हरिशंकर परसाईंसमाजवादी चिया
अब पुलिसलाई यो पुतलालाई के गर्ने भन्ने ठुलै समस्या आइपर्यो । पुलिसले आफ्ना ठुला अफिसरलाई सोधे, ‘सर, यो पुतला कहिलसम्म बाटो छेकेर बस्छ र ? यसलाई जलाइदिम् कि नष्ट गरिदिम् ?’
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
पटनाबाट कांग्रेसको महासमितिको महाधिवेशनबाट हाम्रा दाजु फर्किनुभएको थियो । म उहाँसँगै चिया पिउँदै थिएँ । मैले सोधें, ‘यसपालिको समाजवाद कस्तो रह्यो त ?’
उहाँले भन्नुभयो, ‘यसपालि जुलुसमा पन्ध्रवटा हात्ती थिए ।’
मैले सोधें, ‘हात्ती काला थिए कि सेता ?’
उहाँ उत्तरिनुभयो, ‘काला थिए । तर… अँ, अर्को अधिवेशनसम्म त यी पनि सेता भइहाल्छन् ।’
म उहाँलाई चिया रिकापीमा खन्याएर ‘पूmः पूmः’ गर्दै पिउँदै गरेको हेर्दै थिएँ ।
सोधें, ‘यसरी फुकी फुकी चिया किन पिउनुहुन्छ ?’
उहाँले भन्नुभयो, ‘कांग्रेसम्यान हुँ नि त ! बानी परेको छ । हामी समाजवादलाई फुकेर नै पिउँछौं ।’
सोधें, ‘उसो भए के त, तपाईंहरूले चिया पिउने तरिका हेरेर नै समाजवादी प्रकार पनि थाहा पाउन सकिन्छ ?’
उत्तर – हो, हामी अनि प्रसोपाका मान्छेहरू यसै गरी फुकेर नै चिया पिउँछौं । भारतीय साम्यवादी दलकाहरू कपबाट तात्तातो चिया पिउँछन् । माक्सर्वादी साम्यवादीलाई अलि हतार हुन्छ त्यसैले चियाको कितलीको धारो मुखैमा लगाएर खन्याउँछन् अनि नक्सलपन्थीहरू भल्किरहेको चियाको डिगचीमै मुख डुबाउँछन् ।’
मैले भनें, ‘यस देशमा संयुक्त समाजवाद पनि छ । संयुक्त समाजवादीहरू कसरी पिउँछन् त चिया ? जस्तै, राजनारायण कसरी चिया ग्रहण गर्नुहुन्छ होला ?’
उहाँले भन्नुभयो, ‘राजनारायणले त चियाको कितलीलाई नाकमै लगाउलान् ।’
अफिसर कवि
एकजना कवि थिए । उनी राज्य सरकारका अफिसर पनि थिए । अफिसर जब छुट्टीमा जान्थ्यो तब ती कवि बन्थे अनि कवि विदामा बसेको बेलामा अफिसर बन्थे ।
एकपटक पुलिसको गोली चल्दा दशबाह्र जना मारिए । उनले एउटा कविता लेखेर छपाए । कवितामा यस काण्डको र मुख्यमन्त्रीको निन्दा गरिएको थियो ।
कसैले मुख्यमन्त्रीलाई त्यो कविता पढ्न दिएछ । अफिसर तबसम्म विदाबाट फर्केर आइसकेको थियो । जब उसले यो कुरो थाहा पायो अनि ऊ आत्तियो र कविलाई विदामा बस्न पठायो ।
अफिसरले एकजना प्रभावशाली नेतालाई समात्यो र भन्यो, ‘मलाई मुख्यमन्त्रीज्यूसँग भेटाइदिनुपर्यो । उहाँबाट मलाई माफ गराउनुपर्यो ।’
नेताले उनलाई मुख्यमन्त्रीकहाँ पुर्याए । उनले परिचय दिएका मात्र के थिए, कविले मुख्यमन्त्रीका चरणमा शिर राखिदिए ।
मुख्यमन्त्रीले भने, ‘यी व्यक्ति त्यो कविता लेख्ने कवि हुनै सक्दैनन् ।’
पुलिसमन्त्रीको पुतला
एउटा राज्यमा एउटा सहरका मानिसहरूमाथि पुलिसको अत्याचार भएपछि मानिसहरूले पुलिसमन्त्रीको पुतला जलाउने निणर्य गरे ।
पुतला बडेमानको ज्यान भएको र डरलाग्दो अनुहारको बनाएका थिए ।
तर १४४ दफा लागु भयाे र पुतला पुलिसको कब्जामा पर्यो ।
अब पुलिसलाई यो पुतलालाई के गर्ने भन्ने ठुलै समस्या आइपर्यो । पुलिसले आफ्ना ठुला अफिसरलाई सोधे, ‘सर, यो पुतला कहिलसम्म बाटो छेकेर बस्छ र ? यसलाई जलाइदिम् कि नष्ट गरिदिम् ?’
अफिसरहरूले भने, ‘अचम्म गर्छौ ! मन्त्रीको पुतला हो । हामी त्यसलाई कसरी जलाउन सक्छौं ? जागिर जोगाउनु छैन र ?’
यत्तिकैमा रामलीलाको समय आयो । एउटा ठुलै पुलिसअफिसरलाई ‘ब्रेनवेभ’ भयो । उसले रामलीलाका मान्छेलाई बोलाएर भन्यो, ‘तिमीहरूलाई दशहरामा जलाउन रावणको पुतला चाहिन्छ नि ? यसैलाई लैजाओ । यसमा नौवटा टाउकाको मात्र कमी छ, त्यो लगाउनू ।’
०००
(यसपालि ‘परसाईं रचनावली २’ बाट ‘लघुकथा’ परिच्छेदका तीनवटा लघुकथाहरू रहेका छन् । ती क्रमशः ‘समाजवादी चाय’, ‘अफसर कवि’ र ‘पुलिस-मन्त्री का पुतला’बाट अनुवाद गरिएका हुन् – अनुवादक )
Subscribe
Login
0 Comments
Oldest































