इन्दिरा प्रयासलाज
लाजै मोह गरेर डुल्छ जगमा आस्था जलाए अति लाजैको अनुहार हेर त्यो मनुजमा गर्ला र के उन्नति ? देला दर्द खुबै घमण्ड धनको मान्छे किन्यो लाजका के बुझ्लान् कलिला पढेर कविका लाजे कथा आजका ॥

इन्दिरा प्रयास :
लाजै छैन कतै भने अलिकता हाँसेर के गर्दछ
लाजै मानिसमा हटेछ यसरी हेर्ने उता डर्दछ
नाङ्गो होस् अथवा लुगा छ भरिलो राम्रै सजाए पनि
लाजै हाँस्न सकोस् लुकाउन सकोस् नारा लजाए छ नि ॥
आँखा लाज नहेर्नु है सडकका पिर्ला भरे रातमा
लाजैको महिमा पुकार किन हो फिर्ला यता साथमा
सत्ताको पगरी गुथी सदनमा नेता रमाए कति
लाजै हो जगको मियो यदि भने बुझ्लान् र के सन्तति ?
नाङ्गे लाजसँगै लजालु कसरी होला र खै जान्दिनँ
लाजै तन्त्र खुलोस् समग्र भरियोस् लुच्चा सबै मान्दिनँ
लाऊन् मन्त्र सबै गरून् भजन नै मान्छे बचाओस् अरू
लाजै शासनका मुहार जति छन् फ्यालौँ सिकारी बरू ॥
लाजै मोह गरेर डुल्छ जगमा आस्था जलाए अति
लाजैको अनुहार हेर त्यो मनुजमा गर्ला र के उन्नति ?
देला दर्द खुबै घमण्ड धनको मान्छे किन्यो लाजका
के बुझ्लान् कलिला पढेर कविका लाजे कथा आजका ॥
लाजै पुज्य भए पुराण जसरी देशै अँध्यारो भयो
बिक्छन् लाजहरू सुटुक्क यसरी आस्था उधारो गयो
लाजै हो गहना कि निर्लज हुँदै भन्छन् कि सञ्जीवनी
छोप्लान् लाज जसै छ नोट जसका लेख्छन् अझै जीवनी ॥
०००
सानोठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































