हरिशंकर परसाईंविज्ञापनमा बिक्दै नारी
ऊ तिम्रा पाउमा लागेका धर्मपाल सू कम्पनीका जुत्तामा लोभिएकी हो । सुन्दरीले आँखामा हेर्नुको अर्थ आँखा जुधाएको हैन । उसले त ‘नेसनल अप्टिसियन्स’को चस्मासित आँखा जुधाएको हुन सक्छ ।

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
म समाचारपत्रमा भविष्यफल र विज्ञापन अवश्य पढ्छु । जसको कुनै भविष्य छैन, उनीहरूले पनि भविष्यफल पढ्नुपर्छ । कहिलेकाहीँ फलबाटै भविष्य निस्किन्छ जसरी अनिकाल पर्दा राहतकार्यमा संलग्न अधिकारीहरूका भवनहरू निस्किन्छन् । मेरो राशिका अगाडि लेखिएको हुन्छ, ‘यो साता आर्थिक अभाव रहनेछ तर पैसाको व्यवस्था पनि हुनेछ ।’ मेरा तथा भारत सरकारका ग्रहहरू एकै किसिमका छन् । त्यसको भविष्यफल पनि यही हो – आर्थिक समस्या रहनेछ तर पैसाको व्यवस्था हुनेछ । म आफूसँग भएको पैसा खर्च गर्न निस्किन्छु । अभाव भए न पैसाको व्यवस्था हुने हो भनेर ज्योतिषीहरू भन्छन् । अभाव नै नभएपछि ग्रहहरूले कसरी प्रबन्ध गरून् त ! भारत सरकारले अभाव सिर्जना गर्छ अनि ग्रहहरूले कतै अमेरिकाको, कतै रुसको त कतै विश्वबैंकको पछि लागेर पैसाको प्रबन्ध गरिदिन्छन् ।
त्यस दिन भविष्यफल पढ्नासाथ म अभाव सिर्जना गर्न निस्किएँ । साथमा अलिकति रुपैयाँ थियो । यदि यो रुपैयाँ रहिरह्यो भने ग्रहहरूले कतैबाट पनि पैसा दिलाउन्नन् भनेर मैले एउटा पङ्खा किनेर भए पनि अभाव सिर्जना गर्नुपर्छ भन्ने ठानें । मैले अखबारमा पङ्खाका विज्ञापनहरू हेरें । हरेक पङ्खाका अगाडि एउटी नारी थिइन् । एउटा पङ्खाले उनको साडी उडाइरहेको छ त अर्काले उनको कपाल उडाइरहेको छ । एउटा विज्ञापनमा त सुन्दरी पङ्खाका पातामा नै बसेकी थिइन् । म भने कसैले स्विच थिचिदिने हो कि भनेर डराइरहें । अचेल यस्ता उट्पट्याङ कामहरू हुने गरेका छन् । म ती सुन्दरीका निम्ति निकै चिन्तित भएँ । पोहोरको मेरो एक महिना त यस्तै चिन्तामा बितेको थियो । एउटा पत्रिकाले मुखपृष्ठको सजावटका लागि एउटा चित्र छोपेको थियो जसमा घरको तेस्रो तलामा एउटी महिला झोंक्रिएर बसेकी थिइन् । कतै हावाको झोंक्का आयो भने त यी नारी धडाम्म तल खस्छिन् भनेर म दिक्क परें । रातिमा पनि एक्कासि निँदले छोड्थ्यो र म सोच्न थाल्थें, ती नारीको के भयो होला भनेर । खस्न त खसिनन् ? अर्को अङ्कमा ती महिला ओर्लिएको देखेपछि मात्र म ढुक्क भएँ ।
सोचें, यही पङ्खा किन्नुपर्ला । ती महिलालाई उतारिदिऊँ, घर पुर्याइदिऊँ र भनूँ, ‘बहिनी, यसरी पङ्खामा बस्नु हुँदैन नि ! पङ्खा त बिकिहाल्लान् तर तिमी तिनका निम्ति किन आफ्नो ज्यान जोखिममा पार्छ्याै ?’
मैले धेरै पङ्खाहरू हेरें । कुनै पङ्खाका अगाडि कुनै पुरुष बसेर हावा खाइरहेको भने देखिनँ । अनि कुनै पङ्खाले गर्दा कुनै सुन्दरीको साडी उडिरहेको छ भन्दैमा त्यो पङ्खा पुरुषले किन किन्नु त ? यदि त्यसको कुनै असर पुरुषमाथि भएन भने त धोका हुन्छ नि !
तर धेरथोर सबै वस्तुको यही अवस्था छ । टुथपेस्टका यति धेरै विज्ञापनहरू छन् तर हरेकमा महिलाले नै ‘उज्याला दाँत’ देखाइरहेकी हुन्छिन् । बजारमा एउटा पनि यस्तो मन्जन छैन जसले पुरुषका दाँत सफा गरोस् । अथवा कतै यस देशको कुनै पुरुषले मुखै सफा नगर्ने त होइन ? जसले आफ्नो मुख पनि सफा गर्दैनन् त्यस्ताहरूका बिचमा पो बसेको रहेंछु भनेर निकै घिन लाग्यो ।
यस विज्ञापनमा केटाले एउटा विशेष साइकल किनेको छ । नजिकै केटी उभिएकी छे । उसलाई हेरेर निकै मायाले मुस्कुराइरहेकी छे । यदि केटाले अर्को कम्पनीको साइकल किनेको भए उसले भन्ने थिई, ‘उँह, जाऊ उता । म त तिमीसित बोल्दिनँ । तिमीले फलानो साइकल किनेनौ !’
एउटी अर्की केटी छे जो प्रेमीलाई कुनै विशिष्ट चुरोट खुवाउँदै छे । उसले चुरोट तानिरहेको छ र यसले बडो मुग्ध भावले उसलाई हेरिरहेकी छे र मानौं भन्दै छे, ‘म तिम्रो रूप र गुणमा लट्ठिइकी भन्ने ठानेका हौला तर त्यस्तो केही होइन । मैले त तिमीलाई तिमीले त्यही चुरोट तानेको देखेर मात्रै माया गरेकी हुँ ।’
यी चारपाँचवटी सुन्दरीहरू त्यस युवकलाई टक्टकी लगाएर हेर्दै छन् ।
‘ए सुन्दरी हो ! तिमीहरू त्यस केटामा किन त्यसरी लोभिएका छौ ? के त्यो राम्रो छ भनेर ?’
‘हैन, उसले फलानो मिलमा बनेको लुगा लगाएको छ नि, त्यसैले । यदि उसले अर्को मिलको कपडा लगाएको भए त हामीले छड्के आँखाले पनि हेर्ने थिएनौं उसलाई । हामीलाई मिलका तर्फबाट मोहित हुने काममा खटाइएको हो ।’
सुन्दरीलाई ट्रक र टायरसित कुनै लिनुदिनु हुँदैन तर एउटा विज्ञापनमा ट्रक छ, ट्रकका मालिक सरदारजी छन्, एउटा टायर राखिएको छ र सुन्दरीले सरदारजीलाई त्यही टायर लगाउनुस् भनेर इसारा गरिरहेकी छन् । यो कुरो भने सहनुको हदै हो । पेस्ट, चुरोट र कपडामा उनीहरूको हस्तक्षेप चल्न सक्छ तर ट्रकको कुरो भने डरलाग्दो छ । ट्रकले अमृतसरबाट गहुँ लिएर बम्बईसम्म लैजानु छ । यदि सुन्दरीको भनाइमा लागेर नराम्रो टायर ट्रकमा लगाइयो र त्यसले कतै बिच जङ्गलमा धोका दियो भने बिचरा सरदारजीको के हालत होला ? यसको जिम्मेवारी कसको ?
मैले कुनै पनि यस्तो विज्ञापन देखेको छैनँ जसमा पुरुषले महिलालाई यो कम्पनीको साडी र स्नो किन भनेर सुझाव दिइरहेको होस् । आफ्ना चिज उनीहरू त आफैं किन्छन् तर पुरुषको भने चुरोटदेखि टायरसम्ममा हस्तक्षेप गर्छन् ।
सम्पूर्ण अर्थव्यवस्थालाई नै नारीले आफ्नो कब्जामा लिएकोजस्तो लाग्छ ।
यस्ता विज्ञापनहरूमा रहेको आफ्नो भूमिकाका सम्बन्धमा उनीहरू के सोच्छन् होला भन्ने त मलाई थाहा भएन तर यिनबाट भने यस्तो निष्कर्ष निकाल्न सकिन्छ –
१. यस देशका सबै राम्रा नारीहरू कुनै न कुनै कम्पनीका नोकर्नीहरू हुन् र उनीहरूको काम कम्पनीका तर्फबाट पुरुषलाई लोभ्याउनु हो ।
२. राम्रा नारीहरूको जीवनको महान् उद्देश्य भनेको कुनै उद्योगको उत्पादन बिकाउनु हो ।
३. सौन्दर्यको परिभाषा : सौन्दर्य नारीको त्यो विश्वविमोही शक्ति हो जसको वशीभूत भएर पुरुषले रद्दी सामान पनि किन्छ ।
४. यस देशको पुरुष हरिलट्ठक छ । उसलाई कुनै वस्तुको गुणस्तर नै थाहा छैन । अनि उसमा सुरुचिको पनि अभाव छ ।
५. नारीहरू चुरोट र टायरका विषयमा पनि विशेषज्ञ हुन्छन् ।
६. यस देशको पुरुष नारीको दास हो । नारीले जुन वस्तु किन्न भन्छे उसले त्यही किन्नुपर्छ ।
७. नारीहरू आफ्नो उपयोगको कुनै पनि वस्तुमा पुरुषलाई हस्तक्षेप गर्न दिन्नन् । उनीहरू आफ्नो साडी आफ्नो इच्छाले नै किन्छन् तर पुरुषलाई भने टायर पनि आफूखुसी किन्न दिँदैनन् ।
८. कुनै पनि राम्री नारीले कुनै पनि पुरुषलाई साँचो प्रेम गर्दैनन् । उनीहरू त्यसै पुरुषलाई मात्र प्रेम गर्छन् जसले उसले रोजेको कम्पनीको सामान किन्छ ।
९. साँचो प्रेम त केवल नराम्रा महिलाहरूले मात्र गर्छन् किनभने उनीहरूले कुनै कम्पनीको माल बिकाउन्न् ।
अब भने नराम्रा महिलाहरू मात्र विश्वास गर्नलायक बचेका छन् । राम्राको त कुनै विश्वास छैन । कुनै नारी यदि मलाई हेरेर मुग्ध भइरहेकी छे भने मैले बुझ्नुपर्छ मैले उसले मन पराएको कम्पनीको जुत्ता लगाएको छु र उसले सम्बन्धित कम्पनीका तर्फबाट मुग्ध हुने ड्युटी गरिरहेकी छे । यदि कुनै राम्री नारी कुनै पुरुषसित टाँसिएकी छे भने पनि ऊ उससित टाँसिएको भन्ने भ्रममा पर्नु हुँदैन । हुनसक्छ ऊ कुनै रामप्रसाद मिल्सको कपडासित टाँसिएकी होस् । यदि कुनै नारीले तिम्रा पाउतिर आँखा लगाएकी छे भने पनि ऊ कुनै ‘सत्ययुगी समर्पिता’ नारी होइन जसका बारेमा भनिएको छ – तनमनवचन र जीवन छायाँ, धर्म र व्रत सब पतिपद मायाँ । (एकहि धर्म एक व्रत नेमा, काय वचन, मन पति पद प्रेमा) । ऊ तिम्रा पाउमा लागेका धर्मपाल सू कम्पनीका जुत्तामा लोभिएकी हो । सुन्दरीले आँखामा हेर्नुको अर्थ आँखा जुधाएको हैन । उसले त ‘नेसनल अप्टिसियन्स’को चस्मासित आँखा जुधाएको हुन सक्छ । प्रेम तथा सौन्दर्यको सबै स्टक कम्पनीहरूले किनेका छन् र अब त यी कुरा पाइए पनि उनकै मार्फत पाइन्छन् ।
०००
(यो लेख हिन्दी साहित्यका प्रखर व्यङ्ग्यकार हरिशंकर परसाईको परसाई रचनावली भाग ३ को विज्ञापन में बिकती नारी’ शीर्षकको लेखबाट अनुवाद गरिएको हो । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest
































