सञ्जय साह मित्रसडेको टमाटर
‘अनि यो ?’ ‘तपाईं नै खानोस् त्यो सडेको टमाटर । आज मात्र तपाईंको पसलबाट राम्रो टमाटर किन्न पाएँ ।’ ऊ जिल्ल पर्यो । ‘सडेको टमाटर’ उसको हातैमा थियो ।

सञ्जय साह मित्र :
‘ताजा तरकारी’ दोकानमा गएर सोधें – ‘अलिकति सडेको टमाटर पाइन्छ ?’
अँध्यारो अनुहार पार्दै पसलेले मसित प्रतिप्रश्न गर्यो – ‘ताजा तरकारी दोकानमा सडेको टमाटर पाइन्छ र ? हामी ताजाबाहेक केही बेच्दैनौँ ।’ उसले थपेको थियो ।
हरेक दिन एक पाउ किन्दा एउटा सडेको अवश्य पर्थ्याे यसै पसलबाट । त्यो सडेको चाहिँ पूरै कुहिएको हुँदैनथ्यो बरु ‘ताजा सँडेको’ भने अवश्य हुन्थ्यो । मनमा आएको यही कुरो भनिदिऊँ कि जस्तो भएको थियो तर बोलिहाल्नु चाहिँ सभ्यताजस्तो लागेन । घुमाउरो पाराले भने भन्न भ्याएँ – ‘हो त । यहीँको ताजा तरकारी खाएर त हामी बिरामी पर्ने गरेका छौँ । एक पाउमा एउटा ताजा टमाटर हुने गरेको छ ।’
उपस्थित दुई चार जनाले हाँस्ने मौका पाए । सबैले पैसा तिर्दै झोलामा दिएको भनेजति तरकारी लिँदै बाटो नाप्दै थिए ।
‘टमाटरको दाम कसरी हो ?’
‘पाउको पच्चीस, आधा किलोको साठी र एक किलोको सय ।’ तालिमे स्वरमा एकै सासमा सिध्यायो । अनि मैले सोधें – ‘पाँच किलोको नि ?’
पसलमा मुस्किलले दश किलोजति टमाटर थियो । मेरो अनुहारपट्टि हेर्यो र सोध्यो –‘भोजको लागि हो ?’
‘होइन, मल बनाउन । त्यसैले सडेको टमाटर खोजेको ।’
‘पैसा पूरा लाग्छ नि ?’
‘हो, दिन्छु । मलाई पनि समयको बचत हुन्छ ।’
पसलेले सकारात्मक टाउको हल्लायो । टमाटरको टोकरीबाट डेढ किलो जति सडेको टमाटर निकाल्दै जोख्दै भन्यो – ‘तपैँ गज्जबको ग्राहक, ताजाबाट पनि सडेको निकाल्न लगाउने’ । जोखेर एकातिर राख्यो । अनि अनुहारतिर हेर्यो । ‘एक किलो अब तरकारी खानलाई जोख्नुस्’ मैले भनें । अनि एक सय रुपैयाँ हातमा थमाउँदै नयाँ जोखेको टमाटर लिएर जान तयार भएँ ।
‘अनि यो ?’
‘तपाईं नै खानोस् त्यो सडेको टमाटर । आज मात्र तपाईंको पसलबाट राम्रो टमाटर किन्न पाएँ ।’
ऊ जिल्ल पर्यो । ‘सडेको टमाटर’ उसको हातैमा थियो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































