हरिशंकर परसाईंदुई नाक भएका मान्छे
मैले सोधें- “के हाल छ ?” अरूले भने- “साहूहरू आउँछन् र उसलाई देखेर निराश भएर फर्केर जान्छन् काट्नको लागि नाकै बचेन ।” मैले ठट्टा गर्दै भनेँ- “साहूलाई भन्दिनू यिनको अर्को नाक पटियालामा सिङ्गै राखेको छ । उहीं नै गएर काट्नू ।”

अनुवाद :: आर.सी. रिजाल
मैले उसलाई सम्झाई रहेको थिएँ- छोरीको विवाहमा तडकभडक र फजुल खर्च नगर्नू । तर त्यो बुजुक भन्थ्यो- “तपाईं ठीक भन्नुहुन्छ, तर नातागोतामा आफ्नो नाक काटिन्छ ।” नाक उसको धेरै लामो थियो । मेरो विचारमा नाकको जतन सबभन्दा बढी यही देशमा हुन्छ । या त नाक धेरै नरम हुन्छ या छुरा धारिलो, जहाँ सानोतिनो कुराले पनि नाक काटिन्छ । सामान्य मान्छेको नाक एकदम कोमल हुन्छ । त्यस्ताले नाक छोपेर किन राख्दैनन् ? केही ठूलाबडा मान्छे जसको हैसियत हुन्छ तिनले इस्पातको नाक लगाउँछन् र छालाको रङ्ग लेपन गर्छन् । कालोबजारी गरेर जेल परेर आएको हुन्छ । महिला खुलेआम अर्को लोग्ने मान्छेसँग फिल्म हेर्न जान्छन् । केटीको सार्वजनिक गर्भपतन भैसकेको छ । मान्छे छुरा लिएर नाक काट्न घुमिरहेका छन् । तर काट्ने कसरी ? नाक त स्टिलको छ । अनुहारमा पहिलेकै जस्तो दुरुस्त छ र शोभा बढाइरहेको छ ।
तस्करीमा समातिएको हो । हतकडी लगाएको छ । बजारको बाटो लगिरहेका छन् । मान्छे नाक काट्न उत्सुक छन् । तर ऊ त नाक सेफमा थन्काएर दुईनम्बरी धन्दा गर्न गएको थियो । पुलिसलाई ख्वाइपियाई गरेर छुटेर आउँछ र नाक पुनः लगाउँछ ।
जो ज्यादै होसियार हुन्छ उसले नाक पैतालामुनि राख्छ । तपाईं सारा शरीरमा खोज्नुहोस् नाक भेटिन्न । नातिनीका उमेरका दुई केटीलाई बलात्कार गरिसकेको छ । जालसाजी र बैंक ठगीको आरोपमा समातिइसकेको छ । मान्छे नाक काट्न उत्सुक छन् तर नाक फेला पर्दैन । त्यो त पैतालामा छ । कोही जीवशास्त्रीले नाक खोजी गरे पनि पैतालाको नाक काटेर के खुल्छ ? नाक त अनुहारको काटियो भने पो केही अर्थ हुन्छ ।
अनि जो नाकै राख्दैन, त्यसलाई केही डर हुँदैन । दुई प्वाल छ जसले सास लिन्छ । त्यस्तै । मैले यस्ता फलझैँ देखिने वासनादार नाक धेरै देखेको छु । जब वासना कम हुन लाग्छ केही नाक गुलाफको बोटझैँ हुन्छन् । कलमी गयो भने अझ राम्रो हुन्छ र फूल पनि दिनी फेरि कलमी गराउँछन् । जस्तो कि आइमाईलाई जिस्कायो र जुत्ता खायो ।
“जुत्ता खायो ।” गजबको भनाइ हो यो । जुत्ताले हिर्काइन्छ, त्यो कसरी खाइन्छ तर भारतवासी यति भोका छन् कि जुत्ता पनि खान्छन् । नाक अरू तरिकाले पनि बढ्छ । एकदिन एक सज्जन आए । धेरै दुःखी थिए । भन्न लागे- “मेरो त नाकै काटियो । छोरी अर्को जातको केटासँग पोइला गई । हामी ब्राह्मण र केटी क्षत्री पर्यो हाम्रो नाक कट्यो ।” मैले उनलाई सम्झाएँ- “काटेको हैन कलमी लगाएको हो । ३/४ महिनापछि अझ लामो हुन्छ ।”
३/४ महिनापछि उनीसँग भेट भयो । उनी खुसी थिए । नाक पनि पहिलाको भन्दा लामो थियो । मैले भनेँ- “नाक त पहिलाको भन्दा लामोजस्तो लाग्यो नि ?” उनले भने- “हो केही बढेको छ । धेरै मान्छेले भने- ‘तपाईंले ठूलो क्रान्तिकारी काम गर्नुभयो ।’ केही नातेदारले पनि त्यस्तै भने, त्यसैले नाक बढेको हो ।”
केही त्यस्ता मान्छे मैले देखेको छु, जो धेरै वर्ष आफ्नो सहरको नाक मानिन्छ । उसको नाक काटियो भने सारा सहरको नाक काटिन्छ । यदि उसले संसद्को टिकट पाएन भने सारा सहरनै नकटो हुन्छ । हालसालै मैले एउटा सहरमा गएर सोधें- फलानोको हालखबर के छ ? के ऊ यस सहरको नाक हो ? एक रसिकले भने- हो सा’ब ऊ अहिले पनि सहरको नाक हो तर ‘क्षणभर को’ । (यो बीभत्स रस हो । रस सिद्धान्तप्रेमीहरू मन पराउँछन् ।)
म ती सज्जनको कुरा गर्दै थिएँ, जो मेरो सामुन्ने बसेका थिए र छोरीको विवाह पुरानै ठाँटरवाफले गर्न चाहन्थे । पहिला उनी धनी थिए अर्थात् मध्यम हैसियतका धनी । तर अब उनी गरिब भए । ‘बिग्रेको रइस (धनी) र बिग्रेको घोडा एकै किसिमको हुन्छ ।’ रिसाहा हुन्छन् । कोसँग उधारो लिएर खाने, ठेगानै हुँदैन । उता बिग्रेको घोडाले कसलाई कुल्चिन्छ ठेगानै हुँदैन । मान्छेले बिग्रेको रइस र बिग्रेको घोडा दुवैबाट टाढै रहनुपर्छ । म भरसक कोसिस गर्छु । म त मस्तसँग हिँड्दै आएको साँढे देखें भने पनि सडकको घरछेउको पर्खालमा चढ्छु- ठूलोदाजु आइरहनु भएको छ यिनलाई आदर गर्नुपर्छ भनी सम्झन्छु ।
जो भूतपूर्व सम्पन्न बुज़ु्रक मेरो सामुन्ने बसेका थिए । उनी प्रगतिशील थिए र छोरीको खुसीसाथ अन्तरजातीय विवाह गरिदिँदै थिए । ऊ क्षत्री, केटा बाहुन । तर उनमा विरोधाभास थियो- विवाह ठाँटसँग गराउन चाहन्थे । धेरै मानिस एउटा परम्पराबाट छुटकारा पाउँछन् तर अर्को परम्परामा बाँधिएका हुन्छन् । राती कुनै इसाई मित्रको घरको रक्सीसहितको पार्टीबाट फर्कंदै गर्दा बाटोमा हनुमान्को मन्दिर देखियो भने थोरै सिन्दुर आफ्नो निधारमा लगाउँछन् । मेरो एउटा घोर नास्तिक मित्र थियो । हामी घुम्न निस्किन्थ्यौँ बाटोमा राम मन्दिर देखेर उसले भन्थ्यो- “हरे राम !” अनि पछि पछुताउँथ्यो पनि ।
म त्यो बुजुकलाई सम्झाउँदै थिएँ- तपाईंसँग पैसा छैन । ऋण लिएर ठाँटसँग छोरीको विवाह किन गर्नुपर्यो ? पछि ऋण कहाँबाट तिर्नु हुन्छ ? जब तपाईंले अन्तरजातीय विवाहको नयाँ कदम उठाउँदै हुनुहुन्छ भने विवाह पनि नयाँ ढङ्गबाट गर्नुहोस् । आफ्नै जातको केटीसँग विवाह गरेको भए उसले कति हजार पाउँथ्यो । केटा विवाहको बजारमा खसीबोका तरह बिक्छन् । राम्रो मालवी गोरु र हरियाणाको भैंसी बढी मूल्यमा बिक्री हुन्छ । केटाले त्यत्रो त्याग केटीको लागि गरिसक्यो तैपनि ऊ भन्छ- अदालतमा गएर विवाह गर्छु र पछि गएर एउटा पार्टी दिउँला । तपाईं आर्यसमाजी हुनुहुन्छ । घन्टाभरमा आर्यसमाजको मन्दिरमा वैदिक रीतिले विवाह गराउनुहोस् । अनि ३/४ सयको एउटा पार्टी दिनोस् । केटालाई एक पैसा पनि चाहिएन । केटीको लागि कपडा आदि मिलाएर विवाह हजार रुपैयाँमा हुन्छ ।
उसले भन्न लाग्यो- “कुरा त तपाईंको ठीक हो तर नातागोता त बोलाउनै पर्छ । फेरि उनीहरू आएपछि इज्जतको ख्याल राख्दै सजावट, खाना, ढोगभेट आदि गर्नुपर्छ ।”
मैले भनेँ- “तपाईंको यहाँ कोही नातेदार छैनन् । उनीहरू कहाँ छन् ?” उनले जवाफ दिए- “उनीहरू कोही पन्जाबमा, कोही आग्रामा, कोही दिल्लीमा र नजिकका तीन नातेदार पटियालामा छन् ।”
मैले भनेँ- “जब पटियालाका नातेदारकहाँ तपाईंको निमन्त्रणा पुग्छ, तब तपाईंलाई दसपटक गाली गर्छन् । जेठको यस्तो गर्मी महिनामा मान्छे ‘लु’ लागेर धमाधम मर्दै छन् । यस्तो बेलामा यत्रो खर्च गरेर जवलपुर जाने । कोही बिरामी भए अर्को आपत । पटियाला वा दिल्लीका आफन्तहरू तपाईंको निमन्त्रणा पाएर खुसी हैन दुःखी हुन्छन् । निमन्त्रणा पाएनन् भने उनीहरू खुसी हुन्छन् र पछि कुरा बनाउँछन् । भन्लान् हिजो आजको हुलाकले यस्तो गडबड गर्छ । निमन्त्रणा पत्र पाइएन नत्र हामी किन नआउनु ।?”
“मलाई त टाढाका निमन्त्रणा पाउँदा त डरै लाग्छ ।”
सोच्छु- ब्राह्मणले ११ रुपैयाँमा शनिको पूजा गर्दियोस्, २५ रुपैयाँमा सगोत्र विवाह गर्दियोस्, मङ्गली केटीको मङ्गल १५ रुपैयाँमा उतारेर शुक्रको क्षेत्रमा फ्याँकिदियोस् । विवाह लगन जाडो महिनामा सीमित किन गर्दैनन् ? भयङ्कर गर्मीमा लगन किन हटाउँदैनन् ? यस्तो गर्न सकिन्छ । इसाई र मुसलमानमा जब विनालगन विवाह हुन्छ, के वरवधू मर्छन् ? आठ प्रकारको विवाहमा ‘गन्र्धव विवाह’ पनि एक हो । के हो त गन्दर्व विवाह ? त्यो त्यही हो जो आजकाल हुन लागेको छ । केटा र केटी भागेर कहीं गएर विवाह गर्छन् । यता केटीको बाबु रिसले प्रहरीमा रिपोर्ट गर्छ । फलानो केटाले मेरो नाबालक छोरी भगाएर लग्यो । तर केही हुँदैन, केटीले एसएलसीको सर्टिफिकेट लगेकी हुन्छे । जसमा जन्म मिति हुन्छ ।
मैले भनें- “पटियालादेखि त्यत्रो भाडा तिरेर नाक काट्न यहाँ कोही आउँदैनन् । फेरि पटियालामा काटिएको नाक यहाँ कसले देख्छ ? काटियोस् पटियालामा ।”
उनी केहीबेर चुपचाप बसे ।
मैले भनेँ- “हेर्नोस् तपाईं चाहनुहुन्छ भने म पुरेत भैदिन्छु, र एक घन्टामा विवाह समाप्त गरिदिन्छु ।”
उनी झस्के र भने- “तपाईंलाई विवाह गराउने विधि पनि आउँछ ?”
मैले भनेँ- “हो आउँछ । ब्राह्मणको छोरो हुँ । बाबुबाजेले सोचे होलान् केटा नालायक भएर कुनै कामधन्दा गर्न नसके यसलाई कमसेकम सत्यनारायणको कथा र विवाह विधि सिकाइदिऊँ । यो मैले केटाकेटीमा नै सिकेको हुँ ।”
कुरा अघि बढाएँ- कुरा यस्तो छ आजकल कसले संस्कृत बुझ्छन् ? पण्डितले क। भनिरहेको छ त्यसलाई कसले सुन्छ ? उनीहरू त अहम् र मम यति मन्त्र जान्दछन् । यसरी मङ्गल श्लोक पढिदिन्छु कसैले ध्यान दिँदैनन् ।
मैले ओेम जेक एण्ड विल वेट अफ द हिल टु फेच ए पेल अफ वाटरम्
ओम जेक फेल डाउन एण्ड ब्रोक हिज क्राउन एण्ड जिल केम टमलिङ
बाफटरम्- कुर्यात् सदा मङ्गलम् …….।
यसलाई मान्छे वेद मन्त्र सम्झन्छन् । उनी हाँस्न लागे ।
मैले भनेँ- “केटा उत्तर प्रदेशको ब्राह्मण र तपाईं पन्जाबी खत्री । एक अर्काको नातेदार कसैले चिन्दैन । तपाईं मेरो एउटा सल्लाह मान्नुहोस् । यसले कम खर्चमा काम पनि सकिन्छ र नाक पनि जोगिन्छ । केटाको पिताको मृत्यु भइसकेको छ । तपाईं एक घन्टामा विवाह गराइदिनोस् । अनि नातेदारलाई चिठ्ठी लेखिदिनोस् यता केटाको बाबुलाई हृदयघात भयो । डाक्टरले बाँच्ने आशा मारे । २/३ घन्टा कुनै तरहले बाँच्न सक्थे । बिरामीले मर्नुअगाडि छोराको विवाह भए मेरो आत्माले शान्ति पाउँथ्यो भनेकाले बिरामीको भावनालाई कदर गरी हामीले तुरुन्त विवाह गरायौँ । केटाकेटी वरवधूको रूपमा उनको सामुन्ने आए र उनको चरणमा शिर राखे । उनले यतिमात्र भने- ‘सदा सुखी रहनू ।’ यति भन्नासाथ उनको प्राण उड्यो तपाईंहरू माफ गर्नुस्- यही बाध्यताको कारण विवाहमा बोलाउन सकेनौं ।”
कसलाई थाहा छ ? तपाईंको नातेदारमा केटाको पिताको मृत्यु कहिले भयो ? उनले सोचे र भने- “तरिका त ठीक छ, तर यसरी धोका दिनु मलाई ठीक लाग्दैन ।” जे होस् म उनको लागि कामलाग्दो मान्छे भइनँ ।
अर्कोदिन मलाई बाहिर जानुपर्यो । दुईतीन महिनापछि फर्कें । मलाई अरूले भने “उनले सामान र नगद सापट लिएर विवाह गराए ।”
तीनचार दिनपछिबाटै साहू सबेरै ताकेता गर्न आउन लागे । हरेक दिन उनको नाक अलिअलि कट्न लाग्यो ।
मैले सोधें- “के हाल छ ?” अरूले भने- “साहूहरू आउँछन् र उसलाई देखेर निराश भएर फर्केर जान्छन् काट्नको लागि नाकै बचेन ।”
मैले ठट्टा गर्दै भनेँ- “साहूलाई भन्दिनू यिनको अर्को नाक पटियालामा सिङ्गै राखेको छ । उहीं नै गएर काट्नू ।”
अनुदित कृति ‘भोलानाथको आत्मा’ २०६६ बाट
Subscribe
Login
0 Comments
Oldest
































