माैन आवाजएउटा कविको स्वीकारोक्ति
नजाने कति वर्षदेखि झूट बैमानी र/छलकपटको सहारामा कविता लेख्दैछु ! म स्वीकार गर्छु मैले विदेशीको हुण्डी खाएर देशभक्तिको कविता लेखेको हुँ !

म कवि हुँ र म स्वीकार गर्छु
जाडोको कविता
मैले सिरक ओडेर लेखेको हुँ !
म स्वीकार गर्छु
आँसुको कविता रक्सी पिएर लेखेको हुँ !
म स्वीकार गर्छु
तन्न अघाएको बेला
भोकको कविता लेखेको हुँ !
मनमा घृणाका असंख्य कुण्ठाहरु पालेर
प्रेमको कविता लेखेको हुँ !
छिमेकीको छानोमा पिसाब फेर्दै
सदाचारको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
स्वार्थको उपल्लो भूभागमा उभिएर
मित्रताको कविता लेखेको हुँ !
पापको पोखरीमा चुर्लुम्म डुब्दै
धर्मको कविता लेखेको हुँ !
पतित विचारको मसीबाट
नैतिकताको कविता लेखेको हुँ !
अश्लीलताको पराकाष्ठाबाट
शालीनताको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
राँगाको मासु चपाउँदै
अहिंसाको कविता लेखेको हुँ !
चुँडालेर फूलका थुँगाहरू
सौन्दर्यको कविता लेखेको हुँ !
रुखका हाँगाहरू भाँच्दै
अबोध चराहरू लखेट्दै
प्रकृतिको कविता लेखेको हुँ !
आत्मरतिको आवेगमा
दर्शनको कविता लेखेको हुँ !
स्थिर तलाउमा ढुंगा हिर्काएर
शान्तिको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
चिन्तन र विचारबाट स्खलित भएर
मैले कविता लेखेको हुँ !
भित्र भित्र विद्वेष र/विभाजनको विउ रोप्दै
बाहिर बाहिर सामाजिकताको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
न्याय/विधान साक्षी राखेर
मैले अपराधीहरुको पक्षमा कविता लेखेको हुँ !
म स्वीकार गर्छु
मैले घूस खाएर भ्रष्टाचार विरुद्ध कविता लेखेको हुँ
कमिशन खाएर दलाली विरुद्ध कविता लेखेको हुँ !
कामुक कामुक शब्दहरू प्रयोग गरेर
अमूर्त अमूर्त शब्दहरू प्रयोग गरेर
क्लिष्ट क्लिष्ट शब्दहरु प्रयोग गरेर
नजाने कति वर्षदेखि
झूट बैमानी र/छलकपटको सहारामा
कविता लेख्दैछु !
म स्वीकार गर्छु
मैले विदेशीको हुण्डी खाएर
देशभक्तिको कविता लेखेको हुँ !
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest









































