हरिशंकर परसाईंआआफ्नो हैसियत
मेरो भित्तामा एउटा क्यालेन्डर झुन्डिएको थियो जसलाई मैले झिक्न लगाएँ । ठुला व्यापारीको क्यालेन्डर थियो । त्यसमा धनकी देवी लक्ष्मी फूलमाथि बसेकी छन् ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
अखबार सकिएपछि विज्ञापन पढ्न थाल्छु । त्यसो पनि अखबारमा हुन्छ नै पो के र ? दिनदिनै उनैउनै समाचार – उसले पैसा खाएको थियो, उसको पोल खुल्यो, उसको तलासी लिइयो, ऊ गिरफ्तार भयो । न म ती केन्द्रहरूको वरिपरि थिएँ जहाँ पैसा खाने गरिन्छ र न ती केन्द्रकोे छेउछाउमा छु जो पोल खोल्छन् । म त त्यहाँ पनि छैनँ जहाँ पैसा खाने नयाँ अड्डाहरू खोलिएका छन् । अर्थात् आफ्नो युगको इतिहास निर्माणमा आफ्नो कुनै योगदान छैन । मेरो अंशमा त केवल इतिहासको कसम खाने काम मात्र परेको छ । त्यसैले समाचारमा सरसरी दृष्टि पुर्याएर म विज्ञापन पढ्न थाल्छु खास गरी दिल्लीका होटलहरूको । यसमा निकै रस प्राप्त हुन्छ । अशोक होटलका फ्रेन्च परिकार । वाह ! जनपथ होटलको गुलनार रेस्टोरेन्टमा मुगलाई भोजन ! अकबर होटलमा वार-ए-कवाब ! पढ्दापढ्दै यस्तो लाग्छ मानौं मेरो मुखमा चिकेन मुगलाई (मुगलहरूले बनाउने खालको चिकेन) पसेको होस् र म यसैको स्वाद लिएर घरको दालरोटी खाइदिन्छु । वञ्चित त यही ‘सम्पूण क्रान्ति’ नै हुने हो । त्यो उही आफ्नो दालरोटीसँगै कल्पनामा अशोक होटललाई चबाएर सन्तुष्ट होस् र चुप लागोस् ।
आज सबै होटेलहरूमा ज्युनार गरेपछि एउटा विशेष विज्ञापनमा ध्यान दिएँ । यस्तो कुनै न कुनै विज्ञापन त दिनदिनै छापिन्छ तर पहिले त्यतातिर मैले ध्यान दिइनँ । विज्ञापनमा प्रायः कुनै वृद्धको चित्र हुन्छ । मलाई लाग्थ्यो यो ‘हराएको खोजी’को विज्ञापन होला ! जस्तो कि कुनै केटाहरूका बारेमा छापिएको हुन्छ जो फिल्मी हिरो बन्न बम्बईतिर दगुर्छन् । अनि मैले सोच्थेँ, बुढाहरू पनि भाग्न थाले ! छोराहरूले छपाएका होलान् – ‘बुवा ! तपाईं जहाँ भए पनि फर्केर आउनुस् । तपाईं जानुभएदेखि आमाको अवस्था निकै बिग्रेको छ ।’ (यस वाक्यलाई पढेर त बुढा कहिल्यै नफर्केलान्) ।
होइन, बुढा भागेका होइन रहेछन् । माथि ठुला अक्षरमा छापिएको छ – ‘इन मेमोरियम’ अर्थात् स्मृतिमा ! तल बुढाबाका छोराहरूको नाम छापिएको छ । साथै कम्पनीको नाम, ठेगाना र फोन नम्बर छ जसमा बुढाको सम्झनामा कसैलाई रुने मन भयो भने उसले तुरुन्तै यस कम्पनीबाट सामान किनोस् । उसको दुःख हराउने छ ।
यी कुनै साहुजी थिए । साहुले कुनै कम्पनी खोलेका रहेछन् । राम्रो गरेछन् । साहु भएपछि कुनै कपाल काट्ने पसल त पक्कै खोल्दैनथे । साहुजीको यो कम्पनी खुब चल्यो । यो पनि राम्रै भयो, नत्र छोराहरूका लागि बाबुको नामको यो खर्चिलो अखबारी स्मृतिको कुनै प्रयोजन थिएन । यसै मितिमा साहुजीको मृत्यु भएको रहेछ । यो पनि ठिक भयो नत्र के थाहा भोलि कम्पनी डुब्न पनि त सक्थ्यो नि ! सपुत भनेका यस्तै हुन्छन् । छोराहरूले आज साहुजीलाई घोषित रूपमै सम्झना गरेका छन् । किन नहोस् ? यस्तै बाबुहरू नै त सम्झनलायक हुन्छन् नि जसले कम्पनी सुस्थापित गरोस् अनि तुरुन्तै दुनियाँ छोडिदेओस् । ए साँच्चि ! साहुजी गए चाहिँ कहाँ होला ! छोराहरूलाई भने यो पनि थाहा रहेछ । लेखेका छन् – ‘हु लेफ्ट फर हज ह्याभन्ली एभोड’ । अर्थात् जो आफ्नो स्वर्गीय निवासका निम्ति प्रस्थान गर्नुभयो । स्वर्गमा साहुनगर कलोनीको आवास नम्बर पाँच साहुजीका निम्ति पहिले नै रिजर्भ हुँदो हो ।
मेरा पिताको मृत्यु भएको पनि कैयौँ वर्ष भयो । मलाई भने अझैसम्म पनि उहाँ कहाँ जानुभयो भन्ने थाहा छैन । स्वर्गमा जानु भयो कि नर्कमा ? पुनर्जन्म भयो वा कहीँ हुनुहुन्न ? मैले त उहाँको सम्झनामा उहाँको फोटो छपाउने प्रेरणा पनि कतैबाट पाइनँ किनभने उहाँले व्यवसाय जमाएर नभई बिगारेर विदा लिनुभएको थियो । उहाँले वास्तविक पितापन स्थापित नै गर्नुभएन । साहुजीले भने सही पितापन स्थापित गरेर मात्र यो संसार छोडे र सारस्वरूप व्यवसाय सुचारु गरेर मात्र गए तर मेरा पिता त केवल मर्नुभयो । अङ्ग्रेजीमा मरेकालाई ‘दि लेट’ भन्छन् । हामी त्यसैलाई ‘स्वर्गीय’ वा ‘दिवङ्गत’ भन्छौं । विश्वास र संस्कारको छल त भाषामा आइहाल्दो रहेछ ।
के त ? छोराहरूलाई पक्कापक्की थाहा होला त ? मलाई त शङ्कै लाग्छ । सके साहुको पुनर्जन्म भयो कि ? दोस्रो पटक मनुष्यको जन्म त चौरासी लाख जुनीमा भट्केपछि मात्र हुने हो । त्यसैले साहुजी यति छिटै मनुष्य त पक्कै बनेनन् ! हुन सक्छ श्वान योनीमा गएर आफ्नै कारखानाको मूलढोका पो कुर्दै छन् कि ? छोराहरूलाई के थाहा त्यो मूलढोकाको बाहिर बसेर भुक्ने उनीहरूका पूज्य पिताजी नै पो हुन् कि ! उनीहरू यो कुकुर उनीहरूकै पिताश्री हुन् भन्ने थाहा पाएर देवताहरूले पुरस्कारको लोभमा गिरफ्तार नगराउन् भनेर अखबारको पेटबोली नै पढ्दैनन् र हत्तपत्त अखबार लुकाइदिन्छन् ।
यी छोराहरूले साहुजीलाई किन दुःख दिने र सताउने काम गर्छन् हँ ?
यस अखबारलाई त्यस कारखानाका कर्मचारीहरूले पनि हेर्लान् ! अनि उनीहरू भन्न सक्लान्, ‘यही हो त्यो दुष्ट साहु ! मजदुरहरूको रगत चुस्थ्यो । कति थोरै तलब दिन्थ्यो र कति धेरै काममा कज्याउँथ्यो । मजदुर एक दिन बिरामी पर्यो भने पनि तलब काट्थ्यो । अब भने रौरव नर्क भोग्दै होला ।
व्यापारीले पनि त यसलाई हेर्लान् । सके उनीहरू भन्लान् ‘ओहो ! आज बिहानबिहानै कसको थुतुनो हेर्नुपर्यो ! अरे यस साहुले त जसजसको पैसा लियो त्यसको फिर्तै गरेन । कैयौ लगानीकर्ताहरू यसको नाममा रोइरहेका छन् ।’ मेरो सुझाव मागेको भए यी पितृभक्तहरूलाई भनिदिन्थें, बुढा भइसकेका आफ्ना बाबुको चित्र यसरी नछपाओ । किनभने मानिसहरू उनका विषयमा नराम्रा नराम्रा कुरा गर्छन् । उनको लुकेको बदनामी पनि बाहिर आउँछ ।
तर छोराहरूले मेरो भनाइ मान्ने थिएनन् । पिताको फोटो छपाउनु त उनीहरूका निम्ति सजावट र विज्ञापन हो । साहुजीको मृत्युको दिन पारेर उनको फोटो छपाउनु त छोराहरूका निम्ति दीपावलीमा नयाँ र रङ्गीन साइनबोर्ड लगाउनुजस्तै हो । नत्र साहुजीलाई कसले चिन्ने ? उनले केकस्तो पराक्रम गरे भन्ने थाहा पाउन कसलाई केको चासो ? कसलाई के मतलब कि उनी मरे कि मरेनन् वा कहिले मरे ? तर छोराहरूले भने साहुजीलाई राष्ट्रिय महत्त्व दिइहाले ।
जब पैसा माथि माथि आउन थाल्छ तब त्यसले आफ्नो रूप पनि देखाउन चाहन्छ । पैसालाई म त छु तर देखिन पाएको छैनँ भनेर छट्पटी हुन्छ । मैले आफूलाई अभिव्यक्त गर्न पाएको छैनँ भन्ने लाग्छ । अनि पैसा यसरी फुटेर प्रकट हुन्छ जसरी फुलेको पकौडाभित्रको माल निस्कन्छ ।
अशिष्टताका निम्ति पनि हैसियत चाहिन्छ । मेरो हैसियत छैन, त्यसैले साहुजीका छोराहरूमाथि हाँस्दै छु । यदि मसँग पैसा र अशिष्टता दुवै आए भने त म गाढा रङ्ग किनेर मुखभरि पोतिदिन्छु एउटो गालो पहेंलो र अर्को रातो अनि नाक हरियो र कपाल निलो पारेर ।
मेरा अगाडि एक जना पैसावाल युवकको विवाहको निमन्त्रणापत्र राखिएको छ । बहुरङ्गी छ । रङ्ग कति गाढा छ भने त्यो विवाहको निम्तो हो कि मृत्युसंस्कारको भनेर छुट्याउनै सकिन्न । त्यहाँ बेहुलाका चित्रहरू पनि छन् बसिरहेको, सोचिरहेको, लेखिरहेको र सितार बजाइरहेको । मलाई थाहा छ यो युवक लेनदेनको कुरामा एक पटक पिटिइसकेको पनि हो । एउटा फोटो त यस्तो पनि छाप्नुपथ्र्यो – जुत्ता खाइरहेका बेहुला ! यो निमन्त्रणापत्र देखेर त दिङमिङ दिङमिङ लाग्छ । यस्तो लाग्छ मानौँ पिलो फुटेर त्यसभित्रको पिप र हडेदो बाहिर निस्किरहेछ !
हिजो यता एउटा जन्ती आएको थियो । मजदुरहरूका टाउकामा कैयौँ ग्यासबत्ती राखिएका थिए । बेहुलाको शृङ्गार त झन् कस्तो थियो भने त्यो देखेर बेहुलीले बान्ता गर्न सक्थिन् । त्यसमा दुईवटा ब्यान्डबाजा र त्यसमाथि लाउडस्पिकर । निकै घमासान होहल्ला । जन्ती आउनेहरूलाई पनि अनेक रङ्ग पोतेर ल्याएका भए अझ राम्रो हुन्थ्यो ।
मेरो भित्तामा एउटा क्यालेन्डर झुन्डिएको थियो जसलाई मैले झिक्न लगाएँ । ठुला व्यापारीको क्यालेन्डर थियो । त्यसमा धनकी देवी लक्ष्मी फूलमाथि बसेकी छन् । फूलमा कोमलता हुन्छ, सुगन्ध हुन्छ र सौन्दर्य हुन्छ । तर यी लक्ष्मी फूललाई कुर्सी ठानेर त्यसमै बसेकी छन् । धनकी देवी हुन् नि त ! जब यिनकै यो हाल छ भने देवीका कृपापात्रहरूले अशिष्टता किन नगरुन् ? फेरि पनि म त भन्छु, ‘हे देवी ! तिमीले आफ्नो आसन फेरिदेऊ । सिंहासनमा बस र हातमा फूल लेऊ । अथवा फूल कपालको जुरोमा घुसार । अनि तिमीले जसलाई मन लाग्छ त्यसैलाई धन देऊ । तर धनसँगै त्यसलाई आधेक किलोजति सुरुचि पनि दिने गर । यसबाट इन्फेक्सन हुने छैन र सम्पन्नताको पिलोबाट पिप बग्ने छैन ।
०००
परसाईं रचनावली भाग ३, काे ‘अपनी-हैसियत ‘ काे नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest

































