सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बेटी पढाऊँ सिसिटिभी हटाऊँ

भन्नेहरूले कति कति चोर भन्छन् पाएको जति जम्मै सोर भन्छन् आफ्नै मात्र थैलो भोर भन्छन् सही काम त गर्न दिनुस् जानुस् मलाई मात्रै चर्न दिनुस् दिमागमा एउटा नार फुर्छ जब कुकुरको जस्तो दिमागले नेताको दैलो कुर्छ ।

Nepal Telecom ad

एउटा छ मसँग विचार
दुईटा छन् ऊसँग विचार
तीनटा छन् तिनीसँग भन्ने सुन्छु
रङ फेरिरहने मुखियासँग पो हजार वटा छन् त विचारहरू ।

पालैपालो रोप्छन् विचारका बिउहरू
कहिले बालुवामा खन्याउँछन्
कहिले माटोमा पोख्छन्
कहिले गोबरमा
मूला सप्रिएको देखेर होला
कहिले रोप्छन् चर्पीको डिलमा
ठेडी घोँच्छन् गरिबको दिलमा
जोरले फ्याँक्छन् विकासका नारा
कसले भन्ला गरिब मारा
झुपडी जलाएर महलमा बस्ने
हाम्रै पार्टी त हो सर्वहारा ।

चर्पीको डिल पनि ऊर्बर देख्ने
चुल्होको डिल भने बर्बर लाग्ने
एक हुल बारुला छन् माथि माथि
चोक्ट्याउन पल्किएका कमिलाहरू छन् ताँतीका ताँती
उडुस र उपियाँहरू छन् खातका खात
कहिले हात देखाएर लात हान्छन्
कहिले लात देखाएर हात बाँध्छन्
जो सल्किरहन्छन् विचारको खेतीमा सलहजस्तै
र फ्याँकिरहन्छन् मुठी मुठी कनिका तलाउभित्र
ठिक माथि सोझ्याएर राख्छन् जालको चित्र ।

आऊ एक पटक नारा लगाऊँ
देश बेचौँ धन कमाऊँ
बेटी जगाऊँ बुहारी दबाऊँ ।

तलतिर हेर्छु मुखियासँग
अलि माथि डिठ्ठासँग
अनेक थरिका छन् विचारीहरू
जति माथि भर्याङ चढ्छन् बन्दै जान्छन् अवतारीहरू
रातमा घिच्छन् रक्सीमासु दिउँसोका फलहारीहरू
घुम्दैफिर्दै रुम्जाटार
फेरि आउँछ तीजको अवतार
आजै तीज अहिल्यै तीज
बिहानै घिच दिउँसै घिच
घाँटीसम्म आउने गरी बेसरी घिच
एउटा हजमोला पठाएर अझै खिच भन्ने त होला
बुझि नसक्नु छ हाम्रो संस्कृतिको नयाँ चोला ।

अचम्मका विचार आउँछन् बेला बेला
कहिले बेटी पढाउने नारा दिन्छन्
साइकलमा चढाएर साइकलै खान्छन्
माया पस्किएर मायै खान्छन्
दायाँ देखाएर बायाँ खान्छन्
बायाँ देखाएर दायाँ खान्छन्
हैन हँ
यिनले खान पनि कति जानेका
तल देखाएर माथि खान्छन्
माथि देखाएर तल खान्छन्
मुख हेर्दा दमकलको कल जस्तो छ
पेट हेर्यो साँढेको दल जस्तो छ
कसरी बन्छ होला रातो तिनको रगत पनि
जहाँ पूरै वाग्मतीको ढल मिसिएको छ
मात्रै भट्टीको जल मिसिएको छ
यहाँ सबै थोक मिसिएको छ
कारणै कारण छन् चोक रिसिएको छ
रित्ता छन् पेटहरू भोक चिसिएको छ
के नेता के जनता सब चतुर छन्
घोप्टिएको दुनो सोझ्याउन
आफ्नै भागको कुनो सोझ्याउन
सब ठिक छ देश रित्तिएको छ
एक हुल भनिरहन्छन्
मात्र हाम्रो पहिचान मिचिएको छ ।

आउनुस् फेरि नारा लाउनुस्
यो देश हाम्रो हो परिवेश हाम्रो हो
कनिका छरेपछिको शेष हाम्रो हो ।

यसो पनि भन्छन्
यहाँ देश सुन्दर पार्नु छ
भकारी अन्तै सार्नु छ
कसैले सुन्दै सुन्दैन मनले गुन्दै गुन्दैन
चोट देखाएर नोट छाप्नुस्
भोट देखाएर नोट माग्नुस्
सत्यलाई गलत भन्नुस्
गलतलाई सही भन्नुस्
चित्त बुझे ताली पिट्नुस्
नबुझे आफ्नै छाती पिट्नुस्
अहिले नसके राति पिट्नुस्
ट्वाल्ल परेर गम खाइरहनुस्
अलि अलि रम लाइरहनुस्
सब सही लाग्छ होला
मनको अँध्यारो पनि भाग्छ होला ।

कसैले गलत समाचार नछाप
सुकेको बाँसको अचार नथाप
सडकभरि राष्ट्रको परिचय पत्र मागेर सुत्छन्
किसानले दुधको भाउ मागेर कुद्छन्
रक्सीको भाउ माग्नै पर्दैन
कोकाकोलाको भाउ कहिले घट्यो र
पोकाकोलाको दाउ झन् किन घट्थ्यो
सहरभरि साँढे र कोरलीहरू पार्कमा हुन्छन्
अचाक्ली भयो भनेर ठाउँकुठाउँ थुक्छन्
साँढेको के के हेर्नेहरू गल्ली गल्ली कुद्छन्
जो सधैँ बहानै बहानामा कर मात्रै थुत्छन्
भन्नेहरूले कति कति चोर भन्छन्
पाएको जति जम्मै सोर भन्छन्
आफ्नै मात्र थैलो भोर भन्छन्
सही काम त गर्न दिनुस्
जानुस् मलाई मात्रै चर्न दिनुस्
दिमागमा एउटा नार फुर्छ
जब कुकुरको जस्तो दिमागले नेताको दैलो कुर्छ ।

आउनुस् सबैले एकपटक नरा लगाऊँ
बेटी पढाऊँ पेटी पचाऊँ
तार कटाऊँ इज्जत फर्काऊँ

कहिले उसको
कहिले यसको
कहिले कसको
चिनेर छोरी जन्मनै दिएन
दाइजोबिना अन्मनै दिएन
गरिबीले चुल्हो रन्कन सकेन
विचरो रिसले फन्कन सकेन
अनि पो बन्छ योजनाको खेती
काठ हेरी लगाउने हो रेती
कतै चढाउने मन्साउने
कतै फकाउने धम्क्याउने बनेकै छ मोटो भेटी ।
यो देशमा दानै नलाग्ने त धान फलेको छ
सरकारकै हातबाट संविधान जलेको छ
अदालतकै ढोकामा कानुन गलेको छ
रातारात मान्छेले परिचय बदलेको छ
यो देशको कानुन बनाउनेले जानुन्
बुझ्नेले बुझुन् नबुझ्ने ट्वाल्ल परुन्
जे गर्ने गरुन्
चोर फटाहा लुच्चाहरू सडे सडुन् मरे मरुन्
देशले सास फेर्न पाओस्
बनेको कानुन सबैलाई टेर्न लाओस्
जमिन जागेर हरियाली पलाओस्
बेथिति र विकृतिको अन्त्य होस्
सबैको जय होस् भलो होस् ।

जाँदा जाँदै दुइटा नारा लाउनुस्
बेटी पढाऊँ बेटी बचाऊँ
साइकल देखाएर रकम पचाऊँ

सिसिटिभी देखाइँदैन
आरोप लाउन पाइँदैन
बजेटको मन्त्र सबैलाई सुनाइँदैन ।

०००
२०७९।०४।२७
गाईजात्रा विशेष
हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
आफ्ना खास

आफ्ना खास

रामदेव पाण्डे