भैरव अर्यालनयाँ भाखा र नयाँ कवित्त
यति गम्भीर उत्कृष्ट कवित्त लेख्ने खुबी भएको मान्छे म आफ्नै कवित्तको बुझ्दिन । नयाँ कवित्तको विसेषता नै यही रहेछ भन्ने गमी तुरुन्त गोपपत्रका सम्पादन्तेको नाउँमा चिठी खसालिहालें ।

गोर्षापत्रले विसेखांक निकाल्ने सुइँको पाउनासाथ मलाई पनि एउटा कथनी छाँट्न मन लागिहाल्यो । तर कथनी पो कुनचाहिँ छाँट्नु ? घर पुग्नासाथ कम्पारामा हात राखेर गम्न थालेँ, सिलोक जमाउने हो कि, कुथुग्री कथ्ने हो कि, जमर्को हाल्ने हो कि, घोत्ल्याइँ नै गमक्र्याउने हो ? केचाहिँ कथे लेखुवामा नाम दर्ता होला ?
साढे सत्ताइस मिनिट गमेपछि सिलोकै जमाउने अठोट आयो र कम्पाराको हात सट्ट झिकेर सिनेमाको जोकरका झैं च्वाट्ट चुट्की बजाएँ । खिसिक्क ओठ बङ्ग्याएर चुरोटको धुनी लगाउदै बसें, पलेंटी कसेर। ए बाबा रे ! मजस्तो मान्छेले पलेंटी कसेपछि एउटा भानुभक्त बूढाको जस्तो सिलोक कसो नजम्ला त ? उसले “गजाधर सोतीकी घरबुढि अलच्छिन्कि रहिछन्“ भनेर आदिकविको दर्जा पड्काए त म पनि “फलानाकी स्वास्नी नकटि छकटी प्याङ रहिछन्” भनेर एउटा दर्जा किन नपड्काऊँ ? आदिकवि नपाइएला रे भनूँ, तर अन्तेकवि त कतै नजा । आदि भन्या आधि नै हो । यो असिछितको समाजमा आधिकविको भन्दा अन्तेकविको दर्जा ठूलो भैहाल्छ । सिलोकजस्तै आफूलाई चलाउनुपरेको छ नाम, चाहिएको छ भोजभतेरका टिकट, अर्थात् निम्तापातो । यहाँ कुनचाहिँ ड्याङका मूला सद्दे छन् र ? कोही संस्कृतका ठिमाहा र कोही अङ्ग्रेजीका दमाहा न हुन् ! आफू परगतिसील झर्रोवादी निक्खरा नेपाली । मेरा झर्रा सबदको अर्थ लगाउन इनका बाउको तागत चल्दैन । चार-चार बर्खअघिदेखि लेख्न लागेको पो त ए ! साढे नउगोटा सिलोक, तिनोटा कुथुङ्ग्री, अढाइगोटा घोत्ल्याइँ र गोडा दसेक जमकहरूको बिटो पारिसकेको छु मैले बुझ्नुभो ?
अँ लेखौटो घोप्ट्याएर लेख्नौटोको सिरानमा ‘श्री’ के लेखेको थिएँ, म भस्याङ्ग भएँ । ओहो ! मैले त उही पुरानो बानाको ‘श्री’ पो लेखेछु । झर्रो भाखामा ‘श्री’ दन्ते ‘स्त्री’ हुँदो हो । न ‘सिरी’ पो लेख्नुपर्ने थियो कि ? अब कल्लाई सोध्ने ? झर्रोवादीका पनि त यतिका मतमतान्तर छन् ।
१. सउकोटा खाले
२. पातलो ‘स’ खाले
३. लोग्नेमान्छे खाले
४. यताउति खाले सउकोटा खाले झर्रो वियाकरन र ‘सबदका कन्तूर’ (कोन) सउकोटाजिउकै ओढ्नेभित्र गुटमुटिएका छन् । तिनले घामको मुख देख्न पाउने कुन मन्तरीको पालामा हो कुन्नि ? पातलो ‘स’ खालेका बाउलाई घोत्लिंदाघोत्लिदै ठिक्क छ । लोग्नेमान्छे खालेले ’पाठशाला’ को सबद बनाउँदा आफ्नै कुललाई लोप्वा ख्वाएर इस् कुल गराइदिए ।
यताउति खालेको पछि लागू भने आफ्नो नाउँ पनि यताउति मै उडेर लेखन्तेमा दर्ता भए भनै फसाद ! त्यसैले दुई घडी गम्दा मैले पनि एउटा सि मतो निकाल्ने गम गरेँ। मेरो मतोका दुई-चारगोटा मेलो सुनिहाल्नोस् (१) मोटो ‘श’ लाई पातलो गराउने, पेट फार्यो ‘ष’ र मोटो ‘ख’ लाई साटासाट गरिदिने । जस्तै ः वर्षको बर्ख, षडानन्दको खडानन्द, शर्माको सर्मा, शब्दको सबद (२) तत्सम सब्दलाई बिगारेर झर्रोकरण गर्ने जस्तै ः पुस्तकलाई पोस्तक, गीतलाई गीद। (३) व र ब मा ब लाई काटी नै दिने, ‘बा’ लाई बोलाउनुपर्यो भने ‘वा वा’ भनेर लाटो कराएझैं कराइदिने ।
(४) रस्व र दीर्घमा जाँ’ जाँ’, जस्तोजस्तो मन लाग्छ त्यस्तैत्यस्तै गर्ने । (५) सकेसम्म चल्तीको वाक्य बनाउने जस्तै ः ‘कहाँबाट आइस’ को ठाउंमा ‘का‘ट आइस् ?’ ‘सरा’ट आए’ (सहरबाट आएँ) इत्यादि ।
(६) झर्रो पर्याय हाल्ने जस्तै ः प्रकाशकलाई ‘खर्चन्ते’, मुद्रकलाई ‘छपन्ते’, मन्त्रीलाई ‘मतुवा’, सेक्रेटरीलाई ‘सिगरेटरी’ । यस्तैयस्तै झर्रा सबद लेख्ने गर्दागर्दै म आफ्नो भाखालाई नेपालेजतिले बुझ्नै नसक्ने पारिदिन्छु कसो मेरो नाउँ लेखुवामा दर्ता नहोला त ? नेपाले सबदको अरथ भिक्न बेलाइते या रूसे पढन्तेहरूलाई पनि बोलाउन परेन भने त्यो के झर्रो नेपाले भाखा ? समस्कीर्ति सबदबाट रहेका मान्छेका नाउँसमेत झर्रो नेपाले गराउने मेरो अठोट तपाईंहरूले सुन्नुभएकै होला । देखोटको निम्ति केही नाम झारूँ-
(१) बालकृष्ण- केटाकेटी कालो ।
(२) विश्वबन्धु- संसार इष्टे ।
(३) श्यामप्रसाद- कालो निगाह ।
(४) दाताराम दिने-खाने मालिक ।
(५) बलराम तागतराम ।
(६) भानुभक्त- सुर्जेभगत ।
(७) श्रीधर- सम्पत्ति बोक्ने ।
(८) तारानाथ- तारे पोइ ।
(९) महानन्द- झन् ठूलो रमाइलो इत्यादि ।
अनि मात्र सप्पै नेपाले गराउने सरकारको धोको पनि पुग्ने थियो । अङ्ग्रेजेलाई नेपाले गराउन भनी टाँस निकाल्ने सरकारे हाकिमजिउले आफ्नो दर्जा अङ्ग्रेजीमै रहन दिए तापनि मेरो भाखा चलेपछि उहाँहरूको नाउँचाहिँ झर्रो नेपालमा राखिदिन्थें । सरकारे टाँसले भाखा भनेको लिपि मात्रै हो भन्ने सम्झ्यो । बेपारीले अछेर मात्तै देवनागरीमा लेखेर आँखामा छारो हालेको पत्तै छैन । सके सप्पै टाँसपाटी नेपालीमा गराए भनी घिरौंलाजत्रो नाक पारी पर्मोसन माग्न जाने पनि भित्रभित्रै निस्के होलान् ।
सप्पैको नाउँ नेपालमा बदले पनि आफ्नै स्वास्नीको नाउँ बदल्नचाहिँ मैले तमाम झर्रोवादी पढन्तेहरूको जमघट नबोलाई सुख पाउन्न । किनभने उनको नाउँ छ भगवती । भगवतीको झर्रो नेपाले के होला ? एकेडेमीको सबदकोख हेरूँ भने दुई बर्खदेखि भएजति बल त्यसैमा लगाएर जमर्को कस्ता पनि छापिइसकेको छैन । एकेडेमीका सदस्सेलाई सोधें, उहाँहरूलाई तलबी फाराम भर्दैमा ठीक छ । झर्रोवादका पुरेतहरू ननिस्कीकन ‘भगवती’ र ‘भगवान’ को झर्रो सबद निस्कन गाह्रै छ ।
सिलोक जमाउन कस्सिएको म भाखा-विचारमा पो रल्लिएछु । अँ, त्यताबाट पातोको सिरानीमा ‘सिरी’ लेखेर सिलोक जमाउन थालेँ। तर के गर्नु र, छन्द र अलङ्कार भनेको कुन सारंटेको नाउँ हो भन्ने मलाई भानुभक्तको लयमा सिलोक जमाउन के लाग्थ्यो । अनि विचार गरेँ- यो थोत्रो लयमा को लेख्छ ? नत्रा लेख्नुपर्छ नत्रा । नौलो पाराका सिलोकलाई कवित्त भन्छन् क्यार झर्रो भाखामा । हिन्दी र समस्कीर्तिका सबद अलिअलि बटुलेर नेपालेकरण गराएँ । अनि पूरापूर साढे पाँच हरफको एउटा कवित्त बनेछ, लौ सुन्नुहोस्-
“प्रिये ! उच्छल झर्नाको छाडोमा,
तिमी र मैले निधार जोरेर,
त्यो दिन, उच्छास, संभ्रम उदविकटाईमा ।
कसरी मायाको पटुको कसेको ।
सम्झना स्मृति, तरल उमङ्ग मुखरित ।
पवन उरको रिमझिमतामा ।”
जतिको नवीनता, गम्भीरता, पदलालित्य, अलद्वारा र परगतिशीलता देखेर फुरुक्क परे दीयाएं, र स्वास्नीि म आफै ज्ञ सभेत दुई पटक सुनाएँ। उनले धर्मद्रे बुझिछन् क्यार भनिहालिन्-
“ओहो ! तपाईं त पक्का कवि हुनुभो ।” तर गजबको कुरा त के भने यति गम्भीर उत्कृष्ट कवित्त लेख्ने खुबी भएको मान्छे म आफ्नै कवित्तको बुझ्दिन । नयाँ कवित्तको विसेषता नै यही रहेछ भन्ने गमी तुरुन्त गोपपत्रका सम्पादन्तेको नाउँमा चिठी खसालिहालें ।
‘काउकुती’ २०१९
Subscribe
Login
0 Comments
Oldest









































