कविराज घिमिरेबुढ्यौली
बुढापा सबैले नभोगी हुँदैन त्यसै माग्न खोज्दा कहीँ पाइँदैन हुँदामात्र मौका बनेको छ वृद्ध सबै माझ होस् यो बुढ्यौली प्रसिद्ध ।।

कविराज घिमिरे :
जहाँ टेक्छु खुट्टा त्यहाँ टेकिँदैनन्
भएँ वृद्ध आँखा दुवै देखिँदैनन्
हुती छैन मेरो नसा गल्नथाले
दुख्यो ढाड ऐया हरे ! भन्नथाले ।। १
उखेलौँ कि क्या हो भयो कान ठाँडो
न बास्ना समात्ने छ यो नाक घाँडो
झरी दाँत बच्चा सरी हुन्छु हाँस्ता
म लाग्दै छु अर्को झनै केस पाक्ता ।। २
बिलौना यिनै छन् हजारौँ थरीका
निराशा बटुल्छन् कचौरा भरीका
समस्या खडा यी वृथा छन् कुचेष्टा
समाधान खोज्ने कुनै छैन चेष्टा ।। ३
बुढ्यौली हुनेका नयाँ पात आउन्
मुना डाँठ हाँगा सधैँ जम्जमाउन्
जराले सिनित्तै भगाउन् कहाली
गरुन् आसलाग्दा कुराका बहाली ।। ४
बनी खिन्नताले सुधा छर्किँदैन
खुसी बाँड्नसक्ता व्यथा फर्किँदैन
जमानी हुँदाको भराएर ऊर्जा
चलुन् नित्य हाम्रा सही यन्त्रपूर्जा ।। ५
बुढापा सबैले नभोगी हुँदैन
त्यसै माग्न खोज्दा कहीँ पाइँदैन
हुँदामात्र मौका बनेको छ वृद्ध
सबै माझ होस् यो बुढ्यौली प्रसिद्ध ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































