साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार्वजनिक विदा

चाडपर्वमा त पर्वै मनाउँदा गइहाल्छ नि । रमाउनका लागि कुनै कारण नपरी विदा हुने भए पो मजा नत्र के मजा । विदा भएन भने बियर कहिले खाने ? डेटिङ् कहिले जाने ? टिकटक कहिले बनाउने? फेसबुक कहिले चलाउने ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

हुन त चार पाँच जनाले चिन्ने गरी चर्चित हुनु पनि चानेचुने कुरा होइन तर विश्वकीर्तिमान कायम गर्नु भने पक्कै पनि ठुलै कुरा हो । क्रिकेट खेलाडीहरूले छक्का हानेर विश्वकीर्तिमान कायम गर्छन् भने राजनैतिक खेलाडीहरूले सत्ता हानेर । फरक छक्का र सत्ताको मात्र हो । जसरी होस् देशले विश्वमा ख्याति कमाउन कम्मर कसेर अघि बढेको देख्दा खुसी नहुने को होला र! हालैका खेलमा क्रिकेटका खेलाडीहरूले एकै चोटी तीन तिनवटा विश्वकीर्तिमान कायम गरेछन् । उनीहरूको डाढले हो वा किन हो यता हाम्रा राजनैतिक खेलाडीहरूले पनि अर्को विश्वकीर्तिमान कायम गरेछन् – सार्वजनिक विदा दिने देशहरूमा हाम्रो देशको नाम सर्वोच्च स्थानमा पारेर । धन्यवाद छ खेलाडी महोदयहरूलाई ! अझै यस्तै विश्व‍कीर्तिमान कायम गर्न अग्रसर हुनुहोस् ।

जम्मा पैँतिस दिन पनि सार्वजनिक विदा दिन नसक्ने कस्ता निकम्मा देशहरू रहेछन् अरु त । हाम्रो देशले वर्षमा पैँतिस दिन सार्वजनिक विदा दिएर कति उदारता देखाएको छ तिनीहरूलाई के थाहा? बरु अरुले पनि सिको गरेर उछिने भने हाम्रो कीर्तिमानी घट्न सक्छ त्यसैले अझै पन्ध्र दिन बढाएर पचास दिन पुर्याउने हो भने कसैले पनि उछिन्ने डर हुँदैन यो दौडमा । अल्लि अस्ति कुन बकम्फुसे पार्टीका सांसदले हो सार्वजनिक विदा कटौति गर्नुपर्छ भनेर कुरो उठाए रे संसदमा । सांसदहरू नै यस्तो उल्टो उल्टो कुरा गर्छन् ! अब देशले कसरी विश्वमा नाम कमाउने ? भन्नुहोस् त ।

सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका दूत गौतम बुद्धको देश, मन्दिरैमन्दिरको देश … … थुप्रै छन् नेपाललाइ विश्वप्रसिद्ध बनाउने कुराहरू । संसारको गहिरो उपत्यका खोजौँ यहीँ छ । संसारको सबभन्दा उचाइमा पर्ने ताल भनौँ त्यो पनि यहीँ छ । संसारको सबभन्दा अग्लो गल्छी पनि यहीँ छ । विश्वमा शालिग्राम पाइने एक मात्र नदी पनि यहीँ छ । हाम्रो देश कुन कुरामा कमी छ र? हामीले गौरव गर्न लायक कैयन् कुरा छन् विश्वप्रसिद्ध भएका । यी त सबै झुक्किएर प्रकृतिले हाम्रो देशमा पारिदिएर भएका न हुन् । हामी आफैले पनि त केही विश्वमा नाम लिन मिल्ने कीर्तिमानी जोड्नु परेन र ! त्यसैले यो सार्वजनिक विदा दिनेमा हाम्रो देश एक नम्बरमा परोस् भन्ने चाहना होला उहाँहरूको । कम से कम यो त प्रकृतिले दिएको भन्न मिल्ने कुरा भएन नि ! हामी आफैले घोषणा गरेका हौँ भन्न पाइने भयो ।

प्रकृतिले दिएका यस्ता तमाम विश्वप्रसिद्ध वस्तुहरूका साथै हामीले आफै निर्माण गरेका विश्वप्रसिद्ध कुराहरू के के होलान् ? एकै छिन खोजी गरौँ न । हामी नेपालीहरू दूरदृष्टि भएका नागरिक हौँ भनेर गर्व गर्न सकिन्छ । एउटा चुनाव सकिनासाथ अर्को चुनावको प्रचार सुरु गर्नेमा पनि हामीलाई कसैले जित्दैन विश्वमा । भरखर एउटा चुनाव सकियो । अब आउने चुनावमा … … भन्दै थालिहाल्छौँ खोक्न । मिसन चौरासी भन्दै दौडिएकाहरूलाई देख्दा त अनौठै लाग्छ । हैन मिसन उनान्सय भन्न किन नसकेका हँ !पाँच वर्षअघिबाटै चुनावको प्रचार सुरु हुने देश भनेर पनि सायद नेपाललाई नै चिनिन्छ होला विश्वमा ।

‘पाँच वर्षअघिबाटै चुनावको प्रचार सुरु हुने देश’ भनेर एउटा नयाँ बुँदा बनाई फेसबुकको स्टाटसमा राखेको त थुप्रै प्रतिक्रियाहरू आए । अरु कुन कुन कुरामा विश्वमा नेपाल पहिलो होला भनेर जिज्ञासा राखेको थिएँ एक पटक मैले । नमुना प्रतिक्रियाहरू तपाईलाई पनि पस्कौँ कि ! जनताभन्दा नेता धेरै भएको देश । संसारको सबभन्दा गरीब मुलुक भनेर चिनिन दौडिरहेको देश । रिन खोज्न जानेको तिर्न नजानेको देश । डाक्टरहरूलाई कुटपिट गर्ने देश । भ्रष्टाचारको दलदलमा गाडिएको देश । युवाहरू खाडीमा खाडिएको देश । सांसदहरू संसदमा छलफल हैन झगडा गर्ने देश । सत्तापक्षले आन्दोलन गर्ने देश !! के के हो के के ।

अरु विकसित देशका कुरा गरेर हामीलाई कहाँ पुग्छ र? हामी त विकासोन्न्मुख देशका वासिन्दा । सुहाउँदो बुझिँदो कुरा गर्नुपर्छ नि, कि कसो? विकसित देशमा पो कलकार्खाना हुन्छन्, जनताले काम पाएका हुन्छन्, खासै फुर्सदिलो मान्छे पाउन गाह्रो हुन्छ । त्यस्तो ठाउँमा विदाको के औचित्य? हाम्रो जस्तो बेरोजगारीले ग्रस्त बनेको देशमा सार्वजनिक विदा नदिएर के दिने त? विकल्प बताइदिनुहोस् न त हाम्रा सांसदहरूलाई । विकसित देशमा विकासको महत्त्व भए जस्तै विकासोन्मुख देशमा विदाको महत्त्व हुन्छ क्या ! आखिर विदा भने पनि विकास भने पनि वि बाटै सुरु हुने भैहाले क्यारे ।

विदा हुँदा सबभन्दा खुसी विद्यार्थी हुन्छन् किनभने पढ्नै पर्दैन । त्यसपछि शिक्षक खुशी हुन्छन् किनकि पढाउनै पर्दैन । सम्भवतः त्यसपछि खुसी हुने पालो कर्मचारीहरूको आउँछ । मजाले घाम तापेर तलब पकाउन पाइन्छ । मजदुरहरू भने खुसी नभए पनि जूवा तासमा रमाउने मौका मिल्ने भएकाले बिखुसि भैहाल्नु नपर्ला । कागलाई बेल पाक्दा जति खुसी लाग्छ त्यत्तिकै खुसी किसानहरू पनि हुन्छन् सार्वजनिक विदा हुँदा । अरुको त कुरै गर्नु परेन । यो विदा संस्कृति नेपालको मौलिक संस्कृति बन्नुपर्छ । यसमा कसैले हस्तक्षेप गर्न पाइँदैन भन्ने यो लम्फुदासको पनि माग हो जोडदार रुपमा । कसैलाई पनि दुखी नतुल्याउने यस्तो संस्कृति स्थापित गर्न लाग्दा पनि विरोध गर्नु भनेको समग्र देश विकासकै विरोध गर्नु हो ।

कार्यालयहरूमा काम परेर जाँदा पात्रो हेरेर गए भैहाल्छ नि केको गनगन । मेरा एक दुई जना मित्रहरूले सार्वजनिक विदा धेरै हुँदा अत्यावश्यक काम गर्न कठिन हुँदो रहेछ भन्ने गुनासो गर्छन् । बिरामी परे इमर्जेन्सीमा गए भैहाल्यो अस्पतालको ओपिडि बन्द भएर के फरक पर्छ र ।

साँझबिहान खानलाई समस्या छैन भने अरु अत्यावश्यक भन्ने काम नै के हुन्छ र? दिसापिसाबले च्यापेको बेला पक्कै कार्यालय खुल्नु आवश्यक पर्दैन होला क्यारे । ज्यालादारी गर्नेहरूलाई विदा भए पो के नभए पो के । भदौमा आँखा फुटेको गोरुले सधै हरियो देखे झैँ उनीहरूलाई सधै हरियाली नै छ मिहिनेत र परिश्रमको । मुद्दामामिलाको कुरा हो भने मान्छे मरेपछि फैसला हुन्छ । समयमै फैसला भएको त कसैले जानेकै छैन । पश्चिमबाट सूर्य उदायो भने त्यसो होला नत्र मुस्किल छ । अपराधीले पनि सजायँ भोग्नै पर्दैन; फैसला आउँदासम्म ऊ मरिसकेको हुन्छ । कति जाती ! अरु कामलाई त क्यालेन्डर हेर्ने, विदा नपरेका दिन जाने के चिन्ता !! सार्वजनिक विदाका दिनमै अड्डा अदालतमा काम लिएर कसले जानु भनेको छ र तपाईँलाई । श्रीमतीजी सुत्केरी हुन लाग्नुभएको रहेछ भने एक दुई दिनपछि छोरो जन्माउली भन्नुहोस् न ।

जनताले बुझ्न नसकेर हो कि सरकारले बुझाउन नसकेको हो मलाई ठम्याउन गाह्रो भैरहेछ । बन्द/हड्ताल जस्तो त हैन नि सार्वजनिक विदा भनेको । सरकारी कार्यालय, विद्यालय, उद्योग, कलकारखाना, संस्थान, प्रतिष्ठान जस्ता जनसाधारणसित सोझै सम्बन्ध नहुने ठाउँमा विदा हुने न हो ! पसल, होटल, सिनेमा हल, यातायात, हाटबजार जस्ता जनसाधारणसित सोझै सम्बन्ध हुने क्षेत्रमा विदा हुने त पक्कै हैन होला । त्यस दिन हावाले विदा पाउने होइन क्यारे सास फेर्न पाइहालिन्छ । सूर्यलाई पनि विदा दिइने पक्कै हैन होला प्रकाश छरिहाल्छ । मानिसहरू स्वतन्त्र भएर घुम्न पाइहाल्छन् । आखिर यति सारो सार्वजनिक विदाप्रति आपत्ति जनाउनु पर्ने कारण त म केही देख्दिन ।

हामी नेपालीहरूको बानी नै नकारात्मक दृष्टिले हेर्ने हो रे । कुनै कुरालाई पनि सकारात्मक दृष्टिले हेर्न नसक्ने रोग नेपालीमा छ । यो मेरो निजी विचार होइन । तपाईहरूकै विदेशी मित्रहरूले भनेका हुन् । आधा भरिएको गिलासलाई आधा रित्तो भनेर बुझेपछि कसैका बाबुले केही गर्न सक्दैन । वास्तवमा भन्ने हो भने पर्यटनलाई मौलाउन दिनका लागि सार्वजनिक विदा नगरी सुखै छैन । सधै काममा दलिनु परे घुमफिर गर्ने कहिले? पर्यटन उद्योग ठम्रक्कै भएर सुक्यो भने देशलाई कति नोक्सान हुन्छ हिसाब गर्नुहोस् त ।

मान्छेहरूलाई फुर्सद भयो भने न पर्यटन फस्टाउने हो । नत्र कसरी सम्भव छ? बिलकुल असम्भव । आन्तरिक पर्यटनलाई बढाउन सार्वजनिक विदा पनि बढाउनै पर्छ । दुई चार लाख विदेशीहरूले मात्र हाम्रो पर्यटनलाई धान्न सक्दैन । यस्तो सामान्य कुरा पनि हामीले बुझेकै छैनौँ ।
हप्ताको एक दिन विदा भएर त नुहाइधुवाइमा मात्र ठिक्क हुन्छ । कम से कम आकस्मिक सार्वजनिक विदा जस्तो प्लेन वा बस दुर्घटना भएकोमा दिइने, भूपू सभामुख, प्रधानमन्त्री वा राष्ट्रपति मरेर दिइने विदाबाहेक अन्य विदा पनि थपिनु पर्छ । चाडपर्वमा त पर्वै मनाउँदा गइहाल्छ नि । रमाउनका लागि कुनै कारण नपरी विदा हुने भए पो मजा नत्र के मजा । विदा भएन भने बियर कहिले खाने? डेटिङ् कहिले जाने? टिकटक कहिले बनाउने? फेसबुक कहिले चलाउने ?

यी सबै पक्षलाई मध्यनजर गरेर कुनै हालतमा पनि सार्वजनिक विदा घटाउने कुरामा सहमति जनाउनु उचित होइन । पहिलो नम्बरमा परिसकेको नेपालको ख्याति घटाउन म चाहन्न । योभन्दा ठुलो देशद्रोही काम अरु हुनै सक्दैन । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने संस्कृत उक्ति मैले कहाँ भुलेको छु र । मलाई पनि त तपाईंलाई जत्तिकै देशभक्त बन्ने रहर लागेको छ ।

०००
२०८० कार्तिक १७ गते
रुरुक्षेत्र ५, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x