साइबर अपराध सम्बन्धी सचेतना सामग्री

१५ अगस्तको सन्देश

सबै काम त सरकारी भएर बट्टामा बन्द भए । तिनमा बाहिरको हावा पनि लाग्दैन । अब मान्छे जाओस् पो कहाँ ? कि घरका अगाडि खाँबो गाडेर त्यसैमा चढ्ने र ओर्लिने गरोस् ?

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१५ अगस्त आयो अनि गयो ।
आज के भयो त भनेर सम्झिँदा स्मरण भयो, सबैले सन्देश दिएछन् ।
प्रधानमन्त्रीको सन्देश,
पं. पन्तको सन्देश,
पं. रविशंकरको सन्देश,
श्री ओमप्रकाशको सन्देश,
श्री मोरारजी देसाईको सन्देश,
अनि लालाराम बाजपेयीको पनि सन्देश ।
सबैले जनताका लागि सन्देश दिए ।
सबै सन्देशहरूमा एउटै कुरो भनियो – हरेक भारतीयले निस्स्वार्थ सेवा गर्नुपर्छ, श्रम गर्नुपर्छ र विकासयोजनाहरूमा सहयोग दिनुपर्छ ।

कुरो त सही हो । हरेक भारतीयले निस्स्वार्थ सेवा गर्नुपर्छ किनभने जब उनीहरूले स्वार्थको त्याग गर्नेछन् तब त्यो स्वार्थ लावारिस हुनेछ र त्यसलाई उनीहरूले हडप्ने छन् जो सरकारी दलका हुन् । त्यसैले हे भारतीयहरूहो ! तिमीहरू सबैले स्वार्थको त्याग गर अनि कांग्रेसी दाजुभाइलाई हडप्न देओ । अनि मात्र देशको कल्याण हुन्छ । भारतसेवक समाजजस्ता संस्थाहरूमा तिमीहरूले काम मात्र गर, दान देओ, तर सबै हिसाबकिताब र श्रेय कांग्रेसीहरूका निम्ति छाडिदेओ ।

रह्यो श्रम गर्ने कुरो त, यहाँ कसले श्रम गर्दैन र ? मन्त्रीहरू दिनदिनै श्रम गर्ने आह्वान गरिरहन्छन् तर के उनीहरूलाई हरेक सहरमा हजारौं बेकार युवकहरू श्रम दिन भनेर घुमिरहन्छन् भन्ने कुरो थाहा छैन र ? यिनीहरूको श्रम कसैले लिँदै लिन्न । यता त्यस्तो श्रमको बाढी आएको छ जसको कुनै उपयोगिता छैन । ऊ स्वस्थ जीवनलाई मास्दै छ अनि उता श्रम गर भन्ने आह्वान चर्किएको छ । आखिर कस्तो श्रम चाहिएको हो तिमीहरूलाई ? कसको श्रम चाहिएको हो तिमीहरूलाई ? यदि तिमीहरूलाई मान्छेको श्रम चाहिएको हो भने यति मान्छे त बेकार नै छन् । होइन, तिमीहरूको मनमा अरू थोक नै केही छ ।

यो सन्देश दिनु पनि एउटा फेसन नै हो । हरेक मन्त्री र हरेक नेताले दिनैपर्छ । श्रम गर्ने आह्वान गर्नु, निर्माणका निम्ति आह्वान गर्नु यी सबैलाई फेसनकै रूपमा स्वीकार गरिएको छ । तर यो नै हाम्रो दुर्भाग्य हो । आह्वानलाई पनि फेसन बनाइएको छ । त्यसैले यसमाथि पनि कसैले ध्यान दिँदैन । आह्वानको उत्तर दिनेहरूको कमी यस देशमा छैन । आह्वानमा समर्पित हुनेहरूको भावना अझै मरेको छैन । गोआ सङ्ग्रामको आह्वानमा हजारौं मानिसहरू गोलीले मर्न पुगे । यो देश कमजोर छैन, यहाँका मानिसहरूको मन मरेको छैन । तर आवाजको शक्तिमा मानिसहरू जम्मा हुन्छन् अनि यो शक्ति त्यस कण्ठमा हुन्छ जसलाई धारण गर्ने व्यक्ति विश्वासप्राप्त हुन्छ अनि जो वास्तवमा जनसेवक हुन्छ ।
आह्वानचाहिँ दिनदिनै भए पनि कतै कोही पनि काम गर्न नजाने त्यस्तो कारण के छ ? कारण स्पष्ट छ । जसले आह्वान गर्छन् तिनीहरूको बोलीको शक्ति हराएको छ । उनीहरूले विश्वास गुमाएका छन् । मानिसहरूमा कुनै उत्साह उत्पन्न हुँदैन ।

गान्धीजीको आवाजमा मानिसहरू जम्मा हुन्थे । सुभाषको आवाजमा लाखौं युवकहरू प्राण दिन एकत्रित भएका थिए । विनोवाको आवाजमा आज पनि मानिसहरू घरबाट निस्किन्छन् । तर मन्त्रीहरू र नेताहरूको आवाजमा कोही आउँदैन । आज सुभाष हुँदा हुन् त या गान्धी हुँदा हुन् र उनीहरूले हिँड बाँध बाँध्नु छ, सडक बनाउनु छ र खेत सफा गर्नु छ भनेर आह्वान गर्दा हुन् त मानिसहरू आउने थिए ।

यी आह्वान गर्नेहरूले अलिकति कुनै निर्मल क्षणमा सोचुन् त उनीहरूको आवाजमा शक्ति किन छैन ?
आह्वानमा कामहरू हुन्छन् । चीनका माओत्से तुङ अनि चाउ एन लाईको आवाजमा लाखौं युवकहरू कोदाला लिएर निस्केका थिए । उनीहरूमा विश्वास हुँदो हो, त्यसैले त । हाम्रा नेताले विश्वास गुमाइसकेका छन् । आज उनीहरूले सरकार सम्हालेका छन् । भ्रमणमा जाँदा कांग्रेसीहरूको भिडले जयजयकार लगाउँछन् अनि उनीहरूलाई लाग्छ, उनीहरू लोकप्रिय छन् । तर उनीहरूलाई के थाहा छैन भने उनीहरूलाई कि त टिकट चाहिएको हुन्छ कि कुनै फाइदा चाहिएको हुन्छ । त्यसैले उनीहरूले देखावटी उत्साह मात्र देखाउँछन् ।

अनि यदि कसैले श्रम गर्न नै चाहे पनि र विकासकार्यमा योगदान गर्न चाहे पनि जाने पो कहाँ ? गर्ने पो के ? कुन काम गर्ने ? कैयौं मानिसहरू सोध्छन्, ‘यी नेताहरू भन्न त भन्छन् परिश्रम गर भनेर तर हामीले परिश्रम गर्ने पो कहाँ ? कुन काम गर्ने ? सबै काम त सरकारी भएर बट्टामा बन्द भए । तिनमा बाहिरको हावा पनि लाग्दैन । अब मान्छे जाओस् पो कहाँ ? कि घरका अगाडि खाँबो गाडेर त्यसैमा चढ्ने र ओर्लिने गरोस् ?

यी सबै सन्देशबाजीहरू औपचारिकता मात्र हुन् । स्वागतसमारोहमा, स्वतन्त्रता दिवसमा र उद्घाटनहरूमा केही त भन्नैपर्‍यो । त्यसैले ठुला मान्छेहरू साना मान्छेलाई सन्देश दिने गर्छन् ।

०००
परसाईं रचनावाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x