चिरञ्जीवी दाहालस्तुतिगान
अहंकारी व्यक्तिलाई कसैले पनि स्तुति गर्दैन । प्रशंसित बन्न सधैँ राम्रो कर्म गर्नुपर्छ र दुष्कर्म गर्नबाट टाढा रहने प्रयास गर्नुपर्छ । आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने व्यक्ति सबै गुणहरूबाट वञ्चित हुन्छ ।

चिरञ्जीवी दाहाल :
भनिन्छ, कसैलाई खुलेर गरेको स्तुतिगानले, मानव व्यवहारमा सुमधुर सम्बन्ध स्थापित गर्ने अचूक अस्त्रको काम गर्छ । जब यस्तो सुनेँ, मैले भेटे जति मान्छेको स्तुतिगान गर्न थालेँ । सुनेको थिएँ, कहिलेकाहीँ कसैको स्तुतिगानले निकै ठूलो काम समेत बन्नसक्छ रे । दुःखको कुरा मैले निकै मान्छेको स्तुतिगान गरिसकेँ तर आजसम्म एउटा पनि काम बनेको छैन । न मैले कसैसँग सुमधुर सम्बन्ध बनाउन नै सकेको छु ।
लागेको थियो, अर्काको खुलेर स्तुति गर्न किन कञ्जुस्याइँ गर्नु पर्यो ? न दस्तुर बुझाउनु पर्छ ! न दक्षिणा चढाउनु पर्छ ? (कसैले भने दक्षिणा पनि खोज्न सक्छन्) न जरिवाना नै तिर्नु पर्छ ! बिना लगानी र परिश्रम बिना मेरो कारणले कोही खुशी हुन्छ भने उसलाई खुशी किन नबनाउने ? यसैले म ढुक्कसँग मान्छेहरूको स्तुति गरिरहेको थिएँ । यसरी स्तुति गर्ने क्रममा म कहिलेकाहीँ मात्र होइन अनगिन्ती पटक चिप्लिएँ । हो न हो फलानो, स्तुति योग्य होला भनेर प्रशंसा गर्यो, पछि थाहा हुन्छ ऊ त ऐेरेगैरे पर्ने रहेछ । जति प्रयास गरेपनि मान्छे लायकको हो कि नालायक हो छुट्याउन सकिएन ।
यो स्तुति भन्ने पनि गजबकै कुरा रहेछ । जसले ‘मलाई कसैले स्तुतिगान गरेको मन पर्दैन’ भन्छ, ढुक्क भए हुन्छ उसैले बढी स्तुतिगान खोजिरहेको हुन्छ । अब भने उसको मजाले स्तुतिगान गर्न थाले हुन्छ । स्तुति गरे त हुन्छ तर त्यस्ताको हातबाट एउटा माखो पनि मर्दैन । स्तुति गरेपछि त केही पाउनु पर्यो नि ! भगवानको स्तुति गरे शान्ति पाइन्छ । त्यसैले म सधैँ अलमलमा पर्ने मूल कारण यही हो । कसैको स्तुति गरौँ या नगरौँ ।
मुखले त जसले जे पनि भन्न सक्छ । आफ्नो स्तुतिगान गरेको कसलाई पो मन पर्दैन र ? संसारका सबै मान्छेलाई अर्काले आफ्नो स्तुतिगान गरेको मनपर्छ । नढाँटी भन्ने हो भने कसैले गरेको स्तुतिगान मलाई त यति विधि मन पर्छ कि, त्यसलाई म शब्दमा बयान गर्न पनि सक्दिनँ । लाग्छ, बरू अरु मान्छेको तुलनामा मेरो स्तुतिगान गरिदिने मान्छेहरू भने निकै कम छन् । मलाई राम्रोसँग थाहा छ, प्रशंसा पाउन प्रशंसा योग्य काम गर्नु पर्छ ।
जसरी म प्रशंसा योग्य मान्छे छुट्याउन सक्दिनँ, त्यसैगरी अचेल प्रशंसा योग्य काम पनि छुट्याउन नसक्ने भएको छु । उहिले उहिले कसैले बहादुरी काम गरे फूलमाला पहिर्याएर जयजयकार गर्दै गाउँ शहर डुलाउने चलन थियो । त्यसैलाई नजिर मानेर फूलमाला र अबिर लगाएकोलाई बहादुर भनौँ, डिल्लीबजार खोरको गेटतिर यस्ता फूलमाला र अबिर वाला प्रायः भेटिने गरेका छन् । नेताको स्तुतिगान गरौँ भने स्तुतिगान शब्दको नै बेइज्जत होला भन्ने डर ! नाम चलेको साहित्यकारको स्तुति गरौँ, एउटा न एउटा संस्थाको प्रमुख हुन्छन्, चाप्लुसी गर्न स्तुति गर्यो भन्लान् । मास्टरको स्तुतिगान गरौँ बच्चा भर्ना गर्न नाटक गरेको भनि देलान् भन्ने डर । पत्रकारको स्तुतिगान गरौँ, प्रशस्ति लेखाउने विचार गरेछ भनि देलान् । व्यापारीको स्तुतिगान गरौँ उधारो माग्न बाटो खुलायो भन्लान् ।
यो स्तुतिगान सम्बन्धि कुराले अचेल मेरो रातको निन्द्रा हराएको छ, दिनमा चैन हराएको छ । ‘अल्प विद्या भयङ्करी’ भनेर त्यसै भनिएको होइन रहेछ । स्तुतिगान गरे फाइदा हुन्छ भनेको त सुनेँ तर यसबारे विस्तृत जानकारी छैन । यति हुँदाहुँदै पनि म कसैको स्तुतिगान गर्न छोड्ने पक्षमा भने छैन । राम्रोसँग विचार गर्ने हो भने कसो छुट्याउन सकिन्न होला र ? कसको स्तुतिगान गर्नुपर्छ कसलाई पर्दैन । अर्कालाई प्रशंसा गर्ने मात्र होइन म आफूलाई प्रशंसा गरिदिने मान्छेको पनि खोजीमा छु ।
हुन त स्तुतिगान पाएर मात्र पनि हुँदैन । यदि कसैले स्तुतिगान गाइरहेको छ भने प्राप्त स्तुतिगानको उपभोग गर्न पनि जान्नु पर्छ । यदि कुनै प्रकारले उपभोग गर्न असुविधा हुन गयो र एकपटकको स्तुतिगान खेर गयो भने त्यस व्यक्तिले पुनः दोहोर्याएर स्तुतिगान गर्दैन । यो पक्कै हो । अर्काले गरेको स्तुतिको भरपूर सदुपयोग गर्ने सिप छैन भने त्यस्तो सिपको विकास गर्ने मसँग न ढङ्ग छ, न रङ्ग नै छ । तै पनि लाग्छ, कसैको स्तुतिगान गर्न छोडिँदैन । जे त होला !
कहिलेकाहीँ स्तुतिगान गर्नु पर्ने व्यक्ति नजिक नहुन पनि सक्छ, त्यसमा भने पटक्कै चिन्ता लाग्दैन । यसको लागि सम्प्रेषण कला छ भनेपनि काम चल्छ । उहिले परेवासँग सुरक्षित तरिकाले चिठी सम्प्रेषण गरे जस्तै कसैलाई गरेको स्तुतिगान कसैसँग सुरक्षित तरिकाले सम्प्रेषण गर्न सकिन्छ । आजभोलि व्यक्तिलाई नभेटी सामाजिक सञ्जालको माध्यमद्वारा पनि स्तुतिगान प्रेषित गर्न सकिने सहज प्रविधि विकास भएको छ । स्तुतिगान गर्नु पर्ने व्यक्तिको फेसबुक स्टाटसमा उसले जे पोस्ट्याए पनि आँखा चिम्लिएर लाइक कमेन्ट गरिदियो ऊ प्रसन्न हुन्छ । सके तुरुन्त वरदान पाइएला नभएपनि उसको शितल छायाँ अवश्य पाइन्छ ।
फेरि कहिलेकाहीँ तपाईंको स्तुति विविध कारणले समाजका वरिष्ठ व्यक्तिहरू समक्ष पेश गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा आफ्नो प्रशंसा आफैले गर्नु हुँदैन । आफूलाई आफैले गरेको प्रशंसा अनुत्पादक साबित हुनेगरेको छ । यो तथ्यसँग अधिकांश व्यक्तिहरू सहमत हुन सक्छन् । यसका लागि मन मिल्ने साथीहरूको एउटा समुह बनाएर अर्काको स्तुति गर्ने बानीको विकास गर्न सकिन्छ । समुहको कुनै एकजना साथीलाई वरिष्ठ व्यक्तिसँग आफ्नो स्तुतिगान सम्प्रेषण गरे भइहाल्छ । आजभोलि यो विधि राजनीति, साहित्य, कर्मचारी तन्त्र, शिक्षण पेशा, समाजसेवा जस्ता सबै क्षेत्रमा बाक्लै देख्न पाइन्छ । चुनावमा दलको टिकट लिन, पुरस्कार र सम्मान प्राप्त गर्न, सरुवा बढुवामा यो निकै चलनचल्तीको विधि मानिएको छ । अचेल धेरै व्यक्ति र समुहले यही तरिका अपनाउने गरेको पाइन्छ । यो युग सुहाउँदो अत्यन्त सफल विधि हो ।
स्तुतिगान गर्ने अर्को उपाय दृष्टिगोचर गर्दा बच्चाहरूको विधि उपयोगमा ल्याउन सकिन्छ । कुनै बच्चाहरूलाई ध्यान दिएर हेर्नुहोस्, तिनीहरूले अभिभावकलाई खुशी पार्न, आफ्नो काम निम्ट्याउन मुखमा हेरेर कति मजाले मुस्कुराउँछन् । यसरी मुस्कुराउने बच्चा सबैको प्रिय हुन्छन् । मुस्कुराएर स्तुति गर्ने काममा पुरुषको दाँजोमा महिलाहरू निकै अगाडि देखिन्छन् । मुस्कुराउने विधिबाट अर्काको स्तुति गर्ने मात्र होइन, प्रशंसा पाउन पनि सकिन्छ । कसैसँग कुरा गर्दा मुसुक्क मुस्कुराउँदै कुरा गर्नुस, उसले आफ्नो प्रशंसा भएको ठान्ने मात्र होइन उसले तपाईंको पनि स्तुति गर्न थाल्छ । ‘फलानो नमुस्कुराइ बोल्दैन, कति राम्रो बानी ।’
मुस्कुराएर लाभ लिन र काम पट्याउन खप्पिस मान्छेहरूले सजिलै उन्नति प्रगति गर्ने गरेको देखिन्छ । तपाईं हामी मात्र किन पछि पर्ने ? आजैबाट मुस्कुराएर बोल्ने बानीको विकास गरौँ । कत्तिपनि डर मान्नु पर्दैन, यसरी मुस्कुराउँदै काम लिनसक्ने कलालाई अचेल चाप्लुसी गरेको मानिदैन । यो त कसैको मन जित्ने सर्वोत्कृष्ट उपाय हो उत्कृष्ट कला हो । कसैको स्तुतिगान गर्दा केही कुराहरूमा अत्यन्त बुद्धि विवेक पुर्याएर मात्र गर्नु पर्छ । बच्चाले ठूलाबडालाई प्रसन्न पार्ने अर्को विधि पनि प्रख्यात छ, रोएर स्तुतिगान गर्ने । मुस्कुराएर भएन भने यो रोएर स्तुति गर्ने विधि अपनाउन सकिन्छ ।
स्तुतिगान गर्दा निकै विचार भने पुर्याउनुपर्छ । आफ्नो अनुहार ठिकै लाग्ने मान्छेलाई तपाईंले उसको अनुहारमा हेरेर प्रशंसा गर्न थाल्नु भयो, भने यदाकदा ठुलै विपत्ति आउन पनि सक्छ । कतिपय मान्छेहरूको बानी हुन्छ, ठाउँ न कुठाउँ अर्काको स्तुतिगान गरिहाल्ने । सायद यो उनीहरूको स्थायी आदत हो । यस्तो बानी भएका मान्छेले अनपढलाई विद्वान भनेर प्रशंसा गरिदिँदा उसलाई प्रशंसा होइन होच्याएको हो भन्ने लाग्छ ।
स्तुतिगान गर्ने क्रममा तपाईंले कसैलाई अत्याधिक धेरै स्तुति गर्न थाल्नु भयो र नपच्ने स्तुति गर्नुभयो भने पनि उसले तपाईंले बोलिरहेको झुट पत्ता लगाउन सक्छ । त्यस्तो अवस्थामा स्तुतिगानले फाइदा होइन नोक्सानी पुर्याउन सक्छ । स्तुति गर्दा जहिलेपनि सिमाभित्र मात्र रहेर गर्नुपर्छ ।
कहिलेकाहीँ, जब म कसैको स्तुति गर्छु, स्तुति गरिएको व्यक्ति एकदम खुसी हुन्छ, अहंकारी हुन्छ, र मानिसहरूले आफूलाई उदाहरणको रूपमा लिने गर्छन् भन्ने सम्झन्छ । उसले आफूलाई अरू मानिसहरू भन्दा उच्च मान्न सक्छ। अहंकारी व्यक्तिलाई कसैले पनि स्तुति गर्दैन । प्रशंसित बन्न सधैँ राम्रो कर्म गर्नुपर्छ र दुष्कर्म गर्नबाट टाढा रहने प्रयास गर्नुपर्छ । आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने व्यक्ति सबै गुणहरूबाट वञ्चित हुन्छ । जसको स्तुतिगान गरिन्छ उसले सोच्दछ, म भित्र पक्कै पनि असल पक्षहरू छन् । कसैले प्रशंसा गरिदिँदा उसमा अहङ्कार उत्पन्न हुनसक्छ। अहंकारले मानिसलाई नष्ट गरिदिन्छ । प्रशंसा गर्दा यतातिर पनि ध्यान दिनु जरुरी हुन्छ । कसैलाई नष्ट र पथभ्रष्ट बनाउनु छ भने उसलाई सधैँ प्रशंसा मात्र गरिदिए पुग्छ । त्यसैले तपाईंलाई कसैले ज्यादै प्रशंसा गर्न थाल्यो भने सचेत रहनुपर्छ । कसैको स्तुतिगान गर्नुस् तर सिमित मात्रामा ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































