हरिशंकर परसाईं१५ अगस्तको सन्देश
सबै काम त सरकारी भएर बट्टामा बन्द भए । तिनमा बाहिरको हावा पनि लाग्दैन । अब मान्छे जाओस् पो कहाँ ? कि घरका अगाडि खाँबो गाडेर त्यसैमा चढ्ने र ओर्लिने गरोस् ?

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
१५ अगस्त आयो अनि गयो ।
आज के भयो त भनेर सम्झिँदा स्मरण भयो, सबैले सन्देश दिएछन् ।
प्रधानमन्त्रीको सन्देश,
पं. पन्तको सन्देश,
पं. रविशंकरको सन्देश,
श्री ओमप्रकाशको सन्देश,
श्री मोरारजी देसाईको सन्देश,
अनि लालाराम बाजपेयीको पनि सन्देश ।
सबैले जनताका लागि सन्देश दिए ।
सबै सन्देशहरूमा एउटै कुरो भनियो – हरेक भारतीयले निस्स्वार्थ सेवा गर्नुपर्छ, श्रम गर्नुपर्छ र विकासयोजनाहरूमा सहयोग दिनुपर्छ ।
कुरो त सही हो । हरेक भारतीयले निस्स्वार्थ सेवा गर्नुपर्छ किनभने जब उनीहरूले स्वार्थको त्याग गर्नेछन् तब त्यो स्वार्थ लावारिस हुनेछ र त्यसलाई उनीहरूले हडप्ने छन् जो सरकारी दलका हुन् । त्यसैले हे भारतीयहरूहो ! तिमीहरू सबैले स्वार्थको त्याग गर अनि कांग्रेसी दाजुभाइलाई हडप्न देओ । अनि मात्र देशको कल्याण हुन्छ । भारतसेवक समाजजस्ता संस्थाहरूमा तिमीहरूले काम मात्र गर, दान देओ, तर सबै हिसाबकिताब र श्रेय कांग्रेसीहरूका निम्ति छाडिदेओ ।
रह्यो श्रम गर्ने कुरो त, यहाँ कसले श्रम गर्दैन र ? मन्त्रीहरू दिनदिनै श्रम गर्ने आह्वान गरिरहन्छन् तर के उनीहरूलाई हरेक सहरमा हजारौं बेकार युवकहरू श्रम दिन भनेर घुमिरहन्छन् भन्ने कुरो थाहा छैन र ? यिनीहरूको श्रम कसैले लिँदै लिन्न । यता त्यस्तो श्रमको बाढी आएको छ जसको कुनै उपयोगिता छैन । ऊ स्वस्थ जीवनलाई मास्दै छ अनि उता श्रम गर भन्ने आह्वान चर्किएको छ । आखिर कस्तो श्रम चाहिएको हो तिमीहरूलाई ? कसको श्रम चाहिएको हो तिमीहरूलाई ? यदि तिमीहरूलाई मान्छेको श्रम चाहिएको हो भने यति मान्छे त बेकार नै छन् । होइन, तिमीहरूको मनमा अरू थोक नै केही छ ।
यो सन्देश दिनु पनि एउटा फेसन नै हो । हरेक मन्त्री र हरेक नेताले दिनैपर्छ । श्रम गर्ने आह्वान गर्नु, निर्माणका निम्ति आह्वान गर्नु यी सबैलाई फेसनकै रूपमा स्वीकार गरिएको छ । तर यो नै हाम्रो दुर्भाग्य हो । आह्वानलाई पनि फेसन बनाइएको छ । त्यसैले यसमाथि पनि कसैले ध्यान दिँदैन । आह्वानको उत्तर दिनेहरूको कमी यस देशमा छैन । आह्वानमा समर्पित हुनेहरूको भावना अझै मरेको छैन । गोआ सङ्ग्रामको आह्वानमा हजारौं मानिसहरू गोलीले मर्न पुगे । यो देश कमजोर छैन, यहाँका मानिसहरूको मन मरेको छैन । तर आवाजको शक्तिमा मानिसहरू जम्मा हुन्छन् अनि यो शक्ति त्यस कण्ठमा हुन्छ जसलाई धारण गर्ने व्यक्ति विश्वासप्राप्त हुन्छ अनि जो वास्तवमा जनसेवक हुन्छ ।
आह्वानचाहिँ दिनदिनै भए पनि कतै कोही पनि काम गर्न नजाने त्यस्तो कारण के छ ? कारण स्पष्ट छ । जसले आह्वान गर्छन् तिनीहरूको बोलीको शक्ति हराएको छ । उनीहरूले विश्वास गुमाएका छन् । मानिसहरूमा कुनै उत्साह उत्पन्न हुँदैन ।
गान्धीजीको आवाजमा मानिसहरू जम्मा हुन्थे । सुभाषको आवाजमा लाखौं युवकहरू प्राण दिन एकत्रित भएका थिए । विनोवाको आवाजमा आज पनि मानिसहरू घरबाट निस्किन्छन् । तर मन्त्रीहरू र नेताहरूको आवाजमा कोही आउँदैन । आज सुभाष हुँदा हुन् त या गान्धी हुँदा हुन् र उनीहरूले हिँड बाँध बाँध्नु छ, सडक बनाउनु छ र खेत सफा गर्नु छ भनेर आह्वान गर्दा हुन् त मानिसहरू आउने थिए ।
यी आह्वान गर्नेहरूले अलिकति कुनै निर्मल क्षणमा सोचुन् त उनीहरूको आवाजमा शक्ति किन छैन ?
आह्वानमा कामहरू हुन्छन् । चीनका माओत्से तुङ अनि चाउ एन लाईको आवाजमा लाखौं युवकहरू कोदाला लिएर निस्केका थिए । उनीहरूमा विश्वास हुँदो हो, त्यसैले त । हाम्रा नेताले विश्वास गुमाइसकेका छन् । आज उनीहरूले सरकार सम्हालेका छन् । भ्रमणमा जाँदा कांग्रेसीहरूको भिडले जयजयकार लगाउँछन् अनि उनीहरूलाई लाग्छ, उनीहरू लोकप्रिय छन् । तर उनीहरूलाई के थाहा छैन भने उनीहरूलाई कि त टिकट चाहिएको हुन्छ कि कुनै फाइदा चाहिएको हुन्छ । त्यसैले उनीहरूले देखावटी उत्साह मात्र देखाउँछन् ।
अनि यदि कसैले श्रम गर्न नै चाहे पनि र विकासकार्यमा योगदान गर्न चाहे पनि जाने पो कहाँ ? गर्ने पो के ? कुन काम गर्ने ? कैयौं मानिसहरू सोध्छन्, ‘यी नेताहरू भन्न त भन्छन् परिश्रम गर भनेर तर हामीले परिश्रम गर्ने पो कहाँ ? कुन काम गर्ने ? सबै काम त सरकारी भएर बट्टामा बन्द भए । तिनमा बाहिरको हावा पनि लाग्दैन । अब मान्छे जाओस् पो कहाँ ? कि घरका अगाडि खाँबो गाडेर त्यसैमा चढ्ने र ओर्लिने गरोस् ?
यी सबै सन्देशबाजीहरू औपचारिकता मात्र हुन् । स्वागतसमारोहमा, स्वतन्त्रता दिवसमा र उद्घाटनहरूमा केही त भन्नैपर्यो । त्यसैले ठुला मान्छेहरू साना मान्छेलाई सन्देश दिने गर्छन् ।
०००
परसाईं रचनावाली
Subscribe
Login
0 Comments
Oldest

































