फर्केन छोरो घर !
कस्तो यो गणतन्त्र हो मुलुकको हामी पुग्यौँ खै कता । आस्थामाथि प्रहार हुन्छ जसरी मर्दै छ भाषा यता । आगो दन्किसक्यो जल्यो वन यहाँ ठान्दैछ झिल्को तर । लड्छन् नित्य बसेर उच्च पदमा फर्केन छोरो घर ।
हाेमनाथ घिमिरे :
यौटा प्रश्न उठ्यो अचम्म कविमा हामी कहाँ छौ अब ।
फर्केनन् “इजरायली” मुलुकका हाम्रा स्वयं बान्धव !
रुन्छन् आज पिता समेत जननी आँखा कठै बर्बर ।
साँच्चै देश अझै निकृष्ट छ कतै फर्केन छोरो घर ।१।
फुक्काफाल बनेर दुष्ट पथमा सङ्कोचमा सञ्जन ।
हत्यारा खलको अझै बिगबिगी थर्किन्छ साेझो मन ।
कस्तो हालतमा पुग्यो मुलुक यो कस्तो थियो सुन्दर ।
सत्ता भित्र रहेन राष्ट्र महिमा फर्केन छोरो घर ।२।
गर्छन् जोखिम कार्य देशपरमा स्वीकार सङ्ग्राम छन् ।
ज्यूँदो- लास बनेर फेरि घरमा फर्किन्छ धिक्कार छन् ।
फर्केनन् किन खै युवा मुलुकमा बस्छन् विदेशी पर ।
छैनन् न्याय निसाफ सत्य दबियो फर्केन छोरो घर ।३।
कस्तो यो गणतन्त्र हो मुलुकको हामी पुग्यौँ खै कता ।
आस्थामाथि प्रहार हुन्छ जसरी मर्दै छ भाषा यता ।
आगो दन्किसक्यो जल्यो वन यहाँ ठान्दैछ झिल्को तर ।
लड्छन् नित्य बसेर उच्च पदमा फर्केन छोरो घर ।४।
ए बाबा म त पढ्न जान्छु अहिले फर्किन्छु पक्कै घर ।
धेरै वर्ष बित्यो विलम्ब अति भो गर्दैन खै तर्खर !
सम्झौँ कत्ति अझै सदैव मनमा छाती भयो चर्चर ।
बिर्सेझैँ किन लाग्छ खै मुलुक यो फर्केन छोरो घर ।५।
०००
९ कार्तिक, २०८०
भरतपुर, चितवन !