सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘बेसारे घुर्की’माथि बुर्कुसी मार्दै

विषयलाई यथातथ्य उठाएर मात्र हास्यव्यङ्ग्य सिर्जना कहाँ हुन्छ र ? त्यसलाई मजाक मार्दै निसानामा प्रहार गर्न सक्नु हास्यव्यङ्ग्यको शक्ति हो । सङ्ग्रहका निबन्धहरूमा त्यो शक्तिको सशक्तता नभेटिनुलाई म अस्वाभाविक मान्दिन किनभने अधिकारी यो फाँटको नवप्रतिभा हो ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

हास्यव्यङ्ग्यको फाँटलाई झनझन फराकिलो, फरासिलो, गहकिलो र महकिलो पार्दै जाने उद्धेश्य गुटुमुटु पारेर पाठकहरू बिच लुटुपुटु हुँदै आएको फित्कौलीले अनलाइन पत्रिकाको एकवर्षे यात्रामै झन्डै डेढ दर्जन जति हास्यव्यङ्ग्यका नवस्रष्टाहरूलाई सार्वजनिक गर्न सकेकामा गौरव गर्दछ । नेपाली हास्यव्यङ्ग्य लेखनमा फित्कौली मार्फत नयाँ पुस्ता जन्मिन थालेको यो नवीन सङ्केत पनि हो । पाका पुरानालाई श्रद्धा र सम्मान गर्दै नवागतहरूलाई प्रोत्साहित र प्रशिक्षित पार्दै फित्कौली हास्यव्यङ्ग्यको अभ्युत्थान अभियानमा जुटेको छ । यसका प्रिय पाठक, स्रष्टा, शुभेच्छुकहरूको अपार माया र सदभाव पाएर पुलकित पनि छ ।

फित्कौलीको हास्यव्यङ्ग्य अभियानको गतिशीलता र प्रभावबाट अभिप्रेरित हुँदै व्यङ्ग्यलेखनमा अभ्यास गर्न थालेमध्येकै एकजना व्यक्ति हुनुहुन्छ ठाकुरप्रसाद अधिकारी । उहाँ मूलतः गद्यशैलीमा कविता लेख्दै आउनुभएको थियो । २०७३ सालमा ‘रोएको बाटो’ कविता सङ्ग्रह र ०७६ सालमा ‘समयको आवाज’ संस्मरण सङ्ग्रह प्रकाशित गरिसक्नु भएका अधिकारी जागिरबाट निवृत र फुर्सदिलो जीवन बिताई रहनुभएको छ । उहाँको फुर्सदको समय अध्ययन र लेखनमा समर्पित हुँदै आएको छ । गएको एक वर्ष अधिकारी अस्ट्रेलियाको सिड्नी बस्नु भएको थियो । सिड्नी बसाइकै क्रममा उहाँ फित्कौलीको हास्यव्यङ्ग्य अभियानसँग जोडिनु भएको हो । फित्कौली डटकमकै अभिप्रेरणाद्वारा व्यङ्ग्य निबन्ध लेखनमा लहसिनु भएका अधिकारीका आरम्भकालिन निबन्धहरू प्रथमोप्रथम फित्कौली डटकममा प्रकाशित भएका हुन् । तिनै निबन्धहरूको सङ्ग्रह अहिले तयार भएको छ- ‘बेसारे घुर्की’ ।

स्रष्टा अधिकारीले ६/७ महिनाको अवधिमा रचना गर्नुभएका १८ वटा व्यङ्ग्य निबन्धहरू यस सङ्ग्रहमा सङ्कलित छन् । यी निबन्ध मार्फत अधिकारीले नेपाली समाजको विद्रूप वर्तमानमाथि व्यङ्ग्यात्मक दृष्टि लगाउनु भएको छ । भैरव अर्यालको ‘आलु’ निबन्धको दोस्रो संस्करण भन्दै अधिकारीले तयार गरेको ‘मान्छे आलु कि आलु मान्छे ?’ मा आलुलिँदै गएको मान्छेको प्रवृतिमाथि व्यङ्ग्य गर्नुभएको छ । ‘मन  : सानो गन्थन’ निबन्धले मनोचेतनासँग अतरसम्बन्धित हुँदाहुँदै पनि समग्रमा व्यङ्ग्य अभिर्भाव गरेको अनुभूति हुन्छ भने ‘नमिलेको नाउँ कसरी मिलाउँ ?’ मा नाम र उसको कामसँग मेल नखाएका सन्दर्भ उठाएर व्यङ्ग्य गरिएको छ । ‘कुखुरे दाइलाई खुल्लापत्र’ निबन्ध पत्रात्मक शैलीमा भ्रष्ट मनोवृत्तिमाथि प्रहार गरिएको निबन्ध रचना हो भने ‘विवाह : एक आतङ्क’ मा बिहेको प्रसङ्ग उठाई बिरालो बाँधेर श्राद्ध गर्ने संस्कारमाथि व्यङ्ग्य गरिएको छ । ‘साथी नामका केही पात्र’ निबन्ध चाहिँ हामीले सङ्गत गरिरहेका व्यक्तिहरूको वैयक्तिक चरित्र कस्तो कस्तो हुन्छ भन्नेतर्फ केन्द्रित रहेको छ भने ‘मिष्टर पियनको चिठ्ठी’ ले निम्न तहमा रहेका कर्मचारीको मनोदशा उल्लेख गर्दै हाकिमहरूको दुस्प्रवृति केलाएको छ ।

सङ्ग्रहको अर्को निबन्ध ‘नमस्ते मोडेल’मा अभिवादनको तौरतरिकामा आइरहेको परिवर्तनलाई मूख्य विषय बनाइएको छ । ‘गुटबल’ नेपाली राजनीतिमा हुर्किएको गुटगत चरित्रलाई उदाङ्गो पार्दै सत्ता र शक्तिमा पुग्न गुट निर्माणले खेल्ने गरेको भूमिका प्रकट गर्ने व्यङ्ग्य निबन्ध हो । ‘झुट र झुटको खेती’ पनि राजनीति केन्द्रित निबन्ध हो र यसमा पनि झुट र फरेबमै राजनीति कचल्टिँदै गएको नाङ्गो यथार्थ प्रस्तुत गरिएको छ । ‘सपनाको मलामी’ निबन्धले हाम्रा सामुहिक सपनामाथि नेतृत्वका वैयक्तिक सपनाले तुषारापात गरिरहेकोतर्फ गम्भीर असहमति प्रकट गरेको छ । मानिसको महत्वपूणर् अङ्ग हातको आङ्गिक चर्चाबाट शुरु गरिएको निबन्ध ‘चर्चाको चौघेरोमा डुक्रने हात’ निबन्धमा हातले लात खानुपर्ने स्थिति सिर्जना भएको निस्कर्ष निकालिएको छ । ‘भलादमीको जात थर’ ले देवकोटाको ‘भलादमी’ निबन्ध स्मरण गर्दै बेहिसाब भलादमीहरूको फेहरिस्त प्रस्तुत गरेको छ भने ‘सित्तैंका ढाडेहरू’ ले ढाडे नै अहिले साँढे भएर हाम्रो सुन्दर कोठेबारी माडिरहेको वस्तुतथ्य हाम्रै अगाडि राखिदिएको छ ।

‘बेसारे घुर्की’ निबन्ध सङ्ग्रहको शीर्ष निबन्ध हो । निबन्धको केन्द्रमा माकुरो जस्तो नेता रहेको छ । नेताले आफ्नो स्वार्थको शिकार गर्न अनेकन जाल बुन्ने गर्दछ, उसैको आश्वासनको जालमा अल्झेर नागरिक एक पटक हैन, पटक पटक मत दिएर उसलाई जिताउँछन् तर हरेक पटक जितेको नेता नागरिकका निम्ति माखो पनि मार्दैन र सिन्का पनि भाँच्दैन । ऊ त आफ्नै जालो बुन्न र त्यसलाई मजबुत पार्नमै रल्लिइरहन्छ, हल्लिइरहन्छ । यो वर्तमान राजनीतिको विद्रूप यथार्थ हो । यही यथार्थमाथि दनक दिन खोजिएको छ ‘बेसारे घुर्की’ निबन्धमा ।

अर्को निबन्ध ‘दलाली खेती’ राज्यका समग्र निकायदेखि सामाजिक, आर्थिक-जीवनमा अहिले बिचौलियाहरूको उपस्थितिले सिर्जना गरेको असहज परिस्थितिमा केन्द्रित छ भने ‘सम्यता र विकासे गफ’ले हाम्रा मत मान्यता कसरी स्खलित हुँदै गैरहेका छन् भन्नेतर्फ यथातथ्य दृष्टि पुर्‍याएको देखिन्छ । ‘कलम पुराण’ निबन्धमा चाहिँ स्वाभिमानी र स्वतन्त्र लेखन छाडेर सत्ता र शक्तिकै यशोगान गाउनमा निर्लिप्त भएका कलमवाजहरू माथि नै व्यङ्ग्य गरिएको छ । निबन्धमा अधिकारीले लेख्नुभएको छ- “कलम त अणुबमलाई भेदन गर्ने क्षमता बोकेको एउटा शक्तिशाली औजार हो ।… आश्चर्य लाग्छ- किन बिकेर र बेचिएर कलमले ओकल्छ विद्रूप शब्दहरू ?” ‘मलाई मेरो कलममा मसी होइन वारुद भर्न मन लागेको छ ।’ निबन्धको यो पङ्क्तिले अधिकारीभित्र रहेको व्यङ्ग्य-विद्रोहलाई राम्रोसँग प्रकट गरेको छ ।

समग्रमा भन्नुपर्दा ठाकुरप्रसाद अधिकारीको ‘बेसारे घुर्की’ सङ्ग्रहमा सङ्कलित निबन्धहरूमा हामीले भोगिरहेको विसङ्गत राजनीतिक पर्यावरण र नागरिकको तहबाट खेप्नु परिरहेको बिब्ल्याँटो व्यवहारमाथि घच्कापूणर् थप्पड हानिएको छ । प्राय सबै निबन्ध आत्मपरक शैलीमा संरचित छन् । धेरै ठाउँमा उहाँ आफै उपस्थित हुनुभएको छ, अनुभूत भएको अनुभूतिमै आफूलाई घोल्नु भएको छ र यत्रतत्र व्यङ्ग्य बोल्नु भएको छ । हाम्रो देशका अगुवा, भगुवा, नेता, अभिनेता, कर्मचारी, जनप्रतिनिधि, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी, युवा, युवती, व्यापारी, सरकारका निकाय, न्यायिक निकाय र तत्तत् ठाउँमा सक्रिय विचौलियाहरू समेत व्यङ्ग्य प्रहारको शिकार हुन पुगेका छन् ।

यद्यपि यस सङ्ग्रहका स्रष्टा अधिकारी व्यङ्ग्यलेखनको आभ्यासिक चरणमै हुनुहुन्छ । केही ठाउँमा हास्यको पुट पाइए पनि समग्रमा व्यङ्ग्यले प्रधानता पाएको छ । हास्यव्यङ्ग्य र हास्यलेखनको आफ्नै विशिष्ट प्रविधि हुन्छ । यो प्रविधिलाई उहाँले यथोचित र पर्याप्त प्रयोग गर्न सक्नुभएको छैन । विषयलाई यथातथ्य उठाएर मात्र हास्यव्यङ्ग्य सिर्जना कहाँ हुन्छ र ? त्यसलाई मजाक मार्दै निसानामा प्रहार गर्न सक्नु हास्यव्यङ्ग्यको शक्ति हो । सङ्ग्रहका निबन्धहरूमा त्यो शक्तिको सशक्तता नभेटिनुलाई म अस्वाभाविक मान्दिन किनभने अधिकारी यो फाँटको नवप्रतिभा हो । छ महिनाको छोटो अवधिमा यता प्रवेश गरेर यतिसम्म जो गर्नुभयो यो नै काफी हो भन्ने मलाई लाग्छ । तर पनि अझै मेहनत गर्नुभयो भने उहाँको आगामी यात्रा सशक्त बन्नेछ भन्ने कुरामा म ढुक्क छु ।

सङ्ग्रहकै रूपमा यसलाई प्रकाशन गर्ने जुन आँट अधिकारीले गर्नुभयो- यसको पनि म सराहना गर्छु । फित्कौलीमा पहिलो पटक प्रविष्ट भएका निबन्धहरूको सङ्ग्रह फित्कौली मार्फत नै सार्वजनिक होस् भन्ने उहाँको मनसायलाई कदर गर्नु फित्कौलीले पनि मनासिव नै ठान्यो । त्यसकारण पनि घोडेजात्रामा उफ्रिएका घोडा झैं ‘बेसारे घुर्की’माथि फित्कौलीले बुर्कुसी मारेको छ । हास्यव्यङ्ग्यको यस कित्तामा नयाँ फिता लिएर प्रवेश गर्नुभएका ठाकुरप्रसाद अधिकारीलाई फित्कौलीको खित्कौलीपूर्ण शुभकामना ।

०००
०७९ को घोडेजात्रा
फित्कौली अड्डा, कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे