फित्काैली डटकमउपन्यास ‘अद्वैत’ लाई ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार
समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पहिचान गरेको उल्लेख छ ।

चितवन, २०८१ भाद्र, २१। फित्कौली चितवनस्थित कविडाँडा साहित्य समाजले २०८० सालको ‘कविडाँडा राष्ट्रिय आख्यान’ पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष आख्यान कृतिलाई पुरस्कृत गर्दै आइरहेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पहिचान गरेको उल्लेख छ ।
निर्णायक मण्डलका अनुसार ‘अद्वैत’ ले विभाजन र द्वन्द्वले ग्रस्त आजको समाजलाई एकतामा बाँध्ने अद्वैत सिद्धान्तलाई कुशलतापूर्वक चित्रण गरेको छ । पुस्तकले मानव समाजको विविध मत, पन्थ, र विश्वासहरूको गहिराइमा पुगेर सबैको मूल सार मानवता रहेको सन्देश दिँदै, समभाव र ऐक्यको स्थापना गर्ने प्रयासलाई बोधगम्य भाषामा प्रस्तुत गरेको छ ।
यससम्बन्धमा समाजका अध्यक्ष एलबी क्षेत्री भन्नुहुन्छ- “यस उपन्यासले अनेक मत र विश्वासहरूमा विभक्त मानव समाज क्रमिकरूपले विग्रहतिर उन्मुख हुँदै गएको आजको सन्दर्भमा मानवताको सार मूलतः एक रहेको र विश्वास, मत र पन्थहरूको पनि मूल एक रहेको तर्क गर्दै मानव समाजमा समभाव, परानुभूति र ऐक्य स्थापना गर्ने सार्थक प्रयास गरेको छ र यस प्रयासलाई अति परिष्कृत र बोधगम्य भाषा र ढाँचामा प्रस्तुत गरेको छ । कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पनि पहिचान गरेको छ ।”
२०६० सालमा स्थापित समाजले १ महिनाअघि श्रेष्ठ सूचीअन्तर्गत १० कृतिहरू सार्वजनिक गरेको थियो जसमा विष्णु सापकोटाको ञअडिएका पाइलाझ उपन्यास, कृष्ण गौतमको ञअद्वैतझ उपन्यास, रमेश सायनको ‘अन्तर’ उपन्यास, सानु शर्माको ‘अर्को देशमा’ कथासङ्ग्रह, विश्व कुइँकेलको ‘गोपिचा’ उपन्यास, जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास, भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ कथासङ्ग्रह, खेम बतासको ‘बुढीपोल्ली’ कथासङ्ग्रह, गोविन्दप्रसाद कुसुमको ‘भृकुटी’ उपन्यास र रोशन थापा निरबको ‘सन्त्रासका साठी दिन’ सूचिकृत थिए ।
१० कृतिहरूमध्ये उत्कृष्ट ५ आख्यानहरूमध्ये पुरस्कृत कृति ‘अद्वैत’ का साथै सानु शर्माको कथाकृति ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा ‘नीरव’को उपन्यास ‘सन्त्रासका साठी दिन’ परेका थिए ।
यसअघि महेश थापाको ‘मरिचिका’ (कथासङ्ग्रह), श्याम शाहको ‘पथेर’ (कथासङ्ग्रह), भुवन ढुङ्गानाको ‘परित्यक्ता’ (उपन्यास), लोकराज भट्टको ‘छाइल’ (उपन्यास) तथा २०७९ सालमा देवीप्रसाद सुवेदीको ‘मनु’ उपन्यासले सो पुरस्कार प्राप्त गरेका थिए ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको ’अद्वैत’ का लागि नगद राशि १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
०००
– संप्रस पौडेलद्वारा सम्प्रेषित ।

Subscribe
Login
0 Comments
Oldest






































