आदिवासीहरू
तपाइँका राजाहरूलाई थाहा नहुन सक्छ बनाईसक्यौँ हामीले हाम्रा जीवन मृत्युका विधि विधानहरू परम्परा/मूल्य/मान्यता/संस्कार र संस्कृति ! निर्माण गरिसक्यौँ हामीले हाम्रो अस्तित्वको पहिचान अब त म आफै मुखिया भइसकेँ हजुर !
मौन आवाज :
सभ्यताको कठिन बाटोबाट आउनु भएछ
असाध्यै दुख्यो होला- पाइताला !
यो निर्जन जङ्गलमा
यो कहालीमा
काँडाका तिखा सुइराले घोच्चिएर
सर्वत्र च्यातिएछन्- तपाईंका आधुनिकता !
कति कोमल हजुरको काया
घामबाट जोगिएका अङ्ग/प्रत्यङ्ग
चिसो, कठोर स्याँठले नछोइएका
हजुरका गरम/गरम श्वास !
आउँदै गर्दा पहाडमा/हामी बसिरहेको यो भू-भागमा
माटोको दुर्गन्ध आउँछ भन्नु भो
उकालीमा ‘लु’ लाग्ला
बिस्तारै सवारी हुनुहोस् !
अँ, साँच्चै !
कसरी पो बरु बिराउनु भएछ बाटो ?
जानीजानी त कसले पो टेक्छ र विकटता ?
यता, हाम्रोतिर मानिसहरू कमै हिँड्छन्
तपाईंलाई देखेपछि लाग्यो
अब/बिस्तारै केही होला !
जस्तो कि
पोहोर हाम्रा मुखियाले
ल्याएका थिए केही आश्वासन-
– प्रत्येक दसैंमा एउटा खसी
– केही लत्ताकपडा
– जङ्गलैभरिको निर्वाध स्वतन्त्रता,
आदि/आदि ….
अब त हाम्रो मुखिया पनि मर्नु भो !
हुन त
मृत्युलाई परम्पराले नबचाउँने रहेछ …
मेरै अगाडि मेरा बा मरे
मरिन् आमा पनि
उहाँहरूको अन्त्यष्टि परम्परा अनुसारै गरेर
म/यता उछिट्टिएर आएँ यो जङ्गलमा ।
भन्दिन म
यो जङ्गलको लालपुर्जा मसँग छ
तर, मलाई यसको औधी माया छ ।
यदि सुनिन एकक्षण चराहरूको चिरबिर
म आत्तिन्छु
देखिंन यदि वृक्षहरू आश्रयहिन जस्तै हुन्छु
यदि हिँडिन उकालो/ओरालो
मृत झैं हुन्छु !
नदीहरूका कलकल ध्वनिहरू सङ्गीत हुन् मेरा
फूल/पात/लता/लहरा रमझम हुन् हाम्रा !
भन्न बिर्सिएँ
मैले यता आएर बनाईसकेँ मेरो बस्ती
बनाईसकेँ सामाजिक संरचना (!)
तपाईंको राज्यलाई
तपाइँका राजाहरूलाई थाहा नहुन सक्छ
बनाईसक्यौँ हामीले
हाम्रा जीवन मृत्युका विधि विधानहरू
परम्परा/मूल्य/मान्यता/संस्कार र संस्कृति !
निर्माण गरिसक्यौँ हामीले हाम्रो अस्तित्वको पहिचान
अब त म आफै मुखिया भइसकेँ हजुर !
यहाँ यो हाम्रो आदिभूमिमा
निक्कैबेर अल्मल गर्नुभो,
– कतै तपाईं सुराकी त हैन सरकारको ?
– कतै तिमी एजेन्ट त होइनौ बहुराष्ट्रिय कम्पनीको ?
– कतै तँ विखण्डनकारी त हैनस् हाम्रो मौलिकताको ?
खबरदार !
कर्पोरेट विश्वलाई भनिदिनू यहाँबाट फर्कंदा
अझै जीवित छन् आदिवासीहरू !
०००
गोरखा
इलस्ट्रेसन आर्ट : गुगलेश्वर