फित्काैली डटकमप्रज्ञामा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श
कुलपति भूपाल राईले ब्यानर वाचन गरेर समुद्घाटन गर्नुभएको कार्यक्रममा 'अछामी साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौँ, २०८१ भदौ २८ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४अौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे ।
‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय,नेपाली भाषासँगको बोधगम्यता, ऐतिहासिक, राजनीतिक र सामाजिक मान्यता,अनुसन्धान, नाम र मूल स्थानिक,क्रिया र विशेषणका बिच सङ्गति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राख्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा-प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताउनु भएको थियोे ।अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेको मा कुलपति राईले चर्चा गर्नुभएको थियो ।
नेपालमा जेजति भाषाहरू छन्, ती सबै नेपाली सम्पदा भएकाले यसको संरक्षणमा लागिपर्नु बताउनुभएको थियो । उहाँले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा-प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा छ। यही अभियानले नै मातृभाषाबिच सहकार्य भइरहेको बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएको थियोे । उहाँले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठुलो प्रभाव पार्ने बताउनु भएको थियो । प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताउनु भएको थियो ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल, शिवप्रसाद जोशी, भूपध्वज, यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रममा कलाकार हिरन राईले ‘बिनायो र पात ‘बजाएर रैथाने बाजाको धुन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी, जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest









































