साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर स्वर्गे हुँदा

कि ए वीर नेपालीहरू हो ! आओ अब यो मृत कुकुरको जुँगा उखेलौं हामी सबका बिरामहरू लुकाउन यो मुर्दाको टाउको फोरौं नपत्याए सीआईडीज्यूलाई रिपोर्ट बनाओ भनौं !

Nepal Telecom ad

एउटा महान् दुर्घटना भयो
एउटा अपूरणीय क्षति भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !
कुकुर पनि स्वर्ग जान्छ ? भन्नुहोला
नरक गयो !
तर, नरक त उसले नजाँदै भोगिसकेको थियो ।
एक लाख सम्मानितहरूलाई उसले
एक बिहानभित्र ढोगिसकेको थियो
भक्तिभावमै उसको रौं खुइलिएर गयो !
मेरो कुकुर स्वर्गे भयो !

उसको भुक्ने काम अखबारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कस्सिए
झैझगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मुसाहरूले चारकोसे झाडीमा डढेलो लाऊन्
या बिरालाले त्यसमा सिंहदरबार सेकाऊन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरूले समुद्र तारून्
या सयौं बाज मिलेर एउटा परेवा मारून्
मेरो कुकुरले आँखा उघार्नेसम्म छैन ।
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोकसभा गरौं
शोकप्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टिमेट छ
मामा-भानिज हो ! लौ अब एउटा टेन्डर देओ
स्मारक कालिमाटी भए पनि हुन्छ
तर, माटो किन्न हङकङ जानैपर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरूले
अलि अलि प्रसाद खानै पर्छ
जाने त गयो, गै गयो
मेरो कुुकर स्वर्गे भयो !

कि ए वीर नेपालीहरू हो ! आओ अब
यो मृत कुकुरको जुँगा उखेलौं
हामी सबका बिरामहरू लुकाउन
यो मुर्दाको टाउको फोरौं
नपत्याए सीआईडीज्यूलाई रिपोर्ट बनाओ भनौं
बडाहाकिमले घुस ज्यूनार हुँदा
यसले रिकापी टोकेको थियो
उपहाकिमले जंगबहादुरको घोडा मिलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यतिमात्र कहाँ हो र !
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्यले ख्वाङ्ख्वाङ् खोकेको थियो
यसको कुलै यस्तो
उहिल्यै पाण्डवहरू बैकुण्ठ जाँदा
यही कुकुरको जिजुबाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नुहोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भमुनि गुँडुल्किएर
स्वामीभक्तिको साधन गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रेर
बफादारीको बिगुल लगाउन खोज्ने यो खिच्चो
साँच्चै कुकुरैजस्तै निरीह थियो, दयनीय थियो
त्यसैले त पूण्यात्माहरूको शिकार भयो
उद्धार समितिको कारले किचेर मेरो कुकुर स्वर्गे भयो !

१० साउन ०३३, जोरपाटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x