छवि ज्ञवाली‘बोकाको मन’ भित्र पस्दा… (२)
समग्रमा यसका कतिपय विषय/शीर्षक अलि शाश्वत र सार्वकालिक नभएको प्रतीत हुन्छ । धेरै लेखेर सम्पादन गरी काँटछाँट गरेर प्रकाशन गर्दा निसन्देह अझ सशक्त र प्रभावकारी हुनेछ । सरलता र गाउँठाउँमा बोलिँदै आएका शब्द शब्दावलीको प्रयोगले लेखनमा छुट्टै विशेषता देखा पर्छ ।

छवि ज्ञवाली :
एघारौँ क्रममा ‘भिखारी’ उभिएको छ । लेखक आफै काठमाडौंको शिक्षण अस्पतालबाट चक्रपथतिर लम्कँदै आफ्नै महाकाव्य कृति बेच्दाको प्रसङ्ग, महाकवि देवकोटाको मस्तिष्कमा आफै पसेको अनुभूति गर्दै निबन्ध अगाडि भन्छ-इराकमाथि अमेरिकाले आक्रमण गरेजस्तो हैन र शिवजीको त्यो व्यवहार ? अरूका प्रगतिमा भाँजो हाल्न पल्केका भिक्षुक रूप महादेवहरूप्रति हाम्रा शिवभट्टहरू अझै पनि सचेत छैनन् । उनैको गुणगान गर्छन् । भक्त बन्छन्, पूजा गर्छन् र सराप पाएर दुःख कष्ट व्यहोर्छन् । भन त तिम्रा आँगनमा तार बजाउँदै आएको भिखारी हो कि ईश्वर ? काम गर्नकै दुःखले जोगी भएँ । जोगी हुँदाको भोलिपल्ट भोकै रहेँ । जय भोले । एउटा ठुलै बाँसको घारो काँधमा तेर्साएर फलाक्दै गरेको पागलसित ठक्कर खाएपछि मेरो मन बल्ल आफ्नै खप्परमा छिर्छ । यसो हेर्छु त चक्रपथ अझै आएकै रहेनछ ।
‘हतियार : व्यवस्थापन कि बेवास्तापन ?’ बाह्रौँ क्रमको निबन्ध हो । हतियारका सानादेखि ठुल्ठुला उदाहरण प्रस्तुत गरिएका छन् । निचोडस्वरूप भन्न सकिन्छ निबन्धांशबाट-हतियारको यो व्यापक अर्थ सबैले नजान्दासम्म विश्वशान्तिका नारा घन्काउनुको कुनै औचित्य छैन । मान्छेको हतियारलाई जबसम्म बुद्धि र विवेकको रूपमा प्रयोगमा चिनाइँदैन तबसम्म विश्वशान्ति हुँदैन । मुखमा रामराम बगलीमा छुरा त्यसै भनिएको हैन । चिन्तन हिंस्रक रहँदासम्म शरीर जतिसुकै निशस्त्र देखिए पनि विश्व शान्तिको कल्पना गर्नु सम्भव छैन । मान्छे मान्छेकै हतियार भइरहँदासम्म पनि विश्व शान्तिको सपना देख्नै पर्दैन । म तपाईंले भने अनुरूप नै चल्छु । (चाहे त्यो भनाइ गलत नै किन नहोस्) भने मलाई तपाईँले आफ्नो हतियार निसङ्कोच ठान्नुहोस् ।
तेह्रौँ निबन्धमा पर्यो ‘सैद’ । तथानाम बिना मूल्य-मापदण्ड अनेक कर्मबाट निधन भएका मानिसलाई सहिद घोषणा गर्ने र दश लाख रुपियाँ प्रदान गर्ने विसङ्गतिप्रति लक्षित छ । शहीद, सैद बनेकोमा निबन्धकारको रोष यहाँ प्रकट भएको पाइन्छ- मेरो दिमाग पनि कस्तो ठाउँमा गएर अल्झेछ कुन्नि ! यसो हेर्दा सैदमा झन् विकराल विकृति भित्रिसकेछ । जोसुकै जसरी मरे पनि सैद रे ! आखिर म पो अनभिज्ञ रहेछु त । सिकारी केटोले सैद भनेको नै ठिक । सहिदको मूल्यमा यति साह्रो गिरावट देखिएला जस्तो लाग्दैनथ्यो । सैदगेट भनेर काठमाडौँमा ट्याम्पो रोक्ने ठाउँ मात्र भएको छ । यी राणा सरकार विरोधीलाई मात्र किन सैद भन्ने ? पञ्चायत विरोधी गणतन्त्र विरोधी यस्तै कुनै तन्त्र भविष्यमा जन्मिँदै जाँदा र त्यो तन्त्र बेठिक ठानी अर्को नयाँ तन्त्र स्थापना गर्नाका निम्ति लड्ने र मर्ने पनि त सैद होलान् नि ! त्यसो त त्यतिबेलासम्म षइद वा सैद भैसक्न पनि के बेर ? लौ आउनुहोस् त्यस्ता सबै प्रकारका तन्त्रविरुद्ध लड्ने ज्ञात अज्ञात जुम्रा, मुसा, ढुकुर, कुकुर, उपत्यका, मधेश, तरुण, युथ, योङ थुप्रै सैदहरूलाई श्रद्धाञ्जली स्वरूप साठी सेकेन्डसम्म मौनधारण गरौँ । आखिर सैदको सम्मान नै अरू के छ र योभन्दा बढी ?
चौधौँ शीर्षक ‘भिटामिन ‘एम’ का रूपमा छ । एम अर्थात् मनी । मनी अर्थात् रुपियाँ पैसाको महत्त्व व्यङ्ग्यात्मक पाराले बखानिएको निबन्ध हो यो । जे जस्ता क्रियाकलाप गरेर भए पनि पैसाले आफ्नो थैली भर्न तल्लीन मानव प्रवृत्तिलाई यसले झटारो हानेको छ- ‘चारखुट्टे धन गन्दै नगन’ भनेर बुढापाकाहरूले भन्थे तर अहिले त ‘चारखुट्टे धन धेरैपटक गन’ भने बेस होला । मर्न आँटेको बुढो भैँसी पनि मम भएर बहुमूल्य बन्न पुग्छ । यता हड्डी बेग्लै, छाला बेग्लै । भिटामिन ‘एम’ का लागि अहिले दुध दिने भैंसीसमेत बेच्न थाले । जाबो एक लिटर दुधबाट कति नै भिटामिन एम पाइन्छ र ? सिङ्गै भैँसीले त कम्तीमा १५/१६ हजार क्यालोरी भिटामिन ‘एम’ प्रदान गरिहाल्छ नि !
‘नयाँ शब्द खोज्ने धुनमा’ यो पन्ध्रौँ क्रमको निबन्ध हो । अनेक लहडमा अर्थ न वर्थका नयाँ शब्दहरू जस्तै झकास, भेजा, सुड्डो, र्याक, बालै, ठिस, टेन्स… आदि प्रयोग भइरहेको भन्दै निबन्धकारले आफू पनि नयाँ नयाँ शब्द बनाएर चलाउने अभियानतर्फ लागेको अभिव्यक्ति दिएका छन् । यहाँ रोचक प्रसङ्ग पनि समाविष्ट छन्- म दङ्ग परेँ क्या ! एकपटक एक जना वृद्धले रेडियो सुनिरहेका थिए । म नजिकै पुगेको त ए बाबु ! आजभोलि त रेडियोले खबर भन्न छाडेछ नि ! बज्दै गरेको रेडियोमा खबर आइरहेकै थियो । भन्दै त छ बाजे ? मैले उनलाई नै प्रश्न गरेँ । आज समाचार मात्रै भन्यो । यतिबेर सुन्दा पनि एउटा मान्छे मरेको भनेन बाबु ! अनि बल्ल बुझेँ मैले । हाम्रो खबर भनेको लडाइँ, झगडा र मृत्युको मात्र हुनुपर्छ । अरू त समाचार । कि कसो ? हैन खबर र समाचार पर्यायवाची हुन् भन्ने हो भने हामी ‘बढना’ भनौँ न बिलकुल नयाँ शब्द क्या ! (घटना शब्दका सट्टा बढना भन्ने ? पङ्क्तिकार)
सोह्रौँ क्रमको निबन्ध हो ‘उरिम’ । आफ्नो घरमा रहेको जीणर् भई पल्टन पल्टन आँटेको उरिम (फल्याकको टाँडमा मकै राख्ने र तल ढिकी भएको खर वा जस्ताले छाएको खाँबे कटेरो) लाई दर्शाउँदै यस निबन्धमार्फत देश सङ्घीयतातर्फ जानै लागेको र दायित्वबोध नगर्ने नायकप्रति शब्द शब्दमा कटाक्ष गरिएको छ । उरिम पुनर्निर्माणमा घर-परिवारमा समेत एकमत हुन नसकेको कुरो देशतर्फ सहजै सोझ्याएर झटारो हानिएको छ-नेताहरूले देश निर्माण गर्न चासो नदिनु र मैले उरिम मरमत गर्न नखोज्नुमा समानता पाउनुहुन्छ होला । भ्रष्टाचारको दलदलमा फसेको देश निर्माण गर्न जति दुःख छ यो उरिमको पुनर्निर्माण गर्न पनि उत्तिकै दुःख छ । त्यसैले असफल राष्ट्र घोषणा गरेर विदशीले हस्तक्षेप गर्ने बेला पर्खने विचार गरेको छु । पक्कै पनि कुनै विकसित देशले हाम्रो देश कब्जा गर्यो भने यस्तो भुल्ले उरिम रहन दिनेछैन, नयाँ बनाइहाल्ने छ । त्यसैले केही समय अझै यो यस्तै रहोस् ।
सत्रौँ क्रमको निबन्ध हो- भ्रष्टाचार । यसमा देशमा सर्वत्र भ्रष्टाचार सङ्क्रमण भएको, यसकै हालिमुहाली भएको विषय उठान गरिएको छ । सबै प्रकारका भ्रष्टाचारका विवरण, प्रकृति, तौरतरिका र त्यसले पार्ने प्रभावलाई छर्लङ्ग पार्दै बडो व्यङ्ग्य कसिएको छ । एक प्रसङ्गमा निबन्ध भन्छ ः चुनावी होस् वा अचुनावी आमसभा, कोणसभा, कोठेसभा मात्र होइन गोठेसभा समेतमा विकास गर्छौ, भ्रष्टाचार रोक्छौँ, मूल्यवृद्धि घटाउँछौँ, रोजगारी दिन्छौँ… भन्ने मन्त्र जप्छन् । तस्कर संरक्षण गर्नेमा पनि उहाँहरूकै नाम पहिले हुन्छ । के गर्ने ? देश बनाउने बिगार्ने जिम्मा पाएका महोदयज्यू नै भ्रष्टाचारको दलदलमा फसेपछि अरू जाबाको भ्यागुते उफ्राइले केही लछारपाटो लाग्ने हैन । कुन्नि कति समय पहिले हो एउटा ठुलै नेताजीको मुखमा जेट प्लेन घुस्न लागेको कार्टुन देखेको थिएँ । अलिकति त छिरेको थियो मुखमा ।
‘थुइक्क छोरीको बाबु !’ प्रस्तुत कृतिको अठारौँ निबन्ध हो । छोराछोरी बराबरी भन्ने कुरा सिद्धान्ततः लेखिए पनि नेपाली समाजमा व्यवहारमै लागु हुन नसकेकोप्रति यहाँ व्यङ्ग्य छ । आफ्नै छोरी जन्मदा छिमेकीले अलि सुस्त आवाजमा बधाई दिएको भन्ने प्रसङ्ग उठाउँदै उनी लेख्छन्- छोरी जन्मेको उपलक्ष्यमा बधाई दिँदै एउटा सनकबहादुरले भन्यो, ‘छारो भएको भए अलिक राम्रोसँग बधाई भन्ने थिएँ, छोरी पाउनुभएछ त्यसैले सुस्त बधाई दिन्छु ।’ छोरी र छोराको जन्ममा उसका बाबुले पाउने बधाईमा त यतिका भेद छ भने छोरा र छोरीकै बिचमा कति भेद हुँदो हो परिकल्पना गर्न गाह्रो लाग्यो मलाई । साँच्चै नारीहरूले ठुलो समस्या भोगेका होलान् भन्ने लाग्यो । के गर्नु छोरी भएर जन्मेको भए त्यो अनुभव आफैले गर्ने थिएँ ।
‘नेतालाई चिठी’ शीर्षकको निबन्ध उन्नाइसौँ क्रममा छ । चुनाव जितेपछि राजधानी छिरेर पुनः गाउँ छिर्दै नछिर्ने स्वभावका नेतालाई कटाक्ष गर्दै यस निबन्धमा बैठक, बैठकमाथि बैठक, अपुरो सहमति, अपुरो सहमतिपछि पुनः सहमति, भ्रष्टाचार आदि गर्दै उनीहरू व्यस्त भएर गाउँका समस्या हेर्नै फुर्सद नपाएको भनेर व्यङ्ग्य गरिएको छ- पातलो सिँगान आएर अस्पताल भर्ना हुनुभएको खबरले यहाँ टाइफाइडले ग्रस्त पुछारघरे सनकबहादुरलाई अझै एक डिग्री जरो चढेको छ । त्यो साला सनकेको जरो अझै एक डिग्री थपिए पनि तपाईंको सिँगान बाक्लियोस् भन्ने परमेश्वरसँग प्रार्थना गर्न चाहन्छु ।
बिसौं क्रममा छ-अँगेरो । आफ्नो यसअघि प्रकाशित खण्डकाव्य ‘रक्सी’को मोटामोटी विषयलाई प्रसङ्गमा ल्याएर रक्सीको दूर्गुणबारे चर्चा गरिएको छ । रक्सी सेवनका विरुद्ध लेख्दा आफ्ना गुरु, हितैषी र शुभेच्छुक पनि टेडिएको बताएर व्यङ्ग्यात्मक शैलीमा आफू अब भने रक्सीप्रेमी बनेको बताएका छन्- एकपटकको कुरा हो । हाम्रो देशका प्रधानमन्त्रीलाई भेट्न एक जना वरिष्ठ पत्रकार बालुवाटार पुगेछन् । कुराकानी सकिएपछि प्रमले गिलास र बोतल अघि सार्दै पत्रकारलाई पिउन आग्रह गरेछन् तर पत्रकारले अलिक अप्ठेरो मानेछन् । अनि मन्त्रीले आफ्नो पिएलाई भनेछन्- पहिले एक गिलास तँ खनाइदे अनि पत्रकार महोदय आफै खनाउन थाल्नुहुन्छ । यस भनाइले मानिसको रक्सीप्रतिको आकर्षण कस्तो हुन्छ भन्ने झलक दिन्छ । हुन पनि हो, विश्व प्रसिद्ध अर्थशास्त्री अल्फ्रेड मार्सललाई पनि यसले फेल गराएको छ । उनको उपयोगिता ह्रास नियम रक्सीमा लागु हुँदैन । उपयोगिता ह्रास नियमअनुसार पहिलो पटक कुनै वस्तु उपभोग गरिसकेपछि दोस्रो पटकमा कम र त्यसपछि क्रमशः घट्दै गई अन्त्यमा उपयोगिता शून्य हुन पुग्छ । तर यो अँगेरो त्यस्तो हुँदैन । यो त उपभोक्ताले जति जति सेवन गर्दै जान्छ त्यति त्यति नै चाहना बढ्दै जान्छ । बरु बान्ता गर्ला तर खान छोड्दैन । ‘भेक-छेकको राजनीति’ प्रस्तुत कृतिमा एक्काइसौं क्रममा देखिन्छ ।
नीति, नियम, अनुशासन, उद्देश्य र लक्ष्यबिनाका खेलाडीझैँ बनेर नेताहरूले राजनीति गरेर देश भड्खालोमा पुर्याए भन्ने लेखकको तीव्र गुनासो पोखिएको छ- यी खेलहरूमध्ये सबैभन्दा फोहरी र अनुशासनहीन खेल राजनीति हो भनेर अब नाल नझरेका बच्चाले पनि जान्न थाले । अरूको त कुरै छोडौँ अरू सबै खेलमा नियम हुन्छ तर विनालगामको यो खेलमा भने जो जसरी दौडे पनि हुन्छ, जो जसरी उफ्रे पनि हुन्छ, जसलाई प्रहार गरे पनि हुन्छ । यसमा कुनै घेरा नै लगाइन्न त्यसैले भित्रिने र बाहिरिनेको पनि कुनै ठेगान हुँदैन । जोसुकै जुनसुकै बेला जसरी पनि पस्न र निस्कन सक्छ । यो खेल खेल्न न कुनै योग्यता चाहिन्छ न उमेर । अरू कुनै खेल खेल्न नसक्ने मान्छे पनि सजिलै यसमा भाग लिन सक्छ । वास्तवमा राजनीति जस्तो अनौठो खेल मलाई अरू कुनै लाग्दैन किनकि मैदानमै देखा नपरेको खेलाडीले पनि जित्छ र वर्षौंदेखि तिघ्रामा तेल घसेर कसी कसी दौडेको धावकले पनि हार्छ ।
‘माइलाको अस्तित्व’ बाइसौं क्रममा दर्जा छ यहाँ । सामान्य रूपमा आफू माइलो सन्तानका रूपमा जन्मेको बताएर विषयलाई विस्तार गर्दै दुई सन्तान मात्र जन्माउने नेपालीहरूले भविष्यमा देश मुसलमानमय बन्न सक्छ र हिन्दुहरूकै अस्तित्व सङ्कटमा पर्नसक्ने आँकलन गरेको देखिन्छ- सनातन धर्मको विपरीत गएर होला हाम्रो देशमा राजतन्त्र नै समाप्त भयो । माइलालाई राजा बन्ने अधिकारै थिएन । गर्नै नहुने काम गरेपछि अस्तित्व पनि कसरी होस् र ? राजतन्त्रकै अस्तित्व समाप्त पारे माइला राजाले । यो राजतन्त्रको कुरा त प्राकृतिक नियमविरुद्ध गएर सकियो तर जनतामा पनि माइलाहरूको अस्तित्व समाप्त हुन लाग्यो र पो चिन्ता छ मलाई । म आफू माइलो भएकाले होला अरूलाई भन्दा मलाई नै बढ्ता पिर परिरहेछ … मैले राजालाई आरोप लाउन खोजेको हुँदैहैन । भइपरि आउँदा राजतन्त्रको अन्त्य माइलाबाट हुन पुग्यो । त्यसो हुँदैमा पृथ्वीभरिका माइलाहरूलाई नै किन समाप्त पार्ने दाउ गर्नुपर्ने हँ ? कसैले पनि तीनओटा छोरा नजन्माइदिएपछि माइलो कहाँबाट हुने ?
तेइसौँ क्रममा छ- लावर, चन्द्रमा र घाँसी । यस निबन्धमा निकै तार्किक कुरा उठाइएको छ । लावर अर्थात् परिवार नियोजनको साधन ढाल (कन्डम) को प्रसङ्ग उठाउँदै हामी दुब्लाएको अनि वैदेशिक ढाल कम्पनी मोटाएको कुरा बतााएका छन्- ब्वाँसोले गाईलाई किन कन्याउँछ भन्ने हामीलाई थाहै छैन । कसैले रचना गरेको कथामा हामी सत्य तथ्य देख्छौँ । त्यही कथामा आस्था राख्छौँ । लावरमा कति विश्वास छ र ? मैथुन कार्यमा व्यस्त रहँदा फुट्न पनि त सक्छ । अनि घातक भनिएको एड्स सर्दैन ? होइन हाम्रो स्तरको प्रयोग गर्ने हो भने त्यसो हुँदैन भन्ने तर्क आउला । हो, त्यसैलाई गाईलाई ब्वाँसोले कन्याएको भनिएको हो । के सबै ढालहरू निशुल्क वितरण गरिन्छन् ? स्तरीय लावर त किन्नुपर्छ । अनि हामी दुब्लाएको र वैदेशिक ढाल कम्पनी मेटाएको कसले जाँच्ने ? लावर दन्त्यकथाको राक्षस हो ।
त्यसैमा चन्द्रमाको प्रसङ्गमा व्यङ्ग्य गर्दै भनिएको छ- कथा भनेझै सजिलै भनिदिन्छन् मान्छेहरू ‘निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेके’ भनेर । हैन दोस्रो पाइला नै नटेकी कसरी अडिनसकेका हुन् ? कि उनको दोस्रो गोडा नै थिएन ? फेरि त्यो एपोलो एघार नामको रकेट पृथ्वीमा फर्किंदा समुद्रमा झ्वाम्म डुब्नुपर्ने रे तर चन्द्रमामा भने कागले सुकेको बाँसमा टेके झैं टेक्न मिल्ने ! कि चन्द्रमामा पनि समुद्र छ र ? अनि त्यसैलाई सबैले पत्याइहाल्ने !
साथै यसै निबन्धमा घाँसीको प्रसङ्ग पनि छ । भानुभक्त आचार्यलाई प्रेरणा दिने घाँसीको समय सामन्तवादी भएकाले घाँस बेचेर कुवा खनायो भन्नु सत्य तथ्य नमिल्ने चर्चा गरेको देखिन्छ । निबन्धकार भन्छन्- मलाई त्यो युगमा कसैले घाँस बेचेर कुवा खनाउँथ्यो भन्नेमा पटक्कै विश्वास छैन । सामन्तको दबदबा रहेको समयमा एउटा दरिद्र घाँसीले कुवा खनाएरै कीर्ति राख्नुपर्ने थियो भन्ने आधार छैन । उसले आफै कुटो कोदालो प्रयोग गरेर एउटा कुवा खन्न सक्थ्यो । घाँस बेचेर कति पो कमाइ हुन्थ्यो र ! उसमाथि सतीप्रथासमेत कायम रहेको त्यो युगमा सबैका घरमा बुहारीहरू दासीसरह नै थिए । नभए पनि नोकर चाकरहरू किनबेच गर्न पाइने अवस्था थियो । बिचरो त्यो घाँसीको घाँस कसले किन्ने ? आजभन्दा बाइस वर्षअघि मैले आफै व्यहोर्न परेको घटना छ । गाउँका एक जना हिङ बाँधेको टालो सामन्तका खरबारीबाट काटेर ल्याएको खर त्रिपाटो घर ल्याएको म आफै बोकेर हो । दुई घन्टाको दुरीमा रहेको भिरालो खरबारीबाट सामन्तज्यूकै घरअगाडि बिसाएर दुई भाग छोडी एक भाग लिएर आमा र म घर लागेका थियौँ । यो एक्काइसौं शताब्दीमा त यस्तो दर्दनाक अवस्था कायम छ भने भानुभक्तीय युुगमा जाबो घाँस किन्ने कसले ?
‘ताक परे तिवारी नत्र गोतामे’ यस पुस्तकको अन्तिम क्रमको निबन्ध हो । शीर्षकअनुसार विषयवस्तु बुझिन्छ नै । शुभलाभमा जता पनि ढल्कन सक्ने पात्रप्रति प्रस्तुत निबन्ध लक्षित छ । निबन्ध भन्छ- आजसम्म ताक परे तिवारी नत्र गोतामे नगरिदिएको भए सत्तरी सालको हैन सात सालकै नेपाललाई नयाँ नेपाल भन्न पाउँथ्यौ तिमीले । हिजोका गोतामे आज तिवारी भएका छन् । आजका तिवारी भोलि गोतामे हुन्छन् । भर कसैको छैन । त्यसैले मैले यो सदावहार उखानलाई नयाँ बनाउँदै बनाउन्न, चाहे देशमा जतिसुकै परिवर्तन होस्, चाहे नयाँभन्दा पनि उपरनयाँ जमाना आओस् । हेर न तिमीले भनेजस्तै परिवर्तन भएको, जमानाले ल्याएको नयाँ र खोक्रे परिवर्तन ! बहत्तर सालमा भूकम्प जाँदा के हालत भयो ? धर्म निरपेक्ष देश हैन नेपाल ? धार्मिक स्वतन्त्रता भएपछि धर्म परिवर्तन गर्न पाइने कि नपाइने ? आफै भन साथी । हिन्दु धर्म मानेका गोतामेहरू क्रिस्चियन धर्म मान्ने तिवारी बने ।
प्रस्तुत कृति विषयगत विविधतामय छ । विषयको केन्द्रमा देश र देशवासी वा उनीहरूको उत्थानको अपेक्षा छ । विकृति र विसङ्गतिको निर्मूलीकरणको भित्री चाहना लेखकको पाइन्छ । साथै प्रशस्तै उखानहरूले सुशोभित देखिन्छ पुस्तक । जस्तैः पाडो लाटो भएर दुध खान्छ, कौवा बाठो भएर फोहर खान्छ, माउभन्दा चल्ला बाठो, आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो, अल्नो पनि खाँदिन ढिको पनि फोर्दिन (मनको छाल पोख्न खोज्दा), धोती न टोपी हुनु, नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको मुहार, टोपी बेचेर टाइ लगाउनु (टोपी), भेडा भेडासित बाख्रा बाख्रासित (बोकाको मन), अचानोको पिर खुकुरीलाई थाहा हुन्न (हेर्ने आँखाहरू), कालो अक्षर भैंसी बराबर (मलाई ‘ऐ’सित रिस उठिरहेछ), सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस्, बाँदरको पुच्छर लौरो न हतियार (लौरो), आफू भलो त जगत् भलो, बर्मा गयो कर्मसँगै नेपाल गए कपालसँगै (सम्भावना), मागी मागी छोराको बिहे, नपत्याउने खोलाले बगाउँछ, काम गर्नका दुःखले जोगी भए, जोगी हुँदाको भोलिपल्ट भोकै रहें (भिखारी), अरूलाई खनेको खाडलमा आफै परिन्छ, मुखमा राम राम बगलीमा छुरा (हतियार व्यवस्थापन कि बेवास्तापन ?), धन देखेपछि महादेवका तीन नेत्र, धनको मुख कालो (भिटामिन एम), खाल्डोमा परेपछि डिंगो पनि चेत्छ, अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ (भेकछेकको राजनीति), जेठो कान्छो बाबु नानी, साइँलो माइलो आनामानी (माइलाको अस्तित्व), आफै बोक्सी आफै धामी, पिठासित चामल साट्नु, कागले कान लग्यो भनेर कागको पछि दगुर्नु (लाबर, चन्द्रमा र घाँसी), ताक परे तिवारी नत्र गोतामे (ताक परे तिवारी नत्र गोतामे) आदि । कृतिमा कताकति गाउँखाने कथा पनि प्रसङ्गवश आएका छन् । त्यस्तै प्रस्तुत निबन्ध कृतिका निबन्धहरू पढिरहँदा पाठकलाई मज्जाले स्तरीय गद्यकविता पढिरहेको छुट्टै रससमेत प्राप्ति हुन्छ । अर्थात् लेखनमा कवितात्मक शैली यत्रतत्र पाइन्छ ।
जस्तै : विशेषतः टेक्न, छेक्न र सेक्न प्रयोग गरिने काठ वा धातुको डोलो लाम्चो आकारको वस्तु लौरो हो । यसलाई लठ्ठी, लाठी छडी आदि नामले पनि पुकारिन्छ । त्यसो त देशअनुसार काम पनि होलान् तर वर्तमान लौराकै पछि दौरा सुक्र्याएर दौडिरहेको छ । हामीले अब लौरो टेक्ने, छेक्ने र सेक्ने मात्र नभएर लाउने र खाने चिज पनि हो भन्ने कुरा बुझेनौं भने लौरोभन्दा पनि सोझा छौ भन्ने बुझे हुन्छ । (लौरो), कन्डोमहरू फालाफल थिए । बच्चाहरूले फुलेर दुरुपयोग गर्थे भने युवाहरूले लुकेर दुरुपयोग गर्थे । आफ्नो खल्तीबाट खर्च गर्न नपरेपछि वस्तुको सदुपयोग हुने कुरै भएन । (लावर, चन्द्रमा र घाँसी), सूर्ती बेचेर नपुगे मूर्ति बेच्छ, चोरी गरेर नभए छोरी बेच्छ, … ‘चारखुट्टे धन गन्दै नगन’ भनेर बुढापाकाहरूले भन्थे तर अहिले त ‘चारखुट्टे धन धेरैचोटि गन’ भने बेस होला । मर्न आँटेको बुढो भैंसी पनि मम भएर बहुमूल्य बन्न बन्छ । यता हड्डी बेग्लै, छाला बेग्लै । भिटामिन ‘एम’ का लागि अहिले दुध दिने भैंसीसमेत बेच्न थाले । जाबो एक लिटर दुधबाट कति नै भिटामिन ‘एम’ पाइन्छ र ? सिङ्गै भैंसीले त कम्तीमा १५/१६ हजार क्यालोरी भिटामिन ‘एम’ प्रदान गरिहाल्छ नि ! (भिटामिन ‘एम’) म अचानो भएको छु ः अरू खुकुरी । वास्तवमा प्राचीन कालदेखि नै छोरा र छोरीमा भेदभाव गरिँदै आएको हो । छोराले पिण्ड नदिए स्वर्ग जानै सकिन्न भन्ने चिन्तन शास्त्रमा नभएको भए अहिलेसम्म त्यसको प्रभाव पर्ने थिएन । (थुइक्क छोरीको बाबु !) कृतिमा निबन्धहरू आत्मपरक र वस्तुपरक दुवै शैलीमा मिश्रित भएर आएका छन् । केही निबन्धले त कथा नै पढेजस्तो छुट्टै आभास पाठकलाई दिन्छन् नै । त्यतातिर अहिले जान थालेमा यो आलेख झन् लम्बिने खतरा स्पष्टै देखिन थाल्यो । हरेक निबन्धको शीर्षक र विषयवस्तुको भावलाई चित्रकार राजमानका व्यङग्यचित्रमार्फत सजाइएको प्रस्तुत ‘बोकाको मन’ भित्र २०५१ कार्तिक ३ देखि २०५२ असोज-२५, २०५३ भदौ-२७, २०६३ मङ्सिर-१५, २०६४ भदौ-५, २०६४ माघ-११, २०६५ साउन-२६, २०६५ भदौ-३१, २०६६ मङ्सिर-२, २०६६ पुस-२१, २०६६ माघ-१, २०७६ जेठ-७, २०६७ भदौ-१०, २०६७ मङ्सिर-५, २०६७ फागुन-७, २०६७ फागुन-१७, २०६८ कार्तिक-२६, २०६८ माघ-४, २०६९ जेठ-१०, २०६९ असोज-५, २०६९ माघ-४, २०७१ फागुन-४, २०७३ पुस-२ तथा २०७४ मङ्सिर-१४ सम्म लेखिएका निबन्ध समाविष्ट गरिएको भन्ने कुरा बुझिन्छ ।
समग्रमा यसका कतिपय विषय/शीर्षक अलि शाश्वत र सार्वकालिक नभएको प्रतीत हुन्छ । धेरै लेखेर सम्पादन गरी काँटछाँट गरेर प्रकाशन गर्दा निसन्देह अझ सशक्त र प्रभावकारी हुनेछ । सरलता र गाउँठाउँमा बोलिँदै आएका शब्द शब्दावलीको प्रयोगले लेखनमा छुट्टै विशेषता देखा पर्छ । भुँडीपुराण जस्तो प्रकाशन संस्थाले छापेको कृतिमा सामान्य स्तरकै पाठकले समेत थाहा पाउने गरी केही भाषिक/वर्णविन्यासगत त्रुटि रहन पुग्नु त्यति सुखद भने लाग्दैन ।
प्रस्तुत व्यङ्ग्य निबन्धसङ्ग्रहका लेखकका सन्दर्भमा भन्नुपर्दा दूर दराजमा बसी कुनै किसिमको तामझाम नगरी अनुचित आत्मप्रकाशन र आत्मश्लाघा दुवैतिर नलागी निरन्तर कर्मरत व्यक्तित्व भएकाले लेखकलाई समस्त पाठकवर्ग तथा कुनै ठुला निकायले उहाँको सिर्जन-प्रतिभा र साधनाको समुचित मूल्याङ्कन गरी राम्रा पुरस्कार उहाँका पोल्टामा अवश्य पारिदेलान् भन्न अपेक्षा छ । सोका निम्ति यस अवसरमा कवि/निबन्धकार काशीनाथ मिश्रितमा अनन्त शुभकामना पनि !
०००
सिद्धार्थनगर, रूपन्देही
Subscribe
Login
0 Comments
Oldest






































