वृद्धका जिन्दगानी
नजिक नजिकबाटै वृद्धका दुःख देखें सकस रुमलिएका शब्दले काव्य लेखें घरिघरि सब लेखून् वृद्ध गाथा कहानी सुखमय अब बनोस् वृद्धका जिन्दगानी ॥
न त महसुस गर्छन् रोग लाग्दा थकानी
पुलकित मन पार्दै निख्रियो त्यो जवानी
सुख र सयल भन्ने अर्थ के हो नबुझ्दै
अनवरत खटेकी हुन् कसैले नसोध्दै ॥
अलिकति पनि एक्लै खान खान्नन् नख्वाई
रमझम अझ के हो खै बुझे आफुलाई
कदम कदम झुल्थ्यो बाध्यता थे अनेक
कठिन कठिन लाग्छन् जिन्दगी एक एक ॥
उकुसमुकुस बढ्छन् अन्त्य सम्झी मलाई
धुरुधुरु मन रोयो सम्झिदा सत्यलाई
सहृदय पनि छैनन् आँशु लाग्छन् मुहान
विरह बहुत बढ्छन् मध्य राती बिहान ॥
कति दशक छ होला आयु पट्यार लाग्दो
नियति पनि सधैं लाग्ने दुखाएर भाग्दो
तनमन सब गल्दै जान्छ व्याथा बढेर
मनुज किन नबुझ्ने वृद्ध बेला पढेर ॥
घरिघरि घर बाटो निहाल्छन् ढुकेर
विगत झलक घुम्छन् याद रुन्छन् लुकेर
सकस पल उनैको याद बढ्छन् सचित्र
सकल समय खर्चे ख्याल गर्दै विचित्र ॥
कपट रहित माया निर्झरीका समान
सलल सलल बग्छन् स्नेहका ती मुहान
जव थकित बनी खोक्छिन् उनी रोग लागी
करकर हुन थाल्यो बाहिरिन्छन् अभागी ॥
नजिक नजिकबाटै वृद्धका दुःख देखें
सकस रुमलिएका शब्दले काव्य लेखें
घरिघरि सब लेखून् वृद्ध गाथा कहानी
सुखमय अब बनोस् वृद्धका जिन्दगानी ॥
०००
सानोठिमी, भक्तपुर