माैन आवाजढुङ्गा
ऊ कोमल थियो ऊ मान्छेको मात्रै होइन ढुंगाको पनि मन नदुखोस् भन्थ्यो ! किनकि मान्छे हुनुअघि ऊ ढुंगा थियो ! बारम्बार टुक्रिएर- चोइटिएर ऊ मान्छे बनेको थियो !

मौन आवाज :
अक्सर
ऊ रंगहरूको कुरा गर्थ्याे !
फूल पात र हरियालीको कुरा गर्थ्याे !
ऊ भन्थ्यो
सधैं भन्थ्यो
यो जिन्दगी सुन्दर दृश्य हो !
भन्थ्यो
यो जिन्दगी सुमधुर संगीत हो !
भन्थ्यो
यो जिन्दगी प्रेम र सद्भावको गीत हो !
हिँड्दा सुस्तरी हिँड्थ्यो
बोल्दा सुस्तरी बोल्थ्यो
भन्थ्यो
सख्त हुनु ढुंगा हुनु हो !
ऊ अक्सर हरियो घाँसमा पल्टिएर निदाउँथ्यो
आकाशसँग कुरा गर्थ्याे
बादल
बतास
घाम
पानी र माटोसँग कुरा गर्थ्याे !
भन्थ्यो
यो जिन्दगी प्रकृति हो !
भन्थ्यो
यो जिन्दगी माटो हो !
भन्थ्यो
यो जिन्दगी पानी हो
घाम हो
बतास हो
बादल हो
र इन्द्रेणी हो !
ऊ पहाडलाई निरन्तर भन्थ्यो
आँधीको बाटो नछेक !
ऊ बारम्बार भन्थ्यो
आँधी क्षणिक हुन्छ
आवेग क्षणिक हुन्छ !
नदीलाई किनारा देखाउँथ्यो-
र भन्थ्यो बिछोड पीडादायी हुन्छ !
ऊ बगरलाई हेर्थ्याे
र भन्थ्यो
यो जिन्दगी एक्लोपन होइन !
भन्थ्यो
यो जिन्दगी समुह हो
समुदाय हो !
भन्थ्यो
यो जिन्दगी घर हो- परिवार हो !
ऊ कहिलेकाहीं विगत सम्झेर
रुन्थ्यो
र भन्थ्यो आँशु भरिएको आँखा सजीव हुन्छ !
ऊ कोमल थियो
ऊ मान्छेको मात्रै होइन
ढुंगाको पनि मन नदुखोस् भन्थ्यो !
किनकि
मान्छे हुनुअघि ऊ ढुंगा थियो !
बारम्बार टुक्रिएर- चोइटिएर ऊ मान्छे बनेको थियो !
०००
गोरखा
स्टाेन कला : गुगलेश्वर
Subscribe
Login
0 Comments
Oldest






































