भूपीको ‘हामी’ : हाम्रा मुखिया र जिम्दार

यो कहिल्यै नसकिने लडाइँ लडेको लड्यै गर्ने र गुमाएको गुमायै गर्ने हामी बुद्धु-वीर नभएर के हौँ त ? हरेकपटक हाम्रा मुखिया र जिम्दारहरूकै जीत भैरहेको छ । लडाइँ हारे पनि उनीहरूकै जीत, लडाइँ जिते पनि उनीहरूकै जीत !!

प्रिय भूपी ! बैसठी वर्षअघि लेखिएको तिम्रो ‘हामी’ कविताले आज पनि ‘हामी’ सर्वनामधारी बुद्धु नेपालीलाई लल्कारिरहेको देखेर म चकित चकित छु, थकित थकित छु । तिम्रो सशक्त व्यङ्ग्यचेतलाई सततः सलाम गर्छु र घोसेमुन्टो लाएर त्यही कविताका पङ्क्तिहरू ओल्टाइपल्टाई गरिरहेछु । सत्रपछि छयालिससम्म तिमी पनि जीवित थियौ । तिम्रो अवसानसँगै पुनरोदय भएको प्रजातन्त्रकै लागि हामीले रगत बगायौँ । मान्छेको मूल्य स्थापित गर्न हामीले बगाएको रगतको मूल्य नै कहाँ कायम रहन सक्यो र भूपी ! त्यसरी लडेर ल्याएको प्रजातन्त्र पनि मुखिया र जिम्दारहरूकै पेवा जस्तो भयो ।

हामी त सिर्फ खेताला मात्र ठानियौँ । त्यो पनि ज्याला विहिन खेताला ! छयालिसको आन्दोलनमा हामीमाथि हानिएका गोलीका छर्रा, कोर्रा र बुटले कोतरेका डाम र खाटाहरू हाम्रा शरीरमा अझै छन् । त्यसपछि पनि हाम्रो जीवन-दशा कहाँ फेरियो र ? तीस वर्षसम्म सुकेनास लागेका डाम्रा पेटहरूमात्र उकासिन थाले । फुस्रा गाला र ओठहरूमा रङ्गीन चमक थपिदै गयो । आलोपालो सत्ताको कठालो समातेर प्रजातन्त्रको दुहाइ दिँदै कुर्सी ओगट्ने उनै हुन् ।

हामी त सिर्फ तिमीले भनेझैँ ‘पानीका निर्बलिया थोपा, जो सूर्यद्वारा माथि उचालिन्छौँ र बादल बन्छौँ’, उनीहरूकै इसारामा हात-हातमा झण्डा बोकेर, प्लेकार्ड बोकेर, झोलामा ढुङ्गा बोकेर यताउति दगुर्छौँ ‘र आफूलाई गतिशील भन्ठान्छौँ’, परिवर्तनका वाहक सम्झन्छौँ । चारचार वर्षमा आउने चुनावमा भोट हाल्न बाँडिन्छौँ, आपसमै गोदागोद गछौँ र आआफ्ना ‘जिम्दारहरू’लाई बग्रेल्ती भोट हालेर जिताउँछौँ । जित्नेहरू जुँगामा ता लाउँछन् । धूलो टकटक्याउँदै सत्ताको भर्‍याङ उक्लन्छन् । भर्‍याङ बनेको हाम्रै थाप्लोमा टेकेर हाम्रा मुखिया र जिम्दारहरू ‘अनि एक चोटि माथि पुगेपछि आफ्नो धरतीलाई भुसुक्कै बिर्सन्छन् । अनि भूपी ! तिमीले भनेको ‘अगुल्टोको ‘छ्वाइय’ भन्दा बढी वजन कहाँ छ र हाम्रो ? छैन, छँदै छैन ।

हो, साँच्चै हो भूपी ! आज पनि हामी त ‘पालिएका कुकुर, झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकेझैँ हामी भुक्तछौँ, र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौँ ।’ ‘हामी जतिसुकै माथि उठौँ’, वा माथि उठेको स्वाङ गरौँ र ढवाङ फुकौँ, ‘जतिसुकै ठूलो स्वरमा गर्जौ, तर, हामी भित्र-भित्रै खोक्रा छौँ ।’ हो, झनपछि झन् हामी खोक्रिदै गएका छौँ, बोक्रिदै गएका छौँ । अरबपति र खरबपति त हाम्रा जिम्दार मुखियाहरू भएका छन् । एउटै सामानको तीन तीन पटक नयाँ नयाँ ट्याक्स तिर्दा तिर्दा हाम्रो घरबार लुटिँदैछ, उनीहरूका दरवार ठडिँदैछन् ।

भूपी ! फिरङ्गीहरूको आक्रमणबाट यो माटो जोगाउन हामीले लडेको इतिहास समेत अब सुरक्षित गर्न नसक्ने, हाम्रो आफ्नै भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्न नसक्ने पानीमरुवा र पिलन्धरे हामी । ‘हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ, हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौँ, हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौँ’ र निरन्तर, निरन्तर खिइँदै, सकिँदै र निख्रिँदै जाँदैछौँ । अब त ‘हामी लघुमानव’ बनिसक्यौँ ।

हो त, ‘हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनुपनेँ, हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने, कसैले छुट्टयाइदिनुपर्ने, हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने, कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने हामी रङ्ग-रोगन छुटेका, टुटेका, फुटेका, पुरानो क्यारमबोर्डका गोटी’ भयौँ । एउटा निर्जीव बोर्डमाथि राखेर स्टाइगरमार्फत यो कुना र उ कुना दगुराइरहेछन् र उनीहरू मनोरञ्जन लिइरहेछन् । हामी अनगिन्ति ठक्कर खाँदै चलायमान भइरहेछौँ । स्टाइगर बनेका हाम्रा मुखिया र जिम्दारहरूसँगै मनोवाञ्छित स्वार्थ लुटिरहेछन् । कहिले दक्षिणबाट ठोक्छन्, कहिले उत्तरबाट बोक्छन्, कहिले सात समुद्रपारिबाटै टोक्छन् । निरन्तर निरन्तर आलोपालो गर्दै उनीहरूबाटै टोकिनु, ठोकिनु र बोकिनु मात्र हाम्रो नियति बनेको छ आज ।

प्रिय भूपी ! बैसठी वर्षअघि तिमीले भनेको सत्य आज पनि सत्य नै सावित भैरहेको छ । कस्तो अकाट्य सत्य बोलेर र लेखेर गयौ तिमीले ! आज यी पङ्क्ति पढ्दा पनि मन मस्तिष्क उसैगरी उमठिन्छ- ‘हामी वीर त छौँ तर, बुद्धू छौँ, हामी बुद्धू छौँ, र त हामी वीर छौँ, हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ, हामी कसैको मूर्ति स्थापना नगरीकन वीर कहिल्यै हुन सकेनाैँ ।’ हो त, अहिले हामी यति धेरै वीर भएका छौँ, हजारौँ वर्ष अघिको सांस्कृतिक सभ्यता उखेलेर, त्यी सम्पदामाथि आगो झोसेर खरानीमाथि नयाँ नयाँ सालिक खडा गरिरहेछौँ, यसो गर्नुमै हामीलाई गौरव बोध हुने गरेका छ । बुद्धु नभइकन वीर कसरी होइँदोरहेछ र ! हामी घोर घमासानसँग बुद्धु-वीर भएका छौँ ।

प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रका निम्ति जनताले पटकपटक लडाइँ लड्नु परेको इतिहास संसारको कुनै कुनामा भेटिन्न । हामी बुद्धुहरू नै यस्ता वीर हौँ- जो यसैका निम्ति सात सालमा लड्यौँ, सत्र सालमा गुमायौँ, फेरि छयालिसमा लड्यौँ । दाह्रा नङ्ग्रा फुकालेर खोरमा थुनेको सिंहलाई दुई दशक ननाघ्दै आफैंले फुकायौँ र प्रजातन्त्र गुमायौँ । अनि फेरि बैसठी त्रिसठीमा लड्यौँ । हजुरबाको पालादेखि लड्न थालेका हामी नाति-पनातिको पालासम्म लडिरहेको छौँ । यो कहिल्यै नसकिने लडाइँ लडेको लड्यै गर्ने र गुमाएको गुमायै गर्ने हामी बुद्धु-वीर नभएर के हौँ त ? हरेकपटक हाम्रा मुखिया र जिम्दारहरूकै जीत भैरहेको छ । लडाइँ हारे पनि उनीहरूकै जीत, लडाइँ जिते पनि उनीहरूकै जीत !!

हामी दुःखी जनताको जीवन-दशा सधैँ उस्तै छ, झनपछि झन् तल खस्तैछ । प्रिय भूपी ! किन यस्तो भयो ? यसको जवाफ बैसठी वर्षअघि तिमीले नै भनेका थियौ- लेखेरै छाडेका थियौ- ‘हामी पाइतला हौँ, हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो निधारले टीका थाप्छ, हामी दौडमा प्रथम हुन्छौँ, र हाम्रो घाँटीले माला लाउँछ, हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो छातीले तक्मा टाँस्छ, हाम्रो टीका थाप्ने निधार अर्कै छ, हाम्रो माला लाउने घाँटी अर्कै छ, हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ, हामी त फगत कसैको इशारामा, टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ, केवल पाइताला ।’ त्यो टीका थाप्ने निधार, माला थाप्ने घाँटी र तक्मा टाँस्ने छाति अरु कुनै नभएर हाम्रै मुखिया र जिम्दार हुन् । बरु हुबहु आजको तस्विर बैसठी वर्षअघि नै दुरुस्त खिच्ने तिम्रो मनो-क्यामरालाई सलाम छ भूपी !

प्रिय भूपी ! म चाहिँ ती हजारौँ पाइताला धूलो टकटक्याउँदै कुनै एक दिन जुरूक्कै उठ्ने छन् भन्ने विश्वास खोकिलामा हालेर पुसको ठण्डी तापिरहेको छु । ती धूलधुसरित पाइताला उठेपछि हाम्रा मुखिया र जिम्दारहरूका निधार, छाति र घाँटी कता पुग्नेछन् होला ?

०००
फित्कौली अड्डा, कलङ्की
काठमाडौं
१२ पुस २०७९

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु