साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्यको प्राथमिक कालको निरूपण

हास्यव्यङ्ग्यको प्राथमिक कालमा पाइएका लिखित सामग्रीहरूबाट यसको राम्रै विकास हुन थालेको देखिएको छ । हो हास्यव्यङ्ग्य नै भनेर लेखिएको रचना भने यस कालमा पाइन्न ।

Nepal Telecom ad

होम सुवेदी :

नेपाली भाषामा हास्यव्यङ्ग्यको श्रीगणेश नेपाली साहित्यको प्राथमिक कालबाटै भएको हो । भानुभक्त भन्दा पनि पहिलेदेखि नै यसको कुनै न कुनै रूपमा चलन हुन थालेको हो । हो यो अन्तर्विधात्मक रुपमा अघि आउने एक प्रकार हो । साहित्यबाहेक पनि यसको अस्तित्व हुन सक्छ तापनि यसलाई र यसको इतिहासलाई पनि साहित्यसँग जोडेर हेर्नु पर्ने बाध्यता छ । यसर्थ यसको इतिहासलाई नियाल्नु पर्दा पनि साहित्यसँग जोडेर नै हेर्नु पर्छ । जुनसुकै लेख्यसामग्रीमा यसको अस्तित्व हुन सक्छ तर पनि खास गरी साहित्यमा यसको अधिक प्रयोग हुने हुँदा यसको इतिहास साहित्यसँग जोडिन्छ । यसको इतिहास कोट्ट्याउन पनि साहित्यसँग नपुगी धर हुन्न ।

नाना कथनहरू र नाना उक्तिहरुमा यिनको वा हास्य र व्यङ्ग्यको अस्तित्व मानवको आदिकालदेखि रहेको थियो भन्नमा दुविधा छैन । आदिम अवस्थाको मान्छे हाँसेन होला र उसले ठट्टा गरेन होला भनेर कसले भन्छ । अवश्य पनि हाँसखेल हसिमजाक ठट्टा रमाइलो गर्ने प्राणी मनुष्य हो यसैले उ बेला पनि यो काम उसबाट भएकै थिए । अहिले ता हुने नै भयो । यसैले हास्य व्यङ्ग्य मानवको आदिकालसम्म जोडिन सक्छ भन्नमा कुनै सन्देह नराखे हुन्छ । जहाँ हाँस्यो जहाँ ठट्टा गर्‍यो हास्य र व्यङ्ग्य भइसक्यो । यसैले भाषाको इतिहाससँगै यसको साइनो पुग्न सक्छ भन्न सहजैसँग सकिन्छ । तर हाम्रा अघि यस्ता कुराका तथ्य र प्रमाण भने उपलब्ध हुन्नन् जसरी त्यो आदिम कालको संस्कृति र भाषाको रुप हामीलाई दुर्लभ छन् त्यो बेलाका हसीमजाकका युक्तिप्रयुक्तिहरू पनि पाइन्नन् । अलिखित अवस्थाका यस्ता सामग्रीहरू यसो हुनाले नपाइनु स्वाभाविक पनि हो ।

पछि आएर जब साहित्य लेखनका क्रम सुरु भए अनि यो पनि लेखिन थाल्यो । यसलाई लेखेर पनि प्रयोग गर्न थालियो । साहित्यको प्रकार बाँड्दा साहित्यभित्रका भावहरूको पर्गेलो लाउन थालेपछि हास्यका कुरा वक्र उक्तिका कुराहरू व्याजस्तुतिका कुराहरू आउन थाले । अनि साहित्यको प्रकारसँग यसको पनि पाटो छुट्टिन थाल्यो ।

हास्य रस हो भने व्यङ्ग्य भनेको उक्तिवैचित्र्य हो । दुबै कुरा अलग भएर पनि साहचर्य छ यिनका माझमा । हास्यसँग व्यङ्ग्य नभए पनि हुन्छ र व्यङ्ग्यका साथमा पनि हास्य नहुँदा पनि हुन्छ तर बङ्ग्याइँको कथनबाट वा उक्तिवैचित्र्यबाट अथवा छेडखानीबाट हाँसो उब्जन्छ वा बाङ्गो चरित्रको चित्रण गर्दा हाँसो पनि जन्मन्छ । यसैले यी दुई अहिले सहोदर दाजु भाइ जस्ता एकातिर छन् भने अर्कातिर यी अलगअलग परिचय लिएर पनि आफूलाई जोगाइराख्न सक्छन् । वस्तु चरित्र वा व्यक्तिको चरित्रमा अलिकति टेढामेढा कुरा गरियो भने अलिकति छेडखान बिब्ल्याँटो र घोचपेच गरियो भने व्यङ्ग्य हुन थाल्छ र हाँसोको पनि उदय हुन थाल्छ । यसैले यी सँगै जन्मेका जस्ता देखिन्छन् तापनि यिनीहरूको प्रकृति नितान्त फरक हुन्छ । सँगसँगै आउने र उस्तै कुरासँग यिनको साइनो रहने हुँदा यी अहिले अभिन्न जस्ता देखिएका छन् । उम्रने क्षेत्र र फैलने फाँट एकै एकै हुनाले वा साथै आउने हुनाले नै हास्य व्यङ्ग्य भन्न थालिएको हो । यसरी एकै ठाउमा भन्नु रहनुलाई विधर्मीहरूको एकात्मक मिलान गरेको अवश्य पनि हैन । हास्यको आफ्नो पल्लो छेउ भनेको पाठकलाई हँसाउनु हो भने व्यङ्ग्यको भित्तो भनेको घोचपेच गर्नु नै हो । यसैले हँसाउँदा छेडखान पनि साथमा आउने भएकोले सहोदर दाजु भाइका रुपमा यिनको चलन र काम पनि अहिले देखिएको छ ।

नेपालीमा हास्य व्यङ्ग्यको इतिहास हेर्दा अलिक लामै छ । यी दुईको कथ्य वा व्यावहारिक आरम्भ त अनादिनकालदेखिको हो भनेर भनियो नै तर लेख्य आरम्भ भने नेपाली साहित्यका प्राथमिक कालका कतिपय रचनाहरूबाटै हुन थालेको देखिन्छ । हाँसोबाट अलिकति बाङ्गो कविता कथा नाटक निबन्ध आदिमा यो अघि आएको छ । कालको विभाजन गर्नु पर्दा नेपाली हास्यव्यङ्ग्यको पनि अरु विधाहरुकै जस्तो अज्ञात नै छ । तथापि यसलाई पनि कालक्रमिक रुपमा अध्ययन गर्नु पर्दा प्राथमिक काल भनेको अज्ञात अवस्थादेखि १९५८ सालसम्मलाई लिनुपर्छ ।

चरित्रको उटुङ्ग्याइँ स्वाभाविक अवस्था भन्दा भिन्न अवस्थाको बयान आदि टेढो उक्तिले भरिएको १८५५ विसं तिर संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको नाट्य रचना हो हास्य कदम्ब । पृथ्वीनारायण शाहका दरवारिया पण्डितका रूपमा रहेका शक्तिबल्लभ यर्ज्यालका अरु रचना पनि यसै प्रकृतिका छन् । हास्य कदम्बमा सामान्य कुरालाई बिब्ल्याँटो चालले बयान गरिएको छ । उनकै तनहुँ भकुन्डो पनि हास्य र व्यङ्ग्यको नमुना हुन सक्छ । अतः लेख्य सामग्रीमा हास्यव्यङ्ग्यको थालनी यही सामग्रीबाट भएको अहिलेसम्म मानिने गरिएको छ । कथ्य सामग्रीको कुरा ता भाषाको आरम्भबाटै थियो भन्ने माथि नै भनिसकिएकै छ ।

नेपालको एकीकरणसँग जोडिने कवि रचनाकारहरुमा सो समयका जोधाहरुको सामुन्ने कोही पनि नटिक्ने भन्ने जस्तो कथनहरू आएर व्यङ्ग्यधर्म कविता वा उक्तिहरुमा समावेश भएको भान हुन्छ । यसैले नेपाली हास्यव्यङ्ग्यको थालनीका चेष्टाहरु नेपाली साहित्यको प्राथमिक कालका रचनाहरुमा देखिन्छन् । सुवानन्ददास साँढ्याका कवि उदयान्द अर्याल गोर्‍या सिरभ मानवीर खत्रीहरूका रचनामा हास्य त मजासँग भेटिन्छ साथै व्यङ्ग्य पनि छास्सछुस्क देखा पर्दछ ।

मन्त्री सागल खनाल छ बाला
पाँचको त सब गन्ती न चाला
कालु जैसी खरिदार तराला
तेस ढङ्ग तनहूँ कति खाला ।

यसो भनेर शक्तिबल्लमले सागर मन्त्री बालकै छ पञ्चभलादमीको कुनै गन्ती नै छैन रङ्ग न ढङ्गका कालु जैसी खरिदारहरुको साथले तनहूँ कति चलाउलान् र भनेर छेडखान गरेको देखिन्छ । यसरी हास्यका साथ व्यङ्ग्यको छिपछिपे मिश्रण यहाँ देखिन्छ ।

गुमानी पन्तले नेपाली हिन्दी कुमाउनी र संस्कृतको खिचडी भाषाका कविता बनाएर राम्रो हास्य सिर्जना गरेका छन् र हास्यव्यङ्ग्यको यस कालको राम्रो उदाहरण पेस गरेका छन् ।

खान्छा भात जमोलि वासमतिको घीउ बडा लोचई
धोई दाल बट्याल शाग चटणी कालो जुदो टप्किया
गाडो दै भलि खीर लस्कनि फिरी मुठ्ठी भरी दक्षिणा
बिता सोलशराध हाय छिन मे आकाशवाणी भई ॥

अन्य अर्थ जे भए पनि मिठो मसिनो चिल्लो चापुल्लो खान पाइने र दान दक्षिणा पनि पाइने सोह्र श्राद्ध सकिएकोमा ब्राह्मणहरूबाट हुन सक्ने वा उनीहरूले गरेको दुखेसो पनि यस पद्यमा देखिन्छ र उनीहरुमाथि अलिकति भित्री कटाक्ष गरिएको छ ।

दिन दिन खजनाका भारिका बोकनाले
शिव शिव चुलिमेका बाल नै ऐक कैका
तदपि कुहर तेरो छोडि नै कोइ भाजा
इति वदति गुमानी धन्य गोर्खाली राजा ॥

यस पद्यमा गुमानीले खिचडी भाषाको प्रयोग गरेर हास्यका साथ व्यङ्ग्यलाई पनि उब्जाएका छन् । चाहे इन्दिरसका कविता हुन् चाहे हीनव्याकरणी विद्यापतिका कविता हुन् चाहे सुन्दरान्द बाँडाका कविता नै किन नहुन् कतै न कतै कुनै न कुनै रुपमा हास्य र व्यङ्ग्यको बाछिटाहरू परेकै देखिन्छन् ।

साँच्चैका हास्यव्यङ्ग्यको प्राथमिक कालीन स्रष्टा भनेका भानुभक्त र ज्ञानदिनलास हुन् । भानुक्तका कवितामा शासकहरूलाई वा ठालुहरूलाई राम्रो कटाक्ष छ । हास्य भन्दा बढी व्यङ्ग्य छ । अकारण थुनामा परेको बेला पाएको दुखलाई उनले गरेको वक्रोक्ति वा व्याजोक्तिका माध्यमबाट हास्यव्यङ्ग्य निकै राम्रो उद्रेक भएको छ । भोलिवाद मानेर अल्छी गर्ने पदाधिकारीहरूलाई प्रत्यक्ष झटारो हानेका छन् । उनका रचनाहरू बार बार उद्धृत हुने गरेकोमा यहाँ उद्धृत गरिरहने आवश्यकता रहेन । यद्यपि हास्यव्यङ्ग्य नै भनेर लेखेका रचना नभए पनि उनका कतिपय फुट्कर लामा रचनाहरुमा यो भाव निहीत छ यसैले हास्यव्यङ्ग्यको यस कालका भुलिनसक्ना रचनाहरू उनका पाइएकोले हास्यव्यङ्ग्यको प्राथमिक काल निकै मलिलो बनेको छ ।

प्राथमिक कालका प्रखर व्यङ्ग्यकारका रुपमा ज्ञानदिलदासको नाम सर्वाधिक माथि छ । सन्तभक्तिधाराको नेपाली कविताको इतिहासमा ज्ञानदिलदासलाई प्रमुख मान्नुपर्छ । उनका रचनहरुमा उनले धार्मिक सुधार गरी समाजको उत्थानका लागि कलम चलाउने क्रममा सामाजिक आडम्बरीहरुमाथि कडा कटाक्ष गरेर तिखो व्यङ्ग्य गरेका छन् । देखावटीमा धोती पाटा फेरेर बाख्रो खान चुलामा चढ्ने बाहुनहरु र तत्वादको झ्याँको झारेका छन् ।

प्रातै उठी समाधि पशुघात पूजा
मासु भात नैवेद्य खान्छन् ठुला बूजा
भान्सामा बाख्री पाक्यो धोतीपाटा फेर्छन्
सूझ न बूझ उसै बकवाद गर्छन् ॥

यसरी ज्ञानदिलदास १८७८ ले देखावटी धर्मकर्म गर्नेलाई पाखण्डी ठान्दै यस पाखण्डवादको घोर विरोध गरेका छन् र तिखो व्यङ्ग्य गरेका छन् । जोसमनी सन्तसाहित्यका प्रणेता यिनका रचनाहरु समाज सुधारमा केन्द्रित छन् । हास्य भन्दा पनि व्यङ्ग्यधर्मिता यिनको रचनामा अधिक पाइन्छ । यिनका साथमा यस कालमा यसै पन्थका अनुयायीहरूबाट रचिएका रचनाहरूमा पनि व्यङ्ग्यधर्मिताको झलक पाइन्छ । यस कालका फुट्कर रचनाहरु मध्ये लालबहादुर आउँमासी १९१२ को नाम पनि अगाडि नै आउँछ । उनले नेपाल र भोटको लडाइँमा नेपाली प्रशासन र शासक वर्गमाथि निकै तिखो व्यङ्ग्य गरेका छन् ।

मन्त्री भए कच्चा केही नजान्ने
सिपाहीले भनेको कत्ति नमान्ने
डिपुटी तोप उँभोतिर तान्ने
वैरीलाई देखेर डरै मात्र मान्ने ॥
घटिया सपना एकदुइले पाया
लेटरको सिपाहिलाइ पट्टीमा मिलाया
भाला बर्छा हातमा घुयेँत्राका डोरी
हान्न लागे भोटेहरु बन्दुकका गोली ॥
नयाँ परे सिपाही कबाद् नजान्न्या
टाढैबाट भोटेलाई गोली नहान्न्या ॥

राजीवलोचन जोशी १९०५ ले लक्ष्मी पार्वती संवादमा लक्ष्मी र पार्वतीका पति अर्थात् महादेव र विष्णुका रुप गुणहरुको धुलो काडेर वणर्न गरेका छन् । तिनका रनामा कटाक्ष छ र गतिलो व्यङ्ग्य छ । यसमा हास्य पनि पर्याप्त मात्रामा समाहित छः

लक्ष्मीको पार्वतीमाथि कटाक्षः

एक् दिन् पार्वतिलाई लक्ष्मि खुसि भै बोल्दि भइन् येति बात्
फुस्राको भन हाल भाँड धतुरो मल्दा कठोर् देख्छु हात्
तुम्बा खप्पर झोलि ली घरघरै गै मागि भिक्षा कती
ल्याऊँछन् भन पेट भर्पुर गरी खान्छ्यौ आधा जती ॥

यसमा पार्वतीको व्यङ्ग्यः

बोल्छिन् पार्वति हाँसि लक्ष्मिकन ता भालूकि छोरी जहाँ
स्त्री घाती हलिका त भाइ कपटी बस्छन् ती गोकुल् महाँ
गोपीनीहरूको छ सङ्गत सदा गाई चराई जहाँ
गोठाला दहि चोर खोजि गरदै जोगी गया हुन् वहाँ ॥

लक्ष्मीको कटाक्षः

भन्छिन् लक्ष्मी मसानवासि गहना नाग् सर्पका धारन्या
नाङ्गा अम्बली गोरु माथि चढि जीब् सहार् गरी मारन्या
साथी भूत पिसाच नित्य सँगमा तेस्ता पती पाउनू
ठूलो भाग्य अहो नवीन मृगका छाला सदा लाउनू ॥

पार्वती झन् के कम

हे लक्ष्मी दिदि बाघ् बदेल कछुवा माछा पती पाउनू
येक् नारी पति धेर् बडो असल हो दूर्लभ् छ येस्तो हुनू
जोगीका गहना त चन्द्र शिरमा छन् दाज्यु तिम्रा तहाँ
कानाका गहना त झाउ रतिका माला पंकाश् छन् वहाँ ॥

यसरी हास्यव्यङ्ग्यको प्राथमिक कालमा पाइएका लिखित सामग्रीहरूबाट यसको राम्रै विकास हुन थालेको देखिएको छ । हो हास्यव्यङ्ग्य नै भनेर लेखिएको रचना भने यस कालमा पाइन्न तर अन्यविधाहरूमा यसको समाविष्टता छताछुल्ल छ । युद्धका सन्दर्भ सामाजिक र सांस्कृतिक सन्दर्भ तथा धार्मिक सन्दर्भहरूका वणर्नमा हास्यव्यङ्ग्यले साहित्यका कविता वा नाटक विधाहरूबाट आफूलाई उठाएको छ ।

देशले लडाइँको काम सकेपछि जनताको र देशकै ध्यान युद्धबाट अन्यत्रतिर मोडियो । शासकहरू भोगविलासमा लागे । दरबारमा अब भोग विलासका कुरा हसीमजाकका कुरा र रामरमिताको आवश्यकता पर्न थाल्यो । आजको एक ठाउँमा बसेर हातमा जे पायो त्यही हेर्न पाउने सुविधा ता थिएन । यसैले त्यस्ता सामग्रीको माग हुन थाल्यो र लेखकहरुको त्यतातिर जान थाल्यो । यसपछि हास्यव्यङ्ग्यका पनि दिन फिर्न थालेका छन् । यसैले प्रेस पत्रपत्रिका अध्ययन नव चिन्तनका सोच लिएर देखा परेका युवाहरूको आगमन हुन थाल्यो । यसो भएपछि वा राणाहरूले दरबार कब्जा गरेपछि तिनलाई ठट्टा रमाइलोको आवश्यकता पर्दै गयो । यो एक कारण र यसबाहेकका अनेक कारणहररूबाट हास्यव्यङ्ग्यको इतिहासमा माध्यमिक काल सुरु हुन थाल्यो ।

क्रमशः

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x