कृष्ण प्रधान‘चित्रगुप्तको गुप्तचित्र’माथि समीक्षात्मक कैरन (१)
देवकोटाको ‘भलादमी’ निबन्ध स्मरण गर्दै बेहिसाब भलादमीहरूको फेहरिस्त प्रस्तुत गरिएको पाइन्छ भने ‘सित्तैँका ढाडेहरू’ ले ढाडे नै अहिले साँढे भएर हाम्रो सुन्दर कोठेबारी माडिरहेको वस्तुतथ्य हाम्रै अगाडि राखिदिएका छन् ।

कृष्ण प्रधान :
परिचयाङ्कन –
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्धकारको रुपमा अर्जुन निरौला असम (पानीभण्डार, विश्वनाथ निवासी) को नाम उच्चारण नगर्नु हो भने गतिलो अन्याय हुन्छ । अर्जुन निरौला असम भेकका सशक्त व्यङ्ग्यकार हुन् ।
पिता नन्दलाल निरौला र माता पवित्रा निरौलाको कोखबाट भूमिष्ठ भएका अर्जुन निरौला हास्यव्यङ्ग्य निबन्ध लेख्नुका साथै नेपाली, असमिया र हिन्दी भाषामा कविता, निबन्ध, हास्य-व्यङ्ग्य लेखी आफ्नो छुट्टै प्रतिभा मुठ्याउन सफल बहुभाषी साहित्यकार हुन् । यिनका नेपाली, असमिया र हिन्दी भाषामा कविता, निबन्ध, हास्य-व्यंङ्ग्यहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएको पाइन्छ । यिनका प्रकाशित कृतिहरू यस प्रकारका छन् –
१) हजुरबाको अनुहार र पेन्सन (कविता, नेपाली २०१६)
२) चित्रगुप्तको गुप्तचित्र (व्यङ्ग्यनिबन्ध सङ्ग्रग्रह, नेपाली २०१७)
३) अल एबाउट फेल्टु (हास्यव्यङ्ग्य रचना सङ्ग्रह, असमिया, २०२१)
निजी मौलिक कृतिहरू बाहेक पनि बहुप्रतिभाशाली स्रष्टा एवम् द्रष्टा अर्जुन निरौलाले विभिन्न पत्र-पत्रिका, स्मारिका तथा अभिनन्दन ग्रन्थ समेत सम्पादन गरेका छन् । ती निम्नलिखित छन् –
स्मारिका- ‘मीत’ (असम-नेपाल साहित्यिक मितेरी समारोह, २०१३); स्मारिका- ‘कलश’ (राष्ट्र जागरण एवं संस्कृति संगम- २०१५, बहुभाषिक); ‘लोकाञ्जली’ (सहयोगी सम्पादक, डा० लोकनाथ शर्मा स्मृतिग्रन्थ, २०१७); ‘गजल यात्रा’ (असमका वर्तमान नेपाली गजलहरूको सङ्कलन- २०१९), उमाटुमनि (स्मारिका,असम नेपाली साहित्य सभाको पन्ध्रौँ त्रैवार्षिक अधिवेशन, २०२१), चन्द्र कुमार शर्मा रचनावली, २०२१, ’इन्द्रेनीका रङ’ (कविता सङ्कलन, २०२३) आदि आदि ।
अर्जुन निरौलाको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘चित्रगुप्तको गुप्तचित्र’
भारतीय नेपाली हास्यव्यङ्ग्य फाँटलाई टेसिलो, गहकिलो, महकिलो पार्दै पाठकलाई गुटुमुटु पार्दै चिरिक्क चिरिक्क चिमोटनमा व्य़ङ्ग्यकार अर्जुनलाई खप्पिस देखिन्छ । नेपाली, असमिया र हिन्दी भाषामा समान रुपले कविता, निबन्ध, हास्य-व्यङ्ग्यका सर्जक अर्जुन निरौलाले रोचक तथा घोचक एक बिटो व्यङ्ग्य निबन्ध सङ्ग्रह हो ‘चित्रगुप्तको गुप्तचित्र’ (२०१७) नेपालीमा अनि । सन् २०२१ मा असमिया भाषामा एक बिटो हास्यव्यङ्ग्य रचना ‘अल एबाउट फेल्टु’ दिइसकेका छन् ।
‘चित्रगुप्तको गुप्तचित्र’ (व्यङ्ग्यनिबन्ध सङ्ग्रह)मा मोठ २९ व्यङ्ग्यनिबन्धहरू सङ्कलित छन् । यी व्यङ्ग्यनिबन्ध मार्फत् व्यङ्ग्यकार अर्जुन निरौलाले आफ्नो बल-बुता तथा सीपले भ्याइञ्जेल नेपाली समाजको विद्रूप, विच्छृङ्खला, असङ्गति-विसङ्गति, विकृतिमाथि खेल-ठट्टा गर्दै व्यङ्ग्यवाण चलाएको पाइन्छ । सबैभन्दा धेर ठुङमार्दो कुरो ता के भने, यस सङ्ग्रहमा सङ्कलित २९ वटै व्यङ्ग्यनिबन्धहरू लामा पट्यारलाग्दा छैनन्, एकै बसाइँमा पढ़्न सकिन्छ । कुनै कुनै व्यङ्ग्यनिबन्धहरू ता एकै पृष्ठमा सिद्ध्याएका छन् । सङ्ग्रहमा परेको पहिलो व्यङ्ग्यनिबन्ध ‘दिन भरि भुक्छ, रातपरे लुक्छ’मा व्यङ्ग्यनिबन्धकारले झुक्किनेहरू र झुक्याउऩेहरूको मनोवृतिमाथ बेजोड व्यङ्ग्य गरेका छन् । यहाँ झुक्याउनेहरू बग्रेल्तै छन् यसैले झुक्किएर हुर्केकाले मरिञ्जेल आफू बसेको समाजमा झुक्किनैपर्छ ठानी ठिटौले उमेरदेखि झुक्किने अभ्यास्र गराएका स्वीकार्दै झुक्कान अभ्यास् गर्नुपरेको यथार्थ तथ्यलाई राखेका छन् भन्ने व्यङ्ग्यकारको तर्क देखिन्छ । सामाजिक तौरमा मात्र होइन तर राजनीतिमा समेत झुक्किनु परेको कुरा उकेल्दै राजनीतिबाट पनि झुक्केका कुरा स्पष्ट गरेका छन् । चिटफण्ड, सहारा, रोजभेली, घ-घरमा आउने बाबाजीहरू समेतले झुक्याएको कुरा गरेर झुक्काउनेहरू प्रति गतिलो चडकन लाएका छन् व्यङ्ग्यकारले । तर सबैलाई झुक्याउन सकिँदैन र सबै झुक्किँदैन भन्ने पनि व्यङ्ग्यकारले लाखेस गरेका छन् ।
छोटो तर टड्कारो व्यङ्ग्यनिबन्ध हो ‘व्याधि एक, विधि अनेक’ । यसमा असममा गोर्खाहरूप्रति गरिएको लाञ्छनाप्रति व्यङ्ग्यवाण चलाएको पाइन्छ । ‘खिचडी – द ग्रेट फूड’ व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले हाम्रो समाज व्यवस्था नै खिचडी भएको छ भनी व्यङ्ग्यको झटारो हानेका छन् । संवादात्मक ढाँचामा लेखिएको व्यङ्ग्य निबन्ध ‘चित्रगुप्तको गुप्तचित्र’मा र यमराज र चित्रगुप्तको गोप्य कुरामा वर्तमान राजनीति नेताहरूको हुलिया प्रस्तुत गरिएको छ । नरकमा जस्तै स्वर्गमा पनि राजनीति चल्छ र कामदेवलाई केही साल निलनम्बित गर्ने कुरालाई हामी बसेको समाजको घिनलाग्दो राजनीति ठँसठँस् गन्हाउँछ । समष्टिमा भन्नुपर्दा ‘चित्रगुप्तको गुप्तचित्र’मा चित्रगुप्तलाई च्याँखे थापेर व्यङ्ग्यकारले वर्तमान राजनीतिज्ञे चित्रगुप्तहरूको चरित्र उदाङ्गो पारेको देखिन्छ । वर्तमानमा पनि चित्रगुप्तहरू प्रशस्तै छन् भन्ने व्यङ्ग्यकारको सङ्केत देखिन्छ । ‘मिष्टर लेट’- मा व्यङ्ग्य प्रहार गर्दै भारतवर्ष नै लेट भएर सबै यहाँ बिल्लीबाँठ भएको हो भन्ने व्यङ्ग्यकारको दाबी देखिन्छ । ‘तेरा बाउ मेरा बाउ माछा मार्न गए’ व्यङ्ग्य निबन्धमा ६ वटा रसिला, मिठाइला र टेसिला व्यङ्ग्य उखानहरू, मुनामदन झ्याउरे खण्डकाव्यबाट एउटा र हरिभक्त कटुवालको कविताबाट एउटा अंशलाई शीर्षक बनाई व्यङ्य लेखिएको पाइ । यस व्यङ्ग्य निबन्धलाई ढुक्कैले लघु व्यङ्ग्य भन्न सकिन्छ । लघु व्यङ्ग्यमा व्यङ्ग्यकारले माछावाला बाउहरू शोषक, हेपाई मनोवृत्तिमाथि प्रहार गरिनुका साथै छोटा-छोटा व्यङ्ग्यमा लाटासिधा जनताले भोग्नु परेको शोषक हण्टर उदाङ्गो पारेका छन् । ‘के को खोजी ?’मा रामायणको प्रसङ्ग झिक्दै व्यङ्ग्यकारले यहाँ प्रत्येक क्रममा खोजीको सिलसिला जारी छ बिहे गर्नको निम्ति केटी खोज्दासम्मको प्रसङ्ग उठाई मान्छेको खोजी गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । संवादात्मक ढाँचामा लेखिएको व्यङ्ग्य ‘तेरो रोग तँई भोग’ मा राजनैतिक नेता, कुर्सीमै टाँसरहन दिलोज्यान दिन कुर्सीमै टाँस्सिरहने कुर्सीभोगी हाकिम वा नेता, नेताहरूको भाषणद्वन्द्व, पैसापछि दुगुर्ने, मोबाइलमा बात मार्नमै मस्त र व्यस्त हुने, लोकप्रियताले मातिने, पुत्रत्यागले ग्रस्त भएका समाजका व्यक्तित्वहरूको रोग र तिनको विश्लेषण गरिएको पाइन्छ । यसमा व्यङ्ग्यकारको व्याङ्ग्यशस्त्रले कति ठहरै पर्दा हुन् कोनि ।
‘आ-आफ्नो किस्मत हर्क न विस्मात’ व्यङ्ग्यनिबन्ध नाकको करामतिको चर्चा ग्रदै नाकको महिमा गाउँदै नाकलाई हरेस नखाने आश्वासन दिएका छन् । व्यङ्ग्य निबन्धमा ‘भित्री दसैं-मा वर्षेनी आउँने दशैँको महिमा गाउँदै दशैँमा हुने विकृतिमाथि टडकारो व्यङ्ग्य पाइन्छ । अन्तरवार्तात्मक ढाँचामा लेखिएको व्यङ्ग्य ‘उचाल्यो जुरुक्क, कान्छो फुरुक्क’मा सोझा जनतामाथि विभिन्न प्रकार हुने हेपाइ, शोषणमाथि प्रहार गरिएको पाइन्छ । ‘नाइटो कला’मा यहाँ मान्छेले आफ्नो दुनो सोझ्याउन विभिन्न प्रकारले नाटक गर्ने गर्दछन् । अनि यो नाइटो कला हेर्नमै व्यङ्ग्यकार निस्केको कुराले आजको समाजको यथार्थ चित्रण गरेको पाइऩ्छ । ‘आफ्नो दुनो’मा दुनो सोझ्याउने चलाक, धूर्तहरूलाई गतिलो चडकन लाएका छन् व्यङ्ग्यकारले । ‘छेड्का’मा भारतवर्षको वर्तमान समाज व्यवस्थामा देखा परेको भ्रष्टचार र दूर्नीतिमाथि गतिलो प्रहार गरिएको पाइन्छ । ‘ओखती’ व्यङ्ग्यनिबन्धमा नाट्य सम्मान नपाएकामा गुनासो गरिरहने एकजना नाट्यसाहित्यका जण्डा व्यक्तित्व थला परेको अवस्थामा नाट्यविभूति प्रदान गर्ने कुरा गर्दा तङ्ग्रिन्छन् । आजको साहित्यिक परिवेशमा पुरस्कार, सम्मानभोगी, पुरस्कारकै निम्ति मरिमेट्ने, तथाकथित साहित्यकारहरूलाई गतिलो चड्कन लाएका छन् ।
सङ्ग्रहको अर्को व्यङ्ग्यनिबन्ध ‘वाह रे इङ्गलिश’मा आजको यो डिजिटल युगमा हामीले बोल्ने तौरतरिकामाप्रति पनि व्यङ्ग्यकारको टडकारो आक्रोश देखिन्छ । उनी प्याच्चै भन्छन्, “उपरोक्त दुइसय भन्दा अधिक शब्दको कथन गोर्खेले अङ्ग्रेजी बोलेको कि अङ्ग्रेजले नेपाली बोले हो छुट्ट्याउन गाह्रो छ ।” हाम्रो निजी शब्दभण्डारमा भक्कुचुर नेपाली शब्दहरू हुँदा हुँदै पनि तिनलाई निमिट्यान्नै पारी बातैपिच्छे अङ्ग्रेजी शब्द प्रयोग गरी बोल्नेहरू प्रति व्यङ्ग्यकारको टड्कारो विरोध मात्र होइन दुःख मनाउ पनि देखिन्छ । पुछारमा उनी भन्छन्, “वाहरे अङ्ग्रेज ! छोडेर त गएऊ, तर स्वाधीनता दिवस होइन, इन्डेपेन्डेस दिएर गएऊ ।” हाम्रो स्थिति दुःखलाग्दो छ । निकट भविष्यमा यसरी नेपाली शब्दको ठाउँमा अग्रेजीको धाक देखाउने हाम्राहरूले नेपाली शब्दको दाह संस्कार गर्नेनै छन् भन्ने कुरामा शङ्का गर्ने ठाँवै छैन ।
‘पत्र-चरित्र’मा पत्र-पत्रिकाको दूर्दशा बखानिएको छ । आजका पत्र-पत्रिका समाजको अभिन्न अङ्ग बने पनि ती बाँदरको पूच्छर झैँ काम नलाग्ने भएका छन् भन्ने व्यङ्ग्यकारको घोँचाइ छ । पत्र-पत्रिका अकालमै मरेकामा पनि व्यङ्ग्यकारको दुःख मनाउ देखिन्छ । पत्र-पत्रिका मर्ने रोगबाट जोगाउन डाक्टर लगाउनु पर्ने व्यङ्ग्यकारको सुझाव देखिन्छ । जो अत्यन्तै सठिक र स्वीकार्य छ ।
संवादात्मक व्यङ्ग्यनिबन्ध ‘लङ्कामा सुन छ, उतै गए हुन्छ’ सामाजिक, राजनीतिक निबन्ध हो । यस व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले गुरु र खोतलरामको संवादलाई मोबाइलको निहुँ गरी रामायण-महाभारतको प्रसङ्ग झिक्तै रामायण अहिलेसम्म पनि आउटडेटेड छैन भन्ने कुरा मार्फत् दिल्ली र दिसपुरमाथि कटाक्ष गरेका छन् । अहिले पनि यो देशमा कैकयी, धृतराष्ट्रजस्ताहरू छन् भन्दै रामायणमा रावणले मातासीताजीलाई अपहरण गरेका थिए, आजको दिनमा पनि आजका वर्तमान सीताले लङ्काको सुवर्ण-ज्वेलेरी देखेर आधुनिक रावणलाई फँसाएका कुरा निर्विवाद सत्य छ । यस व्यङ्ग्यमा युग अनुसार परिवर्तन हुन्छ भन्ने युक्तिसङ्गत तर्क राखेको पाइन्छ । उबेला रावणले सन्यासीको भेष लिएर सीतालाई छक्याएर अपहरण गरेका थिए भने हिजोआज सन्यासीहरू रावणको भेषमा रँडाको लाउँछन् । रामयाणमा जे जति घटनाहरू भए अहिले पनि सोही अनुरूप घटनाहरू भइनै रहेका छन् भन्ने कुरो व्यङग्यमार्फत् वर्तमान उच्छृङ्खलता र विशृङ्खलतामाथि ठुङमार्दो पाराले कटाक्ष गरिएको छ ।
‘मरेका मनको भार’ वर्तमान साहित्यिक वातारवरणमाथि लेखिएको व्यङ्ग्यनिबन्ध हो । पुस्तक नपढिदिनुका साथै ठूला बडा साहित्यकारहरूले भुसुना वा नवोदित तथा उदीयमान साहित्यकारको कृतिमाथि शुभकामना लेख्न नरुचाउनेप्रति तीव्र व्यङ्ग्यवाण ओतप्रोत छ यस व्यङ्ग्यनिबन्धमा । साहित्यमा केन्द्रित यस व्यङ्ग्यनिबन्धमा साहित्य गुटबाजीले जरा फैलाउँदै गएको र वास्तविक भाइचारा, प्रतिभाको कदर गर्ने प्रवृत्ति कचल्टिँदै गएको नाङ्गो यथार्थ प्रस्तुत गरिएको छ ।
लघु व्यङ्ग्यनिबन्ध ‘सपनाको मलामी’ व्यङ्ग्यनिबन्धले सामान्य गणितको समाधानबाट थपिएका समस्याले खलबली मच्चिँदै कसो कसो गरी समस्या देशको विरोधी दलकहाँ पुगेपछि समस्या सदनसम्म पुगी प्रधानमन्त्रीको पदत्यागसम्मको दावी उठ्छ । यहाँ सामान्य कुरालाई आफू आफू बसी समाधान गर्न सकिने समस्यालाई राजनीतिककरण गरी त्यसलाई जटिल बनाउने अनि सामान्य कुरालाई मुद्दा बनाई हुँडीबिडी मच्चाउने निकृष्ट प्रवृत्तिमाथि गतिलो चड्कन लाएको पाइन्छ । वर्तमान राजनीतिक समाजको यथार्थ चित्रण पाइन्छ यस व्यङ्ग्यनिबन्धमा । आजका राजनैतिक नेताहरूले जनतालाई भाषणको भरमा कसरी बोरामा सुताउँछन् भन्ने विषय तथा आफ्नो दुनो सोझ्याउने नेतृत्वका वैयक्तिक डम्फू ठटाइ प्रति तीव्र व्यङ्ग्यनिबन्ध हो ‘नेताले ताने’ ।
निबन्धमा हातले लात खानुपर्ने स्थिति सिर्जना भएको निष्कर्ष निकालिएको छ । ‘भलादमीको जात थर’ ले देवकोटाको ‘भलादमी’ निबन्ध स्मरण गर्दै बेहिसाब भलादमीहरूको फेहरिस्त प्रस्तुत गरिएको पाइन्छ भने ‘सित्तैँका ढाडेहरू’ ले ढाडे नै अहिले साँढे भएर हाम्रो सुन्दर कोठेबारी माडिरहेको वस्तुतथ्य हाम्रै अगाडि राखिदिएका छन् ।
क्रमश:
०००
सिलिगुडी भारत








































आभार सर। सादर धन्यवाद…