साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इनाम र इमान

केही व्यक्तिहरूले त यसलाई सहरकै गौरव मानेका छन् । मेरो टोलका मानिसहरूले यसलाई टोलको गौरव मानेका छन् - हाम्रो नेपियर टाउनको मान्छेले इनाम पाएको छ । राइट टाउनको त कसैले पनि पाएको छैन ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

ज्याँ पल सार्त्र नामको जुन मानिस प्यारिसमा बस्छ त्यो बदमास हो । उसले मेरो पाँच सय रुपैयाँ डुबाउँदै थियो ।
भर्खर मलाई राज्य सरकारले एउटा किताबमा पाँच सय रुपैयाँको पुरस्कार दियो । जनताको पैसा यसरी नै दुरुपयोग गरिन्छ । आफ्नो जिन्दगीको भने यो दोस्रो इनाम हो । पहिलो इनाम स्कुलमा ’लङ जम्प’ लामो उफ्राइमा पाएको थिएँ अनि दोस्रो यो साहित्यको ‘हर्डल’ रेसमा ।

बिचका बिसपच्चिस वर्ष म विना इनाम नै बाँचिरहें । जीवनशक्ति निर्लज्जताको अर्को नाम हो ।
स्कुलमा दोस्रो पटक इनाम पाइनँ किनभने उफ्रिँदै उफ्रिनँ । यता साहित्यमा पनि अझैसम्म इनाम पाइनँ किनभने अलिक ‘मैं हुँ’ भन्ने खालको स्वभाव छ मेरो । इनामका लागि किताब नै पठाउन्नँ । हरेक वर्ष लाखौं रुपैयाँ मेरो टाउकामाथिबाट हवाइजहाज उडेझैं उडेर जान्छन् । केही व्यक्तिहरूलाई भने इनाम लिने बानी नै परेको देखेको छु । यदि पाएनन् भने बिरामी पर्छन् । दिल्लीका मेरा साथी नौटङ्कीलाल भन्दै थिए एक वर्ष उनले इनाम पाएनछन् अनि उनलाई आउँले समातेछ ।

यस पटक भने किताबै नपठाइकन कसरी इनाम पाइएछ ? के सरकारहरू बढी नै सुसंस्कृत भएछन् ? अहँ, सरकारहरू त उस्तै असंस्कृत नै छन् । तर किताब नपठाइकन पनि इनाम पाउने एउटा तरिका रहेछ जुन अगाडि खुल्नेछ ।

इनाम त पाइयो । तर त्यो ज्याँ पल सात्र्र नामको मानिस जो प्यारिसमा बस्छ, उसले भने मेरो पाँच सय रुपैयाँ डुबाउँदै थियो । हामी उसको विचारका नभएर कलाका प्रशंसक हौं । त्यसो त ऊ भन्ने गर्छ, ‘दमन र शोषणबाट मुक्त भएपछि मनुष्य जुन कुराले परिभाषित हुन्छ त्यसलाई ‘संस्कृति’ भनिन्छ । तर हामी न दमनबाट मुक्त हुन्छौं न शोषणबाट, फेरि पनि सुसंस्कृत छौं । उसको कुरो उही जानोस् । हामी त लेखकको कला हेर्छौं । कस्तो कलात्मक तरिकाले उसले नोबेल पुरस्कार पनि अस्वीकार गरेको थियो ! उसले भनेको थियो, ‘यो पुरस्कार लिएँ भने मेरो सहानुभूति पश्चिमतिर छ भन्ने आभाषित हुनेछ ।’ हिन्दीमा यसलाई यसरी भन्न सकिन्छ – मानिसहरूले ठान्नेछन्, यो त पश्चिमाको पैसामा बिक्यो ।

मैले इनामको समाचार पाएँ अनि सात्र्रको यो कला एक्कासि सम्झें । सोचें, म पनि एउटा वक्तव्य निकाल्छु र पुरस्कार नलिने घोषणा गर्छु । यस्तो गर्नै आँटेको थिएँ, अनि एकाएक आत्मबोध भयो । आत्मबोध के हो ? स्वार्थको रक्षाका निमित्त मानिसको अन्तरात्माबाट जुन तर्क निस्कन्छ त्यसलाई आत्मबोध भनिन्छ । तर्क यस्तो निस्क्यो – ती मान्छे मात्र बिक्छन् जो नुनको सोझो गर्छन् । जसको सिता खाए उसैको गीता गाए । बिचराहरू निकै कमजोर हुन्छन् । तर नुनको गुन नमान्नेहरू कहिल्यै बिक्दैनन् । जसको खान्छन् उसैसित लड्न जान्छन् । सात्र्र नुनको गुन मान्ने मान्छे होला र त उसलाई बिक्ने डर छ । हामी हौं जसको जौ खाने उसैको जुँगा मुड्ने मान्छे । हामी बिक्न सक्दैनौं । जुन टपरीमा खायो त्यसैमा प्वाल पार्न सक्ने आत्मविश्वास जसमा छ त्यो बिक्नै सक्दैन ।

त्यसो त लेखकलाई जहिल्यै बिक्ने डर लागिरहन्छ । भर्खर पन्जाब सरकारले पत्रकार तथा लेखकहरूलाई डेढ लाख रुपैयाँ बाँडेछ । नतिजा, सरकार हामीलाई किन्न चाहन्छ भन्ने हल्ला मच्चिएछ । म त निमकहराम बन भन्छु । पैसा खाओ तर नबिक । तर लेखकहरूको समस्या के छ भने उनीहरू बिक्रीबजारमा उभिएका पनि छन् र बिकिन्छ कि भनेर डराएका पनि छन् । जसलाई बिकिन्छ कि भन्ने यति सारो डर छ, ऊ बजारमा आउँछ नै किन ? गौशालामा नै बसोस् न ! बजार त किनबेचको ठाउँ हो नि ! हिन्दीमा त बजारनिरीक्षक पनि छन् जो लौरो र डायरी लिएर बजारमा घुमी घुमी कसले कसलाई किन्यो भनेर रेकर्ड तयार पारिरहेका छन् । असफल लेखक नै प्रायः यस्ता निरीक्षक हुन्छन् । जो राम्रो मूल्यमा बिक्न सकेनन् ती पनि निरीक्षक बन्छन् । मेरा एकजना साथी नै भएका छन् । उनले प्रति दशपन्ध्र दिनमा कोही बिकेको समाचार मलाई दिन्छन् । उनले म बिकेको खबर पनि अरूलाई दिने गर्छन् भन्ने पनि सुनेको छु ।

किताबै नपठाइकन इनाम कसरी पाइयो भन्ने कुरो त छुटेको छुट्यै भएछ । प्रकाशकले ‘किताब पठाइदिऊँ ?’ भनेर सोधे । मैले ‘म किताब पठाउन्नँ’ भनेर लामै चिठीमा लेखें – लेखकहरूसित किताब मगाउनु र दरखास्तजस्तो फारम भर्न लगाउनु अपमान गर्ने काम हो । प्रकाशकले भने – तपाईं नपठाउनुस् न ! हामी पठाउँछौं । मैले उत्तर दिएँ – तपाईंलाई जे उचित लाग्छ त्यही गर्नुस् । म पिठ्युँ फर्काएर बसें । तर इनाम सडकमा आइरहेको छ कि छैन भनेर बारम्बार गर्धन घुमाएर सडकमा भने हेरिरहन्थें । यसैलाई भन्छन् लेखकको इमानदारी । पिठ्युँ पनि फेरेका छन् र घिँच्रो घुमाई घुमाई हेरेका पनि छन् । यो तरिका मैले केटाकेटीमै सिकेको थिएँ । मेरा बुबा ब्राह्मणमा गनिनुहुन्थ्यो । म ब्राह्मणभोजमा जाने गर्थें र पच्चिस तिस वर्षका ब्राह्मणहरूले खाएको देख्थें । लड्डु बाँड्ने मान्छे आउँदा उनीहरू ‘भयो भयो’ भन्दै घाँटी हल्लाउँदै दुबै हातले पात छोप्थे तर दुबै हातको बिचमा भने लड्डु राख्न मिल्ने ठाउँ छाडिदिन्थे ।

बाँड्ने मान्छेले त्यहीँबाट लड्डु राखिदिन्थ्यो । ब्राह्मणदेवताले लड्डु खान्थे किनभने अन्न ब्रह्म हो र ब्रह्मलाई खानु ब्राह्मणको धर्म हो । त्यो तालिम आज काम लाग्यो । प्रकाशकसँग आज पनि मेरो त्यो चिठी सुरक्षित छ जुन साहित्यको इतिहासलेखकहरूका लागि उपयोगी हुनसक्छ । उनीहरू ‘यी निकै निर्लिप्त लेखक थिए’ भनेर लेख्न पाउने छन् । यता पाँच सय रुपैयाँको ड्राफ्ट पनि मैले भजाइसकेको छु र एउटा राम्रो पङ्खा किनिसकेको छु । साहित्यका लेखनदासले सन् १९६९को जनवरीमा सन् १९६८को साहित्यको हिसाबमिलान गर्दा यस पङ्खालाई नबिर्सुन् । यो पङ्खा हिन्दी साहित्यको महान् उपलब्धि हो ।

इज्जतले बाँच्ने भए साना सहरमा बस्नुपर्छ । जताबाट निस्के पनि मानिसहरू भन्छन् – यहाँले इनाम पाउनुभएको छ । बम्बई, कलकत्तामा नोबुल पुरस्कार पाउने मान्छे दिनभरि घुमे पनि उसलाई कसैले चिन्दैन । केही व्यक्तिहरूले त यसलाई सहरकै गौरव मानेका छन् । मेरो टोलका मानिसहरूले यसलाई टोलको गौरव मानेका छन् – हाम्रो नेपियर टाउनको मान्छेले इनाम पाएको छ । राइट टाउनको त कसैले पनि पाएको छैन ।

मलाई भन्दा बढी खुसी त ती पसलेलाई भयो जसको उधारो बाँकी थियो । उनले मलाई निकै प्रेमपूर्वक पान खुवाए अनि भने – मलाई निकै खुसी लाग्यो । मलाई उनको खुसीको कारण थाहा छ र त्यो हो बाँकी चुक्ता हुने आशा । उनको त हृदयदेखि नै उद्गार निस्किरहेको होला – धन्य छन् यी लेखक जसले बाँकी तिर्न सक्ने भए । धन्य छ त्यो साहित्य जसले लेखकलाई हाम्रो उधारो तिर्न सक्ने बनाउँछ । साहित्य साँच्चै महान् छ ।

०००
(यो लेख हिन्दीका प्रखर व्यङ्ग्यलेखक हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘इनाम और ईमान’ शीर्षकको लेखबाट अनुवाद गरिएको हो – अनुवादक )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x