सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

योगमायादेखि तीर्थराजसम्म

चेतना आउन र लेराउन समय र परिस्थिति बाधक होइनन्, बाहना मात्र हुन् भन्ने पाठ सिकाउछन् यी दुई कृतिहरूले । लेखेका कुरा आधिकारिक हुन्छ । यदि त्यो मैले आफ्नो व्यवहारमा लागु गरिन भने म अर्को पटक यस्ता कुरा लेख्नलायक हुँदिन । व्यवहारमा नै उतार्न त झनै असम्भव झैँ लाग्छ ।

Nepal Telecom ad

कर्कलो र निगुरो सिस्नाहरूका मुन्टा
दुखीले खानु सुत्नु आनन्दीका गुन्टा
– निलम कार्की निहारिका (योगमाया)

कहिले राजा रिझाएर पगडी लाइयो,
कहिले यजमनी गरेर खुब खाइयो
– तीर्थराज अधिकारी (मुक्तकमणि)

५, १० हुँदा हुँदै १५ वर्ष बित्यो हामीले क्यानडामा बसोबास गर्दै आएका नातेदारलाई भेट्न जाने योजना बनाएको । त्यसै ताका हो फाट्टफुट्ट रचना फुर्न के थालेका थिए, मेरो मनमा आफ्नो एउटा पुस्तक प्रकाशन गर्ने इच्छाको बिजारोपण भएको ।

यसै बिचमा धेरै पानी बग्यो म बसेको सहर भएर बग्ने लामो मिसिसीपी नदीमा । त्यही नदीको किनारामा बसेर म नदी भन्दा लामो भावनामा बग्थें । लुजियाना राज्यको १५ वर्षको बसोबास छोडेर हामी पनि दक्षिण फ्लोरिडाको वेस्टपाम बिचमा बसाइ सर्‍यौं । आन्ध्रमहासागरको तटमा अवस्थित यो सहरमा आएपछि त मेरो भावनामा विशाल छालहरू आउन थाले । तीन चार पटक नेपाल भ्रमण गर्‍यौं । हाम्रो परिवारमा पनि धेरै जोड घटाउ आए । विरहका वर्षहरू आए र खुशीका पलहरू पनि आए । बिछोडका बाणहरू पनि बर्सिए भने जिउने प्रेरणाका स्रोतहरू पनि भेटिए । क्यानडाको सालीको परिवार सङ्ख्या चार भयो । अब हाम्रो धैर्यताको बाँध पनि टुट्दै गयो । क्यानडा उड्ने योजना अब सार्वजनिक बनाइयो । तर अझै कार्यान्वयनमा आउन भने सकेको थिएन ।

मैले पनि साहित्यमा केही लेखनीय काम गरेँ । कथा, निबन्ध, कविता, गीत, भजन, गजल र मुक्तकहरू लेखेँ । भए जति सबै बिधामा हात हालियो भनुम न । हात त हालियो तर हात लाग्यो सुन्ना भने जस्तै भयो । केही फेसबुकमा, अनलाइन र केही साप्ताहिक पत्रिकाहरूमा छापिए । ती मध्ये केही उल्लेखनीय रहे । आफूले अरुका धेरै पुस्तकहरू अडियोमा सुनेँ, अनलाइन पढेँ, केही पुस्तक फोगटमा त केही किनेरै पढेँ । केही मातृ (नेपाली) भाषाका, केही भात्री (हिन्दी) भाषाका त केही रात्री (अङ्ग्रेजी) भाषाका थिए । मलाई अङ्ग्रेजी भाषाका पुस्तकहरू पढ्न थालेपछि निन्द्रा लाग्ने हुनाले म अङ्ग्रेजीलाई रात्री भाषा भन्छु ।

हाम्रो अनेकन योजना हुँदाहुँदै पनि समयले पर्खिएन । भन्दाभन्दै सन् २०२२ को अन्त्यतिर पुगियो । यसपालीको हिउँदे बिदामा क्यानडा जाने हवाई टिकट खरिद गरेर यो कार्यक्रममा लालमोहर नै लगाइयो ।

यात्रामा बाधा अड्चन, आँधीबेहरी त आइरहन्छ भन्थे । हाम्रो त यात्रा शुरु हुनुअघि नै उडायो सपना सबै हिँउदे हुरीले । ४० बर्षपछि आएको यो बिपत्तीले हाम्रो १५ बर्षमा जुरेको यो अवसरको मजाक उडाएर गयो । अधिकांश उडान रद्द भए । क्यानाडा र अमेरिकाका धेरै शहरहरूमा सबथोक ठप्प भो । उग्र ठन्डीले कति मानिसहरूले ज्यान पनि गुमाए ।

अफिसमा ७ दिनलाई क्रिसमसको बिदा थियो नै । त्यसमाथि रुघाले ग्रस्त पारेर तीन दिन त घरभित्रै थन्काइदियो । सन् २०२० माकोरोनाले यसैगरी आफ्नै आँगन वरिपरि लक्ष्मण रेखा खिचिदिएको बेलामा मौलाएको मेरो साहित्यिक यात्रामा थप उर्जा दियो यो फुर्सदले । केही हप्ताअघि तीर्थ दाइले पठाइदिनु भएको पुस्तक ‘मुक्तकमणि तीर्थराज अधिकारी’, सुनिता भाउजूबाट पैँचो गरेको पुस्तक ‘योगमाया’ र छोरीले जन्मदिनमा उपहार दिएकी पुस्तक ‘Into Thin Air’ पढेर तीन फरक बिधामा थप ज्ञान बढाएँ । समयको सदुपयोग पनि भयो ।

तीर्थराज अधिकारीको बारेमा विभिन्न व्यक्तित्वहरूले उहाँको साहित्यिक यात्राको चर्चा गर्ने क्रममा साहित्यकारको पेशागत र पारिवारिक जीवनलाई पनि समेटेको रहेछ यो पुस्तकमा । ठ्याम्मै नपढेको भन्न पनि मिल्दैन, मैले उहाँका मुक्तकहरू यसभन्दा पहिले पनि पढेको थिएँ तर पनि उहाँसँग मुक्तकको मणि नै छ भन्ने चाहिँ थाहा थिएन । उहाँका रमाइला ठोक्तकहरूदेखि माया प्रेमले ओतप्रोत भएका मुक्तकहरू, अनि सामाजिक र राजनैतिक बिसङ्गतिहरूलाई झटारो हान्ने घोच्तकहरू पस्कदै गरिएका समीक्षा पढ्न पाइयो । तर मलाई अझै प्रभावित पारेको चाहिँ उहाँको पारिवारिक जीवनीले हो भन्छु । म तीर्थराज अधिकारीको बारेमा पढिरहेको थिएँ । पुस्तक पढ्दै गर्दा यसको पात्र उहाँ हुनुहुन्थ्यो तर त्यहाँ मेरो स्वर्गीय पिताश्रीको चरित्र चित्रण भएको महसुस गरेँ मैले । समकालीन, उस्तै पारिवारिक पृष्ठभूमिबाट उठेर भएका जागिरे जीवनका संघर्ष, चार चार सन्तानको उज्जल भबिष्यको सपना, एउटा लक्ष्य, त्यो अठोट अनुसारको योजना र मेहिनत र अन्तमा सफलता सबै उस्तै । आफैमा एउटा आदरणीय र अरुको लागि उदाहरणीय व्यक्तित्व पाएँ मैले तीर्थराज अधिकारीलाई यो पुस्तक पढेपछि ।

तर मुक्तकमणि तीर्थराज अधिकारीको शिक्षाप्रतिको लगाब र सफलताको प्रशंसाको पुल बाँधिरहँदा उच्च बिचार, सकारात्मक सोच र व्यवहारिक ज्ञान शिक्षाबाट मात्र प्राप्त हुन्छ भन्ने मेरो भ्रम निलम कार्की निहारिकाको ‘योगमाया’ पढेपछि निवारण भयो । आज भन्दा सय बर्षअघि, एउटा दुर्गम क्षेत्रमा ७ वर्षको उमेरमा कन्यादान गरेर नौ डाँडा कटाइदिएकी एक नाबालिकाको साहसको कथा हो ‘योगमाया’ । महिला अधिकार र सामाजिक विकृति विरुद्ध आवाज उठाउने एक अशिक्षित महिलाको हिम्मतको कथा हो ‘योगमाया’ । आधुनिक महिला र पुरुषमा पनि नभेटिने त्याग, तपस्या र बलिदानको कथा हो ‘याेगमाया’ । ६५ जना अघोषित र अलिखित शहिदहरूको जीवनी हो ‘याेगमाया’ । ‘याेगमाया’ की ठूली हजुरले जस्तै समाजका कुसंस्कारका विरुद्धमा आफ्ना तिखा शब्दरुपि बाणहरू बर्साउदै आउनु भएको छ तीर्थराजले पनि ।

महाराज छन् दर्बारमा हेर्न आउँदैनन्
दुखीजनले निआँ निसाफ सिधा पाउँदैनन्
जागिरदार लोभी छन् निआँ हेर्दैनन्
मर्नुपर्ने शरिर हो बिचार गर्दैनन् ।
– योगमाया

हुन्न त्यसै यो देशमा चारतर्फी विकास
जैलेसम्म समाजमा छैन निकास
भ्रष्टाचार गर्‍यो भने जानु पर्दछ नरक
अर्थलाई स्वार्थबाट राखौँ फरक ।
-तीर्थराज अधिकारी

चेतना आउन र लेराउन समय र परिस्थिति बाधक होइनन्, बाहना मात्र हुन् भन्ने पाठ सिकाउछन् यी दुई कृतिहरूले । मेरो बुबा भन्ने गर्नुहुन्थ्यो, “Be good, do good and feel good अर्थात असल बन, राम्रो गर अनि आनन्द महसुस गर । यो नै सुख हो ।” यो भन्न जति सजिलो छ, लेख्न त्यो भन्दा अलि गाह्रो छ । किन कि लेखेका कुरा आधिकारिक हुन्छ । यदि त्यो मैले आफ्नो व्यवहारमा लागु गरिन भने म अर्को पटक यस्ता कुरा लेख्नलायक हुँदिन । व्यवहारमा नै उतार्न त झनै असम्भव झैँ लाग्छ । तर हाम्रा हजुरबा र हजुरआमाले असम्भव देखेका कुरा हाम्रा बा र आमाले सम्भव भएको देखे । हाम्रा बा र आमाले असम्भव देखेका कुरा हामीले लागु भएको देख्यौँ । हामीले तीन चार दशक अघि कल्पना मात्र गरेका कुराहरू अहिले व्यवहारमा प्रयोग भैराखेका छन् । अब अहिले हामीले सोचेका कुराहरू भोलि पुरा हुनेछ । त्यसैले सधै सकारात्मक सोच राखौँ । संघर्ष जारी राखौँ ।

यहि धर्म हो र यही नै खुशी रहने सुत्र हो भन्दछ यी पुस्तकहरूले ।

०००
वेस्ट पाम बिच, फ्लोरिडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
चौथो विश्वयुद्ध

चौथो विश्वयुद्ध

डा.अमर कार्की
भन्छिन् मेरी बुढी

भन्छिन् मेरी बुढी

डा.अमर कार्की
चार ठोक्तक

चार ठोक्तक

डा.अमर कार्की