादेवी भट्टराई, कविता राई गाउँले, केदार शर्मा, सञ्जीव अधिकारी, जयनारायण भट्टराई आदिले पनि कविता वाचन गरेका थिए । त्यसैगरी मन्तव्य व्यक्त गर्नेहरूमा सांसद महेश बस्नेत, रणबहादुर राई, डा.देवी क्षेत्री दुलाल, चन्द्र भण्डारी , डिक बंजन, प्रअ किरण मोक्तान, रविमान लम्जेल र शिव अधिकारी रहेका थिए ।

कार्यक्रममा साहित्य र सङ्गीत सहोदर हुन् । साहित्यको एउटा विधा कविता हो र कविताको मूल खोज्न गीतमै पुग्नुपर्ने हुन्छ र यो सत्य पनि हो तर कार्यक्रम आयोजना खर्दा साहित्य र सङ्गीतको छुट्टाछुट्टै गर्न पाएको भए अझ उत्तम हुने रहेछ भन्ने अनुभूति गरियो । गीतमा धेरै चाहिँ लयमा रसिकता हुन्छन् । गीतले सतही तरङ्ग छिट्टै ल्याउँछ मानवीय जीवनमा र करिब अस्थायी हुन्छ तर कवितामा भाव पक्षसँगै भावुकता र ध्वन्यार्थक पनि हुने भएकाले एकै पटक र एउटै स्टेजमा प्रस्तुत गर्न उचित नलाग्ने बुझियो ।

कार्यक्रममा कवि कुलप्रसाद ढकालले बुद्धिप्रसाद घिमिरेको परिचयसहितको कार्यक्रमको औचित्य र स्वागत मन्तव्य राखेका थिए भने संयुक्त संस्थाका सचिवद्वय प्रेमसागर भट्टराई र कवि जीवनहरि शर्मा पोखरेलले सहजीकरण गरेका थिए ।

(नोट – तीन दिनदेखि नेटमा समस्या आएका कारण समाचार सम्प्रेषणमा ढिलाइ भएको जानकारी गराउँदछु।)

०००
फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराई

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x