साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई नाक भएका मान्छे

मैले सोधें- “के हाल छ ?” अरूले भने- “साहूहरू आउँछन् र उसलाई देखेर निराश भएर फर्केर जान्छन् काट्नको लागि नाकै बचेन ।” मैले ठट्टा गर्दै भनेँ- “साहूलाई भन्दिनू यिनको अर्को नाक पटियालामा सिङ्गै राखेको छ । उहीं नै गएर काट्नू ।”

Nepal Telecom ad

                                                                                                           अनुवाद :: आर.सी. रिजाल

मैले उसलाई सम्झाई रहेको थिएँ- छोरीको विवाहमा तडकभडक र फजुल खर्च नगर्नू । तर त्यो बुजुक भन्थ्यो- “तपाईं ठीक भन्नुहुन्छ, तर नातागोतामा आफ्नो नाक काटिन्छ ।” नाक उसको धेरै लामो थियो । मेरो विचारमा नाकको जतन सबभन्दा बढी यही देशमा हुन्छ । या त नाक धेरै नरम हुन्छ या छुरा धारिलो, जहाँ सानोतिनो कुराले पनि नाक काटिन्छ । सामान्य मान्छेको नाक एकदम कोमल हुन्छ । त्यस्ताले नाक छोपेर किन राख्दैनन् ? केही ठूलाबडा मान्छे जसको हैसियत हुन्छ तिनले इस्पातको नाक लगाउँछन् र छालाको रङ्ग लेपन गर्छन् । कालोबजारी गरेर जेल परेर आएको हुन्छ । महिला खुलेआम अर्को लोग्ने मान्छेसँग फिल्म हेर्न जान्छन् । केटीको सार्वजनिक गर्भपतन भैसकेको छ । मान्छे छुरा लिएर नाक काट्न घुमिरहेका छन् । तर काट्ने कसरी ? नाक त स्टिलको छ । अनुहारमा पहिलेकै जस्तो दुरुस्त छ र शोभा बढाइरहेको छ ।

तस्करीमा समातिएको हो । हतकडी लगाएको छ । बजारको बाटो लगिरहेका छन् । मान्छे नाक काट्न उत्सुक छन् । तर ऊ त नाक सेफमा थन्काएर दुईनम्बरी धन्दा गर्न गएको थियो । पुलिसलाई ख्वाइपियाई गरेर छुटेर आउँछ र नाक पुनः लगाउँछ ।

जो ज्यादै होसियार हुन्छ उसले नाक पैतालामुनि राख्छ । तपाईं सारा शरीरमा खोज्नुहोस् नाक भेटिन्न । नातिनीका उमेरका दुई केटीलाई बलात्कार गरिसकेको छ । जालसाजी र बैंक ठगीको आरोपमा समातिइसकेको छ । मान्छे नाक काट्न उत्सुक छन् तर नाक फेला पर्दैन । त्यो त पैतालामा छ । कोही जीवशास्त्रीले नाक खोजी गरे पनि पैतालाको नाक काटेर के खुल्छ ? नाक त अनुहारको काटियो भने पो केही अर्थ हुन्छ ।

अनि जो नाकै राख्दैन, त्यसलाई केही डर हुँदैन । दुई प्वाल छ जसले सास लिन्छ । त्यस्तै । मैले यस्ता फलझैँ देखिने वासनादार नाक धेरै देखेको छु । जब वासना कम हुन लाग्छ केही नाक गुलाफको बोटझैँ हुन्छन् । कलमी गयो भने अझ राम्रो हुन्छ र फूल पनि दिनी फेरि कलमी गराउँछन् । जस्तो कि आइमाईलाई जिस्कायो र जुत्ता खायो ।

“जुत्ता खायो ।” गजबको भनाइ हो यो । जुत्ताले हिर्काइन्छ, त्यो कसरी खाइन्छ तर भारतवासी यति भोका छन् कि जुत्ता पनि खान्छन् । नाक अरू तरिकाले पनि बढ्छ । एकदिन एक सज्जन आए । धेरै दुःखी थिए । भन्न लागे- “मेरो त नाकै काटियो । छोरी अर्को जातको केटासँग पोइला गई । हामी ब्राह्मण र केटी क्षत्री पर्‍यो हाम्रो नाक कट्यो ।” मैले उनलाई सम्झाएँ- “काटेको हैन कलमी लगाएको हो । ३/४ महिनापछि अझ लामो हुन्छ ।”

३/४ महिनापछि उनीसँग भेट भयो । उनी खुसी थिए । नाक पनि पहिलाको भन्दा लामो थियो । मैले भनेँ- “नाक त पहिलाको भन्दा लामोजस्तो लाग्यो नि ?” उनले भने- “हो केही बढेको छ । धेरै मान्छेले भने- ‘तपाईंले ठूलो क्रान्तिकारी काम गर्नुभयो ।’ केही नातेदारले पनि त्यस्तै भने, त्यसैले नाक बढेको हो ।”

केही त्यस्ता मान्छे मैले देखेको छु, जो धेरै वर्ष आफ्नो सहरको नाक मानिन्छ । उसको नाक काटियो भने सारा सहरको नाक काटिन्छ । यदि उसले संसद्को टिकट पाएन भने सारा सहरनै नकटो हुन्छ । हालसालै मैले एउटा सहरमा गएर सोधें- फलानोको हालखबर के छ ? के ऊ यस सहरको नाक हो ? एक रसिकले भने- हो सा’ब ऊ अहिले पनि सहरको नाक हो तर ‘क्षणभर को’ । (यो बीभत्स रस हो । रस सिद्धान्तप्रेमीहरू मन पराउँछन् ।)

म ती सज्जनको कुरा गर्दै थिएँ, जो मेरो सामुन्ने बसेका थिए र छोरीको विवाह पुरानै ठाँटरवाफले गर्न चाहन्थे । पहिला उनी धनी थिए अर्थात् मध्यम हैसियतका धनी । तर अब उनी गरिब भए । ‘बिग्रेको रइस (धनी) र बिग्रेको घोडा एकै किसिमको हुन्छ ।’ रिसाहा हुन्छन् । कोसँग उधारो लिएर खाने, ठेगानै हुँदैन । उता बिग्रेको घोडाले कसलाई कुल्चिन्छ ठेगानै हुँदैन । मान्छेले बिग्रेको रइस र बिग्रेको घोडा दुवैबाट टाढै रहनुपर्छ । म भरसक कोसिस गर्छु । म त मस्तसँग हिँड्दै आएको साँढे देखें भने पनि सडकको घरछेउको पर्खालमा चढ्छु- ठूलोदाजु आइरहनु भएको छ यिनलाई आदर गर्नुपर्छ भनी सम्झन्छु ।

जो भूतपूर्व सम्पन्न बुज़ु्रक मेरो सामुन्ने बसेका थिए । उनी प्रगतिशील थिए र छोरीको खुसीसाथ अन्तरजातीय विवाह गरिदिँदै थिए । ऊ क्षत्री, केटा बाहुन । तर उनमा विरोधाभास थियो- विवाह ठाँटसँग गराउन चाहन्थे । धेरै मानिस एउटा परम्पराबाट छुटकारा पाउँछन् तर अर्को परम्परामा बाँधिएका हुन्छन् । राती कुनै इसाई मित्रको घरको रक्सीसहितको पार्टीबाट फर्कंदै गर्दा बाटोमा हनुमान्को मन्दिर देखियो भने थोरै सिन्दुर आफ्नो निधारमा लगाउँछन् । मेरो एउटा घोर नास्तिक मित्र थियो । हामी घुम्न निस्किन्थ्यौँ बाटोमा राम मन्दिर देखेर उसले भन्थ्यो- “हरे राम !” अनि पछि पछुताउँथ्यो पनि ।

म त्यो बुजुकलाई सम्झाउँदै थिएँ- तपाईंसँग पैसा छैन । ऋण लिएर ठाँटसँग छोरीको विवाह किन गर्नुपर्‍यो ? पछि ऋण कहाँबाट तिर्नु हुन्छ ? जब तपाईंले अन्तरजातीय विवाहको नयाँ कदम उठाउँदै हुनुहुन्छ भने विवाह पनि नयाँ ढङ्गबाट गर्नुहोस् । आफ्नै जातको केटीसँग विवाह गरेको भए उसले कति हजार पाउँथ्यो । केटा विवाहको बजारमा खसीबोका तरह बिक्छन् । राम्रो मालवी गोरु र हरियाणाको भैंसी बढी मूल्यमा बिक्री हुन्छ । केटाले त्यत्रो त्याग केटीको लागि गरिसक्यो तैपनि ऊ भन्छ- अदालतमा गएर विवाह गर्छु र पछि गएर एउटा पार्टी दिउँला । तपाईं आर्यसमाजी हुनुहुन्छ । घन्टाभरमा आर्यसमाजको मन्दिरमा वैदिक रीतिले विवाह गराउनुहोस् । अनि ३/४ सयको एउटा पार्टी दिनोस् । केटालाई एक पैसा पनि चाहिएन । केटीको लागि कपडा आदि मिलाएर विवाह हजार रुपैयाँमा हुन्छ ।

उसले भन्न लाग्यो- “कुरा त तपाईंको ठीक हो तर नातागोता त बोलाउनै पर्छ । फेरि उनीहरू आएपछि इज्जतको ख्याल राख्दै सजावट, खाना, ढोगभेट आदि गर्नुपर्छ ।”

मैले भनेँ- “तपाईंको यहाँ कोही नातेदार छैनन् । उनीहरू कहाँ छन् ?” उनले जवाफ दिए- “उनीहरू कोही पन्जाबमा, कोही आग्रामा, कोही दिल्लीमा र नजिकका तीन नातेदार पटियालामा छन् ।”

मैले भनेँ- “जब पटियालाका नातेदारकहाँ तपाईंको निमन्त्रणा पुग्छ, तब तपाईंलाई दसपटक गाली गर्छन् । जेठको यस्तो गर्मी महिनामा मान्छे ‘लु’ लागेर धमाधम मर्दै छन् । यस्तो बेलामा यत्रो खर्च गरेर जवलपुर जाने । कोही बिरामी भए अर्को आपत । पटियाला वा दिल्लीका आफन्तहरू तपाईंको निमन्त्रणा पाएर खुसी हैन दुःखी हुन्छन् । निमन्त्रणा पाएनन् भने उनीहरू खुसी हुन्छन् र पछि कुरा बनाउँछन् । भन्लान् हिजो आजको हुलाकले यस्तो गडबड गर्छ । निमन्त्रणा पत्र पाइएन नत्र हामी किन नआउनु ।?”

“मलाई त टाढाका निमन्त्रणा पाउँदा त डरै लाग्छ ।”
सोच्छु- ब्राह्मणले ११ रुपैयाँमा शनिको पूजा गर्दियोस्, २५ रुपैयाँमा सगोत्र विवाह गर्दियोस्, मङ्गली केटीको मङ्गल १५ रुपैयाँमा उतारेर शुक्रको क्षेत्रमा फ्याँकिदियोस् । विवाह लगन जाडो महिनामा सीमित किन गर्दैनन् ? भयङ्कर गर्मीमा लगन किन हटाउँदैनन् ? यस्तो गर्न सकिन्छ । इसाई र मुसलमानमा जब विनालगन विवाह हुन्छ, के वरवधू मर्छन् ? आठ प्रकारको विवाहमा ‘गन्र्धव विवाह’ पनि एक हो । के हो त गन्दर्व विवाह ? त्यो त्यही हो जो आजकाल हुन लागेको छ । केटा र केटी भागेर कहीं गएर विवाह गर्छन् । यता केटीको बाबु रिसले प्रहरीमा रिपोर्ट गर्छ । फलानो केटाले मेरो नाबालक छोरी भगाएर लग्यो । तर केही हुँदैन, केटीले एसएलसीको सर्टिफिकेट लगेकी हुन्छे । जसमा जन्म मिति हुन्छ ।

मैले भनें- “पटियालादेखि त्यत्रो भाडा तिरेर नाक काट्न यहाँ कोही आउँदैनन् । फेरि पटियालामा काटिएको नाक यहाँ कसले देख्छ ? काटियोस् पटियालामा ।”

उनी केहीबेर चुपचाप बसे ।

मैले भनेँ- “हेर्नोस् तपाईं चाहनुहुन्छ भने म पुरेत भैदिन्छु, र एक घन्टामा विवाह समाप्त गरिदिन्छु ।”

उनी झस्के र भने- “तपाईंलाई विवाह गराउने विधि पनि आउँछ ?”

मैले भनेँ- “हो आउँछ । ब्राह्मणको छोरो हुँ । बाबुबाजेले सोचे होलान् केटा नालायक भएर कुनै कामधन्दा गर्न नसके यसलाई कमसेकम सत्यनारायणको कथा र विवाह विधि सिकाइदिऊँ । यो मैले केटाकेटीमा नै सिकेको हुँ ।”

कुरा अघि बढाएँ- कुरा यस्तो छ आजकल कसले संस्कृत बुझ्छन् ? पण्डितले क। भनिरहेको छ त्यसलाई कसले सुन्छ ? उनीहरू त अहम् र मम यति मन्त्र जान्दछन् । यसरी मङ्गल श्लोक पढिदिन्छु कसैले ध्यान दिँदैनन् ।

मैले ओेम जेक एण्ड विल वेट अफ द हिल टु फेच ए पेल अफ वाटरम्
ओम जेक फेल डाउन एण्ड ब्रोक हिज क्राउन एण्ड जिल केम टमलिङ
बाफटरम्- कुर्यात् सदा मङ्गलम् …….।

यसलाई मान्छे वेद मन्त्र सम्झन्छन् । उनी हाँस्न लागे ।

मैले भनेँ- “केटा उत्तर प्रदेशको ब्राह्मण र तपाईं पन्जाबी खत्री । एक अर्काको नातेदार कसैले चिन्दैन । तपाईं मेरो एउटा सल्लाह मान्नुहोस् । यसले कम खर्चमा काम पनि सकिन्छ र नाक पनि जोगिन्छ । केटाको पिताको मृत्यु भइसकेको छ । तपाईं एक घन्टामा विवाह गराइदिनोस् । अनि नातेदारलाई चिठ्ठी लेखिदिनोस् यता केटाको बाबुलाई हृदयघात भयो । डाक्टरले बाँच्ने आशा मारे । २/३ घन्टा कुनै तरहले बाँच्न सक्थे । बिरामीले मर्नुअगाडि छोराको विवाह भए मेरो आत्माले शान्ति पाउँथ्यो भनेकाले बिरामीको भावनालाई कदर गरी हामीले तुरुन्त विवाह गरायौँ । केटाकेटी वरवधूको रूपमा उनको सामुन्ने आए र उनको चरणमा शिर राखे । उनले यतिमात्र भने- ‘सदा सुखी रहनू ।’ यति भन्नासाथ उनको प्राण उड्यो तपाईंहरू माफ गर्नुस्- यही बाध्यताको कारण विवाहमा बोलाउन सकेनौं ।”

कसलाई थाहा छ ? तपाईंको नातेदारमा केटाको पिताको मृत्यु कहिले भयो ? उनले सोचे र भने- “तरिका त ठीक छ, तर यसरी धोका दिनु मलाई ठीक लाग्दैन ।” जे होस् म उनको लागि कामलाग्दो मान्छे भइनँ ।

अर्कोदिन मलाई बाहिर जानुपर्‍यो । दुईतीन महिनापछि फर्कें । मलाई अरूले भने “उनले सामान र नगद सापट लिएर विवाह गराए ।”

तीनचार दिनपछिबाटै साहू सबेरै ताकेता गर्न आउन लागे । हरेक दिन उनको नाक अलिअलि कट्न लाग्यो ।
मैले सोधें- “के हाल छ ?” अरूले भने- “साहूहरू आउँछन् र उसलाई देखेर निराश भएर फर्केर जान्छन् काट्नको लागि नाकै बचेन ।”

मैले ठट्टा गर्दै भनेँ- “साहूलाई भन्दिनू यिनको अर्को नाक पटियालामा सिङ्गै राखेको छ । उहीं नै गएर काट्नू ।”

अनुदित कृति ‘भोलानाथको आत्मा’ २०६६ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x