‘बोकाको मन’ भित्र पस्दा… (१)
यो जहाँ जोडे पनि सुहाउँछ, जता गाँसे पनि सुन्दर छु भन्ठान्छ तर थाहा छैन यसलाई आफ्नो मूल्य र मान्यता कति खस्केको छ । सुन्दा पनि दिक्क लाग्दो हुन थालेको छ वाद । हेर्दा बुझ्दा त झन् कस्तो होला ? आफै कल्पना गर्नुहोस् । अझै त्यसलाई भित्रैबाट छाम्नुभयो भने त जिल्ल पर्नुहुनेछ । छाम्नुहोस् त एकपटक ।
छवि ज्ञवाली :
सानो परिचय
वि. सं. २०३० माघ ४ गते बुधबार माता हिमकुमारी ज्ञवाली र पिता शिवहरि ज्ञवालीका चार भाइ छोरामध्ये माहिला सन्तानका रूपमा काशीनाथ ज्ञवालीको जन्म गुल्मी जिल्लाको हालको ठेगानानुसार रुरुक्षेत्र-५, सुन्डाँडामा भएको हो । काशीनाथ ज्ञवाली नै साहित्यिक क्षेत्रमा काशीनाथ मिश्रितका नामले स्थापित भएको पाइन्छ । त्रिविबाट नेपाली मूल विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका उहाँ गुल्मीकै कालीगण्डकी-५, फेक्सिङस्थित श्री जनकल्याण माविमा मावि तहको नेपाली विषय शिक्षकका रूपमा कार्यरत हनुहुन्छ भने साहित्यिक क्षेत्रमा उहाँका हालसम्म प्रकाशित कृतिहरूमा-रक्सी (खण्डकाव्य-२०५१), केही अभिव्यक्ति केही परिभाषा (सङ्कलन) शिवराज पौड्याल ‘भोकमरी’सँग सहलेखन (२०५९), दुर्भाग्य (महाकाव्य-२०६४), बोकाको मन (व्यङ्ग्य निबन्धसङ्ग्रह-२०७५) आदि हुन् । उहाँको लेखनका अनेक विधा छन् । कविता/काव्यका केही कृति प्रकाशोन्मुख अवस्थामा रहेको पाइन्छ । तापनि निबन्धमै उहाँको परिचय सर्वाधिक स्थापित भएको छ । मधुपर्क, शब्दाङ्कुर, वाटिका, हाम्रो पुरुषार्थ, समकालीन साहित्य, फित्कौली आदि पत्रपत्रिका एवम् अनलाइनहरूमा उहाँका लेख रचना प्रकाशन हुँदै आएका छन् । लेखनमा सशक्त रूपमा कलम चलाउने उहाँका चर्मचक्षुले भने खासै साथ नदिए पनि बढी मात्रमा दिव्य चक्षुमार्फत परिचालित हुनुहुन्छ । आफूलाई खासै प्रकाशमा ल्याइहाल्ने स्वभाव नपाल्नुभएका उहाँलाई आफ्नो साहित्यिक कर्मको साधना र समर्पणका कारण चन्द्रकुमार भट्टराई नेत्रहीन प्रतिभा पुरस्कार-२०५८, पोखराथोक साहित्य सङ्गम, पाल्पाबाट सम्मान-२०६६, अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा सम्मान-२०६९ आदि सम्मान पुरस्कार प्राप्ति भएका छन् भने प्रतियोगितात्मक कविगोष्ठीहरूमा समेत उल्लेख्य सङ्ख्यामा पुरस्कार हासिल भएको पाइन्छ । उहाँ नेपाल नेत्रहीन सङ्घ गुल्मी शाखामा २०५४ देखि संलग्न भई काम गर्दै २०६६ मा सोही शाखालाई गुल्मी नेत्रहीन सङ्घको रूपमा आफू अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ । त्यस्तै श्री साहित्य जागरण केन्द्र रुरुको स्थापना गरी हालसम्म अध्यक्ष हुनुहुन्छ । साथै शृङ्गेश्वर बहुमुखी क्याम्पसको आजीवन सदस्य, ज्ञवाली उद्गमस्थल संरक्षण केन्द्रको आजीवन सदस्य आदि उहाँका केही आबद्धता रहेका संस्था हुन् ।
साहित्यसम्बन्धी धारणा र बोकाको मनबारे चर्चा
काशीनाथ मिश्रितको साहित्यसम्बन्धी धारणा छ- “साहित्य समाजको ऐना हुनुपर्ने हो तर नभएको देख्दा दुःख अनुभव हुन्छ । स्वान्त सुखायका निम्ति मात्र नभएर समाजमा चेतना तथा जागरण फैलाउनका लागि साहित्यकारहरूले काम गर्नुपर्दछ । राजनीतिका पछाडि साहित्य दौडनुभन्दा पनि राजनीतिलाई अगाडि लगाएर साहित्यले खेद्न सक्नुपर्दछ । जस्तो कि बाँझो जोत्न नारिएका हल गोरु र हली । गोरुझैँ राजनीति अघि लाग्छ बाँझो पनि फोर्छ तर हलीले अनौँ समातेर गोरु खेदिरहेको हुन्छ । त्यसैले साहित्यकार हली हनुपर्छ गोरु होइन, गोरु त नेताहरू हुन् ।” साहित्यकार/निबन्धकार काशीनाथ मिश्रितको यो ससानो परिचय र उहाँको लेखनबारेको मान्यताका शब्दाधारपछि अब लागौँ ‘बोकाको मन’ छामछुम गर्नतिर ।
प्रस्तुत व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बोकाको मन’ भुँडीपुराण प्रकाशन काठमाडौँबाट २०७५ मङ्सिरमा प्रकाशित भएको हो कृति हो । प्रकाशकीय “‘काशीनाथ’हरू गाउँघरतिरै गुमनाम छन्”, नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन प्राज्ञसभा सदस्य नरनाथ लुइँटेलको “बधाई र शुभकामना” तथा सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागेको भूमिका “भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य” आदि लेखनले यस कृतिको गरिमा वृद्धिका निम्ति वास्तविक रूपमै सघाउ पुर्याएका छन् । प्रस्तुत निबन्ध सङ्ग्रहको निबन्धक्रम ‘मनको छाल पोख्न खोज्दा’ बाट सुरु भएर ‘ताक परे तिवारी नत्र गोतामे’ मा पुगेर टुङ्गिएको छ । यसमा लामा छोटा आयामका २४ ओटा निबन्ध समाविष्ट छन् ।
पहिलो निबन्धले नै धेरै पक्षमा व्यङ्ग्य प्रहार गरेको छ । साहित्यको स्तर घटेको र बकम्फुसे कुरा लेखेर पनि वरिष्ठ बनेका गजधम्मेहरूलाई भनिएको छ -फोस्रा, फत्तौरा कुरा लेखे पनि मधुपर्कका सम्पादकज्यूले छापिदिए स्तरीय । निर्लज्ज नाङ्गा कुरा लेखे पनि रङ्गमञ्चका सम्पादकज्यूले निकालिदिनुभए वरिष्ठ लेखक । आफूले पाइलो सारेको कुरा लेखे पनि निबन्धकार, सुतेउठेका कुरा लेखे पनि साहित्यकार-प्रतिष्ठानका उपकुलपतिलाई रिझाउन सके । एकातिर वर्तमान साहित्य लेखन भावगाम्भीर्य हराएर नारा बन्दै गएको छ भने अर्कोतिर जनजिभ्रोको भाषा भन्दैमा जथाभावी भाषाको प्रयोग भइरहेको छ । पुरानो साहित्यकारको पिँढी हराइसक्यो नयाँ साहित्यकारहरू उत्ताउला साहित्य रचना गरी सकेसम्म जनसाधारणलाई उत्तेजित पार्न खोज्छन् ।
अलिकति नियम र स्थायित्वमा अडिग रहन नसक्ने लुला लेखक भएर नै राष्ट्रले प्राप्त गर्नुपर्ने योग्य रचना प्राप्त गर्न सक्दैन । कविता पनि भन्न मात्रैका हुन थालेका छन् । पद्य त मनै पर्दैन, गद्य पनि उपन्यासका हरफ विभाजन गरेजस्ता लेख्छन् आजकलका साहित्यकारहरूले । न लय छ, न भावगाम्भीर्य । दोस्रो निबन्ध ‘टोपी’ शीर्षकमा छ । यसमा केवल शिरको शोभारूपी टोपीको बखान छैन, टोपीलाई मान्छेका विचारसँग उनेर घमन्डको, भलाद्मीपनको, छट्टुपनको र मपाइँत्वको भनी बताइएको छ । निबन्धांशले यो पनि भन्छ- आजकल अमरसिंह, बलभद्र, गङ्गालाल, दशरथ चन्द, शुक्रराज, धर्मभक्तका जस्ता टोपी लगाउन सक्ने नेपाली कोही छैन । न त यहाँ उनीहरूको जस्तो टोपीको महत्त्व बुझ्ने नै कोही छ । न त कोही ती वीरहरूले गर्दा नै आज नेपालीले विश्वकै टोपी लगाउन पाएको छ भन्ने सोचे । बरु त्यस्तो गौरवमय टोपीको सान खस्काउन अग्रसर हुन कोही किञ्चित हिच्किचाउँदैन । गौरवमय नेपाली टोपीको सान विश्वका कुनाकुनासम्म पुगेको छ भन्ने सबै बुझ्दछन् तापनि यसको महिमा उत्तिकै दिगो राख्नुपर्छ भन्नेतर्फ सोच्दैनन् । नेपाली मुकुट गौतमबुद्ध विश्वकै एक उत्तम टोपी ठहरिए तर त्यस्तो टोपी लगाउन सक्ने नेपाली धेरै जन्मिएनन् । टोपी भनेको या टुप्पी ढाक्न प्रयोग गरियोस् या टुप्पी नभएको नदेखाउन तर टोपी बेचेर टाई लगाउनु नेपालीत्व हुँदैन ।
तेस्रो निबन्ध हो-विश्वास । यसको निचोडमा यत्ति चाहिँ साभार गरौँ कि : जनताका अगाडि मुठ्ठी कसेर कसम खाएका नेताहरू सरकारमा जान्छन् शपथ ग्रहण गर्छन् देशको विकास गर्छौं भनेर तर खै अहिलेसम्म देश जहाँको तहीँ छ । जनतामा हाहाकार नै व्याप्त छ । यसैले मलाई लाग्छ सबभन्दा फोहर खानेकुरा कसम हो, किरिया हो । जसमा विश्वासको पित्कोसम्म छैन त्यसैले नै कसम खाने गर्छ । जस्तो कि जसको आय आर्जन र धन सम्पत्ति केही छैन उसैले जाँडरक्सी खाने गर्छ । जसमा विश्वास छ त्यसले कुनै हालतमा पनि कसम खानु पर्दैन । वीरहरू कसम खाँदैनन् बरु विष खानु परोस् र विश्वासको सट्टा अन्धविश्वास गर्न तत्पर हुँदैनन् ।
चौथो निबन्ध ‘बोकाको मन’ हो । मान्छेका सारा दुष्कर्म, नीति-नियम भङ्गता, मपाइँत्व, विकृत व्यवहार, सोच तथा आनीबानीका बारेमा बोकामार्फत व्यक्त गरिएको छ -सिङ र पुच्छर भएकाले हामीलाई जनावर भन्छौ तिमी तर तिम्रो अदृश्य सिङ र पुच्छर कति खतरा छ गहिरिएर विचार गर त । हामी दाम्लाले बाँधिएपछि त्यसैको अधीनमा रहन्छौँ तर तिमी दाम्लो छिनालेर मन्द्राउँछौ । त्यसो त तिम्रो र हाम्रो दाम्लोमा फरक छ । तिमी आफ्नो दाम्लो आफै बाट्छौ, हामी सक्दैनौँ । मैले सम्झाउन खोजेको के मात्र हो भने तिमी सधै कानुनको उल्लङ्घन गर्छौ । मर्यादा नाघेर काम गर्छौ । नियम मिच्छौ । त्यसैले हिंसातिर लाग्छौ । हामी हिंसा गर्दैनौँ । मलाई तिमीले काटे पनि म तिमीभन्दा परोपकारी छु ।
‘हेर्ने आँखाहरू’ पाँचौँ निबन्ध हो । आफ्नो जीवनको भोगाइसमेत मिसाएर यस निबन्धमा लेखकले हेर्ने आँखा र देख्ने आँखाबिचको साँच्चै गहन भिन्नता र मार्मिक चिरफार प्रस्तुत गरेको भान हुन्छ-आखिर मैले बच्चामा देखेको मोटरका ती हेर्ने आँखा नै रहेछन् । देख्ने आँखा त गुरुजीका पो रहेछन् । अहिले हेरेर पनि ऊ देखिरहेको छैन ।… तपाई सडकमा छउन्जेल सारा जनताको दुःख देख्नुहुन्छ तर हेर्नुहुन्छ सत्तातिर । जब कुर्सी भेट्नुहुन्छ अनि देख्नुहुन्छ आफै बन्ने र देश बिगार्ने सपना । हेर्ने आँखा जबसम्म देख्ने आँखा बन्न सक्तैनन् तबसम्म हामी जसको जे वाद आए पनि देश डुब्न थालेको देख्दैनौँ, जुन कुरा मेरो दृष्टिविहीन मित्रले पहिले नै देखिसकेका थिए । किनकि उनका हेर्ने आँखा नभए पनि देख्ने आँखा थिए ।
‘छोरीलाई चिठी’ छैटौँ क्रममा छ । काठमाडौँको कीर्तिपुरस्थित छात्रावासबाट घरमा अठार महिना मात्र उमेर भएकी आफ्नी छोरी परीक्षालाई आफू छत्तिस वर्षको बाबुले लेखेको चिठीको बेहोरा यसमा छ । अनेकानेक विषय प्रसङ्ग जोड्दै निबन्धकारले हाम्रो देशको राजनीतिलाई विकृत र निकृष्ट तुल्याउने पात्रलाई व्यङ्ग्य प्रहार गरेको पाइन्छ-हाम्रो देशको शिशु प्रजातन्त्र झैँ सधै शिशु भइरहने त हैनौ तिमी । कि यस्तै विचार छ र ? होइन, मैले त त्यसो हुन दिन्न । तिमी सधै शिशु भयौ भने त तिम्री आमाको अर्को भाइ जन्माउने रहर अधुरै रहला नि । त्यसैले आयोनुन खुवाएर भए पनि म तिमीलाई छिट्टै बढाउँछु अनि पढाउँछु । हाम्रा प्रजातन्त्रका बाबा जस्तो म हैन । उनीहरूले त नुन चिनी सबै आफूले खाएर पो प्रजातन्त्र शिशु नै रह्यो । कहिल्यै वृद्धि हुन सकेन त्यसको । म त्यसो हुन दिन्न । अहिले त त्यो मर्यो रे ! अर्को लोकतन्त्र भन्ने भाइ जन्माएका छन् । हेरौँ त्यो पनि उस्तै हो कि तन्नेरीसम्म हुन्छ ।
सातौँ निबन्ध हो-‘मलाई ‘ऐ’सित रिस उठिरहेछ’ । यहाँ भाषा विज्ञानसँग सम्बन्धित प्रश्न निरुपण हेतु उठाएका छन् । लेख्दा ऐन, ऐना, ऐच्छिक, ऐकिक, ऐतिहासिक, ऐजेरु आदि हुने शब्द बोल्दा भने सही उच्चारण नगरी एन, एना, एच्छिक, एकिक, एतिहासिक, एजेरु आदि उच्चारण गरेको देखेर यसलाई एैना जस्तै बनाएर लख्न पर्छ कि भन्ने प्रस्ताव छनिबन्धकारको-सिद्धान्ततः ऐ पनि अव्यावहारिक लिपिचिह्न भएकोले यस्तो भएको हो । त्यसैले मलाई ऐका प्रयोगकर्ताभन्दा निर्माताहरूसित बढी रिस उठिरहेछ । ठाउँमा एै बनाइदिने हो भने यस्तो त्रुटि हुँदैनथ्यो । भाषाको विद्यार्थी मात्र भएकाले हुने नहुने भन्ने सोच्न विशेषज्ञहरूलाई आग्रह गर्छु । ‘अ’ लाई दुई ओटा ( ै) दिँदा ‘ऐ’ लाई एउटै ( े ) दिनुको कारण यस्तो त्रुटि भैरहन्छ । भाषाको विशेषता पनि परिवर्तनशील हुनु हो नि ! हैन र ? त्यसैले ऐनालाई एना भन्नुमा पाठकको गल्ती छैन । एैनाको एै भएको भए के हुन्थ्यो र ? अब गलत उच्चारण गर्ने गुरुकै जमात ठुलो भइसकेपछि विद्यार्थीलाई जति डन्डा लगाए पनि उक्त व्यवहारमा सुधार हुँदैन । ऐजेरू लागेको रुख बिग्रे झैँ त्यो भाषामा पनि ‘ऐ’ रहिरह्यो भने ऐजेरू लाग्छ कि ?
आठौँ निबन्ध हो-लौरो । लौरोको अर्थ, प्रयोग, प्रकार र वादसम्मका चर्चा यहाँ आएका छन् । लौरो धारण गर्नेहरूकै सनकमा संसद् र संसार चलेको चर्चा निबन्धकारले गरेका छन्-टेक्ने र छेक्ने लौरालाई भने हतियारकै रूपमा हेरिनु सरासर अन्याय हुन्छ । नत्र भने लौरो नै हतियार, हतियार नै लौरो । दण्ड भन्ने शब्दले संस्कृतमा लौरो नै बुझाउँछ यता यही शब्दले सजाय भन्ने बुझिन्छ । अब तपाईँ नै भन्नोस् लौरो हरियार हो कि होइन ? खाने र लाउने भनिएको लौरो हतियार हो भन्ने कुरामा अब शङ्का छैन । लौरालाई हतियार घोषणा गर्न संसदमै जानु पर्दैनथ्यो । स्वघोषित हरियार थियो ।
नवौँ क्रममा छ-सम्भावना । नकारात्मक कुरालाई फरक तरिकाले भन्न सकिन्छ भन्ने प्रस्ताव अघि सारिएको छ-सम्भावना कुन कुराको छैन र ? भविष्यमा चन्द्रमामा पनि खेती होला । मङ्गलमा सहर बस्ला । शुक्रमा व्यापारिक केन्द्र खडा होला । अरुण वरुणमा यन्त्र फल्ने बिरुवा उम्रनन् । शनिमा ब्रह्माण्डकै ठुलो खेलमैदान निर्माण होला । पृथ्वीमा जतासुकै कार्बनडाइ अक्साइडले ढाक्ला । के भयो र ! यहाँका सबै मान्छे अन्य ग्रहमा सरुवा भएपछि कोही अकालमा नमर्लान् । यी सबै सम्भावना छैनन् र ? नत्र बिहानै रेडियोबाट राशिफल सुनेर साँझसम्म तपाईंको प्यारो मान्छेसँग भेट हुने सम्भावना छ पख्नोस् ल ।
‘कप्टेलवाद’ दसौँ निबन्ध हो । राजनीति, दर्शन, साहित्य, भूगोल आदि जता पनि आफूलाई कुनै न कुनै वादमा जोडेर लाभ लिन पल्केकाहरूलाई यसले तीव्र प्रहार गरेको छ-‘वाद’ जस्तो गहन शब्द उत्ताउलो भएको छ फेसन जस्तै । झन्डै चार इन्चको वस्त्र पहिरेर हिंड्ने सहरिया ठिटीभन्दा बढ्ता उच्छृङ्खल बनेको छ वाद । जनावरको पुच्छर र वादमा अब फरक नै छैन । केवल झिङ्गा धपाउनुमै रमाउँछ मात्र जनावरको ढाड समाउँछ । यो जहाँ जोडे पनि सुहाउँछ, जता गाँसे पनि सुन्दर छु भन्ठान्छ तर थाहा छैन यसलाई आफ्नो मूल्य र मान्यता कति खस्केको छ । सुन्दा पनि दिक्क लाग्दो हुन थालेको छ वाद । हेर्दा बुझ्दा त झन् कस्तो होला ? आफै कल्पना गर्नुहोस् । अझै त्यसलाई भित्रैबाट छाम्नुभयो भने त जिल्ल पर्नुहुनेछ । छाम्नुहोस् त एकपटक ।
क्रमश :
०००
Subscribe
Login
0 Comments
Oldest