
वृद्ध चिन्तन- दुई
हाम्रो धर्म तथा हिजो सकलमा संस्कार कस्तो दियौँ ? हाम्रो कर्म तथा विवेक छ कहाँ आशा भरोसा थियौँ ? पक्कै पर्छ प्रभाव पुत्र तनया सन्तान या बान्धव । चिन्ता मात्र लिएर हुन्न अब ता स्वीकार होस् वास्तव

होमनाथ घिमिरे :
बोल्दैनन् परिवार पुत्र घरका पत्नी र पुत्री कुनै ।
खोल्दैनन् मनका विचार सजिलै घट्दै छ चासो अझै ।
गर्दैनन् सहयोग मित्र गणले भन्छन् निकम्मा भयो ।
जान्नू जीवन बोझतुल्य सबमा बेकार बाँच्नू छ यो ।१।
सोध्दैनन् अब ता विचार अथवा सल्लाह माग्नेहरू ।
भन्छन् सुद्धि कुनै रहेन यसको सोच्लान् र राम्रो अरू ?
यस्तोमा मन भित्र कत्ति ननिको मान्दै नमान्नू बरु ।
मान्नू हर्ष खुसी जहान घरमा छन् बुद्धिजीवीहरू ।२।
पातै मात्र रहे प्रसून वनमा शोभा कहाँ छर्छ र ।
खाली ठाउँ न भै नयाँ र गतिलो संभावना सर्छ र ।
जान्नू सत्य यही छ चक्र भवको यो आयु को भर्छ र !
आयौँ जन्म लिएर मृत्युु सँगमा टारेर के टर्छ र !३।
हाम्रो धर्म तथा हिजो सकलमा संस्कार कस्तो दियौँ ?
हाम्रो कर्म तथा विवेक छ कहाँ आशा भरोसा थियौँ ?
पक्कै पर्छ प्रभाव पुत्र तनया सन्तान या बान्धव ।
चिन्ता मात्र लिएर हुन्न अब ता स्वीकार होस् वास्तव ।४।
कल्ले टिप्छ र फूल त्यो विपनमा छैनन् भने सौरभ।
कल्ले खोज्छ र वृद्ध तागत विना हुन्नन् भने पौरख ।
आगो बल्छ भने सबै नजिकमा न्यानो भनी बस्दछन् ।
हाम्रो जीवनचक्र सत्य छ यही छानो स्वयं खस्दछन् ।५।
क्रमशः
०००
१७ भाद्र, २०८०
भरतपुर, चितवन ।