भो जीवनी बन्जर (४)
छोरा छन् कतिका विमुग्ध मनका सन्ताप टारिदिने आमाबाबु बुझेर मुग्ध मनका हर्षाश्रु झारिदिने झुल्किन्छन् रवि पूर्वको क्षितिजमा लाली छरी रोसनी हाँस्तैनन् दिलभित्रका मृदुलता यी देह ताते पनि ।
हेम अधिकारी :
साथी टन्न थिए सबै रहरको गाउँ थियो वैभव
छोरा जोर थिए मनैभरिदिने क्या मुग्ध ! त्यो शैशव
त्यस्तो हर्षविभोर जीवन थियो पुग्ने भयो कामना
औँसीको सपना थिएन कहिले त्यो पूर्णिमा पूर्णिमा ।
खोल्मा खालि छ ,ठेकीमा ढुँडी पर्यो सेतो नदेख्ने भयौँ
चुर्लुम्मै दुधमा डुबाई गतिला छोरा बढाइलियौँ
बेँसी लेक गरी बगाई पसिना राम्रै पढाइ दियौँ
थोत्रा मात्र लगाई प्यारसँगले राम्रै लगाई दियौँ ।
आमाबाबु सधैँ खटेर घरका सर्वस्व सन्तान हुन्
आफ्ना सान र मान गर्व गतिला सद्भाव सम्मान हुन्
भन्दै अर्पण गर्दछन् जीवन नै माया उँधोको हुने
ताकीहान्छ मुढो, बुढो परशुले ताक्ने घुँडो भैदिने ।
छोरा छन् कतिका विमुग्ध मनका सन्ताप टारिदिने
आमाबाबु बुझेर मुग्ध मनका हर्षाश्रु झारिदिने
झुल्किन्छन् रवि पूर्वको क्षितिजमा लाली छरी रोसनी
हाँस्तैनन् दिलभित्रका मृदुलता यी देह ताते पनि ।
कान्छो आउँछ रल्लिँदै हृदयको सत्प्यारको मन्दिर
को को ल्याउँछ साथमा सँगीहरू बुझ्दैन हाम्रो पिर
यादै छैन पिता र रुग्ण जननी के हेर्छ के हेर्छ र !
जेठाले सब बिर्सियो र अहिले भो जीवनी बन्जर ।
०००
झापा