फित्काैली डटकमस्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ दोस्रो संस्करण प्रकाशित
पहिलो संस्करण प्रकाशित भएपछि ‘खाइराइड’ कृतिमाथि देशमा र विदेशमासमेत आधा दर्जन परिचर्चा कार्यक्रम सञ्चालन भएका थिए भने यसैमा केन्द्रित भएर दर्जन बढी समालोचना तथा समीक्षाहरू प्रकाशित भएका छन् ।

काठमाडौं, २०८१ असार २४ । क्यानडा बस्दै आउनु भएका राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’को दोस्रो संस्करण प्रकाशित भएको छ । २०८० भाद्रमा पहिलो पटक प्रकाशित यो कृति २०८१ असारमा आएर दोस्रो संस्करण प्रकाशित भएको हो ।
फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको खाइराइडको दोस्रो संस्करणको आवरण थप परिमार्जन गरिएको छ भने पहिलो संस्करणमा रहेका केही अशुद्धि तथा प्राविधिक भाषिक त्रुटिहरूलाई हटाइएको छ ।
पहिलो संस्करण प्रकाशित भएपछि ‘खाइराइड’ कृतिमाथि देशमा र विदेशमासमेत आधा दर्जन परिचर्चा कार्यक्रम सञ्चालन भएका थिए भने यसैमा केन्द्रित भएर दर्जन बढी समालोचना तथा समीक्षाहरू प्रकाशित भएका छन् । प्रकाशित भएको यति छोटो अवधिमै कुनै हास्यव्यङ्ग्य कृतिमाथि यति धेरै चर्चापरिचर्चा र समीक्षा भएको संभवत यो नै पहिलो अवसर हो ।
साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको उत्कृष्ट ५ मा परेको ‘खाइराइड’ कृतिमाथि धेरैले पाठकीय, समालोचकीय टिप्पणी गरेका छन् । ती मध्ये केही प्रतिनिधि टिप्पणीहरूलाई पनि यसको दोस्रो संस्करणमा समावेश गरिएको छ ।
‘खाइराइड’ कृतिका बारेमा प्रा.डा. खगेन्द्र लुइटेलले “आनुप्रासिक कृत्रिमता कहीँ देखिँदैन, यो सबै भन्दा सवल पक्ष हो । कतिपय निबन्ध त यस्तो संवेदनशीलताले भरिएका छन् कि एकचोटी मान्छेको मन मस्तिस्क हल्लाउँछ । सोच्न बाध्य बनाउँछ ।” भन्नु भएको छ ।
त्यसैगरी समीक्षक डा.कुशुमाकर शर्माले “खाइराइडमा पुरानो पुस्तादेखि जेड जेनेरशनसम्मका विषयवस्तु समेटिएको छ । भोजपुरको एउटा गाउँलेबाट विषयवस्तु एकै पटक इलोन मस्कमा पुग्छन् ।” भन्नु भएको छ ।
“कार्कीको लेखाइ जादुमयी छ । बडो मार्मिक विषयहरूलाई हास्यरसको कसीमा ढालेर लेख्दा त लेखहरूले मस्तिष्कलाई झनन्न पार्ने रहेछ । सङ्ग्रहभित्रका विषयहरूको चयन निकै उत्कृष्ट लाग्यो । हास्यव्यङ्ग्यको स्वादिलो प्रस्तुतिले पाठकलाई पुस्तक पढिरहँदा पनि झिँजो लाग्दैन ।” खाइराइडका बारेमा लेखिका अनिता कोइरालाल उल्लेख गर्नु भएको छ ।
“राजेन्द्रजीको व्यङ्ग्य भाग्दाभाग्दै र अरू पनि सबै पढ्दा मलाई बारम्बार अग्रज व्यङ्ग्य लेखक सूर्यबहादुर पिवाको लेखाईको झल्को आइरहेको छ । त्यो एउटा अपुरणीय क्षति उहाँले पूरा गर्नु भएको छ ।” यो चाहिँ प्रकाश सायमीको कथन हो भने लेखिका मीनु राजभण्डारीले “पुस्तकको सबैभन्दा सबल पक्ष भनेको सबै निबन्धहरू छोटो र छरितो हुनु हो । सबै निबन्धहरूले मेरो मन छोएको” बताउनु भएको छ ।
त्यसैगरी बद्रीप्रसाद दाहालले आफ्नो लामो समीक्षामा लेख्नुभएको छ- “‘खाइराइड’ नेपाली समाजको हरक्षेत्रको प्रतिविम्ब बनेर उभिएको छ । यहाँ थाइराइड, खाइराइड र धाइराइडका लक्षण र आशयलाई विनोदात्मक शैलीमा कतै लक्ष्यार्थ, कतै वाच्यार्थ र धेरै व्यञ्जनार्थमा रगडेर पाठकहरूका लागि पठनीय बनाएका छन् निबन्धकारले ।”
हास्यव्यङ्ग्यकार व्यक्तित्व चट्याङ मास्टरले खाइराइड कृतिका बारेमा आफ्नो विचार राख्दै- “हास्यको गहना भनेको एउटा अनुप्रयास हो, अर्को उखान टुक्का हो । त्यो दुई वटालाई राम्रो गहना बनाउनु र लाउनु भएको छ । त्यो हरेक रचनामा देखेको छु” भन्नु भएको छ ।
अर्का समीक्षक खेमराज पोखरेलले समीक्षात्मक लेखमा यसरी उल्लेख गर्नु भएको छ “हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीको लेखनीमा केही खास विशेषता पाइन्छ । विशेषतः सामाजिक विषय छानेका छन् । खाइराइडका निबन्धमा परम्परावादी सोचभन्दा माथि उठेर आधुनिकताका पक्षमा पनि निबन्धहरू लेखिएका छन् । कामलाई सानो ठूलो भन्ने मान्ने परम्परावादी प्रचलनलाई भत्काएको छ र काम भनेको काम हो भन्ने आधुनिक चिन्तन समावेश गरिएको छ ।”
उहाँहरूका अतिरिक्त श्याम तमोट, साहित्यपोस्ट, चन्द्र घिमिरे, केदार शर्मा, अञ्जु कार्की, कृष्णप्रसाद निरौला, गायत्री लम्साल, प्रमोद आमात्य, सर्वज्ञ वाग्ले, ठाकुर शर्मा भण्डारी, डा. रमेश शुभेच्छु र रेहित सैंजु लगायतकाहरूका प्रतिक्रियाहरूलाई यस संस्करणमा समावेश गरिएको छ ।
दोस्रो संस्करणको लेखकीय मन्तव्यका क्रममा खाइराइडका स्रष्टा राजेन्द्र कार्कीले भन्नु भएको छ- “प्रकाशित भएको आठ दश महिनामा दर्जन भन्दा बढी समीक्षा आउला भनेर अपेक्षा गरिएकै थिएन । आधा दर्जन भन्दा बढी अन्तरक्रियामा साहित्यका ठुला हस्तीहरूबाट चिराचिरा केलाइएर वहस होला भनेर कल्पना गरिएकै थिएन । बीसौँ पत्रपत्रिकामा ‘खाइराइड खाइराइड’ भन्दै समाचार आउलान् भन्ने पनि सोचेको थिएन ।”
साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको उत्कृष्ट ५ मा परेको राजेन्द्र कार्कीको ‘खाइराइड’का निबन्धहरू विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले रसिला बनेका छन् । कार्कीका व्यङ्ग्य समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । व्यङ्ग्य-निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो रहेको जानकारहरू बताउँछन् ।
राजेश मानन्धरका कार्टनकलाले सिँगारिएकाे यस संस्करणको मूल्य रु. ४००।- राखिएको छ । ‘खाइराइड’मा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको विश्लेषणात्मक भूमिका र नरनाथ लुइँटेलको प्रकाशक्यौली आलेख समावेश छ ।
‘खाइराइड’ को प्रकाशन संस्थाका प्रमुख एवम फिकौलीका प्रधानसम्पादक नरनाथ लुइँटेल भन्नुहुन्छ- वर्तमानमा हास्यव्यङ्ग्य मृतप्रायः भइसकेको छ भन्नेहरूका लागि ‘खाइराइड’ एउटा गतिलो जवाफ नै हो, गालैमा हानिएको थप्पड हो । नेपाली हास्यव्यङ्ग्य मृत होइन केही समय सुस्त जस्तो देखिए पनि यो अहिले फित्कौली मार्फत भर्भराउँदो भएर आइरहेको छ । खाइराइडको लोकप्रियता यसकौ कडी हो, सङ्केत हो ।”
०००
– रेहित सैजुद्वारा संयोजित र संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































