वृद्ध चिन्तन (१)
छैनन् चेत भनूँ दुखेर तन यो सन्ताप बर्साउँछ । छैनन् होश भनूँ घुसेर डरले झन् भित्र तर्साउँछ । छैनन् लोभ कुनै अनर्थ यसरी आफैँ म बाँच्दै रहेँ ? के को निम्ति सदैव भार म बनेँ बेकार हाँस्दै रहेँ ।
होमनाथ घिमिरे :
गल्दो देह भयो उमेर अहिले ताक्दै भिरालोतिर ।
लाग्यो रोग असाध्य कष्ट थपियो पीडा बढ्यो जर्जर ।
छैनन् कत्ति कुनै अपूणर् घरमा ऐश्वर्य भण्डारमा।
पाएँ दुःख सधैँ अघोर दिन यो बाँच्दै छु संसारमा ।१
आफ्नै भार लिएर हिँड्न अब ता सक्दै नसक्ने भएँ ।
आफ्नै लागि सुकर्म कत्ति किन खै ! गर्नै नसक्ने भएँ ।
खेल्छन् भित्र अनेक याद घटना खोल्नै नसक्ने भएँ ।
हा! हा! दैव अझै थपिस् विरह यो बोल्नै नसक्ने भएँ ।२।
आँखा मात्र रसाउँदैछ अहिले देख्नै नसक्ने भएँ ।
पुत्री पुत्र जहान बन्धु घरका चिन्नै नसक्ने भएँ ।
घुम्छन् याद अनेक भित्र मनमा सारा बितेका कथा ।
घाँटी नै अबरुद्ध भो वचन खै ! खोलूँ कहाँ ती व्यथा ।३।
पत्नी पुत्र समेत नित्य घरमा हेर्छन् बुहारीहरू ।
मेरै निम्ति अनेक कार्य सबले गर्छन् नथाकी बरु ।
पीडा बढ्छ जहान बन्धु सबको देख्दा अँध्यारो मुख !
रोऊँ कत्ति अझै म निर्बल बूढो सन्तान छन् सम्मुख ।४।
छैनन् चेत भनूँ दुखेर तन यो सन्ताप बर्साउँछ ।
छैनन् होश भनूँ घुसेर डरले झन् भित्र तर्साउँछ ।
छैनन् लोभ कुनै अनर्थ यसरी आफैँ म बाँच्दै रहेँ ?
के को निम्ति सदैव भार म बनेँ बेकार हाँस्दै रहेँ ।५।
दिन्छस् कष्ट अझै म बाँचू किन खै ! के अर्थ मेरो यहाँ ।
पाएँ जन्म पवित्र भूमि भव कै नेपाल यो देशमा ।
मेरो जीवन धन्य भो प्रभु अझै मेरो परीक्षा लिन !
बिन्ती गर्छु न ले, कृतज्ञ म हुँदै त्याग्थेँ म यो जीवन ।६।
क्रमशः
०००
चितवन ।