साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महायज्ञ कि पाखण्डयज्ञ ?

मेरो चाहना धार्मिक भावनामाथि आघात गर्नु पटक्कै होइन । तर इतिहासले के बताएको छ भने शोषकहरूले शोषण गर्नका लागि यस्तै धर्म र अन्धविश्वासको सहारा लिने गरेका छन् ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

हामी सबैका काँधमाथि एउटा टाउको छ भन्ने कुरालाई हामी भारतीय भएर पनि बिर्सेका छैनौं भन्ने कुरालाई स्वीकार गरेर नै यी पङ्क्तिहरू लेखिँदै छन् । जसले आफ्नो टाउको केवल हजारौं कुप्रथाहरू र अन्धविश्वासहरूलाई बोक्नका लागि मात्र हुन्, सोच्न र बुझ्नका लागि होइनन् भन्ने बुझेका छन् तिनलाई रिसाउने पूर्णअधिकार दिएर म यो भन्दै छु ।

अचेल ‘यज्ञ’ र ‘महायज्ञ’ का विभिन्न आयोजनहरू हुँदै छन् वा भइरहेका छन् । जबलपुर शहरमा गतवर्ष मात्र एउटा महायज्ञ भएको थियो र एउटा आयोजन यस वर्ष फेरि हुँदै छ । पर्चाहरूमा, लाउडस्पिकरहरूमा र प्रेसमा आयोजकहरूले यो यज्ञ ‘लोकमङ्गल’का निम्ति गरिँदै छ भनेर ठुलै प्रचार गरिरहेका छन् । ‘लोक’ शब्दभित्र त तपाईं हामी सबै अटाउँछौं भने अब हेर्नु छ यदि यो हाम्रै मङ्गलका लागि भएको हो भने हाम्रो केकति मङ्गल हुँदो रहेछ !

यी यज्ञहरूको स्वरूप यस्तो छ –
आयोजनको प्रेरणा दिनेहरू मठाधीशहरू हुन् । यिनीहरूका साथमा हुन्छन् अनेक ‘साधु’ नामधारी तथा ‘पण्डित’ नामधारी व्यक्तिहरू, भूतपूर्व राजा-महाराजा या रानी-महारानीहरू, साहूमहाजन र पुँजीपतिहरू । तर वास्तवमा यो गोरखधन्धा जसले गरिरहेका हुन्छन् ती हुन्छन् साम्प्रदायिक नेता जसले सङ्कीणर् साम्प्रदायिक भावना जगाएर राजनीतिक सत्ता हत्याउन चाहन्छन् । प्रतिक्रियावादी तत्त्वहरूले सधैजसो पुँजीपतिवर्गको सहयोग पाइरहेका हुन्छन् । अङ्ग्रेजको समयमा यिनीहरू सरकारका साथमा थिए र स्वतन्त्रता संग्रामका सिपाहीहरूका विरोधी थिए । आज यी प्रतिक्रियावादीहरू साम्प्रदायिक तत्त्वहरूका साथमा छन् । अनि यिनीहरूलाई के थाहा छ भने भारतीय समाज जो अझै पनि ८४ प्रतिशत निरक्षर छ त्यो अत्यन्त धर्मभीरू श्रद्धाशील अनि सहजविश्वासी छ । धर्म अनि भगवानको नाम लिएर यस समाजबाट तपाईं जुनसुकै काम लिन सक्नुहुन्छ । कुसंस्कारहरू, कुप्रथाहरू र मिथ्या विश्वासमा पाउदेखि शिरम्म ढाकिएको जनसमूहको उपयोग बिल्कुल त्यसै गरी गरिँदै छ जसरी कारखानामा कच्चा मालको उपयोग गरिन्छ ।

यसरी उपर्युल्लिखित पञ्चवर्गीय निहित स्वार्थवाहीहरूले नै यसको आयोजन गर्छन् अनि प्रचारका माध्यमबाट सोझा जनताबाट हजारौं रुपैयाँ जम्मा गर्छन् । मण्डप बनाइन्छ अनि मुरीका मुरी घिउ, टनका टन अन्न र मूल्यवान् वस्तुहरू आगामा हुत्याइन्छन् । यसरी धर्मको रूपकले मोहित जनसमाजलाई एकत्रित गरेर साम्प्रदायिक राजनैतिक कलाका नेताहरू साम्प्रदायिक जहर ओकल्छन् । उनीहरूको ध्यान ठुला समस्याबाट हटाएर गाई र भैंसीतिर लगाउँछन् । २०-२५ दिन सयौँ साधु, पण्डित र महन्थ नामधारी व्यक्तिहरूले माल उडाउँछन् र नरनारीहरूलाई दण्डवत् गर्न लगाउँछन् ।

जम्माजम्मी यो आयोजन हो भने यसमा लोकतन्त्र कहाँ छ भनेर पनि दूरवीन लिएर खोज्नुपर्ला । तर यसमा यज्ञलाई सामिल गरेर के भनिन्छ भने यज्ञबाट नै त लोककल्याण हुने हो नि । आजभन्दा हजारौं वर्षपहिले वैदिक कालमा यज्ञको आरम्भ भएको थियो अनि समय बित्दै जाँदा यसमा पशुबलिदेखि लिएर नरबलिसम्मका यति पाखण्ड तथा मिथ्याचारहरू आए कि गौतम बुद्धले यसको विरोध गर्नुपरेको थियो र मानिसलाई भन्नुपरेको थियो, ‘कुनै कुरालाई आँखा चिम्लेर नमान चाहे त्यो शास्त्रमा लेखिएको होस् वा कुनै महापुरुषले भनेको होस् । बरु आफ्नो विवेक प्रयोग गरेर विचार गर अनि उचित अनुचितको निक्र्योल गरेर काम गर ।’ आजभन्दा हजारौं वर्षपहिलेका भारतीय मनीषीहरूले तत्कालीन परिस्थितिअनुसार अनि भविष्यमा पनि सम्भावना देखेर धर्माचरणको व्यवस्था सुनिश्चित गरेका थिए । तर उनीहरूले युगअनुसार धर्मको रूप फेरिन्छ पनि भनेका थिए । आखिर यो धर्म भेँडाहरूको धर्म त होइन, हो त मानिसको नै । त्यो बेला यज्ञवेदीको वरिपरि ज्ञान तथा लोकमङ्गलको साधना हुने गर्थ्याे । तर अब भने केही अल्छी तिघ्रेहरूको ‘पेटमङ्गल’को साधना मात्र हुन्छ ।

यज्ञको अर्थ घिउ आगामा खन्याउनु मात्र होइन । जुन जातिले आफ्नो बहुमूल्य खाद्य पदार्थ आगामा खन्याउँछ त्यो मूर्ख जाति हो । यता टिनका टिन घिउ जलाइन्छ भने देशका केटाकेटीहरूले खानका लागि घिउ पाउँदैनन् । कैयौँ मुरी अन्न हुत्याइन्छ अनि यता मानिसहरू भोकले मरिरहेका छन् । कहाँको लोकमङ्गल छ यसमा ? यसमा त उनीहरूको मात्र पेट भरिन्छ जो युगौंदेखि अल्छी छन् अनि सोझा जनताको सित्तैंको मालमा तर मार्ने बानी परेको छ । यिनीहरूलाई ‘साधु’ भनिन्छ तर के हुन् भन्ने त उनीहरू नै जानुन् र उनीहरूका भगवान्ले जानुन् । केही त हामी त हामी पनि जान्दछौँ । भारतमा साधुहरू पहिले पनि हुन्थे तर ती समाजबाट खाने कुरा लिन्थे भने सट्टामा समाजलाई दिन्थे पनि । उनीहरू समाजलाई पढाउँथे, ज्ञान दिन्थे, समाजसेवा गर्थे । अनि अहिलेका साधु ? यिनीहरूले समाजसित लिने मात्र सम्बन्ध बनाएका छन् । समाजको हित अहितबाट पूरै निरपेक्ष रही उनीहरूको अर्थव्यवस्थामाथि बोभल बनेर लादिएका छन् ।

मानिसभन्दा ठुलो कोही छैन । जुन कर्मले मानिसको कल्याण हुन्छ त्यही धर्म हो । जसले मानिसको हित गर्छ उही साधु हो । जसले मानिसलाई माथि उठाउँछ उही सन्त हो । मानिसले ईश्वरको सत्ता पनि ऊ त्राता हो, रक्षक हो र लोकहितकारी हो भनेरै स्वीकार गरेको हो । त्यसैले मानिसको कल्याणबाहेक कुनै कसी छैन ।

आज ‘यज्ञ’को अर्थ फेरिएको छ । कुनै महान् उद्देश्यको पूर्तिका लागि गरिने कार्य नै यज्ञ थियो । त्यति बेला यी आजका यज्ञकर्ताहरू त यज्ञविध्वंशक दानवहरूतिर थिए । आजको यज्ञ उत्पादन बढाउनु हो, अशिक्षित देशवासीहरूलाई पढाउनु यज्ञ हो, उद्योगव्यवसायको विस्तार गर्नु यज्ञ हो, विकासयोजनाहरूमा श्रमदान गर्नु यज्ञ हो, कारखानहरूमा काम गर्नु यज्ञ हो र ग्रामसुधारका निम्ति काम गर्नु यज्ञ हो । आजको युगका यज्ञहरू यिनी हुन् । भारतका करोडौं तथाकथित साधुहरूले यदि सही यज्ञ गर्न चाहन्छन् भने कतै गएर सिँचाइका निम्ति कुलो खनुन्, धर्तीको बाँझो फोरेर खेतीयोग्य बनाउन् र अनपढहरूलाई पढाउन् । आजको युगधर्म यही हो । यिनै आजका यज्ञ हुन् । काम नगरीकन खाने मान्छे कुन नर्कमा जाकिन्छ भन्ने उनीहरूको धर्मग्रन्थमा कतै त लेखेकै होला !

अनि समझदार नागरिकले पनि भोको गरिब मान्छे, बोसो बढाएको भुँडे साधु वा पण्डितको पदवी धारण गरेको व्यक्तिमध्ये दान लिने आधिकारिक व्यक्ति को हो भन्ने कुराको अलिकति हेक्का राख्नुपर्छ । जसका सामु उनीहरू वा उनीहरूका आमा, दिदीबहिनीहरू निहुरेर ढोग्न जान्छन् ती कस्ता पात्र हुन्, उनीहरूका कर्म के हुन्, ती कति पवित्र र अकलुषित छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । के उनीहरूलाई धर्मका नाममा बुद्धू बनाएर कैयौं मानिसहरूले आफ्नो क्षुद्र राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् भन्ने पनि उनीहरूले बुझेका छैनन् र ? उनीहरूले त समाजलाई यसै गरी भीरू, अन्धविश्वासी र कुसंस्कारी बनाएर नै उनीहरूको शोषण गर्न सकिन्छ भन्ने कुरो पनि थाहा पाइराख्नुपर्छ । यसमा जो जो व्यक्तिहरू एकदम उत्साही बनेर लागिपरेका छन् तिनको पूर्वकर्म र इतिहास पनि हेर्नुपर्‍यो नि उनीहरू धर्मका लागि समर्पित हुने खालका मान्छे हुन् कि स्वार्थी हुन् भनेर ।

मेरो चाहना धार्मिक भावनामाथि आघात गर्नु पटक्कै होइन । तर इतिहासले के बताएको छ भने शोषकहरूले शोषण गर्नका लागि यस्तै धर्म र अन्धविश्वासको सहारा लिने गरेका छन् । त्यसैले कुरो सावधान हुनुपर्छ भन्ने हो । आज समाजलाई केवल मन्त्रोच्चारण गर्न र पूजा गर्नका लागि मात्र कुनै एउटा निश्चित वर्गको आवश्यकता छैन । कुनै बेला थियो होला र त्यति बेला उनीहरूलाई ‘ब्राह्मण’ भनियो होला । आजको जटिल सामाजिक अवस्थामा एउटा वर्गले अन्य वर्गको श्रमको भाग खोसेर खान्छ भने त्यो सही होइन ।

विधान पङ्गु छ । नत्र गरिब तथा खाद्यको अभाव भएको देशको खाद्यान्न तथा घिउ जलाउनेहरूको स्थान उच्चासन नभएर कारागार हुनुपथ्र्यो । वास्तवमा यस्तै कृत्यहरू नै समाजविरोधी कृत्य हुन् ।

०००
(यो निबन्ध हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको व्यङ्ग्यकृति ‘परसाई रचनावली भाग- ४’मा रहेको ‘महायज्ञ या पाखण्डयज्ञ’ भन्ने निबन्धबाट अनुवाद गरिएको हो । यो लेख १३ जनवरी सन् १९५५मा ‘प्रहरी’मा प्रकाशित भएको थियो । अनुवादक)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

यो व्यङ्ग्य कम, विचारपरक निबन्ध बढी भएको ठहर मेरो माखापित्ते मगजले गर्‍यो र पशुपतिको कैलाशे डाँडाको साउने कोटि होमको झलझली याद गरायो !

युगल बसेल
युगल बसेल
1 year ago

यो व्यङ्ग कम र विचारपरक निबन्ध बढी हो भन्ने मेरो माखापित्ते मगजले ठहर गर्‍यो । सँगसँगै मलाई पशुपतिको कैलासे डाँडामा लगाइएको साउने कोटी होम यज्ञको झलझली याद यस निबन्धले गरायो

Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
2
0
Would love your thoughts, please comment.x
()
x