रमेशचन्द्र घिमिरेचुलै निम्तो
“आम्मै नि ! बाबुको बिहे यतैबाट गर्न पाए रत्यौली खेल्न,भोज खान पाइन्थ्यो नि ! रमाइलो पनि हुन्थ्यो नि ।” मुख मिठ्याउँदै फूलमायाले भनी ।

रमेशचन्द्र घिमिरे :
“ल बूढी ! छोराको बिहे त शहरमै गर्ने निधो भयो है !” श्रीमानले जुँघा ताउ लगाउँदै भन्यो ।
“राम ! राम !! गाउँमा सबैको बिहे खाइएको छ । आफूले पनि गाउँलेलाई डाकेर खुवाउनु परेन त बुढा ?” श्रीमतीले सम्झाउन खोजी ।
“नकरा ! गाउँमै बिहे गर्ने हो भने हेर् दस जना बोलाए बीस जना रिसाउँछन्, बीस जना बोलाए चालिस ! फेरि गाउँले सबैलाई बोलाउनु पर्छ । कुरो खर्चको पनि छ । सहरमा बिहे गर्दा कुनै झन्झट नै बेसाउनु पर्दैन, धेरैलाई बोलाउनु नि पर्दैन, सस्तो पनि उतै पर्छ ।’ श्रीमान्ले व्याख्या गर्यो ।
“दुनियाँको चैँ खाने अनि आफूले खुवाउन बेला चाहिँ शहर भाग्ने भनेर गाउँलेहरूले छोड्लान् नि त्यसै ।” आशङ्का बोली श्रीमतीले ।
“ह्या ! छोड्दे बूढी ! जेसुकै भनुन् । हाम्रो व्यवहार गाउँलेले गरिदिने हैनन् क्यारे !”
“तपाईंलाई त के र ! भोलि लाज र अप्ठ्यारो त मलाई हुने भयो नि !” श्रीमतीले असन्तुष्टि जनाई ।
“दुई चार दिन मात्रै हो के । त्यसपछि त कसलाई केको चासो ?’
श्रीमान्कै तर्कले जित्यो । श्रीमतीले अनिच्छावश निर्णय स्वीकार गरी ।
“अनि बिहेमा गएको बेला घर पो कसले कुरिदिने हो त है बूढा ? गाई-भैँसी खसी-बाख्रालाई घाँसपात, कुँडो पानी । कसले पो गरिदेला त खै ?” श्रीमतीले समस्या देखाई ।
श्रीमान्ले आफ्नै खेत अधियाँ गर्ने फूलमायाको नाम लियो । श्रीमतीले मोबाइलमा नम्बर खोजी र फोन गरी । फूलमाया आधा घन्टाभित्रै आइपुगी ।
“के कति कामलाई सम्झनुभयो, दिज्यै ?” फूलमायाले जिज्ञासा राखी ।
” यतातिर भन्दा उतै सजिलो होला भनेर ठूलेको बिहे सहरबाटै गर्ने निधो भयो । हामी नआइन्जेल घर कुरिदिन्छेस् कि भनेर तँलाई बोलाएका !” बूढाबुढी मुखामुख गर्दै श्रीमतीले भनी ।
“आम्मै नि ! बाबुको बिहे यतैबाट गर्न पाए रत्यौली खेल्न ,भोज खान पाइन्थ्यो नि ! रमाइलो पनि हुन्थ्यो नि ।” मुख मिठ्याउँदै फूलमायाले भनी ।
“हुन्थ्यो नि रमाइलो त । तर के गर्नु ! मिल्दै नमिलेपछि । पुलुक्क बूढीतिर हेर्दै भन्यो श्रीमान्ले ।
अब भोलिदेखि चार दिनसम्म गाई,भैँसी, बाख्रा, घर सबै तेरै जिम्मा है, फूलमाया !” श्रीमती बोली ।
” हस् हजुर ! यताको केही पिर नगर्नू । म छँदै छु नि !”
फूलमायाले दिएको भरोसाले खुसी भएर श्रीमानले हजार रुपैयाँ फूलमायाको हातमा राखिदियो ।
फूलमाया फर्कन लाग्दै थिई श्रीमती चाहिँले सुर्के थैलीबाट सुपारीका टुक्रो झिकेर दिँदै भनी “राम्रोसँग घर हेरेस् । ला तँलाई पनि हाम्रो छोराको बिहेमा चुलै निम्तो छ है फूलमाया !”
०००
२०८०/०७/१३
भोर्लेटार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































