हरिशंकर परसाईंइनाम र इमान
केही व्यक्तिहरूले त यसलाई सहरकै गौरव मानेका छन् । मेरो टोलका मानिसहरूले यसलाई टोलको गौरव मानेका छन् - हाम्रो नेपियर टाउनको मान्छेले इनाम पाएको छ । राइट टाउनको त कसैले पनि पाएको छैन ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
ज्याँ पल सार्त्र नामको जुन मानिस प्यारिसमा बस्छ त्यो बदमास हो । उसले मेरो पाँच सय रुपैयाँ डुबाउँदै थियो ।
भर्खर मलाई राज्य सरकारले एउटा किताबमा पाँच सय रुपैयाँको पुरस्कार दियो । जनताको पैसा यसरी नै दुरुपयोग गरिन्छ । आफ्नो जिन्दगीको भने यो दोस्रो इनाम हो । पहिलो इनाम स्कुलमा ’लङ जम्प’ लामो उफ्राइमा पाएको थिएँ अनि दोस्रो यो साहित्यको ‘हर्डल’ रेसमा ।
बिचका बिसपच्चिस वर्ष म विना इनाम नै बाँचिरहें । जीवनशक्ति निर्लज्जताको अर्को नाम हो ।
स्कुलमा दोस्रो पटक इनाम पाइनँ किनभने उफ्रिँदै उफ्रिनँ । यता साहित्यमा पनि अझैसम्म इनाम पाइनँ किनभने अलिक ‘मैं हुँ’ भन्ने खालको स्वभाव छ मेरो । इनामका लागि किताब नै पठाउन्नँ । हरेक वर्ष लाखौं रुपैयाँ मेरो टाउकामाथिबाट हवाइजहाज उडेझैं उडेर जान्छन् । केही व्यक्तिहरूलाई भने इनाम लिने बानी नै परेको देखेको छु । यदि पाएनन् भने बिरामी पर्छन् । दिल्लीका मेरा साथी नौटङ्कीलाल भन्दै थिए एक वर्ष उनले इनाम पाएनछन् अनि उनलाई आउँले समातेछ ।
यस पटक भने किताबै नपठाइकन कसरी इनाम पाइएछ ? के सरकारहरू बढी नै सुसंस्कृत भएछन् ? अहँ, सरकारहरू त उस्तै असंस्कृत नै छन् । तर किताब नपठाइकन पनि इनाम पाउने एउटा तरिका रहेछ जुन अगाडि खुल्नेछ ।
इनाम त पाइयो । तर त्यो ज्याँ पल सात्र्र नामको मानिस जो प्यारिसमा बस्छ, उसले भने मेरो पाँच सय रुपैयाँ डुबाउँदै थियो । हामी उसको विचारका नभएर कलाका प्रशंसक हौं । त्यसो त ऊ भन्ने गर्छ, ‘दमन र शोषणबाट मुक्त भएपछि मनुष्य जुन कुराले परिभाषित हुन्छ त्यसलाई ‘संस्कृति’ भनिन्छ । तर हामी न दमनबाट मुक्त हुन्छौं न शोषणबाट, फेरि पनि सुसंस्कृत छौं । उसको कुरो उही जानोस् । हामी त लेखकको कला हेर्छौं । कस्तो कलात्मक तरिकाले उसले नोबेल पुरस्कार पनि अस्वीकार गरेको थियो ! उसले भनेको थियो, ‘यो पुरस्कार लिएँ भने मेरो सहानुभूति पश्चिमतिर छ भन्ने आभाषित हुनेछ ।’ हिन्दीमा यसलाई यसरी भन्न सकिन्छ – मानिसहरूले ठान्नेछन्, यो त पश्चिमाको पैसामा बिक्यो ।
मैले इनामको समाचार पाएँ अनि सात्र्रको यो कला एक्कासि सम्झें । सोचें, म पनि एउटा वक्तव्य निकाल्छु र पुरस्कार नलिने घोषणा गर्छु । यस्तो गर्नै आँटेको थिएँ, अनि एकाएक आत्मबोध भयो । आत्मबोध के हो ? स्वार्थको रक्षाका निमित्त मानिसको अन्तरात्माबाट जुन तर्क निस्कन्छ त्यसलाई आत्मबोध भनिन्छ । तर्क यस्तो निस्क्यो – ती मान्छे मात्र बिक्छन् जो नुनको सोझो गर्छन् । जसको सिता खाए उसैको गीता गाए । बिचराहरू निकै कमजोर हुन्छन् । तर नुनको गुन नमान्नेहरू कहिल्यै बिक्दैनन् । जसको खान्छन् उसैसित लड्न जान्छन् । सात्र्र नुनको गुन मान्ने मान्छे होला र त उसलाई बिक्ने डर छ । हामी हौं जसको जौ खाने उसैको जुँगा मुड्ने मान्छे । हामी बिक्न सक्दैनौं । जुन टपरीमा खायो त्यसैमा प्वाल पार्न सक्ने आत्मविश्वास जसमा छ त्यो बिक्नै सक्दैन ।
त्यसो त लेखकलाई जहिल्यै बिक्ने डर लागिरहन्छ । भर्खर पन्जाब सरकारले पत्रकार तथा लेखकहरूलाई डेढ लाख रुपैयाँ बाँडेछ । नतिजा, सरकार हामीलाई किन्न चाहन्छ भन्ने हल्ला मच्चिएछ । म त निमकहराम बन भन्छु । पैसा खाओ तर नबिक । तर लेखकहरूको समस्या के छ भने उनीहरू बिक्रीबजारमा उभिएका पनि छन् र बिकिन्छ कि भनेर डराएका पनि छन् । जसलाई बिकिन्छ कि भन्ने यति सारो डर छ, ऊ बजारमा आउँछ नै किन ? गौशालामा नै बसोस् न ! बजार त किनबेचको ठाउँ हो नि ! हिन्दीमा त बजारनिरीक्षक पनि छन् जो लौरो र डायरी लिएर बजारमा घुमी घुमी कसले कसलाई किन्यो भनेर रेकर्ड तयार पारिरहेका छन् । असफल लेखक नै प्रायः यस्ता निरीक्षक हुन्छन् । जो राम्रो मूल्यमा बिक्न सकेनन् ती पनि निरीक्षक बन्छन् । मेरा एकजना साथी नै भएका छन् । उनले प्रति दशपन्ध्र दिनमा कोही बिकेको समाचार मलाई दिन्छन् । उनले म बिकेको खबर पनि अरूलाई दिने गर्छन् भन्ने पनि सुनेको छु ।
किताबै नपठाइकन इनाम कसरी पाइयो भन्ने कुरो त छुटेको छुट्यै भएछ । प्रकाशकले ‘किताब पठाइदिऊँ ?’ भनेर सोधे । मैले ‘म किताब पठाउन्नँ’ भनेर लामै चिठीमा लेखें – लेखकहरूसित किताब मगाउनु र दरखास्तजस्तो फारम भर्न लगाउनु अपमान गर्ने काम हो । प्रकाशकले भने – तपाईं नपठाउनुस् न ! हामी पठाउँछौं । मैले उत्तर दिएँ – तपाईंलाई जे उचित लाग्छ त्यही गर्नुस् । म पिठ्युँ फर्काएर बसें । तर इनाम सडकमा आइरहेको छ कि छैन भनेर बारम्बार गर्धन घुमाएर सडकमा भने हेरिरहन्थें । यसैलाई भन्छन् लेखकको इमानदारी । पिठ्युँ पनि फेरेका छन् र घिँच्रो घुमाई घुमाई हेरेका पनि छन् । यो तरिका मैले केटाकेटीमै सिकेको थिएँ । मेरा बुबा ब्राह्मणमा गनिनुहुन्थ्यो । म ब्राह्मणभोजमा जाने गर्थें र पच्चिस तिस वर्षका ब्राह्मणहरूले खाएको देख्थें । लड्डु बाँड्ने मान्छे आउँदा उनीहरू ‘भयो भयो’ भन्दै घाँटी हल्लाउँदै दुबै हातले पात छोप्थे तर दुबै हातको बिचमा भने लड्डु राख्न मिल्ने ठाउँ छाडिदिन्थे ।
बाँड्ने मान्छेले त्यहीँबाट लड्डु राखिदिन्थ्यो । ब्राह्मणदेवताले लड्डु खान्थे किनभने अन्न ब्रह्म हो र ब्रह्मलाई खानु ब्राह्मणको धर्म हो । त्यो तालिम आज काम लाग्यो । प्रकाशकसँग आज पनि मेरो त्यो चिठी सुरक्षित छ जुन साहित्यको इतिहासलेखकहरूका लागि उपयोगी हुनसक्छ । उनीहरू ‘यी निकै निर्लिप्त लेखक थिए’ भनेर लेख्न पाउने छन् । यता पाँच सय रुपैयाँको ड्राफ्ट पनि मैले भजाइसकेको छु र एउटा राम्रो पङ्खा किनिसकेको छु । साहित्यका लेखनदासले सन् १९६९को जनवरीमा सन् १९६८को साहित्यको हिसाबमिलान गर्दा यस पङ्खालाई नबिर्सुन् । यो पङ्खा हिन्दी साहित्यको महान् उपलब्धि हो ।
इज्जतले बाँच्ने भए साना सहरमा बस्नुपर्छ । जताबाट निस्के पनि मानिसहरू भन्छन् – यहाँले इनाम पाउनुभएको छ । बम्बई, कलकत्तामा नोबुल पुरस्कार पाउने मान्छे दिनभरि घुमे पनि उसलाई कसैले चिन्दैन । केही व्यक्तिहरूले त यसलाई सहरकै गौरव मानेका छन् । मेरो टोलका मानिसहरूले यसलाई टोलको गौरव मानेका छन् – हाम्रो नेपियर टाउनको मान्छेले इनाम पाएको छ । राइट टाउनको त कसैले पनि पाएको छैन ।
मलाई भन्दा बढी खुसी त ती पसलेलाई भयो जसको उधारो बाँकी थियो । उनले मलाई निकै प्रेमपूर्वक पान खुवाए अनि भने – मलाई निकै खुसी लाग्यो । मलाई उनको खुसीको कारण थाहा छ र त्यो हो बाँकी चुक्ता हुने आशा । उनको त हृदयदेखि नै उद्गार निस्किरहेको होला – धन्य छन् यी लेखक जसले बाँकी तिर्न सक्ने भए । धन्य छ त्यो साहित्य जसले लेखकलाई हाम्रो उधारो तिर्न सक्ने बनाउँछ । साहित्य साँच्चै महान् छ ।
०००
(यो लेख हिन्दीका प्रखर व्यङ्ग्यलेखक हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘इनाम और ईमान’ शीर्षकको लेखबाट अनुवाद गरिएको हो – अनुवादक )
Subscribe
Login
0 Comments
Oldest

































