श्रीखण्डमा ऐँजेरु
एक संस्थाले उनको कृतिलाई पुरस्कृत पनि गर्यो । सम्मान गर्दै संस्थाको अध्यक्षले मन्तव्य राखे - “मेरो चाउरिएको दिमागले ऐँजेरु देखेको यो कृति त श्रीखण्ड पो रहेछ ।”
मनीषकुमार शर्मा ‘समित’ :
“हैन कता हराउनु भयो ?”
निकै भएको थियो उनको लेख रचना आउन छाडेको । उनको रचनाको पारखी भएको नाताले खुलदुली लाग्यो र समाजिक सञ्जालबाट संवाद सुरु गरेँ ।
“हराएको छैन ।”छोटो उत्तर आयो ।
“अनि किन त लेखनमा पूणर्विराम ?”
“कलमलाई तनाव छ ।”
म एकछिन अकमकिएँ, मन झन् अशान्त भयो ।
“किन र हजुर ?”
“मेरा रचनाले ऐँजेरु फैलायो रे ।”
“कसले भन्यो ?”
“मौसमी अतिथिले ।”
“लाखौँ मान्छेहरूमाझ एउटाले छिटा हान्दैमा हतास हुनु त भएन नि हजुर ।” सम्झाउने प्रयत्न गरेँ ।
सम्झाउन निकै पापड बेलेपछि बल्ल उनी धरातलमा आए । उत्साहित, उनले कृति प्रकाशित गरे । एक संस्थाले उनको कृतिलाई पुरस्कृत पनि गर्यो । सम्मान गर्दै संस्थाको अध्यक्षले मन्तव्य राखे –
“मेरो चाउरिएको दिमागले ऐँजेरु देखेको यो कृति त श्रीखण्ड पो रहेछ ।”
०००
मध्यपुर ठिमी, भक्तपुर